४ असार २०८१, मंगलवार

अनेकोटमा बालाहरुको हत्या

0

हुँदैन विहान मिर्मिरमा तारा झरेर नगए !
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए !!
भूपी शेरचन

सहिदको रगतले पोल्छ मेरी आमा !
यो अन्याय-अत्याचार सही बस्दामा !!
– प्रचलित तीजको गीत 

“बलिदान क्रान्तिको उर्जा हो ” !
– मार्क्सवादी मान्यता 

यस्ता साहित्यिक-सांस्कृतिक रचनाहरुबाट सुशिक्षित र सुदीक्षित हामी नेपाली जनमनहरु केही समयको अन्तरालपछी आज यस्तो लेख्ने-पढ्ने र सुन्ने-गुन्नेमा बदलियौं –
फोटो हेर्छु म ती सहीदहरुको व्यर्थै मरे हुन् किन ?
– केवलपुरे किसान ।

तिमी सहिद हुन सक्छौ
परिवर्तनको कुनै आन्दोलनमा !
नेता सत्ता भोग गर्नेछ परिवर्तित सिंहासनमा !!
– भुवन रोका “मित्रजी”

तिमी सहिद भएर ठिकै गर्यौ
यदि तिमी जिउँदो भए
मलाई डर छ–
तिमी पनि त्यस्तै हुने थियौ कि
जस्तो आजका जिउँदा
तर लाशजस्ता
हाम्रा देशका नेता ।
– उदय जी एम

तिम्रो सपनाको
ब्याज अहिले
हाम्रा नेताहरूले
मजाले खाइरहेका छन्
पालै पालाे मन्त्री
र प्रधानमन्त्री भएर !
– राजेशचन्द्र राजभण्डारी, बाग्लुङ

आज चैत्र ५ अर्थात् नेपाली माओवादी जनयुद्धकालीन अवस्थामा २०५५ सालमा काभ्रेको अनेकोटमा साँस्कृतिक कार्यक्रमको तयारी गर्दै गरेका च्याङ्वा लामा, निर्मला देवकोटा, सुभद्रा सापकोटा, चिनीमाया लामा, गुम्बासिंह तामाङ, डम्बर श्रेष्ठ र मञ्जु कुँवरजस्ता सात जना होनहार कलाकारहरुको नृशंस हत्या गरिएको दिन ।

यसै दिनमा हत्या गरिएका वीरवीराङ्गनाहरु एवं तिनका योगदान र बलिदानहरुको सम्झना, श्रद्धा र सलामी स्वरुप तत्कालीन नेकपा (माओवादी) ले यसदिनलाई सांस्कृतिक प्रतिरोध दिवसको रुपमा राष्ट्रिय स्तरमै मनाउने निर्णय गरे अनुसार त्यसयताका दिनहरुमा हरेक बर्ष चैत्र ५ गतेलाई सांस्कृतिक प्रतिरोध दिवसको रुपमा स्मरण गर्दै आइएको छ ।

वैचारिक, राजनीतिक, आर्थिक, धार्मिक, ऐतिहासिक, पौराणिक, नैतिक र भौतिक आदि समग्र क्षेत्रबाट प्राचीन सामन्ती राजा-महाराजा र देवीदेवताहरुको हुकुम-हैकम र हालीमुहालीयुक्त हत्या-संस्कृति तथा अर्वाचीन पुँजीवादी-साम्राज्यवादी औपनिवेशिक दलाल, दास, दम्भी र दमनकारी संस्कृतिका विरुद्धमा सैद्धान्तिक र व्यावहारिक रुपले विरोध, अवरोध र प्रतिरोध गर्नु अनि तिनका बदलामा नयाँ जनवादी बैज्ञानिक र क्रान्तिकारी संस्कृतिको अवलम्बन गर्नु नै चैत्र ५ को अनेकोट हत्या काण्डको सच्चा भत्सर्ना र भण्डाफोर तथा निन्दा र निषेध गर्नु हो ।

यसरी नै त्यससन्दर्भमा र अन्य समग्र सन्दर्भमा सहिद हुने देसका सच्चा सपुतहरुप्रति सही सम्झना, श्रद्धाञ्जली र सलामी समेत हुनेछ ।

तर विडम्बना, आज ती सहिदहरुको सपना साकार पार्ने, सहिदले देखाएको बाटोमा अघि बढ्ने र सहिदलाई सम्झना र समान गर्ने गर्नुको साटो देस र जनताको निम्ति भनेर जनताका सर्वोत्तम छोराछोरीहरुलाई त्याग बलिदान गर्न र सहिद नै बन्नको लागि उक्साउने नेताहरु स्वयं नै आफ्नो स्वार्थपूर्तिका लागि मरिहत्ते गरेको देखेर नै माथिका केही कविहरुले उक्त रचनाहरु रचेका हुन् ।

खैर जेहोस्, केही गलत र गद्दार नेताहरुको देस, जनता र क्रान्तिप्रतिको विश्वासघातले गर्दा मुलुक बन्नु भन्दा बिग्रदै गएको आजको दुखद सन्दर्भ भएपनी यी महान् सहिदको रातो र तातो रगतले हामी तमाम क्रान्तिकारीहरुलाई प्रतिक्रान्तिका विरुद्ध निरन्तर क्रान्तिमा लाग्न र सहीदका सपना र जपना पूरा गर्न जागृत र प्रेरित गर्नेछ र एक न एक दिन दीगो क्रान्ती सम्पन्न हुनेछ र सहिदको सही सम्मान हुनेछ ।

हार्दिक श्रद्धाञ्जली अनेकोट हत्याकाण्डका महान् सांस्कृतिक सहिदहरु । यहाँहरुको बलिदान अन्ततः खेर जाने छैन ।

(कम्पनपोष्ट डटकम२०७७ बाट)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।