१३ बैशाख २०८१, बिहीबार

जातीय विभेद गर्नेलाई कार्वाही गर्न श्रमिक समुदाय मोर्चाको माग

0

ओखलढुङ्गा । श्रमिक समुदायका महिला माथि जातीय विभेद गर्नेलाई कार्वाही गर्न श्रमिक समुदाय मोर्चा नेपालले माग गरेको छ । शिवरात्रीका दिन सिद्धिचरण नगरपालिका–४ रुम्जाटारस्थित शिव मन्दिरमा श्रमिक समुदायका महिलालाई मन्दिर प्रवेश गरी पूजा गर्न रोक लगाइएको घटनाप्रति मोर्चाले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

मन्दिर रेखदेख गर्दै आएका लक्ष्मण गुरुङ, एकराज गुरुङ लगायतले कृष्णकुमारी गजमेर लगायत श्रमिक समुदायका महिलालाई पूजा गर्न अवरोध गरेका थिए । श्रमिक समुदाय मोर्चा नेपाल, सगरमाथा ब्युरो संयोजक चित्र सी. द्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको निष्पक्ष छानबिन र दोषीलाई कार्वाहीको माग गरिएको छ । उक्त जातीय विभेदको घटनाका दोषीलाई कानून अनुसार कार्वाही गर्नुको सट्टा जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, डीएसपी बसेर मिलापत्र गराएकोमा मोर्चाले आपत्ति जनाएको छ ।

उक्त मिलापत्र कार्यमा मन्दिर संरक्षण समितिका पदाधिकारीले समेत मिलेमतो गरेको भन्दै सरोकारवालाले आइतबार जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले यो घटना गम्भीर भएको बताए । यस्ता घटनामा मिलापत्र गराउन नपाइने उनको भनाइ छ । गृह मन्त्रालयलाई यसबारे सोध्ने र अनुसन्धान गर्ने प्रवक्ता पुर्कुटीले बताए । पीडकको पहुँचका आधारमा सुरक्षा निकाय र जनप्रतिनिधि बसेर जातीय विभेदको घटना मिलापत्र गराउन बाध्य बनाएको भन्दै दलित (श्रमिक) समुदाय आक्रोशित भएका छन् ।  

आइतबारै प्रमुख जिल्ला अधिकारी  प्रदर्शनी कुमारी, सिद्धिचरणका नगर प्रमुख तेजन खनाल, प्रहरी नायव उपरीक्षक दीपकबहादुर केसी, वडाध्यक्ष रत्नबहादुर गुरुङ सम्मिलित बैठक बसेको थियो । उक्त बैठकले पाँचवटा निर्णय गर्दै दोषीलाई उन्मुक्ति दिन खोजेको पीडित पक्षको गुनासो छ ।

बैठकका निर्णयमा अब उप्रान्त मन्दिरहरूमा दलितलाई पूजा गर्न रोकटोक गर्नेउपर कानुनी कारबाही गर्ने, दलितले निर्वाध रूपमा पूजा गर्न पाउने व्यवस्था तत्काल मिलाउने लगायत छन् । ‘मठमन्दिरमा लगाउने गरिएको ताला अब उप्रान्त खोल्ने र सबै दलितहरूलाई निर्वाध रूपमा पूजा गर्ने वातावरण मिलाउने’, निर्णयमा लेखिएको छ, ‘मन्दिरमा दलितको तर्फबाट समेत प्रतिनिधित्व गराउने’ भनिएको छ ।

दलितलाई सार्वजनिक स्थलहरूमा निर्वाध प्रवेश र पहुँच हुनुपर्ने, सबै मन्दिरमा दलितलाई पूजाआजा गर्न दिनुपर्ने माग राखेर ज्ञापनपत्र बुझाइएको दलित अगुवा युवराज गजमेरले बताए।  यसअघि रुम्जाटारमा दलितलाई मन्दिर प्रवेशमा रोक लगाइएको मात्र नभई मन्दिरमा ताला लगाएर राख्ने गरिएको थियो ।

शिवरात्रीमा पूजा गर्न गएकी शिक्षिका कृष्णकुमारी गजमेरलगायतलाई पूजा गर्न नपाउने भन्दै रोकेका थिए । उक्त घटना प्रारम्भमा वडामै मिलापत्रको प्रयास भएको थियो । गाउँमा माफी मागे पनि पीडित पक्षले पीडकलाई कार्वाहीहीको मागसहित आइतबार जिल्ला प्रशासन कार्यालयमा धर्नासहित ज्ञापनपत्र दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।