१४ बैशाख २०८१, शुक्रबार

नेकपा स्कुलको पहिलो दिन : नयाँ तरिकाको पढाईले उत्साहित प्रशिक्षार्थी

0

कपिलवस्तु:  केन्द्रीय राजनीतिक तथा वैचारिक स्कुलिङ (विप्लव स्कुल) का कक्षाहरु शनिबारदेखि सुरु भएका छन् । शुक्रबार नेकपा महासचिव विप्लव सीले उद्घाटन गरेको स्कुलिङ कार्यक्रममा कक्षाहरु शनिबार विहानबाट सुरु भएका हुन् ।
शनिबार ७ वटा कक्षाहरु संचालन भएका थिए । ६ वटा कक्षाहरुमा प्रशिक्षार्थीहरुलाई माक्र्सवादका तीन संघठक अंगका विषयमा कक्षा संचालन भएका थिए भने एउटा श्रमको कक्षा भएको थियो । स्कुलको पहिलो कक्षामा नेकपा सचिवालय सदस्य तथा स्कुलिङ विभाग प्रमुख भरत सीले दर्शन शास्त्रको विषय पढाएका थिए । उनले विगतका स्कुलहरुको परम्परालाई तोड्दै नयाँ तरिकाबाट कक्षा संचालन गर्दा प्रशिक्षर्थीलाई बुझ्न सजिलो भएको थियो ।

माक्र्सवादबाट सुरु गरेर पार्टीले विकास गरेको विचार र सिद्धान्त अन्त्यमा पढाउने चलनको अन्त्य गर्दै भरत सीले नेकपाले विकास गरेको कार्यदिशा तथा विचारमा नयाँ विकास शिर्षकबाट कक्षाको सुरुवात गरेका थिए । ‘यो परम्परागत पढाई जस्तो होइन, हामीले मालेमावादमा टेकेर नयाँ विचार र दर्शनमा विकास गरेका छौं ।’, कक्षाको सुरुवात गर्दै उनले भने, ‘हामीले जनतालाई नयाँ विषयमा बुझाउन पर्नेछ । त्यसैले हामी सबैभन्दा धेरै पार्टीले विकास गरेको नयाँ विषयमा केन्द्रीत भएर कक्षाहरु संचालन गर्नेछौं । यसमा मालेमावादका विषयहरु पनि समेटिने छन् । ’

भरत सीले पहिला कक्षामा नेकपाले विकास गरेको अनिश्चय, रक्षा र रुपमान्तरणका अवयवहरुको चित्र बनाएर प्रस्तुत गरेका थिए । उनले पहिलो र चौथो गरि दुई वटा कक्षा लिएका थिए ।

राजनीतिक अर्थशास्त्रको विषयमा कक्षा लिंदै नेकपा पोलिटब्युरो सदस्य तथा स्कुल विभाग प्रमुख धुब्र सीले आर्थिक स्वामीत्व, स्वामीत्वका विशेषताहरु, स्वामीत्वका प्रकारहरुका विषयमा प्रष्ट पारेका थिए । स्वामीत्व बारेका विभिन्न कोटेशनहरु लेखाउँदै नयाँ नयाँ कथाहरुबाट प्रष्ट पारेका थिए । उनले नेपालको आर्थिक उत्पादन प्रणाली र यसले नेपाली समाजमा पारेको प्रभाव र असरका बारेमा पनि व्याख्या गरेका थिए । उत्पादन प्रणाली अन्तरगत उत्पादक शक्ति र उत्पादन सम्बन्धका फरकहरु छुट्याउँदै उत्पादनका साधनहरुको बारेमा व्याख्या गरेका थिए । धुब्र सीले दोश्रो र चौथो कक्षा लिएका थिए ।

नेकपा केन्द्रीय सदस्य प्रयास सीले पहिलो दिनको तेश्रो कक्षामा वैज्ञानिक समाजवाद शिर्षकमा प्रशिक्षण दिएका थिए । उनले वैज्ञानिक समाजवादको विज्ञान अन्तरगत भौतिक विज्ञान पढाएका थिए । भौतिक विज्ञानका नियमहरु र भर्खरै विकास भएको अनिश्चयको सिद्धान्तका बारेमा प्रष्ट पारेका थिए । नेकपाले पार्टीको नवौं महाधिवेशनबाट अनिश्चयको सिद्धान्तलाई थप व्याख्या गर्दै आत्मसात गरेकाले उनले त्यसमा बढि जोड गरेका थिए ।

पहिलो दिनको अन्तिम कक्षा लिदै नेकपा केन्द्रीय सदस्य तिर्थ सीले वैज्ञानिक समाजवादभित्रको समाज विज्ञानका विषयमा प्रशिक्षित गरेका थिए । पहिलो दिनको श्रमको कक्षामा प्रशिक्षार्थीहरुले पार्टी केन्द्रीय कार्यालय पुग्ने बाटोको नाला निर्माण गरेका थिए भने केही प्रशिक्षार्थीहरुले बंगुर खोर निर्माणका लागि ब्लग बनाएका थिए । साथै केहीले विरजंग पुस्तकालयमा रंगरोगन समेत गरेका थिए ।

कक्षाको पहिलो दिन उत्साहजनक भएको प्रशिक्षार्थीहरुले प्रतिक्रिया दिएका छन् । कक्षामा भाग लिन पूर्वि गण्डक व्युरोबाट सहभागी भएका ठाकुर प्रसाद पनेरुले स्कुलले आफूलाई निकै हौसला प्रदान गरेको बताए । ‘म यो स्कुलिङबाट पहिलो दिनमा नै धेरै प्रभावित भएको छु ।’, उनले भने, ‘यस्तो स्कुलिङ व्युरो स्तरमा पनि संचालन गरी सबै जिल्ला सदस्यहरुलाई प्रशिक्षित गर्नु पर्ने आवश्यकता महसुस गरेको छु ।’

उत्पत्यका व्युरोबाट सहभागी अर्का प्रशिक्षार्थी रत्न महर्जनले पार्टीको नवौं महाधिवेशन पछिको पहिलो स्कुलिङमा सहभागी हुन पाउँदा खुशी महशुस भएको बताए । उनले पार्टीले विकास गरेको नयाँ विषय वस्तुहरुहरुको जानकारी पाउँदा विचारमा मात्र होइन व्यवहारिक रुपमा पनि प्रयोग गरेको देख्दा अझै उत्साहित बनाएको दावि गरे ।

त्यस्तै, चितवनबाट सहभागी भएका मिन प्रसाद सापकोटले पछिल्लो समयमा माक्सवादी स्कुलहरु एकदमै कम संचालन हुने गरेकोमा हाम्रो पार्टीले सुरु गर्नु स्वागत योग्य भएको बताए । उनले सबै कक्षाहरु एकदमै उत्साजनक र लाभदायी भएको भन्दै यस्ता स्कुलहरु नियमित संचालक गर्न पर्नेमा जोड दिए । प्रशिक्षण आगामी चैत्र २० गतेसम्म चल्ने छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।