कविता
जतिबेला क्रान्ति भएकाे थियाे
मैले हात उठाइन
हात नउठाउनु असंलग्नता थिएन
म व्यस्त थिएँ
उठ्ने हातहरू दरिला बनाउन
मेराे स्वर दबेकाे थियाे
मैले आफ्नै आवाजमा
जिन्दावाद या मुर्दावाद भनिनँ
म व्यस्त थिएँ
छातीको आक्राेस आँखाबाट बाँड्न
मेराे काख शून्य थियाे
मेरा आफ्नै सन्तान थिएनन्
आफ्नाे काेखबाट कुनै सन्तान जन्माइन
म व्यस्त थिएँ
क्रान्ति र परिवर्तनका भ्रूण काेखमा हुर्काउन
तर मलाई गर्व छ
म माैन शिखा हूँ
म मध्यम उज्यालाे हूँ
म सानाे काेसिश हूँ
म सानाे परिवर्तन हूँ
म नै
क्रान्तिकाे जननी हूँ
प्रतिक्रिया दिनुहोस्