९ मंसिर २०८१, आईतवार

समाजवादी मोर्चा : वास्तविकता र भ्रम

0

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले २०७९ भदौ ५ गते एक राष्ट्रिय दैनिकलाई प्रतिक्रिया दिँदै ‘प्रचण्डको एकताको कुरा संसदीय व्यवस्थाको लागि हो भने हामीले भनेको ध्रुवीकरण समाजवादी क्रान्ति पूरा गर्नका लागि हो’ भनेका थिए । यस भनाइबाट नेकपा (माके) र नेपाल कम्युनिस्ट पार्टीका प्राथमिकताहरू बुझ्न सकिन्छ । समाजवादी मोर्चा बनाउनु पर्ने कारणका आन्तरिक (नेपाली) र बाहिरी (विश्व) कारणहरू रहेको देखिन्छ ।
विश्व राजनीतिको बाछिटा हाम्रो घरभित्रैसम्म आइपुगेको छ । हङ्गेरीका कट्टरपन्थी नेता भिक्टर अर्वानले आप्रवासी रोक्न सीमानामा पर्खाल लगाउनु पर्ने बताएका छन् । मेक्सिको र अमेरिकाको बिचमा पर्खाल लगाउने कार्य भइरहेको छ । मूलधार भनिएका शक्तिहरूले विभेद र प्रभुत्व लाद्ने गर्दा पैदा हुनजाने निराशाले विश्वमा कट्टरवाद र अत्मकेन्द्रित मनोवृत्ति बढ्दै गएको छ । उता रुस–युक्रेन युद्धको कारण अमेरिकाको नियन्त्रणबाट मुक्त हुने युरोपीयन संघको सपना ध्वस्त भएको छ । अमेरिका त्यही चाहन्थ्यो । युक्रेनलाई प्रयोग गरेर युरोपमा अमेरिकी प्रभुत्व विस्तार भएको छ ।
अमेरिकाले लागू औषदको नियन्त्रण गर्ने नाममा सेना पेरु प्रवेश गरायो । उसको निशाना साइनिङपाथ थियो । फिलिपिन्समा त्यस्तै बहाना गरेको थियो । नेपालमा धर्म प्रचारको नाममा ब्रिटेन आएको थियो । नेपालमा एमसीसी परियोजनाको आडमा अथवा विकासे संस्थाको आडमा अमेरिका आएको छ । प्रत्यक्ष रुपले प्रवेश गर्न नसक्ने अवस्थामा अघोषित कुनै सहज आडमा साम्राज्यवाद आउँछ । लुकेको आशय (Hidden Fact)लाई उदाङ्गो भएको छ ।
विश्वमा अमेरिकी प्रभुत्व घट्दै गएको छ । सन् २००१मा विश्वको सञ्चित रकमको ७३ प्रतिशत अमेरिकी डलरमा थियो । दुई दशकमा अर्थात् २०२२मा त्यो परिमाण ४६ प्रतिशतमा झरेको छ । डलर–विस्थापन (De-doller) प्रक्रिया तीव्र भएको छ । सन् २०२३ पुग्दानपुग्दै जी–७ देशहरूको भन्दा ब्रिक्सको कूल ग्राहस्थ उत्पादन (GDP) बढी भएको छ । त्यसकारण अमेरिकी छटपटी बढेर गएको छ र नेपालसहित विश्व तनावमा धकेलिएको छ ।
सरकारमा रहेको शक्ति र संसदीय व्यवस्था नमान्ने शक्तिबिच किन र कसका विरुद्ध लक्षित भएर मोर्चा बन्यो भन्ने बहस चलिरहेकै छ । परिस्थिति र शक्ति सन्तुलनले यसको भविष्य निर्धारण गर्नेछ । विश्वमा त्यस्ता अनेक उदारहण छन् । सन् १९१७ वरपर लेनिन र अलेक्जेण्डर केरेन्स्की (Alexander
Kerensky) बिचमा मोर्चा बनेको थियो । अक्टोबर क्रान्ति भएपछि पुँजीवादी व्यवस्था सुदृढ गर्ने कि समाजवादतिर जाने ? भन्ने बहस भयो । त्यो बहस टुङ्गोमा नपुगेपछि संयुक्त मोर्चा विघटन भएको थियो । चीनमा कम्युनिस्ट पार्टी र क्वोमिन्ताङबिचको संयुक्त मोर्चा गठन र विघटन विश्व समक्ष छ । देश–देशबिचका संयुक्त मोर्चा पनि हामीबिच छन् । संयुक्त मोर्चामा बसेर जार शासन विरुद्ध लडेका अलेक्जेण्डर केरेन्स्की (१८८१–१९७०, रुसी) अक्टोबर क्रान्तिपछि देशै छोडेर भागे । जर्मनी र इटाली गठबन्धनले फ्रान्समाथि आक्रमण गरेपछि ‘ग्रेट थ्री’ भनिने स्तालिन–रुजवेल्ट–चर्चिल (रुस–अमेरिका– बेलायत) बिचमा संयुक्त मोर्चा बन्यो । तर दोस्रो विश्वयुद्धको समाप्तिपछि उक्त मोर्चा विघटन भयो । आज नाटो कायम छ तर चर्को मतभेद छ । वार्सा विघटन भएको छ तर नयाँ खाले मोर्चाबन्दी भइरहेको छ ।
२०४६ सालमा पञ्चायती व्यवस्था विरुद्ध नेपाली काङ्ग्रेस र वाममोर्चाबिच मोर्चा बनेको थियो । २०४७पछि त्यो विघटन भयो । त्यसबेला मशाल, मसाल, नेकपा (मालेमा) र श्रमिक सङ्गठन बिचमा मोर्चा बनेको थियो । २०४६पछि उद्देश्य पूरा नहुँदै विघटन भयो ।

२०५८ सालमा नेकपा (माओवादी) बिचमा गणतन्त्रमा जानको लागि ‘सिलगढी बैठक’ भएको थियो । तर एमाले पार्टी गणतन्त्रमा जान तयार नभएकोले मोर्चा बन्न सकेन । तर २०६२÷०६३पछि माओवादी र संसदीय पार्टीहरूबिच मोर्चा बन्यो र गणतन्त्र आयो । गणतन्त्र आएपछि मोर्चा कायम रहन सकेन । माथि भनिसकिएको छ कि फ्रेब्रुअरी क्रान्तिको लागि लेनिन र अलेक्जेण्डर केरेन्स्कीबिचमा मोर्चा बनेको थियो । अन्तरिम सरकारमा रक्षा मन्त्री र नौसेनासहित सेनापति बनेका थिए । तर क्रान्तिपछि अक्टोबर क्रान्ति विरोधी भए । त्यसपछि १९१८मा विदेश पलायन भए । सोभियत समाजवादी गणतन्त्र महासंघ (Union of Soviet Socialist Republic) को गठन १९२२मा भयो । जसको समय १९२०–१९९१ रहेको थियो ।
नेपालमा रहेको राजनीतिक समस्या जनता र कम्युनिस्टको समस्या होइन । यो दलाल पुँजीवादी व्यवस्था र नेताहरूको असफलता हो । त्यसैले वामपन्थी र माओवादीबिच एकता वा मोर्चाको प्रयास भएको हो । समाजवादी मोर्चाका रणनीतिक र कार्यनीतिक विशेषताहरू छन् । यद्यपि देशका तत्कालका समस्यामा केन्द्रित भएर यो मोर्चा बनाइएको हो । एमाले माओवादी पार्टीहरू प्रतिबन्ध लगाउने स्थानबाट पछि हटेर मोर्चा बनाउने स्थानमा पुगे ।
सन् १९०५–०७मा पार्टीको स्वतन्त्र कार्यक्रमसहित लेनिन पुँजीवादी पार्टीहरूसँग सहकार्य (मोर्चा) गर्नुमा जार शासन हटाउने उद्देश्यमत्र थिएन । देशको नेतृत्व खोस्ने, सर्वहारा पार्टी र त्यसको नेतृत्व स्थापित गर्ने मनोकाङ्क्षा पनि लेनिनमा थियो । रुसको इतिहासमा १९०५–१९१७लाई ‘सुनौलो युग’ भनिन्छ । चीनमा १९२१पछि कम्युनिस्ट र पुँजीवादी पार्टी निरन्तर सहकार्यमा थिए । नेपालमा पनि त्यो नयाँ विषय होइन ।
समाजवादी मोर्चा बनाउँदा नै नेकपाबाहेकका दलहरूले विश्वशक्तिसँग छलफल गरेका हुन सक्छन् । ती अदृश्य शक्ति केन्द्रहरूले प्रचण्डसँग विप्लवको एकता भइहाल्छ, सकेसम्म अरुसँग पनि होला भन्ने अपेक्षा गरेका हुनसक्छन् । त्यसो भयो भने रगत नबगाइकन क्रान्तिकारी धारलाई समाप्त गर्न सकिन्छ भन्ने सोचेका हुनसक्छन् । तर त्यो सम्भावना नदेखेपछि उनीहरू नै हच्केका छन् । त्यसकारण कसको विचार नेतृत्वले देशको नेतृत्व गर्ने भन्ने प्रश्न मूल प्रश्न हो । प्रचण्डको विचार र नेतृत्व कि विप्लव र एकीकृत जनक्रान्तिको विचार र नेतृत्व भन्ने प्रश्न हो । प्रचण्डले एकताको नाममा क्रान्तिकारी धारलाई अलोचना र सुझाव राख्ने स्तरमा राख्ने तर नेतृत्व र कार्यान्वयन आफ्नो रहने गरी पार्टी एकता गर्न चाहन्छन् । त्यही रणनीति अनुसार प्रचण्डले ‘एकीकृत जनक्रान्ति हाम्रो पनि हो; एकीकृत जनक्रान्तिका सहिदहरू हाम्रा पनि सहिद हुन्’ भन्न पुगेका हुन् । नेताको धारणामा अदृश्य मनोकांक्षाका गन्धहरू आउँछन् । बाजले हजारौं माइल टाढाको दृश्य देख्दैन तर उसले शिकारको गन्ध थाहा पाउँछ ।
नेकपालाई वार्ता मार्फत्, समाजवादी मोर्चा मार्फत् आत्मसमर्पण गराउने प्रयास असफल भएपछि अमेरिकी दबाव अदालतको ढोकाबाट प्रवेश गरेको नेकपाका नेताहरूको आरोप छ । उनीहरूको दावि छ– धार्मिक मुद्दामा टेकेर पक्राउ पूर्जी जारै गर्नुले साम्राज्यवाद नै आएको स्पष्ट हुन्छ । शहरमा बसेर अझ सरकारमा बसेकै दलहरूसँग मोर्चा बनाएर आफ्नो विरुद्ध लड्न नदिने रणनीति अमेरिकी साम्राज्यवादको देखिन्छ । भूमण्डलीकरण भनेको साम्राज्यवाद सबै क्षेत्र र स्थानबाट आउँछ भनेको हो । त्यसकारण सबै–सबै क्षेत्रहरू र विश्वभरीबाट लड्नुपर्छ भन्ने बुझ्नुपर्छ । नेकपाका नेताहरुको बुझाईमा पछिल्लो समय प्रचण्ड नै समाजवादी मोर्चामा निस्क्रिय देखिनुका ५ वटा कारणहरू देखिन्छन् :
* नेकपाको देशभक्त शक्तिसँगको सहकार्य
* नेकपा नै हावि भएको ठम्याई
* नेकपामा प्रवेश र काम–कारवाही
* सामूहिक बसाई, कम्युन र उत्पादन
*थवाङको सभा (मङ्सिर ८)मा व्यक्त विप्लवको विचार
संयुक्त मोर्चाको छलफल गर्दा सच्चा लोकतन्त्रवादी धार र दलाल पुँजीवादी धारलाई सोलोडोलो एउटै बनाएर बुझ्नु पनि हुँदैन । सच्चा लोकतन्त्रवादी धार सामन्तवाद तथा पश्चगमन विरुद्ध लडेर आएको धार हो । यसले वामपन्थीसँग मिलेर पञ्चायती व्यवस्था र माओवादीसँग मिलेर गणतन्त्र ल्याउन लड्यो । विदेशी शक्तिको आडमा दलाल पुँजीपति वर्ग सत्तारुढ भएको छ । त्यसकारण दलाल पुँजीवादको विरुद्ध सच्चा लोकतन्त्रवादी र कम्युनिस्टबिच आत्मनिर्भर अर्थतन्त्र निर्माणार्थ सहकार्य हुन सक्दछ ।
संयुक्त मोर्चा र राष्ट्रवादी शक्तिको विषयमा पनि हामी स्पष्ट हुनु आवश्यक छ । राजतन्त्र वा परम्परागत राजतन्त्रमा फर्किने गरी राजावादी शक्तिहरूसँग कुनै पनि प्रकारको सहकार्य सम्भव छैन । तर साम्राज्यवादसँग लड्ने शर्तमा राजनीतिक भूमिका दिन–मान्न सकिन्छ । अर्कोतिर नेपालमा राष्ट्रवाद भनेको साम्राज्यवादी हस्तक्षेपको विरोध हो । राजा पृथ्वीनारायण शाहले जीवनभरी ब्रिटिस साम्राज्यवादको विरुद्ध लडेका थिए । आजका राष्ट्रवादीहरूले अमेरिकी तथा भारतीय साम्राज्यवादको विरुद्ध लड्न सक्नु पर्दछ । एमसीसी परियोजनाको विरोधमा नलड्नेहरू देशभक्त शक्ति हुन सक्दैनन् ।
संयुक्त मोर्चा पहिचानको राजनीति गरिरहेका मधेसी र जनजाति समुदायको प्रश्न पनि हो । पहिचान भन्ने तर कम्युनिस्ट र समाजवादी धारसँग सहकार्य नचाहने धार अग्रगामी निकास दिन सक्ने धार होइन । यो प्रगति र स्वतन्त्रता विरोधी पश्चगामी धार हो । यो श्रमिक वर्ग, देशभक्त र कम्युनिस्ट विरोधी प्रतिक्रियावादी धार हो । यसको पिठ साम्राज्यवादले थपथपाइरहेको हुन्छ ।
नेपालमा साम्राज्यवादको चुनौती असामान्य रुपले बढेको छ । त्यसकारण जनविरोधी, दलाल पुँजीवाद र साम्राज्यवादको विरुद्ध फराकिलो मोर्चा बनाउन आवश्यक छ । त्यसको लागि ५ वटा वा ५ प्रकारका मोर्चा आवश्यक छ । एउटा मात्र मोर्चाबाट लडेर साम्राज्यवादसँग लड्न सकिन्न । एउटा मोर्चा अर्को मोर्चाको बाधक हुँदैन । ती परिपूरक हुन्छन् । ती मोर्चाहरू निम्नप्रकारका हुन सक्छन् :
१) स्वतन्त्र पहल (एकल मोर्चा)
२) रणनीतिक संयुक्त मोर्चा
३) समाजवादी तथा वामपन्थी मोर्चा
४) कम्युनिस्ट र देशभक्त शक्तिबिचको मोर्चा
५) सच्चा लोकतन्त्रवादी र कम्युनिस्टबिचको मोर्चा
देश राष्ट्रिय मुक्ति आन्दोलनको दिशामा गयो भने सबै शक्तिहरूबिच नयाँ ध्रुविकरण हुन्छ । कट्टर दलालहरू सहकार्यबाट भाग्छन् । त्यसपछि यी पँचवटै शक्तिहरूबिच एउटै संयुक्त मोर्चा बन्ने वस्तुगत अवस्था तयार बन्दछ । यो बिचमा मोर्चाहरू बन्ने र भत्किने घटना भइरहन्छन् ।
मोर्चाको सचिवालय स्तरको पछिल्लो बैठक प्रम निवास बालुवाटारमा पुस ११ गते सम्पन्न भएको छ । बैठकले प्रतिगमन र विदेशी हस्तक्षेप तीव्र भएको निष्कर्ष निकाल्दै माघ दोस्रो हप्ता प्रतिरोधको लागि जनसभा गर्ने र त्यस अघि माघ पहिलो हप्ता अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । अन्तरक्रियाले वैचारिक र राजनीतिक रुपले एकरुपता ल्याउने, जनमत निर्माण गर्ने मोर्चा सम्बद्ध नेताहरूको अपेक्षा छ ।
मोर्चाको नेतृत्व परिवर्तन हुनसक्ने अपेक्षाबिच माधवकुमार नेपालले नै निरन्तरता पाएका छन् । चक्रिय प्रणाली अनुसार प्रचण्डको पालो थियो । तर उनी प्रमसमेत रहेका कारण व्यवहारिक भएन । प्रचण्डले आफ्नो दलका अन्य नेताहरूलाई नेतृत्वमा ल्याउन चाहेका छैनन् । यस्तो अवस्थामा विप्लवलाई नेतृत्वमा ल्याउँदा मोर्चाले जुझारु स्वरुप ग्रहण गर्नसक्ने प्रचण्ड–भयको कारण विप्लवको हातमा नेतृत्व जान प्रचण्ड नै बाधक भए । जसको कारण माधवकुमार नेपालले निरन्तरता पाए ।
इजराइल–प्यालेस्टिन युद्धमा प्यालेस्टिनको पक्षमा विज्ञप्ति जारी गर्ने सहमतिलाई प्रचण्डले नै रोकेको धेरैको बुझाई छ । भूकम्पको राहत र उद्गारमा साझा कार्यक्रम त बनेन नै, विज्ञप्ति पनि चार दिनपछि मात्र आयो । विप्लवमाथि जारी पक्राउ पूर्जीको विरुद्ध धेरै दिनपछि दबावमा परेरमात्र विज्ञप्ति जारी गरियो । यी घटनाबाट नेकपाभित्र प्रचण्ड नै मोर्चाको भविष्यप्रति रुचीहीन भएको टिप्पणी भइरहेको बेला पुस ११ गतेको बैठकले मोर्चालाई सक्रिय बनाउने निर्णय गरेको छ ।

स्राेत: जनपत्रिका आठाैँ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।