९ बैशाख २०८१, आईतवार

मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ

0

विचारोत्तेजक र भावोत्तेजक एउटा गीत छ- ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ ।’ यो गीत अकल्पनीय र अविश्वसनीय त्रासदीपूर्ण मृत्युको सन्दर्भमा लेखिएको थियो । प्राकृतिक रूपमा मान्छे समान प्रकृतिका सामाजिक प्राणी हुन्, तर पनि उसलाई आ-आफ्नो कर्मले पृथक-पृथक पहिचान दिइरहेको हुन्छ । त्यही कर्मका आधारमा मृत्यु पनि मान्छेपिच्छे फरक-फरक हुने गर्दछ । हो, यही फरक मृत्यु अर्थात् विशिष्ट बलिदानका साथ चन्द्रबहादुर चन्द ‘कमरेड वीरजङ्ग’ हामीबाट बिदा हुनुभएको छ ।

अप्रिय तर यथार्थ, त्रासद् तर विश्वजनिन यथार्थ हो कि वीरजङ्ग अहिले भौतिकरूपमा हामीमाझ हुनुहुन्न तर देश र जनताको आमूल परिवर्तनको पक्षमा उहाँले पुऱ्याउनुभएको योगदान हाम्रोअगाडि अविस्मरणीय छ, अविस्मरणीय नै रहिरहनेछ । किशोरावस्थादेखि नै विभिन्नस्तरका वर्गसङ्घर्षमा भाग लिनुभएका वीरजङ्गले विशेषतः जनयुद्धकालीन अनेकन् भूगोल एवम् मोर्चाको नेतृत्व गर्नुभएको थियो । उहाँ मृत्युपर्यन्त पनि वर्ग, देश र जनताका पक्षमा निरन्तर सक्रिय र नेतृत्वदायी भूमिकामा रहनुभयो ।

मान्छे आफ्नो जीवनको एउटा समय क्रान्तिकारी हुन सक्तछ तर आजीवन क्रान्तिकारी हुनु र क्रान्तिकर्मका माध्यमबाट आफूलाई स्थापित गर्नु धेरै महत्त्वपूर्ण कुरा हो । आजीवन क्रान्तिकर्मका माध्यमबाट उहाँले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा अनुकरणीय, अतुलनीय र अविस्मरणीय योगदान दिनुभएको छ । उहाँ जनतामाझ माथवर योद्धा, दृढनिश्चयी र निष्ठावान् नेताका रूपमा स्थापित हुनुहुन्थ्यो । निश्चय नै जनप्रिय नेताको भौतिक विछोडले जो कोहीलाई पनि पीडा हुन्छ नै ।

तर पनिकेही विषय यस्ता हुन्छन्, जसको सामना गर्नुको कुनै विकल्प हुदैन । त्यस्तै, विकल्पहीन पीडाजनक परिस्थिति हामीमाझ उभिइदियो । वीरजङ्गको मृत्युको खबरले एकपटक हामी सबैको अन्तस्करण हल्लायो नै । झन् सिङ्गो पार्टीपङ्क्ति स्तब्ध नहुने त कुरै भएन । ‘हैन होला’, ‘कहाँ हुन्छ’ जस्ता कुरा फैलियो तर पनि यथार्थ यथार्थ नै थियो, जसको सामना गर्नु कुनै विकल्प थिएन । जन्म र मृत्यु मानिसका सार्वभौम कुरा भए पनि यी सबैका उस्तै हुँदैनन् र भएका पनि छैनन् । उहाँको मृत्युले उत्पीडित तथा श्रमजीवीवर्गले एक योद्धा गुमाएको छ ।

सिङ्गो जीवनलाई देश, जनता र क्रान्तिको पक्षमा समर्पित नेतासित हामी सबैको भौतिक विछोड भएको छ । वैयक्तिक आकाङ्क्षालाई त्याग्दै देश र जनताको मुक्तिकामी अभियानमा लामबद्ध कमरेड वीरजङ्गसित ‘कमरेड सलाम’ भनेर हात मिलाउने अवसर पनि अब कहिल्यै आउनेछैन ।
राजनीतिक जीवनमा पक्राउ पर्नु, जेल-हिरासतमा बस्नु, घाइते हुनु, मुद्दा- मामिला लाग्नु, आर्थिकलगायत अनेक समस्या खेप्नु, बिरामी हुनु स्वाभाविक परिघटना हुन् तर, वीरजङ्गलाई भरपर्दो उपचारको अभाव, चरम मानसिक यातना र अनेकन् भौतिकी अस्तव्यस्तताका बिचबाट मृत्युको मुखमा पुग्न बाध्य बनाइनु सर्वथा फासिवादी कायरता थियो ।

प्रतिक्रियावादी सत्ताले जनताका नेतृत्वलाई अनेक प्रकारले सिध्याउन खोजिरहेका हुन्छन् । सामाजिक फासिवादी सत्ताका जनहत्याका नौरङ्गी तानाबानाका कारण उहाँले असामयिक मृत्युवरण गर्नुपरेको कुरामा कुनै शङ्का छैन । कुनै पनि प्रतिक्रियावादी सत्ताले पहिले क्रान्तिकारी नेतृत्वको वैचारिकी हत्या गर्न खोज्दछ । वैचारिकी हत्या गर्न नसकेपछि ऊ क्रान्तिकारीहरूका विरुद्ध भौतिकी हमलामा उत्रिन्छ । राज्यसंयन्त्रलाई आफ्नो मुट्ठीभित्र राखेका उनीहरूले भौतिकी हमलाका विभिन्न कलात्मक विधि अपनाइरहेका हुन्छन् ।

प्रतिक्रियावादी सत्ताले अनेक बाहनामा जनताको हत्या गरिरहेका हुन्छन् । समकालीनतामा विमानवीकरणको उत्कर्षको भुक्तभोगी हामी आफैँ छँदै छौँ । फेरि, मान्छे मार्नलाई गोली नै दाग्नुपर्छ र ! गोली नै नदागीकन सामान्य-सामान्य जस्तो परिवेश बनाएर असामान्य र आपराधिक परिघटना निम्त्याउने प्रतिक्रियावादी परिपञ्चको लामो र क्रूर शृङ्खलामा कमरेड वीरजङ्गको बलिदान जोडिएको छ ।

क्रान्तिकारीहरूको युद्ध नै नगरीकन युद्ध जित्ने एउटा रणनीतिक हुन्छ, यही कुरा प्रतिक्रियावादी शासकहरूले पनि अपनाइरहेका हुन्छन् । प्रतिक्रियावादीहरूले जनताको ‘हत्या नगरीकन नै हत्या’ गरिरहेका हुन्छन् । उनीहरूले बिनाघाउ जनताका रगत तनतनी चुसिरहेका हुन्छन् । टाढै बसेर पनि उनीहरूले जनताको नलीहाडको मुरली बजाइरहेका हुन्छन् । सञ्चारका विभिन्न माध्यमले ‘वीरजङ्गको उपचारकै क्रममा मृत्यु’ भनेर समाचार प्रसारण गरे पनि जनताका मन-मनमा उठेको ‘सरकारले वीरजगलाई अकालमै मायो’ भन्ने भावनात्मक उद्वेलना छ्याङ्छ्याति नै थियो ।

स्वाभाविक छ- यतिबेला पीडाहरू पोखिएका छन्, आक्रोशहरू चुलिएका छन् । सपनाहरू जुर्मुराएका छन्, सङ्कल्पका मुट्ठी उठेका छन् । अविश्वास, आशङ्का र स्खलनको भयानक गर्तबाट समकालीनतामा प्रतिक्रान्तिलाई क्रान्तिमा फेर्न, निराशालाई आशामा बदल्न, अविश्वासलाई विश्वासमा रूपान्तरण गर्न अपरिहार्य छ । ठीक यही समयमा हामी आदरणीय कमरेड वीरजगलाई सम्झिरहेका छौँ ।
माओले भन्नुभएको छ, “क्रान्तिकारी युद्ध यस्तो विषाणुनासक ओखती हो, जसले सत्रुको विषलाई मात्र समाप्त पार्ने होइन; हामीभित्र रहेका फोहोरमैलालाई पनि पखालेर हामीलाई निरोगी पार्छ, (माओ त्से तुङका उद्धृत उक्तिहरू, युद्ध र शान्ति, दीर्घकालीन युद्धका विषयमा, पृ. ३३, मे १९३८) ।” प्रस्तुत माओकथन निकै अर्थपूर्ण र विशेष मननीय छ ।

क्रान्तिकारी युद्धका दुई धार हुन्छन्; एउटाले आफैँभित्रका खराबीका विरुद्ध र अर्कोले वर्गदुश्मनसित सङ्घर्ष गरिरहेको हुन्छ । उहाँ सत्रुका विष समाप्त पार्न तथा आफैँभित्रका फोहोरमैला सफा गर्न पनि सक्रिय हुनुहुन्थ्यो । नूतन र पुरातन, क्रान्ति र प्रतिक्रान्ति, मार्क्सवाद र आदर्शवाद आदि सँगसँगै हुन्छन् । क्रान्तिकारीहरूले पुरातन, प्रतिक्रान्ति र आदर्शवादजस्ता अग्रगमनविरोधी पक्षसित निरन्तर जुध्दै विषाणुनासक ओखतीको जस्तै भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

माओले भन्नुभएजस्तै क्रान्तिकारी युद्धमा वीरजङ्ग विषाणुना औषधी हुनुहुन्थ्यो । उहाँको जन्म २०१७ साल फागुन ७ गते रोल्पाको इरिबाङमा भएको थियो । जनयुद्धीय ग्रामीण वर्गसङ्घर्ष उठानमा उहाँको महत्त्वपूर्ण भूमिका थियो । उहाँले पञ्चायती निरङ्कुशता र सामन्ती राजतन्त्रका विरुद्धका विभिन्न सङ्घर्षमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । विद्यार्थी राजनीतिबाटै उहाँले निरङ्कुश पञ्चायती व्यवस्थाको जरा उखेल्न जोडबल लगाउनुभयो ।

जनयुद्धको येनानभूमि रोल्पाले उहाँलाई आत्मसङ्घर्ष, अन्तरसङ्घर्ष र वर्गसङ्घर्षमा खारिन, माझिन् र दरिन उपयुक्त वातावरण निर्माण गरिदियो । जनपक्षीय, क्रान्तिकारी वैचारिकी एवम् भौतिकी उदात्तताले उहाँलाई आफ्नो जीवन देश र जनताका लागि समर्पित गर्न मनग्गै सघायो पनि । उहाँले माओवादी विचार – राजनीतिमा आएको भयानक विचलन, महापतन र प्रतिक्रान्तिका विरुद्ध खडा हुँदै फेरि क्रान्तिको अर्को नयाँ शिखर ठड्याउन कम्मर कसेर लाग्नुभएको थियो ।

मोहन वैद्य ‘किरण’ बाट सम्बन्ध-विच्छेदपछि छोटै समयमा नेपाली कम्युनिस्ट राजनीतिमा जनताको भरोसायोग्य पृथक क्रान्तिकारी धार निर्माण गर्न वीरजङ्गको महत्त्वपूर्ण भूमिका थियो । माओवादी आन्दोलनको अन्तिम चौकीको रूपमा रहेको सोही पृथक धारलाई ध्वस्त बनाउन दलाल सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि तथाकथित प्रतिबन्ध लगाएको कुरामा कुनै शङ्का थिएन । हरेक सङ्गीन घडीहरूमा र हरेक झन्झटिला राजनीतिक परिस्थितिका सबै घुम्तीहरूमा वीरजंगले पार्टीको नीति र निर्देशनलाई जिम्मेवारीबोधका साथ आफ्नो कार्यक्षेत्रमा कुशलतापूर्वक लागू गर्नुभएको थियो ।

उहाँ विचार र वर्गसङ्घर्षलाई दह्रोसँग पकड्ने नेता हुनुहुन्थ्यो । उत्पीडित तथा श्रमजीवी जनताको पक्षमा निरन्तर सम्झौताहीन सङ्घर्षशील योद्धा उहाँको खास परिचय थियो । अविराम सङ्घर्षशील योद्धा उहाँले पञ्चायतकाल, जनयुद्धकाल, शान्ति-सङ्क्रमणकाल र जनक्रान्तिकालमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
कमरेड वीरजङ्गको बलिदानसँग अनिवार्य जोडिएर आउने विषय हो- प्रतिबन्ध | सम्भवतः प्रतिबन्ध हुने थिएन भने वीरजङ्ग पक्राउ पर्ने कुरा हुन्थेन । उहाँ पक्राउ नपर्नुभएको भए सम्भवतः यस्तो अप्रिय र दुःखदायी परिस्थिति आउने थिएन । केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो ।

सुरु-सुरुमा त यो कुरालाई धेरैले विश्वास नै गर्न सकेनन् किनभने एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउनु प्रचलित राजनीतिशास्त्रभन्दा नितान्त बाहिरको कुरा हुन्थ्यो । अन्ततः त्यो अपत्यारिलो कुरा सत्य सावित भयो, जब यसका प्रतिक्रियाहरू सार्वजनिकहुन थाले । नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध सारतः एउटा ठूलो डिजाइनअन्तरगत भएको कुरामा कुनै दुविधा थिएन । विश्लेषकहरूका अनुसार त्यतिबेला ओली र प्रचण्डबिच लेनदेनमा यस्तो हददर्जाको अराजनीतिक काम भएको थियो ।

विप्लवदेखि प्रचण्डलाई डर, प्रचण्डदेखि केपी ओलीलाई डरकै अन्तर्यमा पृथकतावादी सिके राउतलाई संसदीय राजनीतिको पेरिफेरिमा ल्याइएको थियो । मधेस कार्यक्षेत्र बनाएका सिके राउतलाई एकाएक संसदीय रातो कार्पेट ओछ्याइनु फासिवादी सत्ताको गुरुयोजनाको एक पाटो थियो । नेकपाविरुद्ध अत्यन्त वैयक्तिक र स्वार्थकेन्द्रित मिलोमतोमा जबरजस्त ‘प्रतिबन्धात्मक’ परिस्थिति बनाइएको थियो । एनसेललगायतका प्रकरण त निमित्त कारण मात्र थिए । सरकार दिन-प्रतिदिन निकम्मा हुदै गएपछि त्यसलाई विषयान्तरण गर्नु ओली-प्रचण्डका लागि बाध्यात्मक बन्दै थियो ।

ओलीले सिके राउतसँगको संयुक्त कार्यक्रममा नेकपा र तिनका मुख्य नेताको नामै किटेर निर्लज्ज र गैर-राजनीतिक भाषामा ‘लुटेरा समूह’ को संज्ञा दिनु सामान्य अभिव्यक्ति थिएनन् । ‘स्वतन्त्र मधेस’ को माग गर्दै आन्दोलन गरिरहेका सिके राउतसँग ११ बुँदे सहमति गरेको हप्तादिन पनि नबित्दै नेकपामाथि प्रतिबन्ध लगाइएको थियो । ओलीले त्यत्तिकै सिधासिधा नेकपाका नेताहरूलाई चैत महिनाभित्र सिध्याइन्छ भनिदिएका थिएनन् । जुलुस, कोणसभा, प्रवचनात्मक कार्यक्रम, भित्तेलेखन, साहित्यिक-सांस्कृतिक कार्यक्रमहरू प्रतिबन्धित थिए । नेता, कार्यकर्ता, कवि, लेखक, शिक्षक, व्यापारी, पत्रकार, सर्वसाधारणलाई जहाँ पायो, त्यही छोप्नेक्रम तीव्र बन्न थाले ।

नेपाल कम्युनिस्ट पार्टी पनि आ- आफ्नो ठाउँबाट सामाजिक दलाल सरकारको जनविरोधी रवैयाका विरुद्ध सशक्त प्रतिरोधमा उत्रिन थाल्यो । नेपाली विशेषतामा नयाँ शैलीमा नेपाली वर्गसङ्घर्षले उचाइ लिँदै थियो । क्रमशः सरकार रक्षात्मकजस्तो र नेकपा आक्रामकजस्तो बन्दै गएको विशिष्ट परिस्थितिका बिचमा वीरजङ्ग पक्राउ पर्नुभएको थियो ।
वीरजङ्ग आफ्ना सहयोद्धाहरूसँगै पक्राउ पर्नुभएको थियो । अन्यको तुलनामा यो गिरफ्तारीको घनत्व निकै थियो । यस प्रकारको सरकारी रवैयाका विरुद्ध एकातिर जनस्तरबाट व्यापक आलोचना भएको थियो भने अर्कोतिर सरकारले यसलाई आफ्नो ठूलो सफलताको निर्लज्ज विज्ञापन गर्दै थियो ।

नेता तथा कार्यकर्ताहरूलाई झुट्टा मुद्दा लगाउँदै अनेकौँ जिल्ला घुमाउने कामलाई उसले आफ्नो बहादुरी ठान्दै थियो । सामाजिक फासिवादी ओली सरकारले पार्टी नेतृत्व कमरेड विप्लवलाई मुख्य टार्गेटमा पारिरहेको कुरामा कुनै शङ्का थिएन । वीरग पार्टी महासचिव विप्लवका सहोदर दाजु हुनुले पनि सरकारले उहाँलाई पनि टार्गेटमा पार्नु ‘दलाल राजनीति’ मा अनौठो कुरा थिएन । यो फासिवादी सरकारको सर्वथा ‘लज्जाजनक र निकृष्ट राजनीतिक धुर्त्याइँ’ थियो । झुट्टा मुद्दामा विभिन्न जिल्लामा घुमाउनेक्रममा वीरजङ्गलाई पनि सुनसरी पुऱ्याइएको थियो । गिरफ्तार हुनुभन्दा अगाडि नै उहाँलाई मधुमेह र उच्च रक्तचापको समस्या त छँदै थियो ।

धरानस्थित प्रहरी हिरासतमै उहाँ कोरोनाबाट सङ्क्रमित हुनुभयो । उहाँलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पनि गरियो । दिनहरू बित्दै जाँदा गिरफ्तार अन्य कमरेडहरू जेल-हिरासतबाट मुक्त हुनुभए पनि कमरेड वीरजङ्ग सत्ताको कठोर नियन्त्रणमै राखिनुभयो । एकातिर कमजोर स्वास्थ्यावस्था, अर्कोतिर कोरोनाको डरलाग्दो र अत्यासलाग्दो सङ्क्रमणका कारण पार्टीकेन्द्रलगायत चारैतिरबाट उहाँको जीवनरक्षाको माग गरिएको थियो । हिरासतमा राखिएका जनताका नेता कोरोना सङ्क्रमित हुनु र उचित उपचार नगरिनुले राज्यको चरम लापरवाही देखिँदै थियो । अदालतले समेत पटक-पटक नियन्त्रण मुक्त गर्न आदेश दिँदा पनि सरकारी अटेरीले उसले राजनीतिक प्रतिशोध साँधिरहेको कुरामा कुनै शङ्का थिएन । स्वास्थ्यावस्था थप नाजुक बन्दै गएपछि मात्र उहाँ थुनामुक्त हुनुभयो ।

उहाँले केही समय नेपालकै बुटवल र काठमाडौँको अस्पतालमा उपचार गराउनुभयो । अवस्था थप जटिल बन्दै गएपछि उहाँ उपचारार्थ भारतको दिल्लीस्थित म्याक्स अस्पताल पुग्नुभयो । सोही अस्पतालमा मुटुरोगको उपचार गराइरहेकै अवस्थामा ६१ वर्षको उमेरमा २०७८ असोज २८ उहाँलाई गते उहाँको निधन भयो । लामो समय जेल-हिरासतमा बिताउनुभएका जेलभित्रै मुटुरोगले गाँज्दै लगेको थियो । राजनीतिक जीवनका अनेक कष्टसाध्य र दुःसाध्य घुम्तीहरूमा विजयी बन्दै आउनुभएका कमरेड वीरजङ्गको अन्ततः दलाल सत्ताको चरम लापरवाही, राजनीतिक प्रतिशोध र मानसिक यातनाका कारण भौतिक जीवन समाप्त हुन पुग्यो ।

राजनीतिमा कार्यक्षेत्र फरक-फरक हुनुले पनि कतिपय सन्दर्भ अधुरा रअपूरा हुँदा रहेछन् । कमरेड वीरजङ्गको कार्यक्षेत्र भूगोल थियो भने मेरो कार्यक्षेत्र जनसांस्कृतिक महासङ्घ । फरक-फरक कार्यक्षेत्रका कारण एउटै पार्टीभित्र पनि कैयौँ विषय औपचारिक बन्दा रहेछन् । त्यसैले पनि उहाँसँग मेरो त्यति धेरै सघन अनुभूति छैनन् । यद्यपि जेजति भेटघाट र कुराकानी भएका छन्; ती विशेष र अमीट छन् । कमरेड वीरजङ्ग र म अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, अखिल लेखक सङ्घलगायत अन्य सङ्घ-सङ्गठनद्वारा आयोजित केही कार्यक्रममा सँगै अतिथि बनेका थियौँ । सँगै मन्तव्य सम्प्रेषण पनि गरेका थियौँ । कमरेड वीरजङ्गको ओजपूर्ण मन्तव्य गज्जबको स्कुलिङ प्रतीत हुन्थ्यो ।

पार्टीले राजनीतिक, वैचारिक, सङ्गठनात्मक एवम् आन्दोलनात्मक सारलाई एकरूपता कायम गर्न र क्रान्तिकार्यलाई तीब्रता दिन स्कुलिङ विभाग निर्माण गरेको थियो । म पनि त्यो विभागमा सुरुदेखि नै थिएँ । पार्टीकै योजनामा हामीले पहिलोपटक पश्चिम धनगढीबाट स्कुलिङ प्रारम्भ गरेका थियौँ । धनगढी, दाङ, सुर्खेतको ब्युरोस्तरीय स्कुलिङ सम्पन्न गरेर हामी लुम्बिनी ब्युरोअन्तरगत बुटवल आइपुगेका थियौँ । वीरजङ्ग त्यतिबेला लुम्बिनी ब्युरोको इन्चार्ज हुनुहुन्थ्यो । उहाँ हामीलाई भेट्न बुटवलको पश्चितर्फ रहेको एक होटलमा आउनुभएको थियो । त्यहाँ रमाइला कुराकानी भए । गम्भीर विषयलाई पनि रमाइलो भावमा प्रस्तुत गर्ने उहाँको खास तरिका थियो । उहाँले यसअघिका स्कुलिङबारे सोध्नुभएको थियो । हामीले पनि स्कुलिङका आ-आफ्नो अनुभूति राखेका थियौँ । उहाँले स्कुलिङका लागि गर्नुपर्ने व्यवस्थापनलगायतका कुराहरू गम्भीरताका साथ सोध्नुभएको थियो ।

हामी तत्कालीन स्कुलिङ विभागका प्रमुख कमरेड गम्भीरको नेतृत्वमा त्यहाँ पुगेका थियौँ । बुटवलस्थित रातो घरको एक फराकिलो कक्षमा स्कुलिङका तयारी गरिएको रहेछ । निदृष्ट मिति र समयमा लुम्बिनीस्तरीय स्कुलिङ प्रारम्भ भयो । लुम्बिनी ब्युरोभित्रका अगुवा कमरेडहरूलाई दिइएको एक हप्ते स्कुलिङमा उहाँ आफैँ अनुशासित भएर कक्षा लिनुहुन्थ्यो । उहाँलाई समसामयिक विषयमा केही कक्षा लिइदिन अनुरोध पनि गरिएको थियो तर उहाँले मान्नुभएन । बरु दिल साहनी सरहरूले लिनु उपयुक्त हुने उहाँकै सुझावअनुसार हामी त्यही गरेका थियौँ । ‘नेताले सबै कुरा जानेका हुन्छन्, सकी नसकी नेताले त्यो काम गर्नुपर्दछ’ भन्ने सोचमा उहाँ पटक्कै हुनुहुन्थेन । उहाँमा ‘म जान्ने छु, किन पढिरहनुपर्यो र भन्नेजस्तो कुनै पनि सोच र दम्भ थिएन ।

स्कुलिङ अवधिभर उहाँले अन्य सहभागी कमरेडहरूजस्तै भूमिकामा रहनुभयो । कक्षामा ढिला आउने तथा कताकति हल्ला गर्न खोज्ने कमरेडहरूलाई उहाँ आफैँले सतर्क र खबरदारी गर्नुहुन्थ्यो । उहाँको नेतृत्वदायी भूमिकाले हामीलाई स्कुलिङ सञ्चालन गर्न निकै सघाएको थियो । व्यवस्थापनको क्षेत्रमा त उहाँको अब्बलपना स्पष्टै झल्किन्थ्यो । स्कुलिङको उद्घाटन र समापनका अवसरमा उहाँले निकै महत्त्वपूर्ण मन्तव्य दिनुभएको थियो । यस्तो लाग्थ्यो- जिम्मेवारीको हिसाबले वीरजङ्ग पार्टीका पोलिटब्युरो सदस्य तथा ब्युरो इन्चार्जका रूपमा देखिनुभए पनि समग्र उहाँको राजनीतिक व्यक्तित्व र पहलकदमी त्योभन्दा निकै माथि हुनुहुन्छ । ब्युरो इन्चार्जको हैसियतबाट उहाँले हामी प्रशिक्षकहरूलाई जुन हौसला प्रदान गर्नुभएको थियो, जुन वातावरण बनाइदिनुभएको थियो; ती अविस्मरणीय छन्, अमीट छन्, उत्प्रेरक रहेका छन् ।

स्कुलिङ अभियानकै सेरोफेरोमा थबाङमा पार्टीको आठौं महाधिवेशन भव्यताका साथ सम्पन्न भयो । दलाल सत्ताको स्थानीय र संसदीय निर्वाचनको तयारीमा तीब्ररूपमा लागिरहेको थियो । पार्टीले दलाल सत्ताको संसदीय निर्वाचनका विरुद्ध सशक्त बहिष्कार आन्दोलनको घोषणा गरेको थियो । संसदीय निर्वाचन बहिष्कारको आवश्यकता र औचित्यबारे जनचेतना जगाउन पार्टी मेची-कोशी कवितावाचन कार्यक्रम गर्न निर्देशन दिएको थियो । हामीले पार्टीको निर्देशनलाई कञ्चनपुरदेखि झापासम्म पुगेर भव्यताका साथ सम्पन्न गरेका थियौँ । २०७४ सालको संसदीय निर्वाचन नजिकिँदै थियो ।

दलाल सत्ता हाम्रो नजिक नजिक आउँदै थियो । संसदीय निर्वाचन सशक्त बहिष्कार गर्ने पार्टी नीति अघि सारेपछि 1 सरकार हाम्रोविरुद्ध कडारूपमा प्रस्तुत हुन थाल्नु नौलो कुरा पनि थिएन । निर्वाचन जति-जति नजिकिँदै थियो, उति उति हामी पनि चनाखो बन्दै आ-आफ्ना कार्यक्षेत्रमा खटिरहेका थियौँ । सरकारले पार्टीका नेता तथा कार्यकर्ताहरू धमाधम पक्राउ गर्न थालिसकेको थियो । त्यसैक्रममा मलाई पनि प्रहरीहरूले पक्राउगरेर टेकुको हिरासतमा लगेर थुनेको थियो । त्यही सेरोफेरोमा कमरेड वीरजङ्ग पनि काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ पर्नुभयो ।

उहाँलगायत हामी सबैको गिरफ्तारीविरुद्ध र तत्काल रिहाइको पक्षमा विभिन्न सञ्चार माध्यमबाट सशक्त आवाज उठेको थियो । प्रहरीहरूले हामीलाई म्याद थपलगायतका काममा जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा लगिरहेका हुन्थे । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालयमा लैजानेक्रममा त्यही आदरणीय वीरजङ्गसित भेट भएको थियो । प्रशासनिक काम र त्यहाँको अस्तव्यस्तताका कारण केही घन्टा हामी त्यहाँसँगै रहने स्थिति बनेको थियो । उहाँ त्यतिखेर हत्कडीमुक्त हुनुहुन्थ्यो भने मेरो दुवै हातमा हत्कडी लगाइएको थियो ।

हामीले आफू बसेको हिरासतको अवस्था र आफ्नो भोगाइ साटासाट गरेका थियौँ । उहाँसित सरकारी रवैया, पार्टीको तत्कालीन अवस्था र हामीले सुधार्नुपर्ने कार्यशैलीका विषयमा विमर्श पनि भएको थियो । कतिपय हाम्रै ल्याफ्याङ कार्यशैलीका कारण पनि दलाल सत्ताले अलि बढी र अलि अनावश्यक धरपकड एवम् दमन गरिरहेको उहाँको धारणा थियो ।पार्टीले स्कुलिङ अभियानलाई नियमित बनाएको थियो । प्रतिबन्धका बिचमा पनि स्कुलिङ अभियान रोकिएनन्, आ-आफ्नो सापेक्षतामा देशैभर स्कुलिङ सञ्चालन भएका थिए । प्रतिबन्धको फुकुवालगत्तै कपिलवस्तुमा स्कुलिङ विभागको बैठक बसेको थियो । पार्टी नेतृत्वको आवश्यक निर्देशनसहित हामीले फेरि योजनबद्ध रूपमा स्कुलिङ अभियान सञ्चालन गरेका थियौँ ।

त्यही सिलसिलामा हामी उपत्यका विशेष ब्युरोमा आइपुगेका थियौँ । भ्यालीका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) अनि धादिङ, रसुवा र नुवाकोटका कमरेडहरूसमेत सहभागी रहनुभएको स्कुलिङ एक हप्तासम्म ललितपुरको गोदामचौरमा सञ्चालन भयो । त्यतिखेर स्कुलिङ विभागका प्रमुख कमरेड भेषराज भुसाल हुनुहुन्थ्यो, उहाँ वीरजङ्गको कुरा गरिरहनुहुन्थ्यो, हामी पनि उहाँको अवस्था सोधिरहेका हुन्थ्यौँ । बाँसबारीस्थित गङ्गालाल हृदय उपचार केन्द्रमा पनि उहाँको रोग पहिल्याउन नसकिएको कुरा सुनिन्थ्यो। उहाँको ज्वरो पटक्कै नघटेको कुराहरू आउँथे। ‘हैन आजको जमानामा पनि रोग नै पत्ता लगाउन नसकिने यो के भएको हो’ भन्ने हामीलाई लाग्थ्यो ।

भ्यालीको स्कुलिङ सकिएलगत्तै भेषराज भुसाल र लालबहादुर बिसी उहाँलाई भेट्न जानुभयो । खै के नमिलेर हो, म त्यो भेटघाटमा सामेल हुन सकिनँ । त्यसको केही समयपछि उहाँलाई थप उपचारार्थ भारत लगिएको समाचार आयो, जहाँबाट उहाँ सकुशल फर्किन सक्नुभएन । अहिले पनि पनि मलाई त्यतिबेला भेषराज सरहरूसित गएर आदरणीय कमरेड वीरजङ्गलाई भेट्न नसकेकोमा थकथकी लागिरहेछ ।

कताकता मनको कुनामा बेला-बेलामा यही विषयले च्वास्स घोच्ने गर्दछ । त्यतिबेला यस्तो होला भन्ने कल्पना पनि गरिएको थिएन, गर्ने कुरा पनि भएन । आज पार्टी-परिस्थिति फेरिएको छ । हिजो एउटै पार्टीमा एक मन, एक तनका साथ लडिरहेका हामीहरू आज एकापसमा ‘भूतपूर्व’ कमरेड भएका छौं । हिजो ‘हाम्रो पार्टी’ भनिरहेका हामीहरूको आज ‘मेरो पार्टी र तपाईंको पार्टी’ मा भाष्य फेरिएका छन् । हाम्रा सठनात्मक जीवन ‘तत्कालीन’ मा बदलिएका छन् । हिजो पार्टी र नेतृत्वका लागि ज्यान दिन तयार हामीहरू आज उनै पार्टी र नेताको सकेसम्म खुइल्याउने र भुत्ल्याउने सक्रिय मनस्थितिमा छौं ।

हिजो तिनै नेताका विरुद्ध कसैले नकारात्मक टिप्पणी गर्दा रिसाउने र प्रतिरोध गर्ने हामीहरू आज तिनै नेताको बदख्याइँ र विद्रूपीकरणमा रमाउने र फुलेल हुने भएका छौं । कहिलेकाहीँ यस्तो लाग्छ, वीरजङ्ग रहिरहनुभएको भए पार्टी सग्लै रहन्थ्यो कि ! कहिलेकाहीँ यस्तो पनि लाग्छ, वीरजङ्ग हामीबिच रहिरहनुभएको भए पार्टीभित्र तथा बाहिरका तमाम अन्तरविरोधको हल गर्न निकै नै सहज हुने थियो कि ! राजनीतिक पार्टी- जीवनमा आलोचनात्मक चेत भएका हक्की योद्धाहरूको धेरै महत्त्वपूर्ण भूमिका हुने रहेछ । राजनीतिमा अगाडि चिल्लो घस्ने र पछाडि कर्द उध्याउने प्रवृत्ति खतरानाक हुँदा रहेछन् ! भयानक राजनीतिक स्खलनको समकालीनतामा वीरजङ्ग हक्की हुनुहुन्थ्यो, सही हुनुहुन्थ्यो, वैज्ञानिक हुनुहुन्थ्यो, दूरदर्शी हुनुहुन्थ्यो र क्रान्तिकारी हुनुहुन्थ्यो । गहिरिएर सोच्दै जाँदा नेपालको क्रान्तिकारी राजनीतिमा उहाँको क्षतिपूर्ति करिब-करिब असम्भवजस्तै लाग्दछ |

जनम र मरन, प्रकटीकरण र विलोपीकरण, उडान र अवतरण, सफलता र असफलता, विजय र पराजय, उज्यालो र अँध्यारो, गुण र अवगुण, इमान र बेइमान, मिलन र विछोड, विश्वास र अविश्वास सामाजिक जीवनका अकाट्य सच्चाइ हुन्, जुन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी नियममा आधारित छन् । कमरेड वीरजङ्गको पार्टी-नेतृत्वलाई “आन्दोलन र क्रान्तिलाई धोका नहोस्” भन्ने अभिव्यक्तिले उहाँको क्रान्तिप्रति, देशप्रति, जनताप्रति, जिम्मेवारीप्रतिको गम्भीरता, संवेदनशीलता र लगावलाई उँचो बनाएको छ ।

विदितै कुरा हो कि क्रान्तिमा धेरै-धेरै कुरा व्यहोर्नुपर्दछ, धेरै-धेरै कुरा सुन्नुपर्दछ, धेरै-धेरै कुरा देख्नुपर्दछ । वीरजङ्गले पनि आफ्नो क्रान्तिकारी जीवनकालमा धेरै-धेरै कुरा देख्नुभयो, सुन्नुभयो र व्यहोर्नुभयो । पेरुभियन साइनिङपाथका अध्यक्ष गोन्जालो र इटालियन कम्युनिस्ट
पार्टीका नेता एवम् चिन्तक ग्राम्सी पनि जेलमै मारिनुभएको थियो । वीरजङ्ग जेलभित्रै त मारिनुभएन, उहाँ जेलका कारण मारिनुभयो । फासिवादी सत्ताको यस प्रकारको हत्याको जति निन्दा र भर्त्सना गरे पनि कम हुन्छ । देश, जनता, आफ्नो वर्ग र क्रान्तिका पक्षमा निरन्तर लागिरहने नेताको यस प्रकारको मृत्यु असामान्य परिघटना हो। उहाँ समाजका लागि, आमूल परिवर्तन र क्रान्तिका लागि व्यक्तिगत स्वार्थ त्यागेर क्रान्तिपथमा हिँड्नुभएको थियो ।

अवसरवादी र गद्दारहरूको छातीमा परेड खेल्दै विद्रोहको राँको बाल्नुहुने कमरेड वीरजङ्ग समकालीनतामा अतुलनीय नेता हुनुहुन्थ्यो । सामान्य रूपबाट हेर्दा उहाँको मृत्यु उपचारका क्रममा भएको देखिए पनि समग्रताको सूक्ष्म अध्ययन गर्ने हो भने यो परिघटनाले अनेक आशङ्का- उपशङ्का जन्माइदिएकै छ । दलाल पुँजीवादी शासकहरू आफैँमा षड्यन्त्र, दमन र अमानवीयताका पर्याय हुन् । साम्राज्यवादी पृष्ठपोषक दलाल सत्ताद्वारा जिम्मेवार राजनीतिक पार्टीको जिम्मेवार नेतालाई बैठकबाट जबरजस्ती गिरफ्तार गरिनु घोर अराजनीतिक र अनैतिक कार्य थियो । हिरासतमा शारीरिक र मानसिक यातना दिनु दलाल सत्ताको अर्को गैरन्यायिक हर्कत थियो ।

आफ्नै कानुन र अदालतको आदेशलाई लत्याउँदै बारम्बार गिरफ्तार गरिनु र दर्जनौँ जिल्ला घुमाइनु फासिवादी सत्ताको अमानवीयताको पराकाष्ठा थियो ।कमरेड वीरजङ्गको उच्च सम्मानपूर्ण र उदात्त भावपूर्ण बिदाइ भयो । उहाँको बिदाइमा पार्टीका नेतृत्व, नेता, कार्यकर्ता, प्रियजन, आफन्त, विभिन्न पार्टीमा आबद्ध व्यक्तित्व, सामाजिक कार्यकर्ता र स्थानीय जनसमुदायको ठूलो सङ्ख्या सहभागी भए। हजारौं जनसमुदायले उहाँलाई इमानदार क्रान्तिकारी योद्धाका रूपमा स्मरण गरे; क्रान्ति पूरा गरिछाड्ने प्रतिबद्धताका मुट्ठी उठाए । भनिन्छ- मृत्यु समाप्ति मात्र होइन, सुरुआत पनि हो।

यो सुरुआतीको अर्थ प्रिय नेताको दुःखान्तक पीडालाई बदल्नु, सपनालाई क्रान्तिमोर्चामा फेर्नु र दलाल सत्ताको चिहानमाथि वैज्ञानिक समाजवादी झन्डा पहराउनु हो । जीवनले नै जीवनले उठाउने हो, क्रान्तिले नै क्रान्तिलाई उँचो पार्ने हो । विचारले नै क्रान्तिको रक्तसञ्चार गर्ने हो । क्रान्तिले नै विचार र नेतृत्वको रक्षा गर्ने हो । कमरेड वीरजङ्गको ओज र गरिमाको रक्षा क्रान्तिबाट मात्र हुन सक्तछ । ‘योद्धाहरूको मृत्यु पहाडभन्दा गहौँ र कायरहरूको मृत्यु प्वाँखभन्दा हलुका हुने’ माओकथन प्रिय कमरेड वीरजङ्गको
जीवनमा पनि लागू भएको छ ।

मानवीय जीवनमा मृत्यु अनिवार्य परिघटना हो, तापनि सामाजिकतामा यसको विविध चरित्र हुने गर्दछ । मान्छेअनुसार मृत्यु पनि फरक-फरक हुने गर्दछ । कमरेड वीरजंगले फरक मृत्यु रोज्नुभएको छ । त्यही फरक मृत्युले उहाँलाई फरक र सम्मानित राजनीतिज्ञको शिखरमा पुऱ्याएको छ । हामीमाझ कमरेड वीरजङ्गसँगरभन्दा गहिरो र सगरभन्दा उँचो सम्मान र सम्झनाका साथ बाँचिरहनुहुनेछ ।

अन्त्यमा प्रस्तुत छ- रामचन्द्र भट्टराईको शब्द, रामेशको सङ्गीत र जेबी टुहुरेका स्वर रहेको ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ’ गीत :
मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ,
देशभक्त छोरा मर्दा देशै रुँदो रै’छ
आँखाबाट आँसु हैन माया बग्दो रै’छ
शोकसँगै वेदनाको हुरी चल्दो रै’छ ।
आफ्नो प्रिय नेतालाई काँधमाथि बोकी
मानिसको लाम आफैँ घाट जाँदो रै’छ
बाँकी सारा सपनालाई पूरा गर्छौं भन्दै
मुट्ठी कसी मलामीले कसम खाँदो रै’छ ।
मृत्युसँग नडराउने वीर मान्छे हुन्छ,
सगरमाथा चढ्नेले नै चुचुरालाई छुन्छ
एकै वचन जिन्दगीको मूलमन्त्र हुन्छ
हराएको मानिसको याद आइरहन्छ ।
भदौ, २०७९

(स्मृतिमा वीरजङ्ग पृ१४३-१५४)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।