१४ बैशाख २०८१, शुक्रबार

जित्ने अठोट लिएर स्ववियु निर्वाचनमा लाग्ने अखिल (क्रान्तिकारी) महाकाली ब्युरोको निर्णय

0

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) महाकाली ब्युरोको बैठक बुधबार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ । ब्युरोका महाकाली इन्चार्ज शंकर खातीको अध्यक्षता बसेको बैठकले नजिकिँदै गरेको स्ववियु निर्वाचनमा जित्ने अठोट लिएर स्ववियुमा जाने गरेका इन्चार्ज खातीले जानकारी दिएका छन् ।

निर्वाचन हुने सम्बन्धित सम्पूर्ण क्याम्पस र कलेजहरूमा स्ववियु निर्वाचनलक्षित संगठन सुदृढीकरण, सदस्यता वितरण, प्रशिक्षण, इकाई भेला लगायत अन्य अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको संगठनका ब्युरो इन्चार्ज शंकर खातीले बताए ।

बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका महाकाली ब्युरो इन्चार्ज समर सी ले सम्बोधन गर्दै नेपाली मौलिकतालाई समेट्ने गरी क्रान्तिलाई निर्णायक तहमा पुर्याउन नयाँ मूल्य र मान्यता सहित पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशालाई जनता माझ स्थापित गर्न विद्यार्थी संगठन लाग्नुपर्ने बताए । विद्यार्थी संगठन लडाकु चरित्र र स्वभावसहित प्रस्तुत हुनुपर्ने समेत उनले बताए । स्ववियु निर्वाचनमा पार्टीको वैज्ञानिक समाजवादी शिक्षालाई लागू गर्ने विचार र दृष्टिकोणलाई सबै विद्यार्थी सामु लगेर आफ्नो जीत सुनिश्चित गर्नु पर्छ, महाकाली इन्चार्ज समरले भने । अहिले देशमा विभिन्न क्षेत्रबाट वैदेशिक हस्तक्षेप बढ्दो रहेको बताउँदै राजनीतिक दलहरुले संसदीय मूल्य मान्यताहरुलाई नै ह्रास हुने गरी गतिविधि अगाडि बढेको छ त्यसैगरी रूस र युक्रेन युद्धले विश्वलाई दुई ध्रुवमा विभाजित गरेको छ जसमा अमेरिकाले पूँजीवादी र रुसले समाजवादी नेतृत्व गरेको उनले बताए । दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्दै वैज्ञानिक समाजवाद लागू गर्न विद्यार्थीहरुले स्ववियु निर्वाचनलाई संघर्स मोर्चाको रूपमा प्रयोग गर्नुपर्ने नेकापा नेता समरको जिकीर थियो ।

बैठकका अर्का पार्टी केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सि ले अखिल क्रान्तिकारीका सदस्यहरू अरु भन्दा फरक र क्षमतावान हुनुपर्ने कुरालाई जोड दिए । समस्या र विद्यार्थीका मूल मुद्दामा केन्द्रित रहेर विद्यार्थी माझ प्रस्तुत हुनुपर्ने र सम्भावना भएको क्षेत्रमा जित्ने गरी लाग्नु पर्ने समेत उनको भनाइ थियो । आउँदै गरेको स्ववियु निर्वाचनमा ढुक्कका साथ लाग्न आग्रह गर्दै त्यसमा पार्टीको पूर्ण साथ र समर्थन रहने समेत नेता विराटले बताए ।

त्यसैगरी संगठनका केन्द्रीय सचिव प्रकाश सी ले वैज्ञानिक समाजवादी शिक्षाको मूल नारालाई लिएर सम्पूर्ण विद्यार्थीलाई आफूतिर आकर्षित गर्नुपर्ने बताए । विचार र दृष्टिकोणका हिसाबले आफ्नो संगठन अग्रभागमा रहेको बताउँदै संसदवादी दलका संगठनलाई सजिलै जित्न सकिने उनको भनाइ थियो । तत्कालै सबै क्याम्पस र कलेजहरुमा रचनात्मक योजनासहित केन्द्रित हुन महाकाली ब्युरो सदस्यहरूलाई उनले निर्देशन समेत गरे ।

अखिल (क्रान्तिकारी) महाकाली ब्युरो इन्चार्जको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रमुख अतिथि पार्टीका महाकाली इन्चार्ज समर सि , अथितिहरुमा नेकपा केन्द्रीय सदस्य तथा कञ्चनपुर इन्चार्ज विराट सि, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव प्रकाश सि ,संगठनकै सेती ब्युरो इन्चार्ज बबर जंग सी लगायत महाकाली ब्युरो सदस्यहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।