२००७ सालको सशस्त्र क्रान्तिका समयमा भैरहवामा निरजंग राणा बडाहाकिमका रूपमा कार्यरत थिए। उनको सहयोगका निम्ति उनकै नियन्त्रणमा रहने गरी दोस्रो विश्वयुद्धका अनुभवी कप्तान कुम्बसिंह गुरुङका अधीनमा राष्ट्रिय सेनाका
१५० जना अफिसर र जवानहरू भैरहवामा तैनाथ थिए ।
कप्तान कुम्बसिंह गुरुङका अधीनमा रहेको राष्ट्रिय सेनाको टोली बहाडाहाकिम निवासमा नै बस्थ्यो।
सशस्त्र क्रान्तिका क्रममा हुन सक्ने सम्भावित आक्रमणबाट जोगिन आफ्नातर्फबाट गर्नुपर्ने सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई आफ्ना सैनिकहरूको मनोबल उच्च राख्ने कार्यमा उनी निरन्तर लागेका थिए।उता २००३ सालदेखि नै भारतको नौतनवा पोस्ट अफिस नजीकै एउटा औषधी पसल खोली कुँवर इन्द्रजित सिंहले आफ्नो व्यवसाय गर्दै आएका थिए। त्यसभन्दा अघि उनी केही समयसम्म बर्मा पल्टनको स्वास्थ्यसेवामा कार्यरत रहेका थिए। यिनै कुँवर इन्द्रजित सिंह डा. के.आइ. सिंहका संक्षिप्त नामबाट नेपालको राजनैतिक रङ्गमञ्चमा परिचित छन्।
त्यसबेला भारतका गोरखपुर र नौतनवा, बुटवल, तौलिहवा, तानसेन तथा आसपासका पहाडी क्षेत्रहरूका मुख्य व्यापारिक केन्द्र थिए र यहीँ नै त्यस भेगका सम्पूर्ण मानिसहरूको भेटघाट पनि हुन्थ्यो । उता तौलिहवा बस्ने भोलानाथ शर्मा, पदमबहादुर क्षेत्री र सुब्बा कलमप्रसाद त्यतिखेर स्थानीय स्तरमा राजनैतिक रूपमा सक्रिय थिए र उनीहरूले नै २००४ सालमा (१) डा. के.आइ. सिंह, (२) लक्ष्मीनारायण अधिकारी, (३) लप्टन खड्गबहादुर गुरुङ, (४) जमदार डिकबहादुर गुरुङ, (५) परशुराम बस्नेत (दाङ) लाई नेपाल राष्ट्रिय काँग्रेस (बी.पी. गुट) मा प्रवेश गराएका थिए।
डा. के.आई सिंह पछि सन् १९५० अप्रिलमा नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको एकीकरण भई नेपाली काँग्रेस पार्टीको गठन भएपछि के.आइ. सिंह लगायत उपर्युक्त सबै जना नेपाली काँग्रेससँग आबद्ध हुन पुगेका थिए । यसै पृष्ठभूमिमा के.आइ. सिंह औषधी व्यवसायका साथै नौतनवा बजारमा नेपाली काँग्रेसको कार्यालय स्थापना गरी सङ्गठन कार्यमा लागिपरेका थिए। सन् १९५० सेप्टेम्बर २६ तारीखका दिन बैरगनियामा सम्पन्न भएको नेपाली काँग्रेसको महाधिवेशनमा उनी पनि बुटवल क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागी हुन पुगेका थिए ।
उनको शारीरिक व्यक्तित्व अत्यन्त आकर्षक थियो। पातलो शरीर, ओठमा जुँगाको मुठा, बडो रसिक स्वभावका, ठट्टा गर्न औधी मन पराउने के.आइ. सिंह त्यतिखेर महाधिवेशनमा भाग लिन आएका कार्यकर्ताहरूका निम्ति प्रमुख आकर्षण बन्न पुगेका थिए । आफ्नो आकर्षक व्यक्तित्व र विनोदी स्वभावका कारणले नै उनी चाँडै काँग्रेसका सबै क्षेत्रका कार्यकर्ताहरूसँग परिचित बन्न पुगेका थिए । बैरगनिया सम्मेलनबाट नै देशमा राणाशासन समाप्त पारी राजतन्त्रात्मक प्रजातान्त्रिक व्यवस्था स्थापना गर्नका निम्ति सशस्त्र क्रान्ति प्रारम्भ गर्ने निर्णय गरी त्यसको सर्वाधिकार पार्टीका सभापति मातृकाप्रसाद कोइरालालाई सुम्पिएको थियो ।
उक्त महाधिवेशनको निर्णयअनुसार नेपाली काँग्रेसका सम्पूर्ण कार्यकर्ताहरू अठोट, उत्साह र हिम्मतका साथ आ-आफ्ना क्षेत्रमा सक्रिय रहेका थिए ।
सन् १९५० नोभेम्बर ११ तारीख रातीदेखि नेपालमा राणाशासनका विरुद्ध एकैचोटि देशव्यापी क्रान्ति सुरु गर्ने नेपाली काँग्रेसको निर्णयअनुसार विराटनगर, वीरगन्ज र भैरहवासमेत देशका प्रमुख तीन ठाउँमा क्रान्ति प्रारम्भ भएको थियो। नोभेम्बर ११ का दिन के.आइ. सिंहका नेतृत्वमा जनमुक्ति सेनाका १२ जना योद्धाहरू भैरहवा आक्रमणका निम्ति खटिई नौतनवाको कप्तान टोलमा एकत्रित भएका थिए।
सो रात त्यहाँ जम्मा भएका क्रान्तिकारी योद्धाहरूमध्ये प्रमुख व्यक्तिहरू निम्नानुसार थिए-
.जमदार डिकबहादुर आले मगर
.डा. के.आइ. सिंह
.लप्टन खड्गबहादुर गुरुङ
.परशुराम बस्नेत
.लक्ष्मीनारायण अधिकारी
.काशीप्रसाद श्रीवास्तव
नोभेम्बर ११ तारीखका दिन एउटा १२ बोर टोटावाल बन्दूक, खुकुरी र केही पटकाहरू साथमा लिई यिनीहरू नौतनवाबाट भैरहवा कब्जा गर्न प्रस्थान गरे। यिनीहरूले प्रथमतः नौतनवाबाट करीब दुई कि.मी. पश्चिममा पर्ने कदमहवा भन्ने ठाउँमा पुगी राती २ बजे त्यहाँको भन्सार अड्डा कब्जा गरे। त्यहाँ उनीहरूले हरिहरप्रसाद शुक्लासँग क्रान्तिपछि फर्काउने गरी १२ बोरको दुई नाले बन्दुक सहायताका निम्ति मागी अघि बढेका थिए।
त्यसपछि कदमहवाबाट उत्तर-पश्चिममा पर्ने मजगौवामा पुगी यिनीहरूले विक्रम रायसँग भएको एक नाले १२ बोरको बन्दूक र त्यसका कारतोसहरू क्रान्ति समाप्त भएपछि फिर्ता गर्ने गरी लिए। यी दुवै बन्दूक लिंदा के आइ. सिंहले भरपाइ गरिदिएका थिए।
त्यसपछि के.आइ.सिंहको क्रान्तिकारी दल पिपरहवा हुँदै भैरहवाभन्दा • दक्षिणमा पर्ने भ्युडिहवास्थित आँपको बगैंचामा पुगी त्यहाँ थकालीको मिल एवम् लप्टन खड्गबहादुर गुरुङ र गुरुज्यूको मोटर ग्यारेजमा आफ्नो अड्डा बनाई बस्यो । त्यस बेलासम्म भोलिपल्ट बिहान ८ बजिसकेको थियो। त्यहाँ रहेको गुरुज्यूको मोटर ग्यारेजबाट बुटवलसम्म मोटर सर्विस चल्थ्यो । त्यहाँबाट बुटवलसम्म मोटर सर्विस चलाउन सरकारले गुरुङलाई ठेक्का दिएको थियो । भ्युडिहवा मोटर ग्यारेजबाट पैदल बुटवल पुग्न २ दिनसम्म लाग्दथ्यो र बाटामा बडो भीषण जङ्गल पार गर्नु पर्दथ्यो।
डा. के.आइ. सिंहको दल भैरहवा नपुग्दै १९५० नोभेम्बर ११ का दिन राती झन्डै २ बजेतिर गोपालशमशेरका नेतृत्वमा जनमुक्ति सेनाका १५-२० जवान व्यक्तिहरू सामेल भएको एउटा टोली भैरहवा आई बडाहाकिम निवासमा आक्रमण गरेको थियो । तर उनीहरूले आफ्ना कार्यमा सफलता प्राप्त गर्न भने सकेनन्। त्यसपछि उनीहरू पनि भ्युडिहवा बगैंचामा अड्डा कायम गरी बसेका के. आई. सिंहको टोलीसँग भेट गर्न पुगे।
गोपालशमशेरसँग आएको जनमुक्ति सेनाको १५-२० जवानहरूको टोलीमा लोकबहादुर राना, छविलाल थापा मगर, होवीर आले समेत थिए। गोपालशमशेर र उनको दल के.आइ. सिंहहरू बसेका ठाउँमा विहान करीब ८ बजेतिर पुगेको थियो। उनीहरूले राती बडाहाकिम निवासमा भएको आक्रमणका सम्बन्धमा के.आइ.सिंहको टोलीलाई विस्तारमा अवगत गराए। त्यसपछि दुवै दलले आपसमा छलफल गरी सम्मिलित रूपमा आफ्ना । नेतृत्वमा पुनः भैरहवा गोश्वारामा आक्रमण गर्ने प्रस्ताव गोपालशमशेरले अगाडि सारे। तर यस कुरामा के.आइ. सिंह सहमत भएनन्।
बरू उनले आफ्ना नेतृत्वमा गोपालशमशेर सहायक भई काम गरे बेश हुने राय प्रस्तुत गरेपछि नेतृत्वको विषयलाई लिएर निकै चर्को बहस भयो। गोपालशमशेरका नेतृत्वमा आक्रमण गर्ने प्रस्तावलाई के. आई. सिंहले समर्थन गरेनन्, के.आइ. सिंहका नेतृत्वमा आक्रमण गर्ने कुरा गोपालशमशेरका निम्ति स्वीकार्य भएन। अन्ततः गोपालशमशेर भैरहवा कब्जा गर्नका निम्ति अझ बढी सहयोगको खोजीमा सुवर्णशमशेर र जनमुक्ति सेनाका कमान्डरहरूसँग भेट गर्न भनी त्यहाँबाट ठोरीतर्फ प्रस्थान गरे।
गोपालशमशेरको जनमुक्ति सेनाको टोलीले आक्रमण गर्दा त्यतिखेर भैरहवा गोश्वारामा बडाहाकिम निरजङ्गसँग सरकारी रकम ३५ लाख भारतीय रुपियाँ थिए । उनको स्थानीय ठूला व्यापारीसँग राम्रो सम्पर्क थियो। तिनै व्यापारीहरूमध्येका निरजङ्ग राणासँग घनिष्ट सम्बन्ध भएका एक जना थकाली व्यापारी तेजेन्द्रबहादुर मल्लमार्फत गोपालशमशेरसँग एउटा गुप्त समझदारी मिलाइएको थियो। सो समझदारीअनुसार जनमुक्ति सेनाको दलले भैरहवा गोश्वारामा आक्रमण गरेपछि निरजंग राणाले आत्मसमर्पण गरेजस्तो पारी त्यहाँ सञ्चित रकममध्ये केही जनमुक्ति सेनाका कमान्डरलाई बुझाउने र बाँकी रकम गोपालशमशेर र निरजङ्गले आपसमा भागबन्डा गर्ने व्यवस्था मिलाइएको थियो।
तर भैरहवा गोश्वारा र त्यस क्षेत्रमा सुरक्षा गरी बसेका राष्ट्रिय सेनाका कप्तान कुम्बसिंह गुरुङले बडाहाकिम निरजङ्ग राणाको यस किसिमको सरकारी रकम कुम्ल्याउने कृत्सित षड्यन्त्रको तीव्र विरोध गर्दै त्यहाँ सञ्चित रहेको सम्पूर्ण रकम कलम आफ्ना नियन्त्रणमा लिई इमान्दारीपूर्वक आक्रमणको सामना गरे ।बडाहाकिम निरजङ्गले त गोपालशमशेरका अगाडि आत्मसमर्पण गर्ने गुप्त योजना बनाइसकेका थिए। तर कप्तान कुम्बसिंहले उक्त योजनालाई विफल बनाइदिए। कुम्बसिंहको सशस्त्र सैन्यशक्तिका अगाडि गोपालशमशेरको दलको केही लागेन।
उनीहरूसँग आवश्यक मात्रामा आधुनिक हतियार थिएनन्। त्यसकारण आफूभन्दा शक्तिशाली आधुनिक हतियारले सुसज्जित सेनाको सामना गर्न आफू पनि त्यत्तिकै सम हुनुपर्ने कुराको बोध गरी गोपालशमशेरको दल त्यहाँबाट के.आइ. सिंह भएका ठाउँमा आइपुगेको थियो । तर सिंहले गोपालशमशेरका नेतृत्वमा संगठित भई पुनः भैरहवाम आक्रमण गर्ने कुरामा सहमति जनाएन् । सिंहको नेतृत्वमा आक्रमण गर्ने कुरामा गोपालशमशेर सहमत भएनन् किनभने निरजङ्गसँग भएको ३५ लाख भारतीय रुपियाँको भाग खोसिने त्रास उनका मनमा थियो ।
गोपालशमशेर र उनको दललाई भित्र्याउने काममा लागेका तेजेन्द्रबहादुर मल्ल त्यस रात गोश्वारामा निरजङ्गसँगै थिए। बडाहाकिम र उनका मतियारहरूको सम्पूर्ण षड्यन्त्र थाहा पाइसकेपछि कप्तान कुम्बसिंह गुरुङले मल्ललाई बन्दी बनाई राखे।
कप्तान कुम्बसिंह गुरुङ राष्ट्रिय सेनाका कुशल तथा अनुभवी सैनिक थिए। उनी दोस्रो विश्वयुद्धका खप्पीस योद्धा थिए । उनलाई के. आई. सिंहको विगत सैनिक जीवनका बारेमा सम्पूर्ण जानकारी थियो । जनमुक्ति सेनाले पुनः भैरहवामा आक्रमण गर्न सक्ने सम्भावना विद्यमान रहेकै बेला के.आइ. सिंहसँग भएका सैनिक र उनीहरूको युद्ध अनुभव एवम् उनीहरूसँग भएका हातहतियार जस्ता कुराहरूको राम्रो जानकारी लिई उनी बडो निर्धक्क भई आफ्नो मोर्चा अझ सृदृढ पारी बसेका थिए ।
उता के.आइ. सिंहले भैरहवामा कार्यरत सैन्यशक्तिलाई बडो सामान्य हिसाबले हेरी आफ्नो दललाई अझ सुसंगठित बनाई पाइएजति भरुवा र १२ बोरका बन्दूकहरू जम्मा गरी २००७ साल कार्तिक २८ गते राती १-२ बजेतिर भैरहवा गोश्वारामा पुनः आक्रमण गरे। निकै बेरसम्म दुवै तर्फबाट गोली हानाहान भयो। के.आइ. सिंहको क्रान्तिकारी दलले राष्ट्रिय सेनाको गढ कब्जा गर्ने निकै प्रयास गर्यो। तर पनि स्वचालित आधुनिक हातहतियार, ब्रेनगन, स्टेनगन र मार्क थ्री ३०३ राइफलधारी तालीमप्राप्त राष्ट्रिय सेनाका जवानहरूका अगाडि टिक्न नसकी बिहानपख क्रान्तिकारी दल गोश्वारा इलाकाबाट पछि हट्यो ।
उनीहरूसँगै कुम्भसिंहको टोली पनि गोश्वाराबाट बाहिर निस्की के आइ सिंहको दलको पिछा गर्न थाल्यो । त्यहाँबाट भ्युडिहवाको बगैँचा, पिपरहवा हुँदै क्रान्तिकारी दल भारत नेपालको सिमानामा पर्ने तीनतिरबाट मुसलमानहरूको बस्ती भएको त्रिलोकपुर करभला भन्ने ठाउँमा पुगी आफ्नो गढ बनाई बस्यो।
त्यहाँ कप्तान कुम्बसिंह गुरुङको केही नचलेपछि उनी भैरहवा गोश्वारमा फिर्ता आए। त्रिलोकपुर करभलामा के.आइ. सिंहको दल बसेको ठाउँ तीनतिरबाट भारतले घेरिएको थियो र भारतीय गाउँहरू पनि नजिकै पर्थे । राष्ट्रिय सेनाले त्यस ठाउँमा आक्रमण गर्दा भारतीय भूमिमा पनि नोक्सानी हुन सक्ने सम्भावना थियो। त्यसकारण कप्तान गुरुङले त्यहाँ के. आई. सिंहको दलमाथि आक्रमण गर्न सकेनन्। क्रान्तिकारीहरूले राष्ट्रिय सेनामाथि एकोहोरो प्रहार गरेकाले उनीहरू त्यहाँ टिकिरहनसम्भव भएन।
यसरी के. आई. सिंहको दलका निमित करभला ज्यादै सुरक्षित ठाउँ बन्न पुगेको थियो। यहीँबाट के.आइ. सिंहको दलले तीन पटकसम्म आफ्नो सम्पूर्ण शक्ति लगाई भैरहवा गोश्वारामा आक्रमण गर्यो। तर राष्ट्रिय सेनाका कप्तान कुम्बसिंह गुरुङले के.आइ. सिंहको दललाई करभलामा सीमित भई बस्न बाध्य तुल्याए ।
के.आइ. सिंहले एकातिर भैरहवा गोश्वारा कब्जा गर्ने प्रयासलाई जारी राखे भने अर्कातिर उनी त्रिलोकप्रबाटै कपिलवस्तु र भैरहवा आसपासका गाउँमा बस्ने ठालूहरूको सहयोग प्राप्त गर्ने प्रयासमा पनि लागिरहे। यसै क्रममा के.आइ. सिंह र उनको दल बिस्तारै नेपाली काँग्रेसको मूलधार एवम् स्थानीय कांग्रेसी नेता र कार्यकर्ताहरूबाट टाढा हुँदै गयो। यसैबीच सन् १९५० जनवरी १६ मा नेपाली काँग्रेसका सर्वोच्च कमान्डर मातृकाप्रसाद कोइरालाले भारतको दिल्लीबाट नेपालमा सञ्चालन भइरहेको सशस्त्र क्रान्ति स्थगित भएको घोषणा गरे ।
तर के आइ.सिंह र उनको दलले उक्त घोषणालाई पालना नगरी आफ्नै ढङ्गले राणाविरोधी अभियानलाई जारी राख्यो । त्यस समयमा के.आइ. सिंहसँग जनमुक्ति सेनाका कमान्डरहरू र काँग्रेसका स्थानीय नेताहरू पनि थिएनन्। अब उनको दल क्रान्तिका नाउँमा स्थानीय जमिन्दारहरूको हत्या गर्ने र उनीहरूलाई आतङ्कित पार्ने जस्ता गतिविधिमा संलग्न हुन पुग्यो ।
२००७ साल फाल्गुण ७ गते मोहनशमशेरको प्रधानमन्त्रीत्वमा नेपाली काँग्रेस र राणाहरूको अन्तरिम सरकार गठन भई नेपाली काँग्रेसका वरिष्ठ नेता विश्वेश्वरप्रसाद कोइराला देशको गृहमन्त्री बने । तर उता के.आई. सिंहको अभियान जारी रहेको थियो। उनकै नेतृत्वमा २००७ साल फागुनको अन्तिम सातातिर मर्चवार गाउँका जमीन्दार तपेश्वरनाथ शुक्लाका जेठा छोरा भुवनेश्वरनाथ शुक्ला समेतका ४८ जनालाई क्रान्तिकारीहरूलाई सहयोग नगरेको अभियोग लगाई सामूहिक हत्या गरियो ।
यसै गरी लुम्बिनी छेउमै पर्ने पिपरियाका जमीन्दार मोहमद अलिका माइला छोरालाई पनि क्रान्तिकारी दललाई आवश्यक सहयोग नगरेको भन्ने अभियोग लगाई मारिएको थियो। यसरी नेपाली काँग्रेसले विधिवत् क्रान्तिको कार्यक्रमलाई स्थगित गरिसकेपछि पनि के.आइ. सिंहले क्रान्तिका नाउँमा आफूखुसी जमीन्दारहरूको हत्या गर्ने र समाजमा आतङ्क फैलाउने क्रमलाई जारी राखेकाले भैरहवा इलाकामा भइरहेका यस प्रकारका गतिविधिलाई रोक्न तत्कालीन गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले आवश्यक कदम चाल्नु स्वाभाविकै थियो।
तर उता के.आइ. सिंह र उनको दललाई नियन्त्रणमा लिने कार्य निकै चुनौतीपूर्ण भइसकेको थियो। यस स्थितिमा गृहमन्त्री कोइरालाले भारतीय सरकारको समेत सहयोग मागी नेपाली फौज र भारतीय फौजका संयुक्त प्रयासद्वारा के.आई. सिंहलाई निशस्त्र पार्ने आदेश दिए । तदनुसार भारतीय फौज र कप्तान कुम्बसिंह गुरुङका नेतृत्वमा गएको नेपाली फौज मिली के.आइ. सिंह र उनको दललाई करभलामा आत्मसपर्मण गरायो। त्यतिखेर के.आइ. सिंहले कुनै प्रकारको प्रतिवाद गरेनन्।
सिंहले आफ्नो दलसँग भएका सम्पूर्ण हातहतियार र गोली गट्ठाहरू बुझाइदिए । त्यति धेरै १२ बोरका कारतोस र अन्य हात हतियार एवम् गोली गट्ठा जम्मा भएको देखेपछि भारतीय फौजका कर्नेलले सिंहसँग “यी सारा हतियार कहाँबाट कसरी ल्याउनुभयो” भनी सोधेका थिए। यसको जवाफमा सिंहले “तपाईंहरू सुतेका बखत भारतबाट ल्याएका हौं। अबतपाईंहरू बिउँझनुभएको छ; लैजानुहोस्” भनी सहजै ठट्यौली पारामा उत्तर दिएका थिए।
करभलामा पक्राउ गरेपछि के.आइ. सिंह र उनीसँग लागेका १०० जवान योद्धाहरूलाई भैरहवामा बन्दी बनाइयो । सशस्त्र क्रान्ति समाप्त हुनासाथै कप्तान कुम्बसिंह गुरुङले आफ्ना जिम्मामा रहेको ३५ लाख भारतीय रुपियाँ पनि बडाहाकिमलाई बुझाइदिए । उक्त रकम बडाहाकिमका हातमा परेपछि फेरि पनि हिनामिना भयो भन्ने हल्ला त्यतिखेर निकै चलेको थियो।
२००७ सालको अन्त्यतिर बन्दी बनाइएका डा. के.आइ. सिंह २००८ साल असार सम्म जेलमै थिए। यस्तै स्थितिमा २००८ साल असार २६ गतेका दिन के.आइ. सिंह आफ्ना १०० जना सहयोगीहरूलाई साथमा लिई भैरहवा जेलबाट उम्किए। त्यसपछि नेपालमा पुनः पक्राउ परिन्छ भन्ने आशङ्का गरी सिंह र उनका सहयोगीहरू नेपालको उत्तरी सीमानाबाट तिब्बत हुँदै चीन पुग्ने योजना बनाई भैरहवाबाट परासीतर्फ लागे । त्यतिखेर परासीमा सिंहका दाइ अमिनीमा कार्यरत थिए। उनकै डेरामा एक रात बसी नेपालबाट तिब्बततर्फ जाने बाटाका बारेमा छलफल गरी अर्को दिन अर्थात् असार २९ गते परासीबाट हिँडे ।
उनीहरू त्यहाँबाट पाल्पा हुँदै ढोर पाटन पुग्दा भारतीय फौजका पूर्वहवलदार तेजबहादुर खड्का र गुल्मी धुरकोटका मुखिया खड्गप्रसाद जैसी सुवर्णशमशेरको चिठी लिई त्यहीँ पुगे। सुर्वणशमशेरले लेखेको उक्त चिठ्ठीमा उनीमाथि कुनै प्रकारको कारवाही नगर्ने आश्वासनका साथै उनलाई तुरुन्तै काठमाडौं आउन भनिएको थियो। सो पत्र प्राप्त भएपछि के.आइ. सिंह आफ्नो सम्पूर्ण दलबलसहित त्यहाँबाट फर्किई पाल्पा आइपुगे। त्यहाँबाट सुरक्षा दलले उनलाई पोखराको बाटो गरी काठमाडौँका निमित्त प्रस्थान गरायो।
के.आइ. सिंहका सहयोगीहरूमध्ये ६० जनालाई केही दिन भैरहवा जेलमा राखी पछि त्यहाँबाट गोरखपुर हुँदै काठमाडौंतर्फ पठाइयो भने बाँकीलाई भैरहवाबाटै मुक्त गरियो।
काठमाडौँमा आइपुगेपछि डा. के.आइ. सिंहलाई रक्षादलको विशेष सुरक्षामा सिंहदरबारमा राखिएको थियो भने भैरहवाबाट आएका उनको दलका अरू जवानहरूलाई काठमाडौँको सेन्ट्रल जेल र नख्खु जेलमा राखिएको थियो। काठमाडौं ल्याएको ६ महिनापछि उनको दलका सबै सदस्यहरू जेलबाट मुक्त भए। तर के.आइ. सिंह भने थुनामै रहे। क्रान्तिका समयमा बडाहाकिम निरजङ्ग राणासँग सरकारी रकमकलम ३५ लाख भारतीय रुपियाँ हिनामिना गर्ने गराउने काममा लागेका तेजेन्द्रबहादुर क्रान्ति समाप्त भएपछि पक्राउ परी काठमाडौँको सेन्ट्रल जेलमा थुनिएका थिए।
थुनामा रहेकै बखत उनको निधन भएको थियो।
मल्ल पनि क्रान्तिका बेला कप्तान कुम्बसिंहले साहसपूर्वक निस्वार्थ सेवा गरेवापत मोहनशमशेरले नै उनलाई मेजर पदमा पदोन्नति गरेका थिए। क्रान्तिको सम्पूर्ण अवधिभरि नै भैरहवामा कार्यरत मेजर कुम्बसिंह गुरुङ र पुलिसका हाकिम हर्कबहादुर गुरुङका कुशलतापूर्ण प्रतिरक्षाका कारणले गर्दा क्रान्तिकारीहरूले भैरहवालाई आफ्ना कब्जामा लिन सकेनन्। यिनीहरूकै सक्रियतामा झन्डै ९० जना काँग्रेसी कार्यकर्ता र जनमुक्ति सेनाका जवानहरू भैरहवा जेलमा थुनिएका थिए। २००७ साल मसीरको अन्त्यतिर उनीहरू भैरहवाको जेल तोडी त्यहाँबाट भागेका थिए ।
गोपालशमशेरको दलले २००७ साल कार्तिक २६ गते भैरहवा गोश्वारामा आक्रमण गरेपछि राष्ट्रिय सेनासँग भीडन्त हुँदा तितरबितर भएका जनमुक्ति सेनाका छविलाल थापा मगर समेतका ६ जवान २७ गतेका दिन सुनौलीतर्फ गइरहेका बखत पक्राउ परेका थिए। उनीहरूलाई मेजर कुम्बसिंहको गार्डमा केही दिन राखी सोधपूछ गरी जेल पठाइएको थियो । यसरी बन्दी बनाइएका छविलाल थापा मगरसहितका जवानहरू जेलबाट भागी खर्चपर्च बिना जसोतसो गोरखपुरस्थित लोकबहादुर रानाका घरमा पुगे।
उनीहरू त्यहाँ एक-दुई दिन बसी आवश्यक बाटाखर्च लिएर के.आइ. सिंहलाई भेट्न भनी करभला आएका थिए। तर त्यहाँ के.आइ. सिंहले “तपाईहरू मसँग बसी क्रान्तिमा सरिक हुने इच्छा भए यहाँ बस्नोस्, नभए लोकबहादुर रानालाई भेट्न जान सक्नुहुन्छ” भनेपछि छविलाल सहितका व्यक्तिहरू त्यहाँबाट पुनः गोरखपुरतर्फ लागे। गोरखपुरमा पुगी लोकबहादुर राना नेपालगन्जमा कार्यरत छन् भन्ने कुरा उनकी श्रीमतीबाट थाहा पाएपछि उनीहरूको टोली त्यहाँबाट नेपालगन्जतर्फ प्रस्थान गरेको थियो।
(श्याम कुमार तामाङ / जनमुक्ति सेना एउटा नलेखिएको इतिहास पृ२०३- २०९,२०६३)