११ बैशाख २०८१, मंगलवार

चर्काे ब्याजदरविरुद्ध नेकपाको अभियानमा व्यवसायीले गरे समर्थन, के भन्छन् व्यवसायीहरु ?

0

घोराही: नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले बैंकको चर्काे ब्याजदर, लघुवित्त संस्थाको ज्यादती र मिटरब्याजका विरुद्ध गरेको विरोध प्रदर्शनलाई व्यवसायीहरुले सर्मथन गरेका छन् ।
पार्टीले आज शुक्रबार घोराहीको तुलसीपुर चोकमा आयोजना गरेको उक्त विरोध प्रदर्शनलाई व्यवसायीहरुले समर्थन गर्दै व्यवसायी र जनताको पक्षमा भएको अभियानलाई स्वागत गरेका हुन् ।

कोणसभालाई सम्बोन्ध गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सम्झना सीले नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा आज विद्रोहको सुरुवात गरेको बताइन् । कोणसभाका प्रमुख वक्ता समेत रहेका इञ्चार्ज सम्झना सीले आज बैंको बढ्दो ब्याजदर, लघुवित्त संस्थाको ज्यादती र मिटरब्याजका कारण आम जनता र उद्योग, व्यवसायीहरु संकट थपिदै गएको कुरामा जोड दिइन् ।

नेता सम्झनाले यो ऋणले केही गर्छु भन्नेहरु उद्योगी, व्यवसायीहरु जेलिदै गएको र जो दलाली, भ्रष्टाचारीहरुले आफ्नो ७ पुस्तालाई पुग्ने गरी सम्पत्ति कमाएको उद्घोष गरिन् । यो दलाल संसदीय पुँजीवादी व्यवस्थाले नेपालका युवा, व्यवसायी र उद्योगीहरुलाई भगाउन खोजेको भन्दै कहिले प्रजातन्त्रको नाममा, कहिले बहुदलको नाममा र कहिले गणतन्त्रको नाममा यहाँका राज्यका मालिकहरुले जनतालाई ठगिरहेको बताइन् ।
नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत यो दलाल राज्य व्यवस्थाको हस्तक्षपको विरुद्ध अगाडि बढेको उनको भनाइ छ । हरेक नेपालीको टाउँकोमा राज्यको ऋण त छ तर आज व्यक्तिको ऋण नभएको कोही पनि छैन उनले भनिन् ।

कोणसभालाई सम्बोधन गर्दै दाङ जिल्ला उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष नारायण भुषालले बैंकको ब्याजदरको विरुद्धमा उद्योग, व्यवसायीहरुले जिल्ला र प्रदेशहरुमा आन्दोलन गर्दा कुनै पनि राजनीतिक दलले ऐक्यवद्धता जनाउन नसकेको स्मरण गराउँदै नेपाल कम्युनिस्ट पार्टी आज सडकमा आएको बताए । उनले यो पार्टी छाती खोलेर आत्मसाथ गर्दै सडकमा संघर्षमा आएको भन्दै धन्यवाद व्यक्त गर्दै समर्थन जनाए । बैंकबाट ऋण लिदा ७/८ प्रतिशतमा सम्झौता गरेको भएतापनि अहिले बैंकले ब्याजदर बढाएर १८/१९ प्रतिशतसम्म पु¥याएको बताउँदै उनले यो वार्षिक रुपमा हेर्दा कर अन्य सेवा शुल्क समेत गरेर मासिक २ प्रतिशत ब्याज पुगेको बताउँदै आज व्यवसायीमाथि चुनौतीको विषय बनेको उद्घोष गरे ।

निवर्तमान अध्यक्ष भुषालले बैंकको बढ्दो ब्याजदरले गर्दा आज बजारका सटरहरु खाली भइसकेको भन्दै भोलिका दिनमा यो व्यवस्था परिवर्तको लागि यही सडक आन्दोलन अपरिहार्य बन्न सक्ने समते बताए । ‘नेपाल कम्युनिस्ट पार्टीले यो चोकमा आन्दोलन गरिरहँदा हामी यहाँ आएका छौं,’ उनले भने ‘हामीलाई रहर होइन । हामीलाई बाध्यता बनाइयो । त्यसकारण हामी यहाँ आएका छौं । यहाँहरुलाई सम्मान व्यक्त गर्न चाहन्छौं ।’

त्यसैगरी कोणसभालाई सम्बोधन गर्दै रोटरी क्लब दाङका अध्यक्ष तथा व्यवसायी ओपेन्द्र महराले नेपाल कम्युनिस्ट पार्टी गरेको यो आन्दोलन आम जनता र व्यवसायीहरुको हितमा भएको भन्दै हातमा हात र साथमा साथ दिन तयार रहेको बताए । उनले आज बढ्दो बैंकको ब्याजदरले गर्दा व्यवसायीहरु आत्मदाह र डिप्रेशनमा जाने तथा निद्रा नलाग्ने गरी ब्याज अशुल्ने बैंकर्सहरुको घोर भ्रत्र्सना व्यक्त गरे । राज्यले थाल्नुपर्ने अभियान नेकपाले थालेको भन्दै यो अभियानमा राज्य मुखदर्शक भएको उनले उद्घोष गरे ।

नेपालका व्यवसायीहरु धरासायी अवस्थामा गइरहेको बेला नेकपाले गरेको यो अभियान महत्वपूर्ण भएको ठोकुवा गर्दै व्यवसायी महराले यो अभियानलाई दाङ जिल्लासहित राप्ती अञ्चलका व्यवसायीहरुले साथ दिने भन्दै अभियानलाई गाउँगाउँसम्म पु¥याउनुपर्ने बताए ।

त्यस्तै कोणसभामा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी व्यवसायीको पक्षमा र व्यवसायीको हकहितको पक्षमा आवाज उठाएको बताए । उनले यो आवाज उठाउने पार्टी नेकपालाई दाङ जिल्ला उद्योग वाणिज्य संघको तर्फबाट समेत विशेष धन्यावद दिए । ‘पछिल्लो चरणमा धेरै व्यवसायीहरु पलान भएको अवस्था छ,’ उनले भने ‘जुन यो बढ्दो ब्याजदरका कारण थुप्रो व्यवसायीहरुले आत्माहत्या गरिसक्नु भएको छ । व्यवसायी छोडि सक्नु भएको छ । र, जो लघुवित्तको ज्यादतीले धेरैले गाउँ छोडेर भागेको अवस्था छ । यो ज्यादतीको विरुद्धमा यहाँहरु आन्दोलन गर्नुभएको छ । यो आन्दोलनलाई समर्थन गर्दछौं ।’

उक्त विरोध प्रदर्शन कार्यक्रममा पार्टीका नेताकार्यकर्ता, उद्योग, व्यवसायी तथा अन्य संघ सस्थाको उपस्थिति रहेको थियो ।

घोराहीको सहिद गेटबाट सुरु भएको विरोध प्रदर्शन ¥याली बैंक रोड, दामोदर चोक हुँदै तुलसीपुर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभाको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले गरेको थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।