१३ बैशाख २०८१, बिहीबार

कोरोना पुनः बढ्दै, थप २४ जनामा संक्रमण भएको पुष्टि

0

काठमाडौँ — सीमा जोडिएका उत्तरप्रदेशलगायत भारतीय राज्यहरूमा कोरोना संक्रमण अप्रत्याशित वृद्घि भइरहँदा त्यसको असर नेपालमा पनि देखिन थालेको छ । मंगलबार एकैदिन २४ जनामा संक्रमण पुष्टि भएको छ । 

‘भारतमा जस्तै नेपालमा पनि संक्रमित संख्या एक्कासि बढ्न थालेको छ,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास भन्छन्, ‘५–६ दिनयता सीमा नाकाहरू त्रिनगर, गड्डाचौकी, कृष्णनगर, झुलाघाट, बेलहियाबाट नेपाल भित्रिनेमा संक्रमण देखिएको छ ।’

स्वास्थ्य अधिकारीका अनुसार भारतमा देखिएको ‘एक्सबीबी.१.१६’ भेरिएन्ट पहिलेको ओमिक्रोनका भेरिएन्टहरूको दाँजोमा बढी संक्रामक छ । उत्तरप्रदेशमा ‘एक्सबीबी.१.१६’ भेरिएन्ट देखिरहेको जनाउँदै डा. दासले भने, ‘हामीले सतर्कता बढाएका छौं, जिन सिक्वेन्सिङका लागि समेत नमुना संकलन बढाएका छौं ।’

भारतमा जनवरीमा ‘एक्सबीबी.१.१६’ को २ वटा मात्र केस पुष्टि भएकामा फेब्रुअरीमा १ सय ४० र मार्चमा २ सय ४ नाघिसकेको छ । नेपालमा हालसम्म ‘एक्सबीबी.१.१६’ को संक्रमण पुष्टि भएको छैन । मुख्य रूपमा ओमिक्रोनको सब भेरिएन्ट एक्सबीबी, एक्सबीबी.३, बीए २.७५ को संक्रमण देखिएको छ । त्यस्तै ओमिक्रोनकै बीए ५.२, बीएम.१.१.३ को समेत पुष्टि भएको छ 

डब्लूएचओद्वारा गत सोमबार जारी विश्वव्यापी साप्ताहिक कोरोना रिपोर्टअनुसार पछिल्लो २८ दिनमा ४० लाखभन्दा बढी नयाँ कोरोना केस पुष्टि भएको छ भने ३५ हजारभन्दा बढीको मृत्युसमेत रेकर्ड गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।