
कैलाली । नेकपा (माओवादी केन्द्र) निकट वाईसीएल बाजुरा जिल्लाका पूर्व इन्चार्ज कविजंग शाही नेकपामा प्रवेश गरेका छन् ।
बुधबार कैलालीको लम्कीमा नेकपाका स्थायी समिति सदस्य भरत सी र पिविएम विकल्प सीले नवप्रवेशी कविजंगलाई खादा ओढाएर स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।
नवप्रवेशी कविजंगले नेपालमा विप्लव नेतृत्वको नेकपाले आत्मनिर्भर नेता, कार्यकर्ता,पार्टी र जनताको नीति अगाडि सार्दै उत्पादनमा लाग्नु सकरात्मक भएको बताएका छन् ।
कविजंगले नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउने अभियानमा उत्पादनको साथ साथै समाजवादी क्रान्तिको यात्रामा नेकपा लागेको देख्दा यो पार्टी सबै भन्दा राम्रो लागेकाले आफु नेकपामा प्रवेश गरेको बताए ।
उनले नेपालमा समाजवादी व्यवस्थाका लागि नेकपाले मात्र इमान्दार पहल गरेको भन्दै खुसी व्यक्त गरे ।
नवप्रवेशी कविजंगले आउने दिनहरुमा नेकपा निकट जनपत्रकार संगठनमा आवद्ध भएर कलमको माध्यमबाट भ्रष्टाचार बेथिति विरुद्ध र समाजवादी क्रान्तिको पक्षमा सेवा गर्ने इच्छा रहेको बताए ।
नेकपाका स्थायी समिति सदस्य भरत सीले नेकपा अरु पार्टी भन्दा फरक पार्टी भएको भन्दै नेपालमा वास्तविक समाजवादी क्रान्तिका लागि नेकपाले नयाँ कार्यदिशा र कार्यक्रमको विकास गर्दै अगाडि बढेको बताए ।
उनले पार्टीले थालेको समाजवादी क्रान्तिको यात्रामा केही योगदान गर्ने इच्छाले सहभागी हुने नवप्रवेशी कविजंगलाई स्वागतसंगै धन्यवाद ज्ञापन गरे ।
कविजंग २०५८ देखि माओवादीको बाल संगठनमा जोडिदै २०५९ र ०६० देखि २०६२/०६३ सम्म चुरे माध्यमिक विद्यालय इकाई अध्यक्ष भएका थिए ।
२०६३ देखि २०६५ सम्म बाजुरा अखिल (क्रान्तिकारी) जिल्ला संयोजक हुँदै २०७० सालमा माओवादी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य भएका थिए ।
उनी विद्यार्थी विशेष वाईसील नेपालको बाजुराको सहसचिव पनि भए । उनी २०७२ सालमा विद्यार्थी केन्द्रीय सचिवालय सदस्य र वाइसीएल बाजुरा जिल्ला इन्चार्ज भए ।
उनले विद्यार्थी केन्द्रीय सदस्य र वाइसीएलको बाजुरा इन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र बसेका थिए । माओवादी केन्द्रबाट वितृष्णामा पुगेका कविजंगले अबको क्रान्तिको विकल्प विप्लव देखेकाले नेकपामा लागेको ठोकुवा गरे ।
प्रवेश कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष पृथ्वी सीको पनि उपस्थिति रहेको थियो ।