१२ बैशाख २०८१, बुधबार

जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई १४ बुँदे ज्ञापनपत्र (भिडियाे सहित)

0

काठमाडौँ – जनयुद्धका सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । आईतबार विहान नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाएका हुन् ।

१० बर्षे जनयुद्धमा सहादात प्राप्त गर्ने महान सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गर्दै बरिष्ठ अधिवक्ता एकराज भण्डारी नेतृत्वको टोलिले ज्ञापन पत्र बुझाएको हो । एक सय बढी सहिद तथा बेपत्ताका परिवारहरुको उपस्थितिमा बुझाएको ज्ञापनपत्रमा १४ वटा माग राखिएको छ ।

जनयुद्धको महान् लक्ष्यलाई संस्थागत गर्ने र सहिद तथा बेपत्ता योद्दाहरुको सपनालाई साकार पार्ने तर्फ नेपाल सरकारको गभ्भीर ध्यान जाओस् भन्दै उनीहहरुले सहिद तथा बेपत्ता परिवारले अनुभूत गर्ने गरी आफ्ना मागको सुनुवाई गर्न अनुरोध गरेका छन् ।

‘महान् जनयुद्धको राजनैतिक लक्ष्य प्राप्तिको लागि पहलकदमी लिइयोस्, बेपत्ता पारिएका योद्दाहरुको स्थिति सार्वजनिक गरियोस्, जनयुद्धका सहिदहरुलाई तत्कालै राष्ट्रिय सहिद घोषणा गरियोस्, सहिद तथा बेपत्ता योद्दाहरुको योगदानलाई संस्थागत गरियोस्, जनयुद्दका महान् सहिद तथा बेपत्ता योद्दाहरुको नामावली सहित सरकारद्वारा आधिकारिक रुपमा स्मारिका प्रकाशन गरियोस्, सहिद तथा बेपत्ता योद्धाको परिचयपत्र बनाई सम्पूर्ण परिवारलाई वितरण गरियोस् ।’, ज्ञापन पत्रमा भनिएको छ ।

साथै, सहिद तथा बेपत्ता योद्दाको परिवारको राज्यद्वारा अभिभाकत्व ग्रहण गर्न, सहिद तथा बेपत्ता परिवारलाई रोजगारीको व्यवस्था गर्न साथै परिवारका सम्पूर्ण सदस्यहरुलाई निशुल्क शिक्षा र स्वास्थ्यको पूर्ण ग्यारेण्टी गर्न, सहिद तथा बेपत्ता योद्धा परिवारका सदस्यहरुलाई सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न, संघ, प्रदेश एवं स्थानीय तहमा जनयुद्दका क्रममा भएका विशेष घटनालाई (जस्तै दोरम्बा घटना) सोही तहमा इतिहासको रुपमा संस्थागत गर्न, दिवस मनाउन, सम्मान व्यक्त गर्ने जस्ता कार्यक्रमहरु सम्बन्धित निकायबाट नै आयोजना गर्न, जनयुद्धमा गम्भीर मानवअधिकारको उल्लङ्घका दोषि माथि छानविन गरी कारवाही गर्न, सहिद सप्ताहलाई राज्यबाटै मान्यता दिई दिवसको रुपमा स्थापित गर्न, जेष्ठ ७ गते बेपत्ता योद्धा दिवसलाई राज्यबाट दिवसको रुपमा स्थापित गर्न, र जनयुद्ध लगायतका सबै राजनीतिक युद्ध र आन्दोलनमा सहभागी राजनैतिक आस्थाका बन्दीहरुलाई मुद्दा खारेज गरी तत्कालै रिहा गर्न माग गरेका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू सहिद तथा बेपत्ता योद्धाहरुको सपना साकार पारेर मात्र मर्ने वचन दिएका छन् । ‘म नेपालको ऐतिहासिक जनयुद्धलाई स्थापित गर्ने प्रयत्नमा छु । मेरो अन्तिम लक्ष्य भनेकै जनयुद्धलाई सार्थक बनाउने, सहिदहरुका सपनालाई पुरा गर्ने, बेपत्ता यौद्धाहरुको अवस्था बारे सार्वजनिक गर्ने र शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने रहेको छ ।’, ज्ञापनपत्र बुझ्दै उपस्थित सबैलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले भने, ‘यति काम भयो भने मरेर जाँदा पनि मलाई शान्ति मिल्छ ।’

प्रचण्डले सोमबार जनयुद्धका सबै सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी गरेको समेत खुलासा गरे । ‘तपाईहरु आज आउनु भयो मैले धेरै पहिलादेखि यो काम गरिरहेको छु । म पहिला चोटी प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने मन्त्रीपरिषदबाट निर्णय गरेको थिएँ । पछि म हटेपछि षड्यन्त्र पूर्वक उक्त निर्णय रोकियो ।’, सहिद तथा बेपत्ता परिवारका सदस्यलाई आश्वस्त पार्दै उनले भने, ‘त्यतिबेला भएको निर्णयको माइन्युट खोजेर ल्याएको छु । भोलीको मन्त्रीपरिषद् बैठकबाट त्यो निर्णयलाई कार्यान्वयनमा लौजाने निर्णय गर्ने तयारी गरेको छु । भोली नै राजपत्रमा प्रकाशन गरेर सहिद घोषणा गर्ने तयारी गरेको सहर्ष जानकारी गराउँद छु ।’

उनले नाम छुटेका सहिदहरुको विवरण दिन पनि आग्रह गरेका थिए । गृहमन्त्रालयमा भएको विवरणमा केही सहिदहरुको नाम छुटेको भन्दै उनले छुटेका नामहरु पठाएर सहयोग गर्न अपिल गरेका थिए । उनले बेपत्ताहरुको बारेमा पनि विशेष निर्णय गर्न लागेकाले सचिवालयमा सुझाव पठाउन आग्रह गरेका थिए । ‘हामीले बेपत्ता यौद्धाहरुलाई सहिद भन्ने की नभन्ने विषयमा गम्भीर छलफल भएको छ । सहिद भनौं भने बेपत्ता हुनुहुन्छ, नभनौं भने अफ्ठ्यारो । यस विषयमा बेपत्ता भन्दै गर्ने र सहिद पनि घोषणा गरेर जानेकी भनेर छलफल भएको छ ।’, उनले भने, ‘यसलाई कसरी निकास दिने तपाईँको पनि महत्वपूर्ण सुझाव चाहियो । सचिवालयमार्फत पठाउनु होला ।’

कार्याक्रममा नेकपा पोलीटब्युरो सदस्यहरु चुँडामणी ओली (आर्दश), खुमा सुवेदी, सावित्रा दुरा (आस्था), केन्द्रीय सदस्यहरु धिरिन्द्रा उपाध्याय (भृकुटी), तुलसी नारायण महर्जन (राजेन्द्र), ऐनबहादुर शाही (अखिल), राजकुमारी शाही लगायत एक सय भन्दा धेरैको उपस्थिति रहेको थियो । भाटभटेनीबाट सुरु भएको र्याली कोणसभामा परिणत हुँदै प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।