• २५ माघ २०७९, बुधबार
0 COMMENTS

  (नेपाल कम्युनिस्ट पार्टीको गत असोज २५ देखि कार्तिक २ गते सम्म कपिलवस्तुमा सम्पन्न नवौं महाधिवेशनले विश्व कम्युनिस्ट आन्दोलन र विशेषत: नेपालको क्रान्तिको प्रयोग र विकासका क्रममा हासिल भएका अनुभवहरुको विश्लेषण सहित विचार, कार्यदिशा, राजनीति र संगठनको क्षेत्रमा केहि थप  संश्लेषण गरेको छ। महाधिवेशनद्वारा पारित निष्कर्षहरुलाई प्रस्ट पार्न र नयाँ उचाईमा बहसको थालनी गर्ने उदेश्यले आजको शृङ्खलामा  नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सी सङ्ग छोटो कुराकानी गरेका छौँ।)

१- तपाईहरुले केहि समय अघि पार्टीको नवौं महाधिवेशन कपिलवस्तुमा गर्नु भो । त्यो बेलाको समग्र परिस्थिति र महाधिवेशनका अनुभूतिहरुलाई पस्कीदिनुहोस् न ?

हो, नेकपाको नवौं महाधिवेशन गएको असोज / कार्तिकमा आफ्नै केन्द्रिय कार्यलय कपिलवस्तुमा भयो  । त्यो तीनवटा परिस्थितिका प्रतिकूलता- नेताको नाममा जारी पक्राउ पुर्जी र चुनावले पैदा गरेको राजनैतिक, दशै तिहारले पैदा गरेको साँस्कृतिक र दशै लगत्तैको अविरल बर्षा र बाढी- पहिरोले पैदा गरेको प्राकृतिक प्रतिकूलता चिर्दै  व्यापक जनवादको अभ्यास गर्दै महाधिवेशन सफलतापूर्वक  सम्पन्न भयो ।

अवश्य पनि यसले हामी र सबै क्रान्तिकारीहरुलाई सफलतानुभूति र सुखानुभूति गरायो । 

वास्तवमा, नेपालका प्रायः  अन्य राजनैतिक पार्टीका  महाधिवेशनमा विचार-राजनीति  र देश अनि जनताका मुद्दामा बहस हुन छोडिसकेको स्थितिमा नेकपाको महाधिवेशनमा ती विषयमा छलफल भै निचोड दिन पाउदा गौरवको अनुभूति भएको छ ।

२- महाधिवेशनले केहि ऐतिहासिक र महत्त्वपूर्ण निर्णयहरु समेत पारित गरेको कुरा सार्वजनिक भएको पाइयो । खासमा तपाइहरुले पारित गरेका मुख्य मुख्य निर्णयहरु के के थिए?

महाधिवेशनले गरेका निर्णयहरुलाई केन्द्रीकृत गरेर एउटै वाक्यमा भन्दा- देश र जनताहरुले भोगिरहेका समस्यालाई समाधान गर्न समयानुकूल क्रान्तिकारी विचार र क्रान्तिको कार्यदिशा विकास गर्ने प्रस्ताव पास गरेको छ भन्न सकिन्छ ।

विकेन्द्रीत रूपमा भन्दा देशको संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक  व्यवस्था संकटग्रस्त बन्दै असफलता उन्मुख भएकोले क्रान्तिकारी परिवर्तनको लागि एकीकृत जनक्रान्ति सफल पार्न सामाजिक क्रान्तिको विज्ञान मालेमावादी दर्शनमा `अनिश्चिय रक्षा र रुपान्तरण´ को नियम,राजनैतिक अर्थशास्त्रमा `एकीकृत स्वामित्व प्रणाली ´र वैज्ञानिक समाजवादमा `एकीकृत निर्वाचन प्रणाली´ जस्ता नयाँ संश्लेसण गरेको छ । जो दूरगामी महत्वका निर्णयहरु हुन् ।

३-मार्क्सवादी – लेनिनवादी – माओवादी दर्शनशास्त्रको क्षेत्रमा  अनिश्चयको सिद्धान्त भनेर संश्लेषण गरेको  भएपनि यसबारे अझै स्पष्टताको अभाव जस्तो देखियो, यसको औचित्य के हो ? यो किन भनियो? स्पस्ट पारिदिनुहोस् न?

भौतिक विज्ञान र सामाजिक विज्ञान अन्तरसम्बन्धित र  अन्तर्निभर हुन्छन् ।  भौतिक विज्ञानमा जर्मन भौतिकशास्त्री म्याक्स प्लान्कको `क्वान्टम भौतिकि´ मा आधारित हाईजनवर्गको `अनिश्चितताको सिद्धान्त´  ले समाज विज्ञानमा के कसरी काम गर्छ ? वा गर्दैन त ? यसलाई अन्तरसम्बन्धित गरेर हेर्दा काम गरेको स्पष्ट देखिन्छ । जस्तो कि पुजीवादपछि आएको समाजवाद साम्यवादमा जाने निश्चितिता देखिएन, साथै यदि सचेत पहल भएन भने पुजीवादको अन्त्य र क्रान्ति हुने पनि निश्चिति भएन ।

त्यसैले दर्शनमा `अनिश्चय- रक्षा र रुपान्तरण ´ को नयाँ नियम  संश्लेषण गरेको हो । यसले पुजीवादको अन्त्यका लागी क्रान्ति गर्न सचेत पहलमा जोड दिन्छ भने समाजवाद आएपछि त्यसको निरन्तर रक्षा र विकास गर्न निर्देशित गर्दछ ता कि वैज्ञानिक साम्यवाद प्राप्त गर्न सकियोस्।  समाज विज्ञानमा अनिश्चितताको नियम विपरितहरुको एक अर्कोमा बदलिने गतिको तीब्रतामा देखिएको छ  ।

अन्ततः   गतिलाई पक्रन सकिएन भने समाजको नेतृत्व गर्न सकिँदैन । सायद सिद्धान्तमा गतिको विज्ञान द्वन्द्ववाद विरोधी भएर पनि व्यवहरमा  पुजीवाद गतिशील हुन सकेर नै टिकेको छ भने कम्युनिस्ट समाजवाद आफ्नो द्वन्द्ववादी सिद्धान्त व्यवहारमा लागू गर्न असमर्थ हुदा पछि परेको देखिन्छ – जस्तो कि पुजीवादले प्रायः प्रत्येक दिन नयाँ वस्तु र विचार बजारमा दिइरहेको हुन्छ , प्रचण्ड बिहान एक र साझ अर्कै बोल्छन्! पुजीवादी आज झगडा गर्छन्- भोलिपल्ट मिलिहाल्छन! पुराना पार्टीलाई ६ महिने पार्टीले जित्छ किन ?  सम्भवत  यी  आवश्यकता र अनिश्चितताका परिणाम हुन तर पुजीवादले यसमा `उपभोक्तावाद´ मिसाएर गल्ती गरेको छ  । कम्युनिस्टहरुले यो अनिश्चितता र समाजको  गतिलाई पक्रेर  रणनैतिक रूपमा सदुपयोग गर्ने कोसिश गर्नुपर्दछ ।

यसरी मात्रै समाजको नेतृत्व  लिन र गर्न सकिन्छ । यो दिशामा नयाँ नियमले काम गर्नेछ ।  अन्तर्वार्ताको यत्ति कुराले मात्रै पनि यो संश्लेषणको आवश्यकता र औचित्य स्पस्ट हुदैन र ?

४- अनि, राजनीतिक अर्थशास्त्रको क्षेत्रमा एकीकृत आर्थिक प्रणाली भनेको पाइयो।आजको दुनियाँमा अस्तित्वमा रहेका दुईवटा अर्थप्रणालिहरु: पुजीवादी र समाजवादी वा मिश्रित अर्थ प्रणाली भन्दा तपाइहरुले भन्नु भएको अर्थ प्रणाली कुन अर्थमा फरक र बिशिस्ट छ? र किन?

, नवौं महाधिवेशनले` एकीकृत स्वामित्व प्रणाली ´ को प्रस्ताव गरेको छ, किनभने निजी स्वामित्वको पुजीवादी प्रणाली असमान, अमानवीय र असफल छ, यसले धनी र गरिबको अन्तर चर्काएको छ, दुइटा बिश्व युद्ध गराएको छ, यो प्रणाली  सामाजिक द्वन्द्वको मुख्य कारक रहेको छ भने सामुहिक स्वामित्वको समाजवादी प्रणालीका विगतमा समाजवादी देशमा एकातिर जनता खुशी नभएको र अर्कोतिर कम्युनिस्टको उच्च तहमा नै नवधनाढ्य बर्ग जन्मेको छ। जस्को कारण समाजवाद ढलेको छ । त्यसैले सामुहिक स्वामित्वको बैज्ञानिकता र श्रेष्ठता पुस्टी गर्दै कायम राख्न  निश्चित समयसम्म निजी स्वामित्व पनि सहायक रूपमा सङ्गै रहने  र राख्नुपर्ने आवश्यकता देखिन्छ  ।

वास्तवमा, सामुहिक स्वामित्व, उत्पादन र वितरणमा नै जनताले अपनत्व महसुश गर्दै खुशी हुने स्थिति बन्छ र बनाउनुपर्छ । यसो भन्दा यो त `मिश्रित आर्थिक प्रणाली ´ भयो भन्ने भ्रम पनि हुनसक्छ,  तर होइन । 

वस्तुतः मिश्रित अर्थ प्रणाली भनेको पुजीवादी प्रणाली नै हो जसको सैद्धान्तिक आधार अर्थशास्त्री किन्सले दिए भने, भारत, नेपाल लगाएत अन्य आजका कैयौं देशको  प्रणाली त्यही भित्र पर्दछ। 

एकीकृत आर्थिक स्वामित्वमा आधारित आर्थिक  प्रणाली भनेको वस्तुतः समाजवादी अर्थ प्रणाली हो जसले निजी पुजीका सकारात्मक वा समाजवाद अनुकूल पक्षलाई आफुमा एकीकृत गर्दछ ।  त्यसैले यो बिशिस्ट र नयाँ प्रणाली हो ।

५-पार्टीको नवौं महाधिवेशनले अन्तरास्ट्रिय परिस्थितिको मुल्यांकन वा विश्लेषण गर्ने सन्दर्भमा आजको परिवेशलाई  दुइधुर्विय वा बहुधुर्विय भन्दै अहिलेको साम्राज्यवादलाई भुमण्डलिकृत साम्राज्यवाद भनेर व्याख्या गर्यो।जबकि आठौं महाधिवेशनले त साम्राज्यवादलाई उत्तरसाम्राज्यबाद भनेको थियो नि!

आठौं महाधिवेशनले साम्राज्यवाद लाई  उत्तर- साम्राज्यवाद भनेको थियो तर नवौं महाधिवेशनले पार्टी बाहिर र भित्रको बहस र सुझावपछि सरल र स्पष्ट शव्द `भूमण्डलीकृत´ राखेको हो, जसले स्पष्ट गर्दछ कि- पुजीवादको चरीत्र भूमण्डलीय छ र यो बिश्वब्यापी समस्या हो, यो पुरानो सार र नयाँ रुपमा छ र लेनिनको बेलाको भन्दा भिन्न छ ।

अहिलेको पुजीवाद बिश्वका श्रमिकहरु, उत्पीडित राष्ट्र र पृथ्वी समेतको चर्को शोषण मार्फत पुजीको अति केन्द्रिकरण र अनुत्पादकता बढाएर झन्झन्  अमानवीय, असामाजिक र फासिष्ट चरीत्र ग्रहण गर्दै गएको छ, परिणामत: एक धुर्बिय बिश्व बहुधुर्बियतिर जादैछ । त्यसैले पुजीवाद बिरोधि जनताको संघर्षलाई एकीकृत र प्रभावकारी बनाउन `भूमण्डलीकृत पुजीवाद´ को रूपमा  सश्लेसण गर्न आवश्यकता भएको हो ।

सरल रूपमा भन्दा साम्राज्यवादको पछिल्लो स्वरुप – जो विगतको बन्दुकधारी सेना लिएर हैन कि पैसा र प्राविधि लिएर लुट्ने चरीत्र छ- लाई ठिक ढंगले व्यक्त गर्न र बुझाउन `भूमण्डलीय ´ शव्द बढी सहि हुन्छ भनेर पार्टीले ब्याख्या  गर्यो ।

६- तपाइहरुले आफ्ना नेता कार्यकर्ताको थरको सट्टा सी लेख्ने निर्णय गर्नु भा रैछ।यसको औचित्य र सार्थक कार्यान्वयनबारे धेरै जिज्ञासाहरु पनि व्यक्त भएका छ्न।यसलाई थप प्रस्ट गरिदिनु हुन्छ कि?

  निश्चय नै हामीले आफ्नो थरको सट्टा सी लेख्ने निर्णय गरेका छौ।यसले मानिसको  अन्तर्राष्ट्रिय जाती नयाँ वा  समाज निमार्ण गर्नेछ । सी को अर्थ कम्युनिस्ट ( साम्यवादी ) भन्ने हो । यो कम्युनिस्ट जाती  सबै बर्ग, जाती र भूगोल ( क्षेत्र ) भन्दा माथी उठेको नयाँ मानव जाती हो  र बैज्ञानिक समाजवादका लागी आवश्यक तत्व हो  भने बैज्ञानिक समाजवादमा थप `एकीकृत निर्वाचन प्रणाली ´ अगाडि सारेको छ, जसले पार्टी र जनताको संयुक्त सत्ता अभ्यासलाई सुनिश्चित गर्दछ र अहिले चुनावमा देखिएको पुजीको निर्णायक भूमिकालाई अस्विकार र नियन्त्रण गर्दछ ।

त्यस्तै पार्टी संगठनात्क पद्धतिमा जनवादी केन्द्रियता, आलोचना आत्मआलोचनाका अतिरिक्त `अध्ययन र तथ्यद्वारा रुपान्तरण ´ को नयाँ विधि पनि प्रस्ताव गरेको छ जसले कम्युनिस्ट पार्टीलाई रुपान्तरण र एकताबद्ध गर्न सहयोग गर्नेछ । फेरिपनी जात परिवर्तन  गरेर एउटै नयाँ जाती बनाउने कुरा जटिल तर आवश्यक कुरा हो ।

७ – अब, अलिकति फरक प्रसङ्ग्मा जाऔँ । नेकपाले गएको स्थानीय चुनाव प्रयोग गर्यो र पछिल्लो संसदिय चुनाव खारेज भनेर  कार्यनीति तय गर्यो।तपाइहरु कै केहि सहयात्रीहरु स्थानीय चुनाव प्रयोग गर्ने निति गलत भएको भन्दै अर्को पार्टी बनाएर हिडे।यी घटनाक्रमलाई कसरी बुझ्दा सहि होला?

पार्टीको चुनाव सम्बन्धि निति र निर्णयले – चुनाव सबैथोक हो वा चुनाव   छुनै नहुने हो भन्ने दुबै अतिवादी बुझाईलाई तोडेको छ ।  एक कम्युनिस्ट क्रान्तिकारीका लागि त चुनाव कार्यनैतिक विषय हो , जो लेनिनका अनुसार २४ घण्टामा बदलिन्छ । त्यसैले पार्टीले कार्यनैतिक रूपमा स्थानीय चुनाव प्रयोग र संसदीय चुनाव खारेज गर्ने निर्णय गरेको हो । 

यसप्रकारको प्रयोगले पार्टी जनता सङ्ग मिलेर अघि बढन चाहान्छ र खारेजले नयाँ बैज्ञानिक समाजवाद चाहान्छ भन्ने सन्देश दिन सफल भएको छ  ।

जहाँसम्म कार्यनीतिलाई रणनीति बनाएर पार्टी फुटाउनेहरु छन, तीनले ठुलो गल्ती गरेका छन । वास्तवमा उनीहरुको क्रान्तिप्रतिको समर्पण र प्रतिबद्धता एकदमै कम्जोर रहेछ भन्ने घटनाक्रमले देखाएको छ । त्यत्ती मात्रै होइन कि पार्टी खुला परिवेशमा हुदा पुजीवादीहरुलाई पार्टी तोडफोड गर्न सजिलो पनि हुन्छ ।

यहाँ  अहिले फुटवादीको क्रान्तिप्रतिको कमजोर प्रतिबद्धता र पुजीवादको कम्युनिस्ट तोडफोडको रणनीति एकाकार भएर नेकपा विरुद्ध कृयाशिल रहेको छ । यी घटनाक्रमले क्रान्ति र प्रतिक्रान्तिको स्वभाविक टक्करलाई व्यक्त गरिरहेका छन ।

८- तपाइहरु तीन बुदे सहमति गरेर आइसके पछि  सरकारी पक्षबाट त्यसको कार्यान्वयनमा निकै सकस देखियो।देउवा सरकारले अध्यादेश ल्याएर हल गर्ने कोसिस गरे पनि त्यो पुर्ण हुन सकेन।फेरी प्रचण्ड सरकार बनेको छ ।अब त्यो कोर्स कसरी अगाडी बढ्छ ?

तत्कालीन केपि ओली सरकारसङ्ग तीन बुदे सहमति भएको दुई  बर्ष पुग्दैछ तर कार्यन्वयन अझै भएको छैन जुन सहमति अनुसार बन्दी साथीहरू छोड्नुपर्ने र सम्पुर्ण झुट्टा मुद्दा  खारेज गर्नुपर्ने थियो ।

सरकारले सहमति लागू गर्न देखाएको अनिच्छाले उ शान्ति हैन कि आफ्नो असफलता ढाकछोप गर्न नयाँ द्वन्द्व चाहान्छ भन्ने देखिदैछ  । तर पार्टी तीन बुदे सहमतिमा प्रतिबद्ध छ। ठोस रूपमा  भन्दा शान्तिपूर्ण गतिविधि गरिरहेको छ । त्यसैले शान्ति र समृद्धिका खातिर सहमति लागू गर्नैपर्छ । यो सन्दर्भमा के पनि भनी हालौ भने विगतमा केपि र प्रचण्डले कम्युनिस्ट पार्टीलाई `प्रतिबन्ध ´ लाएको दोष एक अर्कोलाई लगाई आफू चोखिन खोजेका थिए ।

ओलीले त तीन बुदे गरिसकेका छन तर प्रचण्डले लागु गर्छन कि के गर्छन ? हेर्नुपर्ने दिन आएका छन । वस्तुतः  शान्तिको महत्त्व बढी प्रचण्डले बुझ्नुपर्ने हो तर ऊनी  नै नयाँ द्वन्द्वको कारक वा प्रारम्भकर्ता बन्ने खत्तरा पनि छ, किन कि साम्राज्यवादले यहि चाहन्छ ।  हामीले त आशा गर्नैपर्छ कि प्रचण्ड सरकारले तीन बुदे सहमति कार्यन्वयन सहजै गर्नेछ अन्यथा २०५२ सालको देउवाको नयाँ  प्रचण्ड रुप देख्नुपर्नेछ ।
९- नेपाली समाजको दलाल पुजिवादसङ्गको प्रधान अंतर्विरोध हल गर्ने भनेर एकीकृत क्रान्तिको सामरिक कार्यदिशा सहित तपाइहरु अगाडि बढेको पनि झण्डै १ दशक पुग्दै छ,क्रान्ति अनिश्चयताको गर्भमा भएको जस्तो महसुस हुदैछ। यस्तो बेला पार्टी , क्रान्ति र आन्दोलनबारे कसरी सोच्दै हुनुहुन्छ ?

अवस्य पनि, एकीकृत जनक्रान्ती विभिन्न आरोह- अवरोह सहित अघि बढिरहेको छ- परिणामत: बैकल्पिक राजनीतिको बहस नेकपा वरिपरि केन्द्रित हुन आएको छ । एक दशक पुग्नलाग्दा पनि केहि भएन भन्नू गलत हो , अझ त त्यो यान्त्रिक बुझाई हो । यसो भनेर फेरि तपाईंले भने जस्तो क्रान्ति अनिश्चितताको गर्भमा छ भन्ने पनि होईन ।

क्रान्ति  समाजको अपरिहार्य आवश्यकता हो, भबिस्यमा अनिवार्य हुनेछ तर त्यसको लागि कम्युनिस्ट क्रान्तिकारी पार्टीको सचेत पहल आवश्यक हुन्छ । त्यसैले  यो बेलामा हामीले पार्टीलाई सुदृढ गर्ने, क्रान्तिलाई निरतरता दिने र जनताले भोगिरहेका समस्यालाई लिएर जन संगठनको बिस्तार र जन आन्दोलनको उठान गर्ने अनि त्यही प्रक्रियामा क्रान्तिकारी तथा प्रगतिशील  कम्युनिस्ट,बामपंथी,देशभक्त र लोकतान्त्रिक शक्तिहरुको नयाँ धुब्रीकरण र मोर्चाबन्दी गर्ने योजनाको बिकास गर्न आवश्यक छ र पार्टी त्यही तयारीमा जुटेको छ ।

१०- अब छिट्टै फाल्गुन १ गते वा जनयुद्ध दिवस नजिकिदै छ। कसरी स्मरण गर्नु हुन्छ ती क्षणहरु र के भन्नुहुन्छ शहिद परिवार , घाइते योद्दा र आम मजदुर किसानहरुलाई?

  निकट भबिस्यमा जनयुद्ध दिवस तथा फागुन एक आउदैछ । अवस्य पनि, जनताको महान उत्सवको रूपमा स्मरण गर्दै त्यसले निरंतरता पाउने छ किनभने  माओवादी जनयुद्ध एक गौरवशाली महान लडाइँ थियो ,जसले बिश्वमा नेपालीलाई सबैभन्दा स्वाभिमानी, परिबर्तनप्रेमी र क्रान्तिकारी जनताको रूपमा चिनाएको थियो तर त्यो लक्ष्यमा नपुग्दा र अहिले  त्यसमाथि प्रतिक्रान्ती हावी हुँदै गइरहेको स्थितिमा त्यो एक हिंसात्मक अपराध थियो भनेर बदनाम गर्ने अभियान पनि जोडतोडले चलिरहेकै छ ।

यो बेला सम्पुर्ण  जनयुद्धमा सहभागी र त्यसका पक्षधरहरुले आफुलाई नयाँ ढंगले पुनर्जीवित र पुनर्गठन गर्न आवश्यक छ । त्यसैले आउदै गरेको जनयुद्ध दिवसका सन्दर्भमा म जनयुद्धमा सहभागी र जनयुद्धप्रेमीहरुलाई स्मरण गर्दै महान सहिदहरुलाई उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गर्दै सहिद परिवारलाई निराश नहुन अनुरोध गर्दछु ।

 

११- अन्तमा, हाम्रो जनपक्षीय मिडिया, र योसङ्ग सम्वद्द सञ्चारकर्मिहरुलाई थप केहि भन्नु हुन्छ?

   चुनावका कारण महाधिवेशनका निर्णयहरुको सम्प्रेषण ओझेलमा परेको हो कि भन्ने थियो । यद्यपि, पत्रकार सम्मेलनमार्फत सम्प्रेषण गरिएको थियोे र निरन्तरतामा अन्तर्वार्ताद्वारा त्यो मौका दिएकोमा तपाईंलाई धन्यवाद !  र तपाईंको मिडिया र त्यो सम्बद्ध  संचारकर्मीको निरन्तर प्रगतिको कामना गर्दछु । साथै , वर्तमान संसद, सरकार र समग्र राज्यसत्ता देश र जनताको विरुद्ध जाने  खतरा भएकोले त्यस विरुद्ध  जनतालाई जागरुक बनाउन निरन्तर कृयाशिल भैरहनुहोला भन्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।