
राज्यसँग स्वभाविक रुपमा नागरिक सन्तुष्ट हुँदैनन् । अनेकौं अपेक्षा र आशा राखिएका हुन्छन् । २०६२/६३ पछि राज्यसँग जनताले राखेका अपेक्षाहरु तुलनात्मक ढङ्गले पूरा हुन नसकेको यथार्थतामा, यही परिवेशको मौका छोपेर प्रतिगामी शक्तिहरुले अनेकौं चलखेल र षड्यन्त्र गरिरहेका छन् । जनताको अपेक्षाको सम्बोधन गर्न सत्ताले सकिरहेको छैन । यो भनिरहँदा, गणतन्त्रात्मक राज्यव्यवस्थाले हल गर्न नसकेको जनअपेक्षा प्रतिगामी राजतन्त्रले दिन्छ भनेर भाष्य स्थापित गर्न खोज्नु दिउँसै रात पार्न खोज्नु हो । नेपाली जनताले दशकौंदेखि राजतन्त्रको शासन व्यवस्था भोगेका छन्, बुझेका छन् ।
मुस्ताङमा एअरपोर्ट बनाउने तर जोमसोममा बाटो नबनाउने, नुवाकोट आसपासका बलिया तामाङहरुलाई बोलाएर विदेशी गाडी बोक्न भरिया बनाउने तर जनताका लागि सडक र मोटर–बसको चासो नदिने, राजपरिवारलाई राज्यकोषबाट वर्षौं करोडौं रकम विनियोजित गराउने तर कर्णालीमा चामल र हैजाको औषधी नपठाउने राजतन्त्रको दुर्दशा नेपाली जनताले दशकौंदेखि भोग्दै आएका हुन् ।
के नेपालमा विकास नभएको राजतन्त्रात्मक व्यवस्था नभएर हो ? यदि त्यो हो भने, झण्डै २४० वर्षदेखि राजतन्त्रले देश चलाएको थियोे । नेपाली जनतालाई थाहा छैन र राजाको शासन व्यवस्था ? हो, अपेक्षाकृत जनभावना र अपेक्षाका सम्बोधन हालको सत्ताले गर्न सकिरहेको छैन । तर यसको समाधान समाजवादी व्यवस्था हो न कि पश्चगमन ।
प्रगतिशील व्यवस्थाहरु दलहरुको प्रतिस्पर्धाबाट बन्छन् । तर मक्किएर, गलेर, सढेर रद्दिको टोकरीमा फ्याँकिएको राजतन्त्रले प्रतिस्पर्धात्मक विश्वमा नेपालको नेतृत्व गर्न सक्दैन । चीन, भियतनाम, रसिया जस्ता दर्जनौं अन्य राष्ट्र तथा कतिपय युरोपेली राष्ट्रहरु प्रतिस्पर्धा र क्षमताहरुको संयोजनमा अगाडि बढेका छन् । जनअसन्तुष्टिलाई समातेर गणतन्त्र विरुद्धको जनलहरको रुपमा भजाउने जुन षड्यन्त्र भइरहेको छ, यसमा दक्षिणी बतासले समेत काम गरेको देखिन्छ । हो, जनताका मागहरू समाधान हुन सकेका छैनन् । तर यसको समाधान ज्ञानेन्द्र शाह र पारस शाहले गरेर हुने विषय होइन ।
विश्व व्यवस्थामा उदयमान शक्तिहरुसँगको सहकार्य, छलफल र क्षमताहरुका साथै विकसित विज्ञान प्रविधिलाई एकाकार गरेर मात्रै देश विकास सम्भव छ । तसर्थ जन–असन्तुष्टि देखाएर ‘राजतन्त्र ठीक थियो’ भन्ने भाष्य सिधै खारेज गरेर जनअपेक्षा र असन्तुष्टिलाई समाजवादी शासन व्यवस्था र प्रणालीमा लैजाने उर्जाको रुपमा अगाडि बढाउनुपर्छ ।
क्षमताहरुको केन्द्रीकरण समाजवादी व्यवस्थाले गर्छ । मेहनत, परिश्रम र उच्च देशप्रेम समाजवादी सोच बोकेका नागरिकसँग मात्रै हुन्छ ।
पछिल्लो समय सडकमा देखिएको असन्तुष्टिले समाजवादी व्यवस्थाको माग गरिरहेको छ । त्यो आक्रोश र आवेग पारस शाहलाई राजा बनाउन वा ज्ञानेन्द्रलाई राजा बनाउन सडकमा आएको होइन । त्यो जनआक्रोस व्यवस्था विरुद्धको हो, तर त्यो आक्रोशले खोजेको अपेक्षा र सपना प्रगतिशील र समाजवादी व्यवस्थाको हो । तसर्थ जिम्मेवार र सचेत नागरिकहरुले मूलतः पछिल्लो पुस्ताले समाजवादी व्यवस्था र मोडलहरुका बारेमा बहस, छलफल एवम् अन्तरक्रिया चलाउन जरुरी छ भने त्यो तर्फ जनचेत फैलाउन ढिला गर्नु हुँदैन । जनताको चेतनालाई वा अपेक्षा र आवेगलाई सहि ढङ्गले दिशानिर्देश गर्दै समाजवादी आन्दोलनतर्फ एकाकार गराउन जरुरी भएको छ । समाजवादी चिन्तकहरु, समाजवादी बौद्धिक जगत तथा ठूला–ठूला समाजवादी व्यवस्थाका पक्षमा अन्तरक्रिया चलाएर देशलाई स्वाधीन, आत्मनिर्भर र स्वतन्त्र राष्ट्रको रुपमा स्थापित गराउन जरुरी छ । यसले मात्रै जनताको असन्तुष्टिको सम्बोधन गर्नसक्छ भने देशलाई समृद्धि र विकासको केन्द्र पु¥याउने काम गर्ने छ ।
स्राेत: जनपत्रिका मासिक १८ औँ अङ्क