कमरेड वीरजङ्गको असामयिक निधनले नेपालको क्रान्तिकारी आन्दोलनलाई अपूरणीय क्षति पुयायो । वीरजङ्ग एउटा जुझारु, इमानदार र सच्चा माओवादी नेता हुनुहुन्थ्यो । कमरेड वीरजङ्गले आफ्नो जीवनकालमा समाजका सबै क्षेत्रमा अतुलनीय काम गर्नुभयो । पार्टीको निर्माण गर्नेदेखि जनताका दुश्मनहरूलाई नियन्त्रणमा राख्ने, सङ्गठनमा अनुशासन कायम राख्नेदेखि दिन–प्रतिदिनका जनताका काममा सहभागी हुने, समाज सुधारका काम गर्नेदेखि क्रान्तिको वैज्ञानिक तयारी गर्ने सबै क्षेत्रमा वीरजङ्गको विशिष्ट योगदान रहेको छ ।
नेपाली क्रान्तिमा तत्कालीन माओवादीले क्रान्तिकारी विचार, राजनीति र आदर्श विपरीत संसदवादमा पतन भएपछि संशोधनवादसँग सम्बन्ध–विच्छेद गर्न कमरेड वीरजङ्गको विशिष्ट अग्रसरता थियो । त्यस्तैगरी, किरणको नेतृत्वमा रहेको पार्टी अकर्मण्यताको सिकार हुने देखेपछि त्यसबाट अलग गर्न पनि उहाँको ठूलो अग्रसरता रह्यो । यसबाट प्रस्ट हुन्छ कि कमरेड वीरजङ्ग आधारभूत वैचारिक, राजनीतिकरूपले प्रस्ट मात्र होइन; एउटा दूरदृष्टि भएको नेता हुनुहुन्थ्यो ।
पार्टी सञ्चालनको क्रममा कमरेड वीरजङ्ग पार्टीको केन्द्रीय समितिबाट पोलिटब्युरो सदस्य हुनुभयो । उहाँको क्षमता र क्रान्तिकारी आदर्शले पार्टी कामको क्षेत्रमा स्थायी समितिले गर्ने जिम्मेवारीसमेत वहन गर्नुभएको थियो। जतिबेला कमरेड वीरजङ्ग राज्यबाट गिरफ्तारीमा पर्नुभएको थियो, त्यो समयमा ब्युरोको इन्चार्ज मात्र होइन; कमान्डको इन्चार्जसमेत हुनुहुन्थ्यो । त्यो समयमा कमान्ड इन्चार्ज केवल स्थायी समिति सदस्य रहने व्यवस्था थियो ।
सामाजिक दलाल पुँजीवादी राज्यले वीरजङ्गको गिरफ्तारीलाई नेपाल कम्युनिस्ट पार्टीको मुख्यालयमाथिको दबाबका रूपमा लियो, जुन प्रकारको प्रतिशोधको राजनीति राज्यले अपनायो; त्यसको परिणाम वीरजङ्गले लामो हिरासत र जेलजीवन बिताउनुप–यो । महान् जनयुद्धको समयमा गरेको मिहिनेत, सङ्घर्ष र शारीरिक अवस्थाले लामो समयको जेलजीवन खप्ने अवस्था थिएन । विभिन्न प्रकारका शारीरिक समस्या थिए । औषधी सेवनको प्रक्रिया चलेकै थियो । बन्दीजीवनभित्र त्यस प्रकारको रेखदेखको अभाव रहनु बन्दीका लागि बाध्यता नै हुन्थ्यो । तर, सरकार र संसदवादका मसिहा हाम्रो बाध्यतालाई क्रान्तिकारीविरुद्ध यातनाको रूपमा प्रयोग गरिरहेका हुन्थे ।
विद्यमान शारीरिक समस्याका बिचमा कमरेड वीरजग कोभिड १९ बाट ग्रसित हुन पुग्नुभयो । त्यसले थिल्थिलिएको शरीर हुँदा हुँदै पनि राज्यले रिहा गरेन । शारीरिक समस्या यति कमजोर भयो कि अस्पताल र नेपाली चिकित्सकहरूले समेत समस्याको भेउ पाउन सकेनन् । सायद त्यतिञ्जेल अत्यन्त ढिलो भइसकेको थियो । दिल्ली अस्पतालमा पुर्याउनेबित्तिकै मुटुको शल्यक्रिया गरियो । बाहिरबाट तन्दुरुस्त देखिए पनि भित्री शरीर अत्यन्त कमजोर हुँदै गएको थियो ।
अस्पतालमा बस्दाखेरि “अब बाँचिदैन कि !“ भन्ने, खाना राम्रोसँग खाए पनि “पार्टी र क्रान्तिप्रति चिन्ता छ” भन्ने जुन अभिव्यक्ति वीरजगले दिनुभएको भन्ने सहयोगी कमरेडले सुनाउनुभयो, त्यसले स्पष्ट गर्छ कि वीरजङ्ग कमरेडको दिलदिमाग र स्नायु प्रणालीमा नेपाली जनता, नेपाली क्रान्ति र नेपाली स्वाधीनताबाहेक अरू केही थिएन । कमरेड वीरजङ्ग एउटा सच्चा क्रान्तिकारी, सच्चा माओवादी, र नेपाली कम्युनिस्ट आन्दोलनको अनुकरणीय नेता हुनुहुन्थ्यो ।
उहाँ हाम्रोबिच नरहे पनि उहाँका विचार, भावना, योगदान र व्यवहारहरू समाजको धरातलमा तरङ्गिरहेका छन् । नेपाली क्रान्तिकारी आन्दोलनको इतिहासमा कमरेड वीरजङ्गको योगदान आकारको तारझैँ निरन्तर चम्किरहनेछ । उहाँको जीवन र जीवनका कठीन यात्राहरूले नेपाली सन्ततिलाई क्रान्तिको प्रेरणा प्रदान गरिरहनेछ । कमरेड वीरजङ्गप्रति श्रद्धासुमन !
कात्तिक २०७८