१५ चैत्र २०८०, बिहीबार

संसदीय व्यवस्थाले गरिबलाई झन् गरिब बनायोः मणिराज सी

0

पूर्वी रोल्पा, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी रोल्पा जिल्ला इन्चार्ज मणिराज सीले संसदीय व्यवस्थाले गरिब, मजदुर र किसानहरुलाई आर्थिक रुपमा कहिल्यै माथि उठ्न नदिएको टिप्पणी गर्नुभएको छ । आज पूर्वी रोल्पाको सुलिचौरमा सम्पन्न बैंकको चर्काे व्याजदर, लघुवित्त र मिटर व्याजका विरुद्ध विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता मणिराजले यस्तो टिप्पणी गर्नुभएको हो ।

‘अहिले बैंकको चर्काे व्याजले राष्ट्रिय उद्योग, व्यवसायीहरुलाई धरासायी बनाएको छ । लघुवित्तहरुले गाउँ–गाउँमा गएर सोझासाधालाई केही प्रलोभन देखाउँदै ऋण दिने र तिर्न नसके बेइजतिसँगै घर जग्गा कब्जा गरी सडकका पुर्याइरहेको छ भने केही मिटर व्याजे सञ्चालन गर्नेहरुले एक लाखको तमसुक गरेर ९० हजार मात्र दिने परिपाटी मौलाएको सूचना हामीलाई प्राप्त भएको छ ।

यो सबै दलाल संसदीय व्यवस्थाको उपज हो । त्यसैले यो व्यवस्थाको विरुद्ध सम्पूर्ण उत्पीडित र श्रमजीवीहरु एक हुनुको विकल्प छैन’ नेता मणिराजले भने, ‘वैज्ञानिक समाजवादमा यस्ता खालका घृणित एवं अमानविय कुकर्म हुँदैन । वैज्ञानिक समाजवादमा गास, बास, कपाससहित शिक्षा, स्वास्थ्य र रोजगारको पूर्ण प्रत्याभूति हुनेछ ।’

संसदीय व्यवस्थाले गरिबलाई झन् गरिब बनाएको संकेत गर्दै नेता मणिराजले पच्चायत कालमा पञ्चे र प्रधानहरुले जस्तो ऋण दिएर चर्काे व्याज लगाई समयमै तिर्न नसके गरिबहरुको सबै घर जग्गा कब्जा गरिदिने शैलीमा आएका नयाँ पञ्चे र प्रधानहरुलाई आफ्नो पार्टीले खरानी बनाउनु पर्ने ठोकुवा गर्नुभयो ।

बैंक तथा लघुवित्तहरुले ऋणीहरुको अवस्था छानबिन गर्दै पीडित एवं गरिब जनताको ऋण र व्याज मिनाहा गर्नु पर्ने भन्दै नेता मणिराजले अब एक अंकको व्याजदर कायम गर्न समेत अपिल गर्नुभयो । मिटर व्याजेहरुलाई चाँडै प्रतिबन्ध गर्न सरकारलाई आव्हान गर्दै सरकारले नसके आफ्नो पार्टीले पूर्ण रुपमा अन्त्य गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्वी रोल्पाका सुनिलस्मृति गाउँपालिका, सुनछहरी गाउँपालिका र लुङ्ग्री गाउँपालिका नेता तथा कार्यकर्ताहरुले विविध नारासहित सुलिचौर र रुइनिबाङ बजार परिक्रमा गरी पिपल चौतारा पुगी कोणसभामा परिणत भएको कार्यक्रमको सञ्चालन सेक्रेटरी यनान सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।