१६ चैत्र २०८०, शुक्रबार

वैज्ञानिक समाजवादका लागि जनसंघर्ष अनिवार्य: भगतसिंह

0

धनगढी: नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भगतसिंहले देशमा वैज्ञानिक समाजवाद स्थापना गर्न जनसंघर्ष आवश्यक भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति कैलालीद्वारा लम्कीमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। तीन बुँदे सहमति कार्यान्वयन र मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो शंसोधन अध्यादेश २०७९ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भगतसिंहले सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति दुई वर्षसम्म पनि कार्यान्वयन नगर्नु गैह्रजिम्मेवार कार्य भएको आरोप लगाए। वर्तमान सरकारले अध्यादेशमार्फत कानुन शंसोधन गर्ने निर्णय गरेपनि अध्यादेश रोक्ने षडयन्त्र भइरहेको उल्लेख गर्दै अविलम्ब अध्यादेश जारी गरिनुपर्ने उल्लेख गरे। देशी -विदेशी प्रतिक्रियावादी शक्ति नेकपालाई गलाउन अध्यादेश रोक्नेदेखि सहमति कार्यान्वयन हुन नदिन षडयन्त्र गरिरहेको आरोप लगाउँदै तीन बुँदे सहमतिलाई कार्यान्वयन नगरे आफ्नो पार्टी षडयन्त्र विरुद्ध संघर्षमा उत्रने चेतावनी दिए।

अन्तरक्रियालाई सम्बोधन गर्दै नैकपा केन्द्रीय सदस्य असल शर्माले सरकारले सहमति कार्यान्वयन वा युद्ध के चाहेको हो स्पष्ट गर्नुपर्ने बताए। क्रान्तिकारी शक्तिलाई झुकाउने दिवासपना नदेख्न चेतावनी दिँदै आफ्नो पार्टीको लचकतालाई कमजोरी नदेख्न र अविलम्ब सहमति कार्यान्वयन गर्न अनुरोध गरे। नेपाली काँग्रेसका लम्कीचुहा नगर सभापति इन्द्र कुँवरले राजनैतिक मुद्धा फिर्ता लिन सरकारले विलम्ब गर्न नहुने बताए। आफुले सहमति कार्यान्वयन भइ मुद्धा फिर्ता भइसकेको सोचेको बताउँदै अहिलेसम्म पनि नहुनु दुःखद भएको उनको भनाई थियो। आफ्नो पार्टी वार्ता र संवादमार्फत सबै समस्या समाधान हुनुपर्छ भन्ने विचारमा दृढ रहेको उल्लेख गरे। नागरिक उन्मुक्ति पार्टिका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर २ का इन्चार्ज मिलन चन्दले राजनैतिक मुद्धाहरूको समाधानमा सरकारको गैह्रजिम्मेवार प्रवृत्तिले दन्द्व निम्त्याउने अवस्था रहेको बताए। आफ्नो पार्टीका संरक्षक रेशम चौधरीलाई जनताको अदालतले निर्दोष साबित गरिसक्दा पनि सरकारी अदालतले दोषी करार गर्नु दुखद रहेको बताए।आफ्नो पार्टीका नेता रेशम चौधरी लगायत नेकपा नेता कार्यकर्ताहरुका मुद्धा अविलम्ब फिर्ता लिन उनले आव्हान गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सल्लाहकार प्रमोद सिंह राठौरले आफ्नो पार्टीले सहमति कार्यान्वयन र मुद्धा फिर्ताको पहल गर्ने बताए। आफ्नो पार्टी निर्वाचनबाट राष्ट्रिय पार्टी भएको उल्लेख गर्दै राष्ट्रिय समस्या समाधान गर्न पहल लिने उनको भनाई थियो ।
कार्यक्रमलाई राष्ट्रिय वामपन्थी मञ्चका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सेना, अधिवक्ता राजेन्द्र भण्डारी लगायतले सम्बोधन गर्दै राजनैतिक मुद्धा फिर्ता लिन आवश्यक भए पनि राजनीतिक मुद्धाका नाममा अपराधिक मुद्धामा उन्मुक्ति दिन नहुने धारणा व्यक्त गरेका थिए। कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै नेकपा कैलाली सेक्रेटरी विनोद बिष्टले आफ्नो पार्टीले राष्ट्रिय स्वाधिनता,जनताको जिविका र शाशनपद्धतिका विकृत्ति विरुद्ध आवाज उठाउदा प्रतिबन्ध व्यहोर्नुपरेको स्मरण गर्दै अविलम्ब तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताए। अध्यादेश जे भए पनि सहमति कार्यान्वयन गर्न कुनै पनि बहाना स्विकार्य नहुने उनको भनाई थियो। कार्यक्रम नेकपा कैलाली जिल्ला सचिव विनोद बिष्ट को अध्यक्षता र सचिवालय सदस्य दिलबहादुुर साउँदले सञ्चालन गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।