१६ चैत्र २०८०, शुक्रबार

युवा संगठन नेपालकाे बैठक सम्पन्न, भ्रष्टाचारी, लघुबित्त, मिटरब्याजीलाई जनकार्बाही गर्ने

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ । माघ २८ देखि फाल्गुन १ गतेसम्म चलेको बैठक महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

पार्टीका स्थायी समिति सदस्य तथा संगठनकी फ्याक्सन इन्चार्ज सिलु सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा संगठनका निवर्तमान फ्याक्सन इन्चार्ज कृति सीको विशेष उपस्तिथि रहेको थियो ।
बैठकको सुरुवातमै संगठनका निवर्तमान फ्याक्सन इन्चार्ज कृति सीलाई संगठनले सम्मानपत्र प्रदान गरि स-सम्मान बिदाई गर्‍यो । साथै पार्टीको नवौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकबाट युवा संगठन नेपालको फ्याक्सन इन्चार्जको जिम्मेवारी पाउनु भएकी सिलु सीलाई संगठनले न्यानो स्वागत गर्‍यो । लामो समयसम्म फ्याक्सन इन्चार्जको भूमिका निर्वाह गरि बिदाई भएका कृतिले संगठन संचालन गर्दाको अनुभव, सुझाव र युवाहरुले आगामी दिनहरुमा गर्नुपर्ने कार्यहरुको बारेमा स-विस्तार बिदाई तथा प्रशिक्षण मन्तव्य राखे ।

देशैभरिबाट बैठकमा उपस्थित सम्पूर्ण केन्द्रिय सदस्यहरुले आ-आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ गरेका थिए । आजको नेपालमा नेपाली युवाहरुले भोग्नु परेको अवस्था, भौगोलिक अवस्था र जनस्तरमा रहेको वस्तुगत अवस्थालाई मसिनो ढंगले प्रस्तुत गरे । साथै सबै सदस्यहरुले आगामी दिनमा संगठनले लिनुपर्ने कार्यक्रमहरुको विषयमा महत्त्वपूर्ण सुझाव प्रस्तुत गरे ।

बैठकका प्रमुख अतिथि तथा संगठनका फ्याक्सन इन्चार्ज सिलु सीले पार्टीको नवौं महाधिवेशनले संश्लेषण गरेका विचारधारात्मक तथा दर्शन, आर्थिक, संस्कृतिक विषयहरुलाई सु-स्पष्ट पारिन् । पार्टीको नवौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकले लिएका महत्त्वपूर्ण निर्णयहरुलाई दृढताका साथ लागू गर्न गराउन पनि निर्देशन गरिन् ।
आजको नेपालमा सबैभन्दा संकटमा युवा समुदाय रहेको र उक्त युवा समुदायलाई मुक्त गर्ने र जनतामुखी राज्य व्यवस्था स्थापना गर्ने जिम्मा हाम्रो पार्टी र संगठनलाई आएको उल्लेख गरिन् । पुँजीवादले युवाहरुलाई विभिन्न कुलत र गलत धन्दाहरुमा फसाउने गरेको हुँदा त्यस्ता कार्यबाट युवाहरुलाई बचाउने पहिलो जिम्मेवारी युवा संगठन नेपालको रहेको जिकिर गरिन् । आज विश्वमा साम्राज्यवादी संकट चरम संकटको रुपमा बढेर गएको भन्दै तसर्थ आफुलाई बचाउन साम्राज्यवादले विभिन्न रुपधारण गर्दै आएको र त्यसैको एउटा रुप रवि लामिछाने भएको बताइन् । तसर्थ संगठनले आगामी दिनहरुमा लिने निर्णयहरु युवामुखी हुनु पर्ने र संगठन जन लेवलमा रहेका युवाहरुको मर्म भावना बुझ्ने हुनुपर्ने निर्देशन गरिन् ।

बैठकले सिंगै देशलाई २१ वटा भागमा विभाजन गरि भौगोलिक संरचनाहरु निर्माण गरेको छ । उक्त संरचनाहरुमा इन्चार्जको व्यवस्था गरि सचिवालय र केन्द्रिय सदस्यहरुलाई जिम्मा दिएको छ । विभिन्न विभागहरु निर्माण तथा थपघट गरेको छ ।

संगठनको पदाधिकारी तथा केन्द्रिय समितिमा नयाँ पदाधिकारीहरुलाई पद उन्नती गर्‍यो जसमा महासचिवमा तिलक सी, सचिवमा विश्लेषण सी, कोषाध्यक्षमा सुवास सीलाई सर्वसम्मतले चयन गर्‍यो ।

बैठकले भ्रष्टाचार, कमिसनखोर, लघुबित्त, मिटरब्याजी, लागू औषध, तथा समाजमा रहेका विकृति विसंतिका विरुद्ध भण्डाफोर तथा जनकार्बाही चरणबद्ध गर्ने निर्णय गरेको छ । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा पनि सशक्त कार्यक्रमहरु गर्ने निर्णयहरु गरेको छ ।

केन्द्रिय समितिबाट बिदाई भएकाहरुलाई सम्मानपत्र प्रदान गरि बिदाई गर्‍यो । र नयाँ जिम्मेवारी सम्माहल्नु भएकाहरुलाई जिम्मेवारी प्रदान पत्र, प्रदान गरि कार्यक्षेत्रमा पठायो । तीन दिनसम्म चलेको बैठक अत्यन्तै दूरगामी महत्त्वका निर्णयहरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।