९ श्रावण २०८१, बिहीबार

होसमा आऊ श्रीमान धर्मेन्द्र होसमा आऊ

0

कसैलाई भए नभएको आरोप लगाएर उसको हुर्मत लिनु सबभन्दा निच काम हो । तर, द्वन्द्ववादले सबै कुराहरूलाई परामर्थ सत्य मान्दैन । हरेक वस्तुलाई परिवर्तनमा व्याख्या गर्छ । द्वन्द्ववादमा शङ्काको छुट पाइन्छ । श्रीमान् धर्मेन्द्रको मानमर्यादामा चोट पुर्याएर उनलाई नाङ्गेझार पार्नु मेरो उद्देश्य होइन । उनले पार्टी जनताप्रति गरेको योगदानको सधै प्रशंसा नै गरिने छ ।
श्रीमान धर्मेन्द्र बास्तोला कम्युनिस्ट आन्दोलनमा क.विप्लव, क.प्रकाण्ड, क.सुदर्शनहरूका समकालीन व्यक्ति हुन् । जनयुध्दमा विप्लव, प्रकाण्ड, सुदर्शनहरूले जसरी लडाईको मोर्चामा रहेर काम गरे उनको त्यो भूमिका रहेन । उनको विशेष योग्यता भनेको अङ्ग्रेजी भाषा राम्रोसँग बोल्न लेख्न सक्नु हो । यो पनि जनयुध्दमा चाहिने कुरा नै थियो । उनले पार्टी सङ्गठन गर्ने युध्द मोर्चामा लड्ने नगरेकाले कुनै गल्ति गर्ने कुरा भएन । महाधिवेशन, सम्मेलन, भेलाहरूमा विदेशी मित्रहरूले पठाएका शुभकामना पत्रहरू पढेर नेपालीमा उल्था गर्नु उनको काम हो । यो काम पनि चाहिने नै काम हो । जनयुध्दको समयमा पार्टीमा केन्द्रीय सदस्यहरू थप गर्दा जनार्दन, देबेन्द्र पौडेल, हितमान शाक्य, विप्लव, प्रकाण्डलगायतका साथसाथै यिनी पनि केन्द्रीय सदस्य बनेका थिए । अन्य सदस्यहरूले विभिन्न लडाईका मोर्चा समालेर केन्द्रीय सदस्य बनेका थिए भने यिनी अङ्ग्रेजी भाषा जानेको भरमा भएका थिए । कुनै भाषामा दख्खल हुनु कम्युनिष्ट नेता बन्ने योग्यता होइन । भाषाको शिक्षक बन्ने योग्यता हो । त्यसैले उनलाई मैले सर श्रीमानको सम्बोधन गरेको छु ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीको चुङबाङ्ग बैठकले ठूलो केन्द्रीय समितिको विगठन गरि ३५ जनाको केन्द्रीय महाधिवेशन तयारी समिति गठन गर्दा यिनी पनि केन्द्रीय समितिमा परे । पछि नारायणकाजी श्रेष्ठको नेपाल कम्युनिष्ट पार्टी एकताकेन्द्रसँग पार्टी एकता गरि फेरी एमाओवादीको जम्वु केन्द्रीय समिति बन्दा पदाधिकारीको व्यवस्था गरियो । उनका समकालीन क. विप्लवले जनयुध्दकालमा विशेष क्षेत्रमा रहेर काम गरेकाले पार्टीको सचिव पद पाए, उनी सदस्यमै सिमित रहे । यस समयदेखि उनमा कुण्ठा सिर्जना सुरू भएको थियो । यिनको स्थिति पार्टीमा सामन्य नै रहदै आयो किनकी यिनले पार्टीमा ठूलो जिम्मा लिएर काम पनि गरेनन् आलोचना आत्माआलोचना हुने कुरा पनि भएन ।त्यसैले पार्टीमा आफू निष्कलङ्क र चोखो भएको आत्मरति गर्दै रहे । यिनले न काम नै उच्चस्तरको गर्ने न त गल्ति नै गर्ने भएकाले यिनलाई सबैले सामान्य रूपमा लिदै गए ।
एमाओवादी संसदीय भाषमा गयो क्रान्तिको रक्षाका लागि भन्दै २०७९ सालमा क.किरणको नेतृत्वमा पार्टी पुनर्गठन भयो । श्रीमान् धर्मेन्द्र पनि पुनर्गठित ड्यास माओवादी आए । भेला र सातौँ महाधिवेशनमा एमाओवादीबाट आएको नेतृत्वमा कुनै परिवर्तन गरिएन उनको प्रमोशनको हुने कुरै भएन । २०७२मा क.बिप्लवले पार्टीमा छलफलका लागि एक भिन्नमतको दस्ताबेज पेस गरे । महासचिवले उनको दस्ताबेज भेला सम्मेलनमा पेस गर्न नसकिने जवाफ पार्टी केन्द्रीय समितिमा दिए पछि क. विप्लवले आफ्नो दस्ताबेजका पक्षका कमरेडहरू समावेश गरेर कपिलवस्तुको शिबगढिमा अनाैपचारिक भेला गरे यसको चर्को विरोध गर्नेमा धर्मेन्द्र एक नम्वरमा थिए । भेला पछि पनि पार्टी एकतालाई ध्यानमा राखि केन्द्रीय समितिको बैठकको माग स्वयम् किरण पक्षबाट भयो । केन्द्रीय समितिको बैठक पनि भयो, विप्लव पक्षका सबै सदस्यहरू पनि उपस्थित भए । यश बैठकमा विप्लवको दस्ताबेज पढ्न पाइने तर छलफल गर्न नपाइने उर्दी अध्यक्षले जारी गरे । बैठक केही घण्टा रोकेर अध्यक्ष र विप्लवको बीचमा छलफल पनि भयो ।उक्त छलफलमा धर्मेन्द्र पनि क. किरणको पक्षबाट सरिक थिए । आ-आफ्नै अडानमा दुबै पक्ष अडिक रहेकाले बार्ता सफल भएन । विप्लवले शालीन तरिकाले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अहिले हाम्रो सम्बन्ध बिच्छेद भयो, इतिहासको कुनै मोडमा फेरि एकता पनि हुन सक्नेछ । अब आ-आफ्नो तरिकाले कम्युनिष्ट आन्दोलनलाई अघि बढाऔँ भन्दै केन्द्रीय समितिको बैठक छाडेर गए । यस समयमा एकपक्षले अर्को पक्षलाई खुल्याउने काम त्यति भएन ।
विप्लवले पार्टी छोडे पछि सचिव पद खाली भयो । क.किरणले उक्त पदमा धर्मेन्द्रलाई लान खोजेका थिए । बिना भेला सम्मेलन पदहरू ब्यक्तिगत रूपमा नबाड्न केन्द्रीय सल्लाहाकार समितिले लिखित अनुरोध गरेकाले उनी सचिव हुन पाएनन् र विप्लव नेकपामा गएको साँचो हो जस्को प्रत्यक्षदर्शी म पनि हुँ ।
विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले रोल्पामा गरेको आठौ महाधिबेशनमा प्रस्तुत एकीकृत जनक्रान्तिको कार्यदिशालाई परमार्थ सत्य भनेर वकालत गर्नेमा यिनी अग्रपङ्क्तिमा थिए । यसको अर्थ यिनी बिप्लव पछिको मर्यादाक्रममा हुन चाहन्थे । यतिबेला सम्ममा सुदर्शन पनि माकेबाट कारबाहीमा परि केन्द्रीय न्यूक्लियर्स पार्टी गठन गरि महासचिव भएका थिए । उनी पार्टी एकताको हैसियतले नेपाल कम्युनिष्ट पार्टीमा आएका थिए । उनको ब्यक्तिगत मामलालाई नजरअन्दाज गर्ने हो भने जनयुध्दकालमा निकै उदारणीय काम गरेका थिए । दर्शन अर्थराजनीति बैज्ञानिक समाजवादको राम्रो ब्याख्याता हुँ पनि भन्थे । उनी भन्दा धर्मेन्द्र माथि हुन सक्दैनथिए । अर्को तर्फ विप्लवका सबै कामकारबाहीमा दिलो ज्यानले साथ दिएका प्रकाण्ड विप्लवपछिको मर्यादाक्रममा हुनु प्राकृतिकनै हुन्थ्यो र भयो पनि । पाँच जनाको स्थायी समितिमा प्रकाण्ड पार्टीको प्रवक्तासहित दोश्रो मर्यादाक्रममा रहे । सुदर्शन र धर्मेन्द्रको मर्यादाक्रम एकै जस्तो भयो । यसै समयदेखि पार्टीभित्र प्रकाण्डका विरुद्ध सितयुध्दको सुरूवात भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीमा पार्टी निर्माण र सङ्घर्षमा धमेन्द्रको कुनै योगदान रहेको थिएन । यिनी बिदेश बिभाग प्रमुख बनाइएका थिए । सधै विदेशको भ्रमणमा रमाउँदै देश बिदेश घुमि रहन्थे । यिनीले जे अध्ययन गर्थे त्यसैमा कन्भिन्स हुन्थे । कहिले ट्रट्रस्कि अध्यायन गर्दा रहेछन् र भन्न आउँथे स्थाई क्रान्ति गर्न नसक्ने समयसम्म क्रान्तिको कुरागर्नु जनतालाई धोका दिनु हो । क्रान्ति गरे पछि हार्नै हुदैन । प्रतिक्रियावादी दलालसंसदीय सत्ताको भन्दा बढी तागतमा पार्टी नपुगेसम्म क्रान्तिका कुरै गर्न हुन्न । फेरि कहिले ब्लाँङ्की पढ्दा रहेछन्, यसरी बसेर हुदैन क्रान्तिसुरू गरिहाल्नु पर्छ । अथावा पिध नभएको लोटा जसरी सधै ढलमलाई रहन्थे । उनको कुरामा मनोरङ्जन हुन्थ्यो कसैको चासो हुदैनथियो । बिदेशीहरूसँग रहदाबस्दै गर्दा कतै यिनी साम्राज्यवादी शक्तिहरूका खेलौनामा परिणत भएनन् सङ्का गर्न सकिन्छ । किनकी अकस्मात यही संसदीय व्यवस्था अन्तर्गत कार्यकारी राष्ट्रपतीय शासनका लागि पार्टीको कार्यनीति बनाउन पर्छ भनेर आठौ केन्द्रीय समितिको एघाराैँ बैठकमा मौखिक भाषण दिएका थिए । धर्मेन्द्रका कुरामा कसको चासो बोले सकियो ।
एनसेलको कार्यालयमा बम हान्नु ठिक थियो कि बेठिक थियो? नेपालबन्दमा जुन आन्तरिक दुर्घटना भयो यसमा कस्को कमजोरी भयो यसमा बहस गर्न सकिन्छ । पार्टीको निर्णय बेगरनै एनसेल बमकाण्डमा जिम्मेवारी लिएर सुदर्शननले पार्टी प्रतिबन्धमा पारे स्वयम् सुदर्शनले लामो जेल जीवन बिताए । यस्ता कुरामा एकले अर्कालाई दोष दिन आवस्यक छैन । तर बाह्र जनाको साहदत हुदा र सयौ नेताकार्यकर्ता जेलमा पर्दासम्म एक बर्षदेखि सरकार नेपाल कम्युनिस्ट पार्टी बीच भएका बार्ताहरू सबै असफल हुने र धर्मेन्द्र गिरफ्तार हुने बित्तिकै बार्ता सफल हुने, फेरि गिरफ्तार सयौ नेताकार्यकर्ता अझै जेलमा छन् भने धर्मेन्द्रलाई बार्ता घोषणा सभामा ससन्मान उपस्थित गराउनुले सङ्का गर्ने ठाउँ देखिदैन र ? पार्टीका निश्चित विधि नियमहरू हुन्छन् ।कसले कसलाई भेट्ने कसले कससँग राजनैतिक बार्ता सम्बाद गर्ने भन्ने । पार्टी खुला भए पछि प्रचण्डलाई भेटेर राष्ट्रपतीय शासन पत्दतिमा छलफल भयो प्रचण्ड पनि सहमत हुनु भयो यही गर्नु पर्छ भनेर पार्टीमा बहस गर्नाले सङ्का गर्ने कि नगर्ने ? पार्टी पुरै एमसीसीको बिरूध्द सडकमा जीवन मरणका रूपमा लागेका बेला , जस्मा प्रबक्ता घाइते हुदा समेत सामन्य खेलाचिका रूपमा रामहेर्ने क्रियाकलापलाई सङ्का गर्ने कि नगर्ने ? । यस्ता सृङ्खलाहरू धेरै छन् जुन क्रियाकलापले गर्दा धर्मेन्द्र साम्राज्यवादीका चङ्गुलमा फसेका छन् कि भन्ने सङ्का गर्ने ठाँउहरू पाइन्छन् ।
आठौ केन्द्रीय समितिको १२ औँ बैठकमा महासचिवबाट स्थानीय निकायको चुनावमा भाग लिएर दलालल पुँजीवादीहरूलाई चुनौति दिने, क्रान्तिकारी हस्तक्षेप गर्ने भन्ने प्रस्ताव आएको साँचो हो । छलफल हुँदै जाँदा पार्टीगत रूपमा भाग लिनु गल्ति हुन्छ, पार्टीको अहिलेको स्थिति चुनावमा भाग लिएर समग्र रूपमा यश दलालपुँजीवादी सत्तालाई ध्वष्त गर्ने वा हस्तक्षेप गरेर क्रान्तिको पक्षमा प्रयोग गर्नसक्ने पार्टीको आत्मगत स्थिति बनिसकेको छैन, फेरि आठ दस दिन भित्रमै चुनाव हुदैछ, तयारीको समय पनि भएन, पार्टीबाट केही ब्यक्तिलाई स्वतन्त्र उमेदबार रूपमा उठाउने र अन्य देशभक्त दलालपुँजीवाद बिरोधि ब्यक्तिहरूलाई सहयोग गर्दै देशब्यपि रूपमा दलालपुँजीवादको भण्डाफोर गर्ने रूपमा भाग लिने निर्णय सर्वसम्मत रूपमा भएको हो । केन्द्रीय समितिको बैठकमा तत्कालिन स्थायी समितिका पाँच जना मध्ये एक जना सदस्य सुदर्शनले चुनाव बहिस्कार गर्नु पर्ने मत मौखिक रूपमा राखेका थिए ।अर्का सदस्य कन्चनले मौखिक रूपमा कार्यकारी राष्ट्रपतीय शासनको एजेण्डा राखेर जानू पर्छ भन्ने ताँई न तुँईको, एकातिर खोलो अर्को अर्को तर्फ झलुङ्गो जस्तो भनाई राखेका थिए।
लिखित रूपमा एक शब्दको पनि प्रस्ताव पेस भएको थिएन ।
नेपालमा पार्टी सङ्गठन, जनसेना, नेताकार्यकर्ताहरू श्रममा जोडिदै देशभर सोभियत सत्ताहरूको निर्माण, जनअदालत, जनसरकार निर्माण गरि क्रान्तिलाई अघि बढाई रहेको एक मात्र पार्टी नेपाल कम्युनिष्ट पार्टी माात्र हो । त्यसैले देशीय वा बिदेशी प्रतिक्रियावादीहरूको आँखाको कसिङ्गर बनेको छ । बिदेश बिभाग प्रमुखका हैसियतले बिदेशी भाइचाराका ब्यक्तिहरूसँग बाहेक अन्य साम्राज्यवादीहरूका एजेण्डहरूसँग पनि धर्मेन्द्रको भेट हुन सक्नेनै भयो । यसो नभएको होस् कामना गरौ, साहेद धर्मेन्द्र साम्राज्यवादीहरूका हातका खेलौना त भएका छैनन् ? । सुदर्शनका बारेमा आर्थिक प्रश्नहरू बैठकमा उठेका थिए । यस्ता प्रश्नहरू अन्य सदस्यहरूका बारेमा पनि उडेका थिए । आयोग बनाएर हिसाब फोरफर्चोड गर्न सकिन्थ्यो कुनै सदस्यहरू पनि सत्रुतापूर्ण हिसाबले प्रस्तुत भएका थिएनन् । उनको ब्यक्तिगत जीवनका बारेमा कसैले चासो दिएका थिएनन्, उनको योग्यता क्षमताको सबैले कदर गरेकै थिए किन धर्मेन्द्रका पछि लागे उनै जानुन् । दिपक चलाउने पार्टी भित्रका आदर्श ब्यक्तिनै थिए, उनका बारेमा कतै कुनै गुनासो थिएन बरू उनले लगातार फौजीरूपमानै क्रान्तिलाई अघि बढाउनु पर्छ भन्ने मत राख्थे, पार्टीले क्रान्ति गर्दैन कि भन्ने चिन्ता राख्दथे यिनी पनि किन धर्मेन्द्रका पछि लागे ? । माछा देख्दा पानीमा हात सर्पदेख्दा बाहिर हात गर्ने अर्का सदस्य गुणराज लोहनी हुन् । प्रतिबन्धमा गिरफ्तार पर्दा आत्मसमर्पण गर्दै मैले पार्टी छाडे भाेनेर कागतै गरेर निक्लिएका ब्यक्ति हुन, पार्टीको प्रतिबन्ध फुकुवा भए पछि महासचिवको कृपाले केन्द्रीय समितिमै रहेका ब्यक्ति हुन् । पार्टीका प्रस्तापहरूमा पक्ष बिपक्षमा भोट भाल्न पाउने अधिकार भएका ब्यक्ति यी चार जना मात्र हुन् । अन्य बाँकी दुई केन्द्रीय सल्लाहाकार र ६ जना प्रस्तावित केन्द्रीय समितिका सदस्यहरूको भोटदिने अधिकार हुदैन । यिनीहरूले महासचिवलाई कारबाही गरि बहुमतको नाममा पार्टी गठन गरेको हल्ला गर्नु यो भन्दा मजाक अरू के होला ।
बिप्लवले चुनावमा भाग लियो अब आकास खस्ने भयो जमिन फाट्ने भयो गुहार भन्दै पार्टीबाट भागेका यिनीहरूका पछि प्रतिबन्ध कालमा सुध्दिकरणमा परेकाहरू पछि लाग्नेनै भए केही इमानदार कार्यकर्ताहरू पनि पछि लागे । पार्टीलाई क्षतिनै भयो । अहिले बहुमत भन्ने पार्टीमा पार्टीका सामन्य समर्थकहरू पनि पदाधिकारी हुन पुगेका छन् । निलोकोटको स्यलले जनावरहरूलाई छक्काए जसरी क्रान्तिकारी माओवादीलाई पनि छक्काउन सफल भएको छन् । नेपाल कम्युनिष्ट पार्टीसँग भएको कार्यगत एकतालाई नकार्दै यिनीहरूसँग पार्टीनै एकतामा जोड दिनुले निलोकोट वाला स्याल बाघको पनि राजा भएको कथाको के स्मरण गराउँदै र ? ।
उनीहरूकै परिभाषा अनुसार हुने भए क्रान्तिकारी माओवादीको महासचिव सिताराम तामाङ्ग हुन पर्ने हो । पोखरामा भएको क्रान्तिकारी माओवादीको राष्ट्रिय शम्मेलनमा चुनाव बहिस्कारको प्रस्ताप महासचिव किरणले पेस गरेका थिए र ९५ प्रतिशत प्रतिनिधिहरूको समर्थन थियो । पार्टीले चुनावमा भाग नलिए पार्टी फोड्ने धम्कि सिताराम तामाङ्गले दिए पछि किरणले पार्टी बचाउनका लागि चुनावमा जान पर्ने भयो, मेरो बिन्ति सबैले मानिदिनु पर्यो, भनेर आफ्नै प्रस्तापको बिरोधमा मत मागेको इतिहास साँछी छ र सङ्घीय संसदको चुनावमा भाग लिएर देशभरबाट बाह्र हजार मत प्राप्त गरेको गौरवमय इतिहासलाई के बिर्सन सकिन्छ । अहिले त्यो पार्टी क्रान्तिकारी हुने र स्थानीय चुनावमा जाने प्रस्ताप ल्याएकै कारण नेपाल कम्युनिस्ट पार्टी दक्षिणपन्थी हुने यो कस्तो परिभाषा हो ?।
बिप्लवले सब डुवायो आकास खस्यो पृथ्वी हल्लियो, कम्युनिस्ट आन्दोलन बचाऔँ भन्दै दौडेकाहरू अहिले आफैले सङ्कीर्णतावादी जडसुत्रवादी, अकर्मण्यतावादीको लान्छना लगाउँदै क्रान्तिकारी माओवादीबाट निस्केकाहरू सुतुर्मुर्गाले टाउको लुकाए जिसरी उनकै टाङ्गमुनि मुन्टो लुकाउन पुगेको देख्दा अचम्म लाग्छ ।
जुनसुकै षडयन्त्र पनि अनउपयोगी मात्र हुने नभई अहितकार समेत हुन्छ भन्ने कुरा कम्युनिस्टहरूले थाहा पाउनु पर्छ । कसैको इच्छा र चाहानाअनुसार क्रान्ति गर्न सकिँदैन । देशको सत्ता दलालपुँजीवादीको हातबाट जनताको हातमा ल्याउन कति बलिदानी र समय लाग्छ यो भबिष्यकै गर्भमा छ । निलो स्यालको कोट लगाएर नाच्दैमा के सत्ता प्राप्त होला ? ।
क्रान्तिकारी माओवादीका नीति कार्यक्रममा सहमत हुन नसकिएला, यसका सदस्यहरू अनेकौ आइएनजीओहरूमा काम पनि गरेका होलान्, तर क्रान्तिकारी माओवादीको साम्राज्यवादीहरूसँग साँठगाँठ भने छैन । उनीहरूले राष्ट्रियता पक्षमा र साम्राज्यवादको बिरोधमा गर्ने गरेका सङ्घर्षमा कुनै सङ्का गर्ने ठाउँ छैन । यदि श्रीमान धर्मेन्द्र तिमी साम्राज्यवादीहरूको खेलौना भएर कम्युनिस्ट आन्दोलन तहस नहस पार्न अघि बढेका हौ भने र विप्लवको पार्टीलाई नमस नहस बनाउन नसके पनि क्रान्तिकारी माओवादीको नेतृत्वमा पुगेर यसैलाई भए पनि तहस नहस बनाउने उद्देस्य राखेका छौ भने त्यो पनि पूरा हुने छैन । तिम्रो षडयन्त्रले तिमिलाईनै खानेछ ।
पार्टी एकताको नाममा क्रान्तिकारी माओवादीको नेतृत्वको तिमिले आस नगरे हुन्छ । क्रान्तिकारी माओवादीको देशभर मजबुत पार्टी सङ्गठन नहोला तर केन्द्रीय छाता सङ्गठन मजबुत छ । तिमिभन्दा एक से एक नेताहरू छन् ।
१ – क. किरण जो अहिले महासचिव छन् यिनी २०२८ सालदेखि केन्द्रमा छन् ।
२ – सीपी गजुरेल जस्ले पाँचौ महाधिबेशनमानै गल्तिको ढालछोपको दस्ताबेज लेख्ने ब्यक्ति पनि छन् । जनयुध्दको तयारीदेखि हालसम्म क्रान्ति भनेर लागेका हरिभक्त कडेल, दिनेश शर्माहरू छन् ।
३ – मसालमा मोहनबिक्रम चित्रबहादुरहरूको नेतृत्व गर्दै महासचिव भएका रामसिंह श्रीस छन् ।
४- नेपाल कम्युनिस्ट पार्टी एकिकृतका महासचिव परि थापा छन्
५ – गोर्की श्रेष्ठ तत्कालिन शम्भुराम श्रेष्ठको समुहबाट सम्युक्त जनआन्दोलन समितिमा सही गर्ने छन् ।
६ – जगदिशचन्द्र भण्डारी मालेमा समुहबाट सम्युक्त जनआन्दोलन समितिमा सही गर्ने छन् ।
७ – सिताराम तामाङ्ग स्वतन्त्र रूपमा सम्युक्त जनआन्दोलन समितिमा सही गर्ने छन् ।
त्यस्तै मोतीरत्न अमात्यहरू सर्वहारावादी श्रमिक सङ्गठनले गरेका सशस्त्र बिद्रोहमा भाग लिएका हाल सल्लाहाकारको भुमिका रहेका पनि छन् यिनीहरूका अघि तिमी हात्तीका अघि मुसा बराबर छौ । पार्टी एकताबाट किरण पछिको नेता हुने तिम्रो इच्छा पानीको फोका बराबर हो । पार्टी फोडेर एक महाधिवेशनसम्म गर्न नसकेर पार्टी एकताका लागि कहौलो गर्दै हिड्ने तिमिमा के छ र अरूले पत्याउलान् ।बिप्लवकै दस्ताबेजमा एकीकृत जनक्रान्तिमा एकीकृत जनयुध्द बनाएर कार्यनीति बनाउने तिमीमा राजनैतिक ज्ञान कति छ के अरूले थाहा पाउदैनन् । आफ्ना सण्डमुण्डहरू बटुलेर बनाएको जम्बु टोलि एकताको नाममा सबैलाई केन्द्रीय समितिमा पुराएर आफू नेता भएर साम्राज्यवादीहरूको सेवामा बृध्दि गर्ने इच्छा यदी राखेका छौ भने यो इच्छा सोम शर्माको पिताको जस्तो हुनेछ । हुनत भिखारीहरूलाई धनको खाँचो अबस्यै पर्छ तर आर्थिक सङ्कट कहिल्यै पर्दैन अरे । आर्थिक सङ्कटका कारण ठूला- ठूला पुँजीपतिहरूले आत्म हत्या गरेको सुनिन्छ तर आर्थिक सङ्कटको कारणले भिखारीले आत्महत्या गरेको कतै सुनिदैन । राजनीतिमा तिमी भिखारी बराबर हौ पद दिए जय- जयकार नदिए गालि स्रराप, हामीलाई थाहा छ, बिप्लवलाई तिमीले किन छाड्यौ किनकि बिप्लवले तिमिलाई प्रकाण्ड भन्दा माथि नबनाएकाले हो । यदी क्रान्तिकारी माओवादीसँग पार्टी एकता भै हालेछ भने मिति पाँचौ स्तरको नेता भन्दा माथि हुने छैनौ । त्यस बेलासम्म धेरै क्रान्तिकारी साथीहरू भ्रमले जो तिम्रा पछि लागेका थिए सबै नेपाल कम्युनिस्ट पार्टीमा फर्किसकेका हुनेछन् । कोही एकतामा लाग्ने छन् । मिति पूर्ण असफल हुनेछौ र साम्राज्यवादीहरूको विश्वास पनि गुमाउने छौ । त्यस पछि कोट खुलिएको स्यास जसरी डुल्ने हुनेछौ । यहीनै तिम्रो नियति हुनेछ । बेलैमा होसमा आऊ अहिलेको साम्राज्यवादीहरूको चक्करबाट निक्ल र आफ्नो पुरानो इतिहासलाई काएम गर यसैमा तिम्रो कल्यण छ । होसमा आऊ धर्मेन्द्र होसमा आऊ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।