१६ चैत्र २०८०, शुक्रबार

बाउ आमालाई बाँच्न दे भन्दै लघुवित्त, मिटरब्याजी विरुद्ध झापामा उर्लिए विद्यार्थी

0

झापा: “हामीलाई शान्तिसँग पढ्न देऊ, हाम्रो अभिभावकलाई बाँच्न देऊ!” भन्ने नारा लगाउँदै लघुवित्त, मिटरब्याजी र बैंकहरुले गरेको शोषण विरुद्ध झापाको बिर्तामोडमा विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

लघुवित्त, मिटरब्याजी र बैंकहरुको आतंक विरुद्ध झापामा निरन्तर संघर्ष गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मेचीको आयोजनामा उक्त कार्यक्रम भएको हो । प्रदर्शनमा झापाका जिल्ला इन्चार्ज प्रशान्त लगायतका नेताहरु पनि सहभागी भएका थिए ।

बिर्तामोड पुरानो इलाम स्टेशनबाट सुरु भएको र्याली मुक्ती चोकसम्म नाराबाजी गर्दै आएको थियो । मुक्ती चोकमा आएर कोणसभामा परिणत भएको प्रदर्शनमा अखिल (क्रान्तिकारी) का महासचिव ललित सी ले बोलेका थिए । उनले विद्यार्थीहरुले आफ्नो अभिभावकमाथि भएको ज्यादती विरुद्ध संघर्ष सुरु गरेको र यो आन्दोलनले बैंक, मिटरब्याजी र लघुबित्तवाला ठगहरुलाई मुक्ती चोकमा ल्याएर घिसार्ने बताए ।

कोणसभामा नेकपा झापाका सेक्रेटरी संजय सीले बोल्दै ठगहरुको अत्याचार सहेर बस्न नसकिने भएकोले अब सबै विद्यार्थी संघर्षमा आउन अपिल गरे । उनले पार्टीको आधिकारिक नम्बर ९८६४६५८९६४ सबैलाइ टिपाउंदै कुनै बैंक, वित्तिय संस्था र मिटरब्याजीले दु:ख दिए पार्टीमा सम्पर्क गर्न भने । उनले गाउँ गाँउमा गएर जनता आफ्नो निम्ति लड्ने पार्टी रहेको बताउन र बिद्रोह गर्दै उठ्न सबैलाई भन्नुपर्ने भूमिका विद्यार्थीले खेल्नु पर्ने बताए ।
प्रदर्शनमा “मिटरब्याजी तस्करहरु होसियार, हाम्रो अभिभावकलाई बाँच्न देऊ, हामीलाई शान्तिसंग पढ्न देऊ, वित्तिय संस्था, मिटरब्याजी र बैंकहरु होसियार, ब्याजदर एक अंकमा झार, दलाल सरकार मुर्दावाद, विद्यार्थी एकता जिन्दावाद, अखिल (क्रान्तिकारी) जिन्दावाद जस्ता नारा लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।