१३ बैशाख २०८१, बिहीबार

कमरेड ‘चे’ फर्किए: अनिल शर्मा

0

काठमाडौं, सिनामंगलस्थित ‘पुरानो घर’ रङ्गमञ्चमा आइतबार नेकपाका महासचिव विप्लवले निर्माणाधिन नाटक ‘चे फर्किए’ का रङ्गकर्मीहरुसँग भेटघाट गर्नुभयो । रङ्गकर्मी अरुण पौडेलले भलाकुसारीको प्रारम्भ नै ‘दाईको जीवन ‘चे’ जस्तै लाग्यो, त्यसैले हाम्रो ‘चे इज ब्याक’ नाटक मञ्चन पूर्व तपाईँलाई नाटक घरमा देख्न र सुझाव लिन चाहेको’ बताएका थिए ।

छलफलमा रङ्गकर्मीहरु अरुण पौडेल, निर्देशक कुन्दन चौधरी र २०७२ सालको भूकम्पले भत्किएको आफ्नै घरलाई नाटक घर बनाएर कलाको माध्यमले देश सेवा गरिरहेका कलाकार सुलक्षण भारती थिए । क्यामेरा संयोजन गर्दै थिए श्रवण यादवले । श्रोता दर्शकको रुपमा अनिल सी, सुमनसिंह सी, डिआर सी र पुरानो घरका कलाकार थिए । नाटकघरको ढोकादेखि नै चे ग्वेभाराको रेखा चित्र देख्न सकिन्थ्यो ।

कमरेड विप्लव र रङ्गकर्मीहरु बिच देशको राजनीति, व्यक्तिगत जीवन, कमरेड चे र कलाको विषयमा लाम्रो छलफल भयो । रङ्गमञ्चमा आ–आफ्नो विषयगत प्रश्नहरुलाई पालैपालो सोध्दै थिए कलाकारहरु । राजनीतिमा कसरी आउनुभयो त भन्ने प्रश्नमा महासचिव विप्लवले सहज रुपमा भन्नुभयो, ‘हाम्रो परिवार लाहुरे थियो । मेरो पनि लाहुरे बन्ने सपना थियो । लिवाङमा पढ्दै गर्दा कृष्णसेन र कृष्णबहादुर महरासँग भेट भयो । पुरानो सपना मर्दै गयो र देश बदल्न राजनीतिमा लाग्नुपर्छ भन्ने सपना जन्मियो । आमा, अजम्मरी गाउँ, अनिदो पहाड, युवाहरुको गीत जस्ता साहित्यको अध्ययनले त्यो सपना बलियो बन्दै गएको उहाँको कथन थियो । ‘दिनकै एउटा किताव पढ्थें’, किशोर जोश र ती धूमिल स्मृति सम्झिकै हाँस्दै हुनुहुन्थ्यो विप्लव ।

रङ्गकर्मीहरुले महासचिव विप्लवको वैयक्तिक जीवनका प्रेम, विवाह, परिवारका सपनामा प्रवेश गर्दै थिए । उहाँले सहजतापूर्वक जवाफ दिइरहनुभएको थियो । रङ्गकर्मीहरुले परिवारबाट राजनीतिक जीवनमा जाँदा वा प्रचण्डहरुसँगै नभएर, लाभको पद अस्वीकार गरेर क्रान्तिमा फर्किएका अनुभवहरु सोध्दै थिए । राजनीति छोडेर आफूलाई हेर्दा कस्तो अनुभूति गर्नुहुन्छ भन्ने रङ्गकर्मीको प्रश्नमा महासचिव विप्लवको जवाफ थियो, ‘म राजनीतिमा पनि खुल्न सक्छु । परिवार र साथीहरुसँग पनि । सामूहिकताभित्र निश्चित प्रकारको निजत्व र निजत्वभित्र सामूहिकता हुन्छ ।’

रङ्गकमीहरुले ‘आफूहरु समाजको हित, जनताको मुक्तिमार्गमा लागेको र तपाईहरुले राजनीतिमार्फत त्यहि गरेको दाबी गर्दै जनताको सुदिन कसरी र कति टाढा छ त्यो दिन ?’ महासचिवलाई प्रश्न गर्दै थिए । ‘रङ्गकर्मीबाट मुखर भएको प्रश्नले सिङ्गो देशको प्रश्न सोधेझैं लाग्यो ।’ उनीहरुको जवाफ दिदै महासचिवले भन्नुभयो, ‘परिवर्तनलाई यथास्थितिले रोक्न खोज्छ । त्यसैले सजिलो बाटोबाट क्रान्ति हुँदैन ।

लखन थापाको विद्रोह साङ्केतिक थियो । १९९७ र २००७ सालमा विद्रोह भयो । २०२८ सालमा झापा विद्रोह भयो । २०५२ मा जनता फेरी उठ्यो । समस्या भएसम्म मान्छे लडिरहन्छ । अहिले त्यो विषयलाई हामीले नेतृत्व गरिरहेका छौँ । र मुक्ति नहुनञ्जेल लड्छौँ । आफ्नो स्वतन्त्रताको चाहाना पुरा नुहन्जेल मान्छे लड्छ । त्यसैले मुक्ति हुन्छ ।’ ‘सबैले जनताको चाहाना भन्छन्, जनचाहाना के हो भन्ने मापदण्ड के हो ?’, रङ्गकर्मीको जटिल प्रश्न थियो ।

‘कम मान्छेले सोचेको, आफ्नो चाहाना र स्वार्थलाई जनचाहाना भने अर्थ्याईएको समय हो यो । जनतालाई सोध्न पर्छ । आफैलाई पनि सोध्नुपर्छ ।  म भित्र हामी पनि हुन्छ । आफ्नो र उसकोलाई जोड्नपर्छ । ’ महासचिव विप्लवको जवाफ थियो । सहिद गेटमा वि.स. १९९७ का चार जना सहिदहरुको शालिकमाथि राजाको मूर्ति राखिएको स्थितिप्रति तपाईँको धारण के हो भन्ने पेचिलो प्रश्न थियो । प्रश्नले नै प्रश्नकर्ता उभ्याईदिन्छ भन्थे निर्मल लामा । ‘रगत बगाउने सहिदको शिरमाथि राजाको सिंहासन ! सुहाएन, भएन । भूमिका त राजाको पनि होला । सोच्ने तरिका बदल्नपर्यो । बलिदान गर्नेभन्दा राजा महाराजा ठूला ठान्ने समाजको सोचको प्रतिविम्बन सहिदगेटमा देखिएको छ । यस्तो सोच्ने तरिका बदल्नपर्यो ।’ महासचिवको जवाफ थियो ।

हटाएको राजाको स्तुती भइरहेको सन्दर्भमा पनि रङ्गकर्मीहरुका प्रश्नहरु थिए । क्रान्ति वा परिवर्तनमा बल प्रयोगको अनिवार्यताको विषयमा पनि जिज्ञासा थिए । ‘बन्दुकको विकल्प छ । विकल्पको घोषणा आजै गर नभन्नुहोस् । एमसीसी, एसपीपी ल्याउने, त्यसको विरोध गर्यो भनेर दमन गर्ने, प्रतिबन्ध लगाउने गरिन्छ भने बन्दुकको विकल्प हुँदैन ” विप्लवको साङ्केतिक जवाफ थियो । कलाकारहरुले ग्रेटर नेपालको प्रश्न पनि उठाए । सरकारको तर्फबाट मौनता र गैरसरकारी प्रयास मात्रैले पहलकदमी नपुगेको कुरा गरे ।

पाकिस्तानले कस्मीरको भारतको सीमा अस्वीकार गर्छ भने सुगौली सन्धीको सीमा अस्वीकार गर्न नेपाल किन सक्दैन भन्ने उनीहरुको प्रश्न थियो । ‘ग्रेटर नेपाल नेपाली जनताको चाहाना र अधिकार हो । बेलायतले के भन्छ ? भारतले के भन्छ ?, अतराष्ट्रिय कानुनले के भन्छ ? त्यो एउटा पाटो हो । कालापानी र चुच्चे नक्सा के भइरहेको छ हाम्रो सामू छ ।’ विप्लवको जवाफ थियो ” यस्तो छलफल भइरहदा ‘चे इज ब्याक’ नाटकमा निर्माता चौधरीले, ‘माछी मार्न जाउँ न दाजै कालापानीमा गीत गुनगुनाउँदै भन्दै थिए, ‘हाम्रो संस्कृतिमा नै कालापानी हाम्रो हो भन्ने प्रमाण छ । राजनीति भन्दा संस्कृति बलियो, पुरानो र विश्वसनिय हुन्छ ।’

‘राजनीति र कलाको विषयमा पनि छलफल भए । जनतासँग नजोडिएको, विचारको बहसमा भाग नलिएको कलाकर्मीले महान सृजना गर्न सक्दैन । साहित्य कलाका महान व्यक्तिहरु आफ्नो समयका महान विचारक पनि थिए । ती समकालिन वैचारिक बहसबाट बेखबर थिएनन् । लक्ष्मिप्रसाद देवकोटाको कविता ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ मा अक्टोबर क्रान्ति थियो । कम्युनिस्ट प्रभाव थियो । राजनीतिबाट भागेर महान कलाको सृजना हुँदैन ।’, महासचिव विप्लवले भन्दै हुनुहुन्थ्यो ।

कलाकारहरुको कुनै जात हुँदैन, कुनै धर्म हुँदैन । उनीहरुले नेपाल फेरी बाइसे र चौविसे राज्यतिर फर्किन लागेको हो ? जातिवादको तुँवालोप्रति कलाकारहरुको प्रश्न थियो । ‘मान्छेको कुनै जात हुँदैन । हामी सबै एउटै भूगोल र नश्लका हौँ । केन्याबाट उत्पत्ति भएको आजसम्मको प्रमाण छ । शोषक वर्गले हामीलाई विभाजित गर्न जातिवादको विषवृक्ष रोपेका हुन् । यो मनोविज्ञान हटाउन हामीले ‘सी’ जाती अथवा जातिविहिन समूदाय घोषणा गरेका छौँ । जातिवादी मनोविज्ञान हटाउनैपर्छ ।’, विप्लवको स्पष्ट जवाफ थियो ।

विप्लवको यो भनाईमा कलाकारहरुको मुहारमा रक्तिम विहान देख्न सकिन्थ्यो । ‘तपाईँ शान्तिको दूत की हिंसाको दूत’, विप्लवलाई भारतीको अर्को एउटा गाह्रो प्रश्न तेर्सियो । ‘म शान्तिको दूत हो ।’ विप्लवले सजिलै जवाफ फर्काउनुभयो । विप्लवको जवाफ सुन्नासाथ भेटघाटका संयोजनकर्ता अरुणले ठाडो प्रश्न गरे, ‘मैले यो महसुस गर्न पाएको छैन भन्न सक्छु ?’ ‘पाउनुहुन्छ ! तर तपाईँले नै भोग्न पाउनुहुन्छ ।’ महासचिवको जवाफ थियो ।

कलाकारले ‘तपाईँ जङ्गलमा भोकैनाङ्गै लडिरहदा हामी सहरमा उस्तै भोकैनाङ्गै काम गरिरहेका छौँ ।’ भन्दै तपाईले प्रचण्ड र बाबुरामको विरुद्ध महापतन लेख्नुभयो । हामीले तपाईको विषयमा अर्को महापतन लेख्न पर्ला की नपर्ला ? प्रश्न गर्दैथिए । विप्लवले हस्यौली शैलीमा महापतन लेख्न पर्दैन । बरु अरु नै लेख्नुहोस् भन्दा सबैजना हाँसेका थिए । लाग्थ्यो जवाफ सुनेर भित्ताबाट हाम्रो बहस सुनिरहेका चे पनि प्रफुल्ल छन् ।

महासचिवले अन्तिममा, ‘युरोप र अमेरिकामा चे फर्किनु पर्छ । नेपालमा चे फर्किनु पर्छ । चेलाई आफूजस्तो बनाएर होइन चे जस्तै भएर फर्काउनुपर्छ ।’ भन्दै रङ्गकर्मीहरुलाई सरकारले बेवास्ता गरेपनि आफ्नो पार्टीले सम्मान र सहयोग गर्ने बताउनुभयो ।

कमरेड अडिगले कार्यक्रम छोटो गर्न संकेत गर्दौ हुनुहुन्थ्यो । कलाकार चापमा थिए । गम्भीर थिए । हतार हतार कार्यक्रम सकेर सडक किनारामा निश्कियौँ । छेउमा चे उभिएका थिए । ‘रङ्गकर्मीको अपेक्षाले थिचिएको अनुभूति सबैले गरेका होलान । ‘दाई तपाईमा चे देखेर भेट्न खोजेका हौं । ओहो ! कति गरुङ्गो भारी !!


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।