पहिलो पटक कम्युनिस्ट पार्टीको नेतृत्वमा विद्रोह भएको मधेशमा नै हो । सागरनाथ सुकुमबासी समस्या पहिलो पटक मलाई सुनाएको कुमार पौडेलले नै हो । उहाँ मधेशकै हुनुहुन्थ्यो र मधेशको पार्टी आज पनि लडिरहेको छ । मधेशसहित देश विघटनको दिशामा छ । हामीले जिम्मा लिनुपर्छ । मधेशी जनता र यहाँका कार्यकर्ताले यो विषय बुझ्नुपर्छ ।
हामी निराश छैनौं । गुटहरू छैनन् र हुनु हुँदैन । स्वार्थहरू भएपछि गुटहरू हुन्छन् । देशबाट दलाल पुँजीपति वर्गको हातबाट सत्ता खोस्न हामीमा उर्जा, विश्वास आवश्यक छ ।
जनतालाई झ्वाट्ट छुने विषयमा नै मुख्य जवाफ दिनुपर्छ । ती विषय भनेका संसदीय निर्वाचन, पार्टी एकता र समाजवादी मोर्चा हुन् । हामीप्रति भयवाद सृजना गरेर जनतालाई हामीतिर जान रोक्ने षड्यन्त्र भइरहेको छ । मधेशमा जोगीहरू आएर बसेका छन् । राप्रपाको काठमाडौंमा भएको जुलुसमा पशुपतिनाथका जोगीहरू गए । धरानको साम्प्रदायिक प्रदर्शनमा माताहरू सहभागी थिए । देशमा व्यापक घुसपैठ छ ।
राजनीति दिशाहीन भएपछि जनता पनि भौंतारिन्छन् । आन्दोलन र राजनीति पृष्ठभूमि भएका हृदयश त्रिपाठीले चुनाव हारे । तर विनोद चौधरीजस्ताले चुनाव जित्यो । रवि लामिछानेले काठमाडौंका कम्युनिस्टहरूलाई पराजित गरे । यस्तो स्थितिमा संसदीय निर्वाचनलाई लेनिन र माओको चश्माले मात्र हेरेर हुँदैन । आजको विश्व भूमण्डलीकृत छ भनेको के हो ? यसको अर्थ साम्राज्यवाद सर्वत्र छ, त्यसकारण सबै मोर्चाहरूमा लड्नु पर्दछ ।
हामीले पार्टी एकताको पक्षमा काम गर्नुपर्छ । पार्टी एकता नेकपाको विचार र राजनीति अनुसार गर्नुपर्छ । सहिद परिवार पनि पार्टीको योजनामा हिंड्नुपर्छ । माओवादी पृष्ठभूमिबाट आएका घटकहरूलाई मिल्न नदिन अमेरिकीहरू दैलो–दैलो चाहार्दै हिंडेका छन् । उनीहरू नेताहरूको कान फुक्दै, उचाल्दै हिंडेका छन् ।
खेलमा अनुशासित टोलीले नै जित्छ । केपी ओलीले ‘समाजवाद’ शब्द प्रयोग नै गर्नुहुन्न भन्थे । त्यो स्तरको रक्षात्मक मानसिकता छ । अहिले चर्को बोल्न थालेका छन् । समाजवाद स्थापनाको लागि एकता हो । हामी कसरी जाने त ? सत्ताले बन्दुक ताक्ने, हामी पिपलको बुटामुनी बसेर शान्ति–शान्ति भन्दै जपेर समाजवाद कहाँ आउँछ ?
अमेरिकी सेना आयो भने देश मध्य–पूर्वजस्तो हुनेछ । नेपालमा दूतावास भएका समाजवादी देशहरूबिच कूटनीतिक सम्बन्ध कायम गर्नुपर्छ । केपी ओलीले पनि इलामको उप–निर्वाचनको चुनावी सभामा समाजवाद भनेछन् ।
समाजवादी मोर्चा बनाइयो भने कार्यकर्ता चोर्छन् भन्ने सोच कतिपयको छ । त्यही सोचेर मधेशमा नेताहरूले समाजवादी मोर्चाप्रति अपिल गरेका छैनन् । सहकार्यबाट घाटा हुन्छ भन्ने मनोविज्ञान छ । युवा र विद्यार्थी सङ्गठनमा समाजवादी मोर्चा बनाउने निर्णय भएर पनि रोकिएको छ । त्यसो हुनुमा त्यही सङ्कीर्ण सोचले काम गरेको छ । मान्छेहरूलाई भाषणले होइन, जीवनले तान्नुपर्छ ।
नेपालका कम्युनिस्टहरू सरकारमा जाने, राज्यको सुविधा खाने; जनतालाई बिर्सने हुँदै आएको छ । जसको कारण उनीहरू बदनाम भएका छन् । हामीसँग २५ बिगाहा जग्गा छ । भाडामा २५० बिगाहा गरेर लगभग ३ सय बिगाहामा उत्पादन भइरहेको छ । हाम्रो आफ्नै कार्यालय छ ।
जिल्ला समितिका बैठकहरू व्यवस्थित हुनुपर्छ । बैठकमा प्रस्तावहरू पढ्ने, सुन्ने गर्नुपर्छ । पार्टीका प्रकाशनहरू अध्ययन गर्नुपर्छ । हामीले देश र जनताको पक्षमा लडेको हाम्रो इतिहास जनतालाई पढाउनु पर्दछ, प्रचार गर्नुपर्छ । शासकहरूले धर्म पढाउँछन्, हामीले माक्र्सवाद पढाउनु पर्दछ ।
देश र जनतालाई दुःख पर्दा मद्दत कार्यमा उत्रने एकमात्र पार्टी हाम्रो हो । सञ्चार माध्यमले हाम्रो बारेमा नलेख्न सक्छन् । त्यो उनीहरूको स्वतन्त्रता हो । तर झूठको खेती गर्न पाइन्न । जनताको पार्टीका विरुद्ध झूठो प्रचार गर्नु भनेको साम्राज्यवादको षड्यन्त्र लागू गर्नु हो ।
(२०८१ बैसाख २५ गते बर्दिवासमा भएको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश । अनिल सीद्वारा सम्पादित यो सामग्रीको शिर्षक हामीले दिएका हौं ।)
स्राेत: जनपत्रिका मासिक १३ अङ्क