१२ बैशाख २०८१, बुधबार

तम्घासमा नेकपा गुल्मीद्वारा २८ औं जनयुद्ध दिवस सम्पन्न

0

फागुन १, तम्घास, गुल्मी । नेकपा गुल्मीले २८ औं जनयुद्ध दिवस मनाएको छ । जिल्ला सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गरेका छन् ।


जिल्ला समिति गुल्मीद्वारा आयोजित कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य एवं जिल्ला इन्चार्ज सुमन सीले जनयुद्ध राजनीतिक दृष्टिले सामन्तवाद, नोकरशाही पुँजीवाद र साम्राज्यवाद विरुद्धको संघर्ष भएको भन्दै यसका उपलब्धिहरुलाई रक्षा गर्न नसकिएको बताउनुभएको छ । उहाँले जनयुद्धको रक्षा एकीकृत जनक्रान्तिले गर्ने भन्दै त्यसका लागि इमान्दार क्रान्तिकारी, देशभक्त र प्रगतिशील पक्षधरहरु सिद्धान्तनिष्ठ एकीकृत हुनुपर्ने बताउनुभयो । उहाँले २८ औं जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण गुल्मेली जनसमुदायलाई शुभकामना व्यक्त गर्दै नेपाली क्रान्तिका सहिद, बेपत्ता, घाइते अपांगहरुप्रति विशेष स्मरण गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सचिव अशोक थापाले कम्युनिस्ट पार्टीहरुबीच एकता भएमात्रै जनयुद्धको रक्षा हुने बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुमा आबद्ध नयाँ पुस्ताले जनयुद्धको रक्षा गर्दै विकास र विस्तार गर्नुपर्ने बताउनुभयो । नेकपा एमालेका जिल्ला उपसचिव धर्म सुनारले नयाँ जनवादी क्रान्तिको चरण पुरा भएकोले राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादतर्फ अगाडी बढ्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका जिल्ला नेता हरि न्यौपानेले माओवादी विचार सही हुँदाहँुदै पनि नेताहरुको गलत प्रवृत्तिले आन्दोलन कमजोर बन्दै गएको बताउनुभयो ।


गुल्मी उद्योग बाणिज्य संघ नेपाल गुल्मीको अध्यक्ष ईश्वरी पौडेलले देशको अर्थतन्त्र संकटमा परेको भन्दै यसको समाधानबारे राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने बताउनुभयो ।
नेकपा जिल्ला सदस्य विनोद सीको सञ्चालन र जिल्ला सदस्य तारा बस्नेतको स्वागतमा कार्यक्रम सम्पन्न गरिएको थियो । देशब्यापी रुपमा गरिएको कार्यक्रम अन्तर्गत नेकपा गुल्मीले जनयुद्ध दिवस मनाएको हो । कार्यक्रमको अवसरमा नेता कार्यकर्ता, अतिथि र कार्यक्रममा सहभागिहरुबीच अवीर माल्यार्पण गरेर शुभकामना आदानप्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।