
नेपाली समाजको एउटा अभूतपूर्व राजनीतिक इतिहास बोकेको र क्रान्तिकारी एवम् विद्रोही ऐतिहासिकता बोकेको माओवादी नेतृत्वको जनयुद्ध विभिन्न खाले उतारचढाव तथा राजनीतिक घुम्ती पार्दै ३० वर्षमा प्रवेश गरेको छ ।
तत्कालीन नेकपा (माओवादी)ले करिब ३० वर्ष अगाडि २०५२ साल फागुन १ गते जनयुद्धको उद्घोष गरेको थियोे ।
२०५२ देखि २०६२ सम्मको १० वर्षको सशस्त्र लडाइँ २०६२/०६३ सम्म आइपुग्दा नयाँ मोडमा प्रवेश गरेको थियोे । परिस्थिति बदलिँदो भएपछि मुलुक र माओवादी आन्दोलन शान्तिपूर्ण राजनीतिक मैदानमा प्रवेश ग¥यो ।
माओवादीको शान्तिपूर्ण राजनीतिक अवतरणसँगै विभिन्न खाले उतारचढाव, टुटफुट, अनेकौं प्रतिकूलताहरुको बिच माओवादी आन्दोलन एवम् जनयुद्ध ३० वर्षमा एउटा गम्भीर मोडमा पुगेको छ । जनयुद्धको जगमा स्थापित लोकतान्त्रिक आन्दोलन र वृहत् लोकतान्त्रिक आन्दोलनको धरातलमा निर्माण भएको सविधानसभा, गणतन्त्र, समावेशीता, शासकीय स्वरुप जस्ता माओवादीले अगाडि सारेका तत्कालीन मुद्दामा मुलुक रहेको छ । हिजो दरबार पुगेर बिन्तिपत्र चढाएर प्रधानमन्त्री बन्ने अभ्यासमा अभ्यस्त दलहरूसमेत लोकतान्त्रिक प्रक्रिया मार्फत सत्ता सञ्चालनको अभ्यासमा आइपुगेका छन् । यो दृष्टिकोणबाट माओवादी आन्दोलनको जगमा अहिलेको राजनीतिक उपलब्धिको टेको अडेको छ भन्दा अन्यथा हुँदैन ।
तर पछिल्लो परिस्थितिले माओवादी आन्दोलन गम्भीर रक्षात्मक अवस्थामा पुगेको छ । माओवादी आन्दोलन मात्रै होइन, पुराना दल र दलहरूको कार्यशैलीबाट आजित जनता नयाँ विकल्पको खोजीमा जबर्जस्त देखिएका छन् ।
माओवादी जनयुद्धले उठाएका मुद्दाहरु राजनीतिक रुपमा स्थापित भए पनि जनताले आफ्नो जीवनस्तरमा भने धेरै फरक अनुभुत् गर्न पाएनन् ।
यस अर्थमा राजनीतिक उपलब्धिको परिस्थिति उल्टो जस्तो बन्यो । किनकि माओवादी मुद्दाहरुको कार्यान्वयनको नेतृत्व राजतन्त्रसँग सहकार्य गरेका दलहरूले समेत गरे, त्यसले मुद्दाहरुको गाम्भीर्यता र स्पष्टतामा समस्या आएपछि समग्र आन्दोलन तथा मुद्दा बदनाम हुने र पुरानै ढर्राका राजा महाराजा ठीक थिए भन्नेमा देश पु¥याउने प्रयास गरियो ।
पछिल्लो समय माओवादी जनयुद्ध गलत थियोे । यो एउटा आपराधिक विषय हो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ ।
के माओवादी जनयुद्ध गलत थियोे त ? माओवादी जनयुद्धले व्यक्तिहत्या मात्रै गरेको हो त ? यसलाई विभिन्न कोणबाट व्याख्या गर्न सकिन्छ् । संख्याका हिसाबले युद्धमा माओवादीका पक्षबाट भन्दा राज्य पक्षबाट धेरै मारिएका छन् । व्यक्ति हत्यालाई कुनै कोणबाट सही मान्न नसकिएला । यद्यपि जनयुद्धमा राज्यपक्षबाट गरिएको हस्तक्षेप र दमनबाट धेरै निशस्त्र जनता मारिएका कारण यसको नैतिक दायित्व तत्कालीन राज्यसँग रहनुपर्छ ।
तसर्थ जनयुद्ध दिवसको सन्दर्भमा विगतको गौरवपूर्ण इतिहास कायम गरेर जनताप्रतिको ऐतिहासिक जिम्मेवारी पूरा गर्नु हाम्रो विशिष्ट जिम्मेवारी हुनेछ ।
जनयुद्ध दिवसका सन्दर्भमा टुटफुट र विभाजन भएको माओवादी आन्दोलनलाई एक ढिक्कामा ल्याउने प्रयास र बहस जबर्जस्त स्थापित गरेर एकता तहसम्म लैजाने प्रयत्न गर्नु वर्तमानको अभिभारा समेत सिद्ध हुनेछ ।
जनपत्रिका मासिक १७ औँ अङ्क