१६ फाल्गुन २०८०, बुधबार

लुटिएका सपनामा ऊर्जा भर्ने समय !

0

विभिन्न सपना र आकाङ्क्षाको भारी बाेकेर कुदिरहेको आजको पुस्ता आफ्नो गन्तव्य निर्क्योल गर्नमै समय खर्चिरहेको देखिन्छ । परिवर्तनको सपना बाड्ने र तिनै सपना बेचि खाने  राजनीतिक अगुवासँगै सपनाकै मलामी जान अभिशप्त बन्नु आजका पुस्ताको नियति जस्तो बन्न गएको छ ।
  मौज्दात सत्ताप्रति असन्तुष्टि, वितृष्णा, आक्रोश र घृणाका स्वरहरु  विभिन्न रूपमा  प्रकट  भएर चिया चौतारी सार्वजनिक स्थल र सामाजिक सन्जालका भित्ता हुँदै  व्यालेट बक्ससम्म पुग्दा पनि परिवर्तनको  सपना सार्थक बनाउने अर्को नयाँ सपना र उर्जाको खोजि भैरहेको छ ।
आक्रोश र निराशाको लहरले परिवर्तनको संकेत बोके पनि  यस्ता विभिन्न उपक्रम  दोहाेरिरहने तर राजनीतिक निकासमा खास योगदान नपुग्ने पट्यार लाग्दो  मनोविज्ञानमा आजको समाज रुमलिएको जस्तो छ।
   जीवन्त सपनाको खोजी
पङ्तिकार संसदीय चुनाव खारेज गर्ने एजेन्डा बाेकेर सल्यान रुकुमका विभिन्न बस्तीमा पुगेर नागरिक अन्तर्कृयामा सहभागी बनेर नागरिकका  अभिमत सुन्दा, मानिसहरू नेपालका कुनैपनि राजनीतिक पार्टी, तिनका उम्मेदवार, तिनले बाड्ने आश्वासन, पात्र, पार्टी सबैप्रति घृणा मात्र गरिरहेका छन् । यहाँसम्मकी हामीले देखाइरहेको वैज्ञानिक समाजवादको सपनामा समेत पनि निशिन्त्ता र जीवन्तता खोजिरहेको यथार्थ कतै छिपेको देखिएन । हामीले प्रस्तावित गरेका अवधारणाहरु ध्यानपूर्वक सुनेर कुरा ठिक हो भन्दै उही पुरानै परिपाटीमा  सहवरण गर्ने सामाजिक मनोविज्ञान छरपस्ट देखिन्छ ।अन्तरकृयामा भाग लिएका सल्यान त्रिबेणीका ८० वर्षीय जेष्ठ नागरिक रेशम बोहराले भोट हाल्दा हाल्दा औठा खिइए पनि अहिलेसम्म खुसीको अनुभूति  गर्न नपाएरै जुनि सकियो भन्दै गर्दा, इतिहासको अमिट शिक्षालाई सहभागिहरुले मुन्टो हल्लाएर हो हो भनिरहेका थिए । सल्यानको काप्रामा सहभागी एक २२ वर्षीय नौजवानले  भर्खरै जन्माएको बच्चाको सुन्दर भविष्यको सपना बोकेर खाडी जान पासपोर्ट गोजीमा राखेर अन्तरक्रियामा आफ्नो अभिमत प्रकट गर्दा सहभागी सबैमा स्तब्धता छाएको छ। दुधेबालक, श्रीमती, बृद्ध बाआमा छोडेर जानुको पिडामा उनका आँखा रसाइरहेका छन् । यो चुनावप्रति उनको आशा, विश्वास, भरोसा केही पनि छैन । बरु आक्रोश, घृणा, असन्तोष, निराशा र रोष मात्रै छ। उम्मेदवारहरुले विकास र रोजगारीको एनेस्थेसियामा  लठ्याएर भोट क्याप्चर गर्ने अभियान चलाए पनि उनी लठ्ठिने संकेत देखिएको छैन । बरु शासकहरुलाई गाली गर्दै चिलगारीमा चढ्ने दिन नजिकै आइपुगेकोले झोलाझिम्टी कस्न हतार भैसकेको छ। देशमै रोजगारी पाउन नसक्नुको पीडा उनको अन्तरमनमा छचल्किए पनि आफ्नो  निराशा, असन्तुष्टि घ आक्रोशलाई राजनीतिक विद्रोहमा लामबद्द बनाउन पारिवारिक व्यवस्थापन, शिक्षादीक्षा, बृद्ध बाआमाको ङ बनेर तेर्सिए पछिको आफ्नो बाध्यता, उनले दोहाेर्याइ दोहाेर्याइ भनिरहेका छन् । कृषि, लघु उद्योगको संभावना नभएको त होइन तर हातमा ठेला बसाएर काम गर्नपनि  उत्पादनशील  जमिनै नभएपछि र  व्यवसाय गर्ने पुजिको जोहोनै नभएपछि, कृषि अनि लघु उद्योगको कुरा उपदेशकारीका उपकारमै सिमित जस्ता छन् । गतवर्ष उत्पादित अदुवा, मुल्य र बजारको अभावमा खेर गएको  पछुतोले उनको मन भतभती पोलेको पोल्यै छ । बारीमा लटरम्म फलेका सुन्तला ठेकेदारले ३० रुपैयाँ किलोमा लुट्न खोज्दा बरु बारीमै पतपत खसुन भन्ने उनलाई जाती लागेको छ ।
अभियान चलाउदै जादा एक जना कमर्सियल बैकका जागिरे युवाको घरमा पुगिएछ । एमबिए सक्दै गरेका उनी पहिले देखि नै माओवादी आन्दोलनबाट प्रशिक्षित रहेछन् ।डोको बुन्ने सीप पनि सिकेका उनी चुनावी बिदामा घर आएको मौकामा आज बिहानैदेखि डोको बुन्ने योजनामा तल्लीन छन् । निकालो ल्याइ पुर्याएका छन् । अब चोया कार्दै गफिन सुरु भएको छ। उनको अभिव्यक्त भावनामा राजनीतिक दल र तीनका नेतामा आएको चरम विचलन, स्खलन र पतनले निम्त्याएको  विकृतिले देखिएको   कुरुप तस्वीरले समग्र राजनीतिप्रति नै अविश्वास ,घृणा वितृष्णा र विक्षिप्तता मात्र छचल्किएको छ । राजनीतिज्ञले सिद्धान्तलाई गफ गर्ने साधनमा सिमित पारेपछिको पीडा खेपी नसक्नु छ ।
   तथापि यसपटकको जनभेटघाटले पटक–पटक आन्दोलन र क्रान्तिको अनुभव गरेका नेपाली समाजको मनोसामाजिक अवस्था र अर्थराजनीतिक  संकटले विश्वासिलो निकास खोजिरहेको, जनभावनाको पुनर्ताजगी गर्ने अवसर मिलेको छ । गहिरो जनप्रशिक्षण प्राप्त भएको छ । समाजको अवस्था र मनोविज्ञान पढ्दा मानिसहरु बहुसंकटको जालोमा फस्दै गएपछि, बहुरुपि बहसमा तानिएका छन्  ।
पहिलो-समाजले हर  सैद्धान्तिक अवधारणाको, व्यवहारिकता पुष्टि खोजेको छ । यस्तो पुष्ट्याइ समाजवादी अभियन्ताहरुको फौजले मात्र गर्न सक्ने देखिन्छ । दोस्रो-समाजवादी बाटोमा हिँडाउन सक्ने किसिमको बौद्धिक बहस र चिन्तन प्रणालीको विकासले मात्र समाजवादको यात्रा सहज देखिन्छ । तेस्रो-उत्पादनमा बृद्धि, रोजगारी र आत्मनिर्भर अभियानमा नजोडिएर क्रान्ति र समाजवादको आदर्शिकरणले मात्र अहिलेकै अवस्थामा राजनीतिप्रतिको आकर्षणमा बृद्धि हुने देखिदैन । चौथो- समाजवादीहरू समयअनुकूल आम मान्छेका आवश्यकताहरूसँग आफ्ना राजनीतिक कार्यसूचीलाई एकाकार गर्न नसकेका कारण कमजोर भएका हुन् या पुजिवादले समाजवादीहरूलाई किनारा लगाएर होला? यो बहस र मनोविज्ञान पनि समाजमा जबर्जस्त छ ।पाँचौं-आजको सकट्को मुलकारण दलाल पुजिवाद भएको तथ्यलाई बाङ्गाेटिङ्गाे पार्न आइपुगेका विभिन्न लोकपृयतावादी समुहले लगाइरहेको एनेस्थेसियामा लठ्ठिनेहरुको संख्या पनि उल्लेख गर्न लायक नै छ ।छैटौं-समाजवादको जीवित सपना बाेकेर पनि गतिशील बन्न नसकेको विशाल मानव सागर समाजवादकै खोजिमा छरपस्ट छ । सातौं-मुद्दामा आधारित राजनीति मौसमी नै हुन्छ   । जस्तो भ्रष्टाचार नियन्त्रण, सुशासन, सस्तो शिक्षा स्वास्थ्य, आरक्षण जस्ता मुद्दाहरू राजनीतिक शक्ति आर्जनका माध्यम बन्न सक्छन् । त्यो विशुद्ध अभियानको राजनीति हो । अढाई दशक यता विश्वभर नै यस्तो  राजनीतिले विशुद्ध विचारको राजनीतिको शौर्य र आकर्षणलाई धेरै हदसम्म खुम्च्याइ दिदाको प्रभाव नेपाली समाजमा पनि परेको स्पष्टै बुझ्न सकिन्छ । आठौं -क्रान्तिबाट परिवर्तनको सपना बाेकेर समाजवादी आन्दोलनमा हेलिएको पङ्तिप्रतिको सहानुभूति, सद्भाव र मायामा  कुनै कमि नआएपनि बलियो विश्वास कायम हुन बाँकी नै देखिन्छ । नवौं-क्रान्ति, परिवर्तन र रुपान्तरणको आकाङ्क्षा त राख्ने, तर क्रान्तिमा सहभागी पनि नहुने, क्रान्तिको लागि कुनै योगदान पनि नदिने, बलिदान त्याग समर्पण अरु कसैले मात्र गरिदिऊन् र प्रतिफल चाहीँ आफैले हात पारौं भन्ने  मनोदशाले ग्रसित स्वार्थी मनोविज्ञान फैलिदो छ । दशौँ-समाजमा स्थापित केही राजनीतिशास्त्री, लेखक बुद्धिजीवी विश्लेषकहरु राजनीतिमा आएको चरम विचलनप्रति, तिखो आलोचकको रुपमा प्रस्तुत भएपनि, राजनीतिक प्रणालीले निम्त्याएको विकृतिलाई नदेखाउने पुजीवादी चिन्तकहरुको सामाजिक प्रभाव घट्दै गएको छ । तथापि यी सबै प्रश्न बहस, मनोविज्ञान र संघर्षको घर्षणले नेपाली समाज परिवर्तनको संघारमा उपस्थित छ।
        माक्र्स एंगेल्सले सन् १८४८ मै डिजाइन गरेको आजसम्मकै उत्कृष्ट, अर्थराजनीतिक व्यवस्था `वैज्ञानिक समाजवाद´को  स्थापना, प्रयोग, विकास रक्षा र रुपान्तरण गर्न नसकेकै कारण, मानिसहरू बहुसंकटको जालोमा फस्नु परेको यथार्थलाई, वैज्ञानिक तथ्य र तर्कले समाजलाई  दिक्षित गर्नै पर्दछ ।
भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनले १९४९ मा समाजवाद किन? भन्ने बारेमा बहस गरेका थिए । पुँजीवादले आर्थिक प्रतिस्पर्धाका कारण समाजमा असमानता बढाएको आइन्स्टाइनले बताएका थिए, जुन २१औँ शताब्दीसम्म पनि उस्तै छ । उनका अनुसार समाजवाद सामाजिक विभेदको अन्त्यतर्फ लक्षित हुनुपर्छ । भौतिकशास्त्री  आइन्स्टाइन्ले २० औँ शताब्दीमै अनिवार्य  देखिसकेको `वैज्ञानिक समाजवाद ´लाई अहिलेका पुजिवादी चिन्तक र शासकहरुले ९० को दशकमा इतिहास बनेको सोभियत समाजवादको नकारात्मक उदाहरण प्रस्तुत गरेर रोक्ने प्रयास गरिरहेका छन् ।
हो,हामीले पढेको समयको समाजको पुरानो कथा भन्दा हाम्रो समयको भोगाइमा निकै अन्तर परिसकेको छ तर लुटेरा शासन व्यवस्थालाई नष्ट गर्न समाजवादको बाटो नहिडि सुखै छैन ।
स्थिति कस्तो छ भने राजनीतिमा देखिएको कस्मेटिक रोगनको विषाणुहरुको  प्रभाव जनतासम्म पनि उत्तिकै देखिन्छ । मेडिकल भाषामा भनिने डेलिरियम मनोविज्ञानले आजका धेरै मानिसको धारणामा बास गरेको छ। यथार्थ भन्दा परको मनोविज्ञान सक्रिय हुने अवस्थालाई मनोचिकित्सा शास्त्रमा डेलिरियम भनिदो रहेछ। दलाल पुजिवादले निम्त्याएको सकंटलाई वैज्ञानिक समाजवादले मात्र हल गर्ने, यथार्थ नबुझेर अरु मनोविज्ञानमा अल्मलिने कुरा डेलिरियम कै समस्या जस्तो हो । यस्तो मनोविज्ञानलाई भविष्यमुखि सपनाले मात्र प्रतिस्थापन गर्न सक्छ । त्यसैले अब फेरि चर्को स्वरमा भन्नै पर्छ । वैज्ञानिक समाजवाद नै आजको जीवन्त सपना हो । मानिसहरुको भविष्य हो ।
सत्तासँग सपना बेच्नेहरुले नागरिकहरूलाई आजित बनाउदै लगेको कठिन समयमा भविष्यमुखी सपनामा केन्द्रित गर्ने काम सजिलो  छैन । तथ्य यो हो कि संसार सपना देख्ने र सपना पूरा गर्न हिड्न सक्ने मानिसहरूले मात्र बनाउँछन् । स्पष्ट छ, सपना सजिलै पूरा हुदैनन् ।अविचलित लड्ने इच्छाशक्ति, लगाव र पेचिलो संघर्षबाट मात्र सपना पूरा हुन्छन् । निर्वाहमुखी सोच र कामले गुजारा त चल्न सक्छ तर भविष्य बन्दैन ।
     नयाँ उर्जाको खोजी
समाजवादको सपनामा जागरुक अभियन्ताहरुको विशाल फौज निर्माण गर्न आजको सामाजिक मनोविज्ञान बुझ्नै पर्दछ । समाज भन्ने कुनै अलग्गै तत्व हुँदैन । समाज भन्नु नै व्यक्तिहरुका सम्बन्धहरुको जोड हो । मानिसले आफ्नो वैयत्तिक, पारिवारिक र सामाजिक खुशी के गर्दा प्राप्त गर्छ ? कसरी प्राप्त गर्न सकिन्छ ?मानिस खुसी प्राप्ति गर्न के गरिरहेको छ? यति धेरै प्रयत्न गर्दा पनि किन खुसी प्राप्त हुन सकेको छैन ?
  नयाँ राजनीतिक संस्कृतिको जन्म नभई मानिसहरुको निराशा विश्वासमा बदलिदैन । दृढ़ र गतिशील स्वपन्न द्रष्टा र अरुलाई सपना देखाउन सक्ने र देखाउने विचार, नीति कार्यक्रम र एजेन्डा बाेकेको राजनैतिक पार्टी र नेतृत्वले मात्र आजको विश्रृखल्ङ्कित सामाजिक मनोविज्ञानमा उज्यालो भर्न सक्दछ, खुसी फर्काउन सक्दछ । प्रदुषित नेतृत्व र विचारहिन पार्टीहरुबाट यो सम्भव हुने विषय नै होईन । मानिसहरुमा व्याप्त निराशा, असन्तुष्टि र आक्रोशको तहले विचारको रुपधारण नगर्दासम्म उज्यालो प्रवाह गरिरहेको उर्जा पनि दिगो हुन सक्दैन । यस्तो उर्जा दिगो बनाउन विचारधारात्मक टर्वाइनले मुख्य भूमिका खेल्ने भएपनि दैनिक जीवनमा भोग गरिरहनु पर्ने समस्या गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य सन्चार र मनोरञ्जनमा समेत पनि उज्यालो भर्ने टर्वाइन खोल्नै पर्दछ। यस्ता टर्वाइनहरुको `एकीकृत उर्जागृह ´दर्शन, राजनीति, उत्पादन, संस्कृति सबैतिर नविनतम खोज गरिरहेको समाज विज्ञानको नेपाली संश्लेषण एकीकृत जनक्रान्ति नै हुन सक्छ ।
   भौतिकशास्त्रीहरु आइन्स्टाइन र म्याक्सप्लङ्ले बुझेको ब्रह्माण्डको स्थुल  र सुक्ष्म जगतका गतिका नियमहरु एक आपसमा अन्तरविरोध देखिएपछि कारण खोज्दै जादा फेरि अर्का भौतिकशास्त्री हकिङ्ले बुझे -अर्को कुनै नियम हुनुपर्छ । त्यसलाई सम्बोधन गर्न उनले `थ्योरी अफ एभ्रिथिङ´ ल्याए । इलेक्ट्रो – म्याग्नेटिक वेभ्समा आधारित क्वान्टम थ्यौरी र जनरल रिलेटिभिटी तथा थ्यौरी अफ ग्राभिटेसनबाट क्वान्टम ग्राभिटी भन्ने शब्द र अवधारणा ल्याए। यसको विभिन्न प्रयोग र परिक्षण जारी नै छ । ठुलठुला आविस्कारहरु अवधारणाको रुपमा जन्मिन्छन् पछि थुप्रै अनुसन्धान गर्दै गएपछि बल्ल त्यो सिद्धान्तमा परिणत हुन्छ । आज पनि स्थुल ब्रह्माण्ड र सुक्ष्म जगतको विकासका नियमहरुको निरन्तर अनुसन्धान र संश्लेषणको क्रम चलिरहेकै छन् ।
    यता समाजविज्ञानको क्षेत्रमा पनि सामाज विज्ञानका वैज्ञानिकहरुले आफ्नो समयको समाजको विश्लेषण, अन्तरविरोध हल गर्ने नियमहरुको संश्लेषण प्रयोग र परिक्षण  गरे अनि कयौं विषयमा भविष्यको प्रक्षेपण गरे जुन आजको सामाजको विकासको गति बुझ्ने र सामाजिक अन्तरविरोध  हल गर्न अपुग भैसकेका छन् ।यो आजको तथ्य हो । यो तथ्य भन्दा अन्यत्रै घुमेर गरिने गनथनले विकसित समाजको गतिशीलता बुझ्न र अन्तरविरोध हल गर्ने ल्याकत राख्नै सक्दैन ।
   विद्यमान समाजका सुक्ष्म र स्थुल अन्तरविरोधको  गहिरो अनुसन्धान पछि यी अन्तरविरोधलाई हल गर्न नेपालबाट विप्लव कमरेडको नेतृत्वमा संश्लेषण गरिएको समाजविज्ञानको  नयाँ  खोज` एकीकृत जनक्रान्ति´हो ।यो २१ औं शताब्दीका महानतम वैज्ञानिक हकिङ्ले संश्लेषण गरेको थ्याेरी अफ एभ्रिथिङ् (विश्व-ब्रह्माण्डको पदार्थको गतिको नियमलाई समग्रतामा व्याख्या गर्न सक्ने नियम) को तथ्यगत नियममा टेकेर विकसित गरिएको समाजविज्ञानको नयाँ संश्लेषण हो । गतिशील समाजको बहुआयामिक संश्लेषण पनि हो ।हो, ज्ञान र विज्ञानको खोजी अनन्त हुन्छ । यो कहिल्यै पनि टुङि्गदैन ।
       विश्व ब्रह्माण्डलाई रहस्यमय वस्तु बनाएर यसका जटिल नियम पत्ता लगाउन तगारो हाल्ने इश्वरवादीहरुलाई झुट सावित गर्दै विश्व ब्रह्माण्डको अथाह गति पनि बुझ्न सकिने प्रेरणा भौतिकशास्त्रीहरुले दिइरहेका छन् । के समाजशास्त्री, मानवशास्त्री र राजनीतिज्ञहरुले आजको सामाजिक, आर्थिक गति र अन्तरविरोध हल गर्ने नयाँ नियम निर्माण गर्न र प्रयोग गर्न सक्दैनौं ? मानिसहरूले बेहोरिरहेको दु:खबाट मुक्त गर्न सक्दैनौं ? अब केही गरे पनि हुँदैन भनेर आलसतालस गरिरहेका मानिसहरुलाई मेहनतबाट सम्भव छ भन्ने उर्जा भर्ना सक्दैनौं ? निस्सन्देह सक्छौँ, सक्नुपर्छ ।एकीकृत जनक्रान्तिले त्यो प्रयत्न गरिरहेको छ ।
   अन्तमा, माथिदेखि तलसम्म वनमाराको झारजस्तै मौलाएको चरम भ्रष्ट र दोहनकारी दलाल पुजिवादलाई फैलाउने खेलमा मौजुदा संसदीय राजनीतिक प्रणाली सन्चालन गर्ने नेतृत्व मण्डलीहरु बीच चर्को प्रतिस्पर्धा छ । यस्तो प्रणाली र नेतृत्व मण्डलीले आज नेपालीहरुलाई निराशा बाडिरहेको छ । पद प्राप्तिको लागि जस्तोसुकै अनुचित सम्झौता पनि गर्न तयार हुने  संसदीय रत्तेउलिले नागरिहरुमा खुसी  जन्मिने कुरै भएन । अब नयाँ राजनीतिक संस्कृति, आचरण र तथ्यहरुले मात्र मानिसहरुका भावना, धारणा, विचार र स्वत्तोमा समेत  क्रान्तिकारी खुसीको उत्साह भरिनेछ । निराशा र असन्तुष्टि क्रान्तिकारी  विश्वासमा रुपान्तरित हुँदै जादा, मौजुदा सङ्कट हल गर्ने इन्धनमा बदलिने छन् ।
  त्यसैले यो समय पुजिवादीहरुले बाडेका दु:ख पिडा खेपेर बिलौन गर्दै दिन कटाउने समय हुँदै होइन ।क्रान्तिका  नक्कली गीत गाएर, एकीकृत जनक्रान्तिका विरुद्ध लामा लामा निबन्ध लेख्दै चर्चका पास्चरले जस्तो प्रवचन भट्याउदै कुत उठाएर ठग्ने  समय पनि यो होइन । राजनीतिक सिद्धान्त, एजेन्डा र आफैले तय गरेका सबै नाराहरुको समेत दाहसंस्कार गरिसकेर पनि गुम्न थालेको आफ्नो वैभवको स्वर्ग बचाउन फेरि उनै नारा भट्याउदै जस्तोकी लोकतन्त्र, कम्युनिस्ट र  समाजवादको अस्तु बोकेर कासी हिड्ने तयारी गर्दै सरकारी हड्डी चुस्दै बस्ने काग्रेस, एमाले र माकेले खोजेको सिण्डीकेट वाला समेत त झन् यो, हुँदै होइन । अनि भख्खरै  बनेको ओली-दाहाल,- लामिछाने सरकारको कक्टेल पाटीको रोमान्चमा अलमलिने समय त झन् पटक्कै होइन ।
                     यो समय त भुमन्डलिकृत पुजिवाद र संसदीय व्यवस्थाको दलनले चर्को पीडा खेपिरहेका मानिसहरुलाई सुखद भविष्यको संभावना देखाउने समय हो ।सुखद भविष्यको यात्रामा डोर्याउने समय हो ।संसदीय भागबन्डा र लुटतन्त्रीय `मधुरस´बाड्दै हनिमुन मनाइरहेकाहरु विरुद्ध दुन्दुभि बजाउने समय हो । ‘वैचारिक’ र ‘मुद्दा’ दुवै प्रकृतिको राजनीतिक बहसको वातावरण र ‘स्पेस’ लाई  निमिट्यान्नै पार्न  प्रचार गरिएका विभिन्न फेक न्युजको  बाढीबाट  मानिसहरुलाई उद्दार गर्ने समय  हो, विभिन्न स्वरमा उठिरहेका बिशृङ्खलित विद्रोहका आवाजलाई शृङ्खलाबद्ध  गर्ने समय हो । बरालिएको राजनीतिलाई, वैचारिक राजनीतिले डोर्याउदै एजेन्डालाई विचारमा जोड्नु पर्ने समय पनि हो, विदेशी हस्तक्षेप र गुलामहरुका विरुद्ध जागै बस्ने समय  हो । विचार र एजेन्डालाई अभियान र आन्दोलनको रुपमा विकास गर्दै जनक्रान्तिलाई अगाडि बढाउने समय त झन् हुँदै हो ।लुटिएका सपना फर्काउदै, निराश मानिसहरुमा सुखद भविष्यको उर्जा भर्न अर्को नयाँ अभियान, संघर्ष र आन्दोलन सन्चालन गर्ने समय हो । `बहुसंकट´को जालोमा फसिरहेका मानिसहरुलाई मुक्त गर्ने `एकीकृत जनक्रान्तिको´ समय हो ।
१४ पौष २०७९


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।