७ पुष २०८१, आईतवार

राजनीतिक सङ्घर्षको एउटा मोर्चा चुनाव पनि हो

सम्पादकीय

0

चुनाव राजनीति सङ्घर्षको एउटा बलियो र शक्तिशाली मोर्चा हो । कतिपयले चुनावलाई संसदीय कोणबाट व्याख्या विश्लेषण गरे पनि चुनाव एउटा सङ्घर्षको मोर्चा रहँदै आएको छ । क्रान्तिकारी, प्रगतिशील तथा पुँजीवादी जुनसुकै पार्टीमा पनि चुनावी गतिविधि र अभ्यस्तताले पार्टीलाई आन्तरिक रुपले सुदृढ गर्दै अगाडि लैजाने र जनपरिचालन सशक्त बन्ने विश्वास लिइन्छ !
यस्तै कम्युनिस्ट क्रान्तिकारीहरूका लागि, जहाँ समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरेर अगाडि बढ्नुपर्ने अवस्था छ, त्यहाँ चुनाव तथा विद्रोह जस्ता मुद्दाहरू समयसँगै अदलबदल भइरहन्छन्। तसर्थ पछिल्लो समय नेकपाले विभिन्न खुल्ला तथा आन्तरिक बहस तथा छलफलमा यस्तो ढंगले विषयलाई अगाडि सारेको छ । नेकपाको बैशाखमा सम्पन्न बैठकमा महासचिव विप्लवले राजनीतिक प्रस्ताव र ६
महिने आगामी योजनासहितको प्रस्ताव पेश गर्दै यो बहसलाई समाजमा उठाउनुपर्ने बताएका छन्। “चुनाव पनि एउटा राजनीतिक सङ्घर्षको मोर्चा हो । यसलाई नयाँ मोर्चाको रुपमा लिनुपर्छ” विप्लवले भनेका छन् । २०८४ को चुनावलाई ‘मिसन समाजवाद’का रुपमा बुझ्नुपर्नेमा उनको जोड छ । विप्लवले देशी–विदेशी चलखेल र पछिल्लो घटनाक्रम अनुसार २०८४ लाई समाजवादको लडाईको मोर्चाका रुपमा बुझ्नुपर्ने र सोही अनुसारको रणनीति बनाएर घेरा फराकिलो बनाएर जानुपर्ने बताएका छन्। विप्लवले चुनावलाई समाजवादका लागि प्रयोग गर्नुपर्ने बताउँदै पार्टीले सङ्घर्ष गर्दा सचेततापूर्वक गर्नुपर्ने बताए । विप्लवले संविधान संशोधन गरेर नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्नेमा समेत बहस चलाउँदै अगाडि बढ्ने संकेत देखाएका छन्। “समाजवादका लागि जनमत सङ्ग्रह गरौं भनेर छलफल र अभियान चलाउँछौं” विप्लवले भनेका छन्। विप्लवले सडक आन्दोलन निरन्तर रहिरहनेसमेत सङ्केत गरेका छन्। विप्लवले माओवादी धारलाई रुपान्तरण गर्दै एकतामा ल्याउनुपर्ने कुरामा जोड दिँदै माओवादी धार तितर–वितर हुँदै सकिने खतरा बढेकोले उनीहरूको रुपान्तरण गर्ने जिम्मा नेकपाको भएको जिकिर गर्दै माओवादी र सबै कम्युनिस्ट शक्तिहरूबिचको एकताको प्रयत्नसहितको नेतृत्व गर्ने संकेत देखाएका छन् । विप्लवले अगाडि सारेको राजनीतिक प्रस्ताव पार्टीको केन्द्रीय समितिले समेत एकमतले पारित गरेको छ । केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकमा प्रस्ताव पारित गरिएको हो । २० पृष्ठ लामो उक्त प्रस्तावमा गत ६ महिने योजनाको समीक्षा, कम्युनिस्ट शक्तिहरूको एकता, समाजवादी मोर्चा, आगामी निर्वाचन र अहिलेको राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिबारे मूल्याङ्कनलगायत विषयमा व्याख्या
गरिएको छ । बैठकमा स्थायी समिति, पोलिटब्युरो, सल्लाहकार समिति, केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधिसहित फरक–फरक ढङ्गले झण्डै २ सय ४८ जनाले बैठकमा आफ्नो धारणा राख्दै चुनावलाई सङ्घर्षको मोर्चाको रुपमा प्रयोग गर्न सकिने बताएका थिए ।
नेकपाको यस लाइनलाई खुल्ला र प्रगतिशील बुद्धिजीवीहरूले सकारात्मक कदमको रुपमा टिप्पणी गरेका छन् भने बदलिँदो विश्वमा उपयुक्त रणनीतिको रुपमा लिएका छन् । नयाँ शक्तिहरू र गुट उपगुटहरूको अस्वभाविक सक्रियताले गणतान्त्रिक व्यवस्थाका लागि लडेका मुख्य शक्तिहरूमा शक्ति क्षयिकरण हुँदै जाने र मूल विषय कमजोर बन्दै जाँदा विदेशी शक्तिको उपस्थिति डरलाग्दो तरिकाले आउने निष्कर्षसहित बृहत् कम्युनिस्ट तथा प्रगतिशील ध्रुवीकरणलाई जोड दिने रणनीतिसमेत नेकपाले अख्तियार गरेको देखिन्छ ।

जनपत्रिका मासिक १२ औँ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।