७ पुष २०८१, आईतवार

धर्म र कम्युनिस्ट

0
    • मानवसभ्यताको प्रात:कालमा मानिस दैविक ज्ञानको निकट थिएन । प्राकृतिक घटना र प्रकृतिका रहस्यहरू देखेर उसमा कुतुहल तथा भय सिर्जना हुनु स्वाभाविक थियो । प्रकृतिका रहस्यहरूको वैज्ञानिक कारण नजान्दा कुनै अलौकिक शक्तिको अस्तित्व कल्पना गरेको हुन सक्छ । अहिले पनि कैयौँ जनजातिहरू प्रकृतिपूजक रहेको स्थिति, राउटेजस्ता जङ्गली जातिहरू प्रकृतिपूजक रहेको यथार्थले त्यसका लागि आधार प्रदान गर्दछन् ।

मानव चेतनामा धार्मिक भावना प्रारम्भमा कसरी पैदा भयो होला र त्यस विषयमा एकरूपता देखिएको छैन । हुन सक्छ, मानव चेतनाको विकाससँगै उसले मृत्युको बारेमा सोच्न थाल्यो । चलमल, काम(धाम गरिरहने मान्छे एकाएक शान्त हुँदा रिसाएको वा मान्छेलाई शान्त बनाउने शक्ति भएको र शान्त भएको धेरै पछि दुर्गन्ध आउने, कुहिने देखेपछि र उसलाई सपनामा देख्न थालेपछि अलौकिक शक्तिको डरमा त्यो ठाउँ नै छोडेर जान थाले तर पनि मृत आफन्तको सम्झना हुन छोडेन ।

त्यसपछि मृत व्यक्तिले पिछा गरिरहेको कल्पना भएको हुनुपर्छ । आहारा बाँडेर खाने र त्यसो नगर्दा रिसाउनु स्वाभाविक थियो । मृत आफन्तलाई खुसी पार्न उसको भाग छुट्याउन थाले । कालान्तरमा सम्झना पनि धुमिल हुँदै जाने हुनाले त्यसलाई उसले भाग छुट्याएपछि रिसाउन छोडेको ठान्यो । त्यसकारण भाग छुट्याउने संस्कारले निरन्तरता पायो । त्यसैप्रकारको प्रक्रिया अन्य प्राकृतिक रहस्य र भयहरूका सन्दर्भमा पनि हुन थाल्यो । त्यसरी कबिला समाज प्रकृतिपूजक भएर गयो ।

अध्ययनबाट के देख्न सकिन्छ भने सबै मृत अग्रजहरूको स्मृति संस्कारको परम्परा जीवित मानवको मस्तिष्कमा एक दुःस्वप्नका रूपमा रहिरहेको हुन्छ । एकलाख वर्ष पहिले नै अन्डरथलले आफ्ना मृतकलाई गाड्ने, त्यहाँ खाना र हतियार राखिदिने गर्दथे । प्राकृतिक घटनाको भय, रहस्य र आत्मरक्षाका लागि प्राकृतिक शक्तिहरूलाई खुसी पार्न प्रार्थना गर्न थालियो । भौतिक घटनाको कार्य र कारण बुझ्न नसक्दा आध्यात्मिकताको सिर्जना भयो ।

वर्ग समाजको उदयपछि वर्गीय स्वार्थसहित व्याख्या गरियो । दासयुग धर्मको स्वर्णकाल थियो । पहिलो वेद ऋग्वेद ई पू १५००-१२०० वर्ष पहिले भारतको पञ्जाब राज्यमा तयार भएको मानिन्छ । विस्तारै धर्ममा कर्मकाण्डवाद थपियो । कर्मकाण्डवादले राजालाई ईश्वर र ब्राह्मणलाई ईश्वरको उत्तराधिकारी ठान्यो । त्यसले अर्थात् बौद्धिक जगत्ले श्रमिकहरू र महिलालाई ईश्वरका दास ठान्न थाल्यो । त्यसले सत्ताद्वारा श्रमिकमाथिको उत्पीडनलाई नैतिक ठहऱ्यायो । त्यसप्रकारको नैतिक मूल्य र समाज व्यवस्थालाई विकास र समृद्ध बनाउनका लागि पौराणिक साहित्यको रचना गरियो ।

धर्मका सम्बन्धमा फ्रेडरिक एङ्गेल्सको भनाइ छ, “धर्म वास्तवमा अरू केही नभएर मान्छेको सांसारिक स्थितिको प्रतिबिम्ब हो । जहाँ ईश्वरले रूप धारण गरेको हुन्छ ।” धर्मले विभ्रम ,उल्टो चेतना या समस्याको कल्पित समाधान प्रस्तुत गरेर आमजनलाई वास्तविकताबाट टाढा राख्दछ । यसप्रकार धर्मले प्रतिक्रियावादी राजनीतिको मानसिक आधार तयार गर्दछ ।

धर्म के हो ?

वर्ग समाजको उत्पत्तिपछि शोषकवर्गले आफूलाई सुदृढ गर्ने क्रममा राज्यसत्ता निर्माण गयो । भौतिक सत्ता चिरस्थायी गर्न उसलाई विचार र समाजिक मूल्य जस्ता अप्रत्यक्ष र सूक्ष्म हतियारको पनि आवश्यकता महसुस भयो । त्यही बौद्धिक सत्ता सुदृढ गर्ने क्रममा सामन्तवादले पुनर्जन्म, भाग्यवाद, जादुगरी, टुनामुना, स्वर्ग, नरक आदिको परिकल्पना गरेको थियो ।

पुँजीवादले सुरुमा सामन्तवादसँग लड्ने क्रममा धार्मिक सत्ताका विरुद्ध सामन्तवाद र साम्राज्यवादका बिचको अपवित्र साँठगाँठ पछि धार्मिकता र शोषणमा आधारित सत्ता टिकाउन आवश्यक महसुस गरी पुँजीवादले धर्म विरोधी अभियान रोकेको मात्र होइन, पादरी र चर्चको शरणमा लम्पसार परेको छ । यतिबेला मार्क्सवाद बाहेक धार्मिक सत्ताका विरुद्ध टक्कर लिने कुनै अर्को विरोधी पक्षको अस्तित्व छैन ।

धर्मका सम्बन्धमा फ्रेडरिक एङ्गेल्सको भनाइ छ “कुनै पनि धर्म मानिसको मस्तिष्कमा ती बाध्य शक्तिहरूको कपोलकल्पित प्रतिबिम्ब सिवाय अरू केही होइन, जसले मानिसको दैनिक जीवनमा उनीहरूमाथि प्रभुत्व जमाएका हुन्छन् । यस्तो प्रतिबिम्बमा पार्थिव शक्तिहरूले नै अपार्थिव रूप लिन पुग्दछन् । प्रकृतिका रहस्यहरूप्रति अनभिज्ञता, उत्पीडनबाट पैदा हुने निस्सहायताको भावना, प्राकृतिक प्रकोप र प्रकृतिका रहस्यहरूप्रति अनभिज्ञता नै धार्मिक भावनाको उत्पत्तिको कारण हो । समाज विकासको निश्चित चरणमा धर्मको उदय भएको थियो र मानवजाति पूर्ण भौतिकवादी भएपछि धर्मको आधार समाप्त हुनेछ ।

पुँजीवादीहरू धर्मलाई सर्वकालिक र धार्मिक भावना मान्छेको प्राकृतिक गुण भन्दछन् । साम्राज्यवादले पश्चिमी अतिक्रमणकारी संस्कृतिको प्रचार, जासुसी संयन्त्रको घुसपैठ, पश्चिमी दासत्वकरण र ती सबैको केन्द्रमा स्थानीयताको निषेध र साम्राज्यवादी व्यापार विस्तारको रणनीति अपनाएको छ ।

* धर्मले समाजमा खेल्ने भूमिकालाई बुँदागत रूपमा हेरौं :

» जीवन र जगतप्रति विभ्रम ,उल्टो चेतना निर्माण गर्नु
» श्रमिकजनको चेतनामा विद्रोही भावनाको अन्त्य गराउनु, मानसिक दासत्व सिर्जना गर्नु
» राजा, महाराजा र पण्डित, पुरोहित, पादरी, मुल्लाहरूलाई ईश्वरीय शक्तिका रूपमा स्थापित गर्नु
» ऐतिहासिक भौतिकवादी ज्ञान सिद्धान्तको निषेध गर्नु
» नरकको भय सिर्जना गर्नु, आतङ्कित पार्नु, कष्टकर जीवन बनाउनु र आत्मपीडक संस्कारको सिर्जना गर्नु
» सत्ता उत्पीडनलाई पूर्व जन्मको फल भन्नु र उत्पीडन गर्नु
» आर्थिक शोषण गर्नु
» जातीय, क्षेत्रीय, लैङ्गिक, रङ र क्षेत्रीय उत्पीडनलाई नैतिक र स्थायी बनाउनु।
» धार्मिक संहिताद्वारा सामन्ती सत्ताको पूरक बन्नु
» बौद्धिक शोषणलाई स्थायित्व प्रदान गर्नु

» परनिर्भरता तथा दास मानसिकता, निरीहता भाव सिर्जना गरी मानवीय शक्तिलाई
निरीह बनाउनु
» जनतामा राज्यको नियन्त्रण कायम गर्न परिपूरक बन्नु
» जीवन र जगत्को विकासका नियमहरूलाई मिथ्याकरण गर्नु
» पुँजीवादी बजार विस्तारको हतियार बन्नु
» अन्यायपूर्ण युद्ध र अपराधलाई दैविक इच्छा भन्दै त्यसलाई नैतिक र अनिवार्य ठहऱ्याउनु आदि ।

धर्ममा रहेको जनपक्षीय विचार, शान्तिको प्रचार र आजभोलि धर्मले विज्ञानको आड लिने प्रसङ्ग त्यसको प्रतिगामी तथा जनविरोधी सारतत्वको रक्षाकवच सिवाय केही होइन । धार्मिक समुदायमा जतिसुकै विविधता र परिवर्तन भए पनि तिनीहरू सबैको सर्वकालिक विशेषता भनेको उत्पीडित वर्गमाथि दमन र शोषण नै हो ।

अध्यात्मवादीहरूले मार्क्सवादीहरूलाई लगाउने गरेको धर्म विरोधी आरोपका सन्दर्भमा कम्युनस्टि पार्टीको घोषणापत्रमा भनिएको छ, “कम्युनिस्टहरूका विरुद्ध धार्मिक र वैचारिक आधारमा लगाइएका आरोपहरूमाथि खासै ध्यान दिन आवश्यक छैन । वास्तविक कुरा के हो भने व्यक्तिको स्थिति सांसारिक स्थितिअनुसार परिवर्तन भइरहन्छ । “धर्म वास्तविकताको विकृत र कपोलकल्पित प्रतिबिम्ब हो । जीवन र जगतका भौतिक परिवर्तनअनुसार मान्छेका धार्मक चेतनामा पनि परिवर्तन आइरहन्छ ।”

धर्म र नैतिकता

शोषकवर्गले धार्मिकतालाई नैतिक बताएको छ । जब कि नीतिशास्त्र सामाजिक प्राणी बिचको सम्बन्धलाई नियमित र व्यवस्थित गर्ने साधन हो भने धर्म मृत्युपछिको पुनर्जन्मसँग सम्बन्धित छ । अगस्त फ्रेडरिक बेबेलले भनेका छन्, “नैतिक र नीतिशास्त्र भनेका त्यस्ता धारणाहरूका अभिव्यक्ति हुन्, जसले मानिसहरूका कार्य र एकको अर्कोप्रति तिनीहरूको सम्बन्धलाई नियमित गर्छन् । धर्मले चाहिँ पारलौकिक प्राणीहरूप्रति मानिसहरूको कार्यलाई नियमित गर्छन् ।” त्यसैले धर्मको नैतिकतासँग कुनै नाता छैन ।

धर्म शोषकवर्गको बलियो औजार भएको छ । गान्धीवादी चिन्तक जेसी कुमारम्पा भन्छन्, “पश्चिमी देशहरूका ४ ओटा हातहरू छन् स्थलसेना, नौसेना, वायुसेना र चर्च । तिनैको माध्यमले उनीहरू संसारभरि आफ्नो स्वार्थ पूरा गर्छन् । सन् १९७९ मा जब अमेरिका र चीनका बीचमा पहिलोपटक कुटनीतिक सम्बन्ध कायम गर्नका लागि चीन र अमेरिकाका बीचमा वार्ता भएको थियो, अमेरिकी राष्ट्रपति जिमी कार्टरले चीनसँग तीनओटा शर्त राखेका थिए : चीनमा चर्चहरू खोल्न दिनुपर्ने ,बाइबल प्रकाशित गर्न दिनुपर्ने र इसाई मिसनरी फेरि चीन प्रवेशका लागि खुला गर्नुपर्ने । त्यसबेला माओ त्सेतुङ नेतृत्वको चीनले अमेरिकाको तेस्रो शर्त अस्वीकार गरेको थियो । नेपालमा पृथ्वीनारायण शाहले पादरीहरूलाई देश निकाला गरेको तथ्य हाम्रासामु छँदैछ । चीनले अहिले पनि इसाई मिसनरीलाई आध्यात्मिक अतिक्रमणकारी ठान्दछ ।

एकेश्वरवाद, बुद्धवाद र धर्म

पुरोहित र सत्ता गठजोडद्वारा अपनाइएको धर्मको कर्मकाण्डी स्वरूपका विरुद्ध अध्यात्मवादीहरूकै उदार तप्काले चलाएको सुधारवादी चिन्तन नै एकेश्वरवाद हो । दशौँ शताब्दीदेखि अठारौँ शताब्दीसम्म यसले आन्दोलनलाई उत्कर्षमा पुऱ्याएको थियो ।

सर्वप्रथम जैन धर्मको रूपमा एकेश्वरवाद अस्तित्वमा आयो । त्यसपछि तिर्थकरका रूपमा महिषिु को नाम आउँछ । चौबीसौँ तथा अन्तिम तिर्थकर महावीरुले जैन धर्मलाई उत्कर्षमा पुऱ्याएका थिए।उनले भौतिक सुख त्याग गरेर कष्टकर जीवनयापन गरे । ईपू ५७६ मा नेपालमा बुद्धको जन्म भयो । गौतम बुद्धले एकेश्वरवादको व्यापक प्रचार गरे । उनले कर्मकाण्डी तथा पुरोहितवादको विरोध गरे ।

बुद्धको अहिंसाको प्रचारले व्यापक जनआकर्षण भएपछि हिन्दु धर्ममा साकाहारीको प्रचार भयो । त्यसपूर्व हिन्दु धर्ममा साकाहारी थिएनन् । ईश्वर केवल एक मात्र छन् र तिनको उत्तराधिकार छैनन् भन्ने धारणा नै एकेश्वरवाद हो,जसले राजा, मुल्ला, पादरी, लामा, पण्डित आदिको धार्मिक सत्ता अस्वीकार गर्दछ । एकेश्वरवाद अध्यात्मवादकै उदारवादी धारा हो । त्यसैले धर्म र एकेश्वरवादका बीचमा हिंसात्मक झडप हुँदै आएको छ । सामन्ती सत्ताको दैवीय स्वरूपको विपक्षमा रहेका कारण यो धारा दमित छ ।

एकेश्वरवादीहरूले राजा, पुरोहित, सत्ता र ईश्वरको बीचमा कुनै नाता रहन्न भनेका थिए जसका कारण धर्मको आडमा सत्ता र सत्ताधारी बौद्धिकवर्गले जनतामाथि गर्दै आएको आर्थिक, बौद्धिक शोषणप्रति गम्भीर प्रश्नचिन्ह उठ्‌यो । पुरोहितवाद, कर्मकाण्डी संस्कार अनैतिकताको आरोप झेल्न बाध्य भयो ।जसका कारण पुरोहितवाद र सत्ताले एकेश्वरवादलाई अपराध घोषणा गरे ।

धार्मिक शोषण र उत्पीडनका कारण जनतामा ईश्वरप्रति नै वितृष्णा पैदा भएका कारण धर्मको नाममा भएको शोषण अन्त्य गरी ईश्वरभक्तिमा जनतालाई मुखरित गर्नु एकेश्वरवादीहरूको उद्देश्य थियो ।

कर्मकाण्ड विरोधी आन्दोलनलाई भक्ति आन्दोलन पनि भनिन्छ । एकेश्वरवादको नेतृत्व सन्तहरूले गरेका थिए । भारतमा कविर, गुरुनानक, तुकाराम, वैष्णववादी सन्तहरू पनि जोडिएका थिए । नेपालमा शुक्रराज शास्त्रीले एकेश्वरवादको प्रचार गरेका थिए । उनलाई कर्मकाण्डी राणाहरूले हत्या गरे । एकेश्वरवादले कर्मकाण्डवादको राजनीतिक चरित्र उदाङ्गो पारेको थियो । कर्मकाण्डवाद जनशोषणको राजनीतिक हतियार हो ।

धर्मको स्थानमा ईश्वरको सत्ता स्थापना गर्नु, आर्थिक(सामाजिक हैसियत फरक भए पनि सबै प्राणी बराबर हुन् भन्ने धारणा एकेश्वरवादीहरूले राखे । त्यसले जनताको सहानुभूति पायो । विभेदकारी कुलीनवर्ग त्यसप्रकारको धारणाबाट चिढियो । राजालाई ईश्वरको प्रतिनिधि मान्ने सबै प्राणीहरू समान ठान्ने एकेश्वरवादीहरू अर्थात् ईश्वरवादीहरू राजाज्ञा मान्न बाध्य थिएनन, जसका कारण सामन्ती नाइकेहरूले ईश्वरवादीहरूलाई राजद्रोही घोषणा गरे । १९९७ मा नेपालमा शुक्रराज शास्त्रीलाई राणा शासनको विरोध गरेको भनेर मृत्युदण्ड दिइयो ।

एकेश्वरवाद कुनै भौतिकवादी धर्म विरोधी धारा होइन । यो अध्यात्मकताकै कट्टरता विरोधी उदारवादी धारा हो । राणा शासन विरोधी सहिद शुक्रराज शास्त्रीले भारतका एकेश्वरवादीहरूबाट प्रभावित भएर काठमाडौँमा समाज सुधार आन्दोलनु चलाएका थिए । राज्यसत्ताको मूल चरित्र र आर्थिक प्रश्नमा निकास नभएका कारण एकेश्वरवाद असफल भयो ।

धर्म र कम्युनिस्ट नीति

कम्युनिस्टहरूले धर्मका सम्बन्धमा कस्तो नीति अपनाउने भन्ने सम्बन्धमा कुनै स्थिर मान्यता छैन । आम सामाजिक चेतनाको स्तर र क्रान्तिको चरणले त्यसको निरुपण गर्दछ । त्यसैले आजको सामन्तवाद साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रान्तिको चरणमा धर्मसम्बन्धी नीतिलाई निम्न तीन कोणबाट हेर्न सकिन्छ

कम्युनिस्टको हकमा : कम्युनिस्ट पार्टी र सङ्गठन भनेको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको वाहक धारा हो । त्यसैले कम्युनिस्टहरूलाई ऐतिहासिक भौतिकवादको अभियन्ता मानिन्छ ।

कम्युनिस्ट पार्टीको सदस्यता लिनका लागि विश्व दृष्टिकोणप्रति स्पष्टता र पक्षधरता अनिवार्य छ । अध्यात्मवाद विरोधी धारामा बसेर धर्म मान्नु नैतिक हुन सक्दैन । अध्यात्मवादप्रति विश्वास छ भने पुँजीवादी सामन्तवादी सङ्गठनमा रहनु नै जायज हुन्छ । त्यसैले कम्युनिस्ट पार्टीका सदस्यहरूले धार्मिक मूल्य, मान्यता, आदर्श छोडेर भौतिकवादप्रति आस्था राख्नु अनिवार्य छ । किरण भन्छन्, “मार्क्सवाद धार्मिक उत्पीडन, अन्धविश्वास र हस्तक्षेपको विरोधी मात्र होइन, अन्ततः धर्मकै विरोधी रहेको छ”,( मार्क्सवादी दर्शन, पृ- ३४७, प्रगतिशील अध्ययन केन्द्र, २०६७० )

राज्यको हकमा : नेपाल अहिले सामन्तवाद साम्राज्यवाद विरोधी क्रान्तिको चरणमा छ । यस चरणमा कम्युनिस्ट राज्य, सरकार, राजकीय निकायहरू सबै तप्काका जनताको साझा संस्था भएकोले ती आस्तिक, नास्तिक या अन्य सबै विचार र समूहका जनताको साझा रहनुपर्दछ । तिनले सबैका भावनाहरूको उचित प्रतिनिधित्व गरेको हुनुपर्दछ र त्यसचरणमा धर्मबाट राज्यलाई अलग गरिनुपर्दछ ।

धार्मिक समुदायहरूले राज्यमा विचारधारात्मक, राजनीतिक र आर्थिक हस्तक्षेप गर्न पाउने छैनन् । त्यो जनताको आस्थाको छनोटको स्वतन्त्रतामा छोडिनुपर्दछ । लेनिनले भन्नुभएको छ, “राज्यबाट चर्चलाई अलग गर्नु, चर्चबाट विद्यालयलाई अलग गर्नु, व्यक्तिलाई मन परेको धर्म छान्न पाउने स्वतन्त्रता दिनु र जहाँसम्म राज्यको सम्बन्ध छ, राज्यलेधर्मलाई व्यक्तिगत मामिला घोषणा गर्नुपर्दछ ।

बहुराष्ट्रियता, बहुजाति, बहुसंस्कृति, बहुधार्मिक देश नेपाललाई हिन्दु राज्य घोषणा गरेर राजतन्त्रात्मक नेपालमा अन्य जनसमुदायलाई धार्मिक कोणबाट आन्तरिक शरणार्थी बनाइएको थियो । भारतलाई धर्म निरपेक्ष देश घोषणा गरे पनि राज्य र शासकीय शक्ति केन्द्रहरूको हिन्दु धर्मप्रति पक्षधरता छ र अन्य धर्मप्रति राजनीतिक र आर्थिक भेदभाव छ ।

औपचारिक र कानुनी रूपमा भारत धार्मिक स्वतन्त्रता भएको देश हो तर सारतत्वमा अहिले पनि भारत हिन्दु देश नै बनिरहेको छ । सार्वजनिक पहल र शक्तिकेन्द्रहरूले धर्मप्रति पक्षधरता देखाउँछन् भने त्यो देशमा धार्मिक स्वतन्त्रता सम्भव छैन । राज्य र धर्मका बारेमा कार्ल मार्क्सको भनाइ छ-जहाँसम्म राज्यको सम्बन्ध हो, धर्मलाई व्यक्तिगत मामिला मानिनुपर्दछ तर जहाँसम्म पार्टीको सवाल हो, हामीले धर्मलाई कुनै पनि हालतमा व्यक्तिगत मामिला मान्न सक्दैनौँ । धर्मसित राज्यको कुनै सरोकार हुनुहुँदैन र धार्मिक संस्थाहरूको पनि सरकारी सङ्गठनहरूसित कुनै प्रकारको सम्बन्ध हुनुहुँदैन । राज्य धर्मनिरपेक्ष रहनुपर्दछ। उसले धर्मप्रति स्वतन्त्र भूमिका स्वेच्छिक हुन सक्दैन । राज्यको ढुकुटी प्रयोग गरेर कुनै पनि राज्य धर्म निरपेक्ष बन्न सक्दैनन् ।

 जनताको हकमा: जनतालाई वैयक्तिक आस्थाका विषयमा दबाब वा बाध्य पार्न सकिन्न । धर्म मान्ने वा नमान्ने दुबै हक जनतामा निहीत छ । धार्मिक सत्ताधारीहरूले भौतिकवादमाथि हमला गरिरहेका छन् । उनीहरू भौतिकवादी हुनु अज्ञानी र अनैतिक कार्य हो भनी जनमत निर्माण गर्छन् तर नैतिकता र ज्ञान वर्ग(सापेक्ष विषय हुन् । शोषकवर्गको सत्य र नैतिकता श्रमिकवर्गको लागि भ्रम र अनैतिकता हुने गर्छ । धर्मको नाममा हुने आर्थिक शोषण, अन्धविश्वासको प्रसार, भेदभाव, छुवाछूत, सार्वजनिक सम्पत्तिको दुरुपयोग भने राज्यद्वारा नियन्त्रित गरिनुपर्दछ ।

धर्मको सम्बन्धमा कम्युनिस्ट नीति भनेको सारांशमा, कम्युनिस्टको हकमा भौतिकवाद, राज्यको हकमा धर्म निरपेक्षता र जनताको हकमा धार्मिक स्वतन्त्रताु नै हो । यो पुँजीवादी जनवादी क्रान्तिको चरणका लागि अर्थात् पुँजीवादबाट समाजवादमा सङ्क्रमणकालीन अवधिका लागि धर्मसम्बन्धी कम्युनिस्ट धारणा हो। समाजवादी क्रान्तिको चरणमा धार्मिक स्वतन्त्रता आवश्यक र उचित दुबै हुँदैन। समाजवादी चरणमा धर्मको नाममा हुने शोषणको अन्त हुने, आम सामाजिक चेतना भौतिकवादी हुने, जनताको बहुमत भौतिकवादी चेतनाले समृद्ध बन्नेछ । त्यसप्रकारको समाजको नेतृत्व गर्ने राज्यले भौतिकवादको रक्षक र प्रवक्ता बन्नैपर्दछ ।

सारांश
 धर्मको चरित्र जनविरोधी भए पनि जनताको हृदयमा त्यसको प्रवेश भएपछि त्यो आस्था र विचारको प्रश्न बन्दछ । आस्था, भावना र वैचारिक प्रश्नको समाधान बल प्रयोगद्वारा सम्भव छैन । अझ जनतासँगका सम्बन्धित प्रश्नहरूको समाधान त झनै संवेदनशील प्रश्न हुन् । विज्ञानका उपलब्धिहरू सबैमा लागु हुन्छन् तर त्यसको लागु हुने स्तर, स्थान र समयावधिमा विविधता हुन्छ ।

धार्मिक भावना जनतामा प्रवेश गरेपछि त्यसबाट पृथक हुन निश्चित भौतिक आस्थाहरू आवश्यक हुन्छन् । त्यसैले कार्ल मार्क्सले धर्मलाई अफिमको नसा भन्नुभएको थियो । क्रान्तिको माध्यमबाट जीवनका भौतिक आस्थाहरूमा अर्थात् उत्पादक शक्ति र उत्पादन सम्बन्धमा, सामाजिक सम्बन्धमा, जीवन पद्धतिमा, जीवन यापनका साधनहरूमा परिवर्तन भएपछि मान्छेको आस्था, विचार, विश्वदृष्टिकोण र चिन्तनमा पनि परिवर्तन आउन थाल्दछन् । त्यसका लागि निश्चित पुस्ता र प्रक्रियाबाट गुज्रनै पर्दछ । मानिसका भौतिक आस्थाहरूमा परिवर्तन नआई समय गुजार्दैमा अर्थात् सचेतन प्रयत्नबिना त्यसको गति अति नै धिमा हुनेछ । त्यसप्रकारको कष्टसाध्य प्रक्रियाबाट गुज्रिदै गएर मात्र धार्मिकता, आध्यात्मिकताको स्थान भौतिकवादले लिनेछ । धर्म नामको विषको पोथ्रा पोथ्रामा विज्ञानरूपी तेजाब नछर्की त्यसको मृत्यु सम्भव छैन ।

धर्मको मामिलामा गर्नुपर्ने तात्कालिक कार्यनीतिक कार्य भनेको धार्मिक कट्टरताका विरुद्ध सुधारवादी कार्य हो । समाज विकासको निश्चित चरणमा त्यो काम एकेश्वरवादीहरूले गरेका थिए । धार्मिक कार्यमा हुने आर्थिक बोझ र शोषणलाई न्यूनीकरण गर्नु यस क्षेत्रको अर्को कार्यभार हो । दान, दक्षिणा, यज्ञ, पूजापाठ, बली, भाकल, भोज आदिमा ठूलो आर्थिक दुरुपयोग र शोषण भइरहेको छ । त्यसलाई पूर्ण निषेध सम्भव नभए पनि नियन्त्रण
सम्भव छ ।

द्रष्टव्यः
* कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्स, सङ्कलित रचना सङ्ग्रह, खण्ड २०, पृष्ठ ३२८

*लेनिन सङ्कलित रचनाएँ, दश खण्डों मे० खण्ड ३, पृष्ठ २४८, प्रगति प्रकाशन मस्को, १९८१ ।

 

(लेखकको कृति :समकालीन साहित्य र संस्कृति,२०७४,पृ३०-३७ बाट)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।