३१ भाद्र २०८१, सोमबार

कुमार पौडेलका सपना

0

बर्दीबास– एकीकृत जनक्रान्तिका सहिद कुमार पौडेलको स्मृतिमा आयोजित छैटौं स्मृतिसभामा उपस्थित वक्ताहरूले कुमार पौडेलको सपना पूरा गरिछाड्ने उद्घोष गरेका छन् । असार ५ गते अखिल नेपाल लेखक संघ, केन्द्रीय कार्यालयको आयोजनामा मधेसको बर्दिबासमा आयोजित स्मृतिसभाका वक्ताहरूले कुमारको सपनालाई पूरा गरिछाड्ने उद्घोष गरेका हुन् ।
(स्मृतिसभामा वक्ताहरूले व्यक्त गरेको विचारको सम्पादित अंश)
कम्युनिस्ट भनाउँदाले नै कुमारको हत्या गरेका हुन्
अनिल सी
उक्त कार्यक्रममा बोल्दै नेकपा स्थायी समिति सदस्य तथा मधेश प्रदेश इञ्चार्ज  अनिल सीले कम्युनिस्ट भनाउँदाहरूले नै कुमार पौडेलको हत्या गरेको आरोप लगाए । “हिजो समाजको सबैभन्दा अगाडि देखिएको, साँस्कृतिक रूपमा अगाडि बढेको कम्युनिस्ट पार्टी थियो । तर आज कम्युनिस्ट पार्टी पुँजीवादी पार्टीभन्दा पनि पछौटेजस्ता, रुढीवादीजस्ता, जसको कारणले गर्दा समाजको नेतृत्व गर्न सकिरहेको छैन”, उनले भनेका थिए । “सुकुमबासीको पक्षमा लड्ने कुमारका बुवा कांग्रेसमा हुनुहुन्छ । उहाँ कम्युनिस्ट कि, सुकुमबासीहरूको पक्षमा लड्नेलाई मार्नेहरू कम्युनिस्ट भए त ? यो बहसको विषय छ ।”
प्रचण्ड र बाबुरामलाई किनेर श्रम र पुँजीबिचको अन्तर्विरोध समाधान हुँदैन । कुनै न कुनै दिन बन्दुक उठ्छ । यो देशमा जनता उठ्छन्, हामीले भनेका छौँ । हामीले भनेका छौँ कि जनयुद्धकै तरिकाले अहिलेको परिवर्तित परिस्थितिमा क्रान्ति सम्भव छैन, तर पार्टी र जनताको बलले क्रान्ति सम्भव छ । किनभने श्रम र पुँजीको बिचमा अन्तर्विरोध छ । समाजमा समस्याहरू छन् । सामान्तवादको नाइके ढलेको छ, तर त्यसको ठाउँमा पुँजीवाद आएको छ । यो झन् सामन्तवादभन्दा खतरनाक हुन्छ । दास मालिकहरूले आफ्ना दासहरूलाई खान र बस्न त दिन्थे, तर पुँजीवादले त्यो पनि दिंदैन, पुँजीवाद यतिसम्म निर्मम हुन्छ । अमेरिकाबाट एकीकृत जनक्रान्तिबारे बुझ्न आएका एकजना बुद्धिजीवीको प्रसङ्ग कोट्याउदै नेता अनिलले “हाम्रो कार्यदिशा बुझ्न धेरै पिछा गरेको बताए । ती भियतनाम युद्धको प्रतिवेदन तयार गर्ने मान्छे थिए । पछि नयाँ पत्रिकामा उनको अन्तर्वार्ता छापियो । त्यस क्रममा उनले नेपाललाई चाहिने र नेपाललाई बुझ्ने विप्लव हुन् तर यो बाटोबाट क्रान्ति सम्भव नभएको भन्ने तर्क पेस गरेको खुलाशा गरे । यसको अर्थ हामीले भन्दा हाम्रो कार्यदिशा अमेरिकाले बुझेको छ र यो देशका दलालहरूले बुझेका छन् । नेकपा हुँदैन थियो भने यो देशमा हजारौं सुकुमबासीहरू घरबार बिहीन हुन्थे ।”
“हामी शान्तिपूर्ण ढङ्गबाट यो देशमा किसान, मजदुर, सुकुमबासीका, दलितका, महिलाका समस्याहरू समाधान होस्, विदेशीहरूको नेपालमा ब्यारेक राख्ने षड्यन्त्र बन्दहोस्, अमेरिकाले ६ ओटा जिल्लामा आफ्नो सैन्य ब्यारेक राख्ने प्रस्ताव गरेको कुरा सरकारका माथिल्ला तहका नेताहरूले नै भनिराखेका छन् । यदि यसो भयो भने यो देशमा लडाइँ हुन्छ, चुनाव परको कुरा हो । यस्तै परिस्थिति बनेछ भने निर्वाचनका मार्फत् त्यहाँ पनि हाम्रो पार्टी साम्राज्यवादको विरुद्ध लड्छ, तिनका मालिकहरूलाई, तिनका दलालहरूको विरुद्ध लड्छ । विदेशी सेनाहरू नेपाली भूमिमा परेड खेल्ने भयो भने, शान्तिपूर्ण आन्दोलनमा दमन भयो भने, आन्दोलनको रूप तुरुन्तै बदलिन्छ । हामी त्यो तयारीमा छौँ । आफूलाई कम्युनिस्ट भन्नेहरू नै कुमार पौडेलको हत्यामा सम्लग्न भए” उनले भने ।

म कुमार दाइको शोक–सभामा सहभागी थिएँ
प्रमिला लामा
कुमार पौडेल सर्लाहीको पार्टी नेतृत्वमा रहेको बेला २०७५ सालमा जिल्ला सदस्य भएकी हूँ । उहाँसँग लामो समय कुरा गर्न पाइन । उहाँ अभिभावकको रूपमा हुनुहुन्थ्यो । हामी जनयुद्धमा हिंडेका कार्यकर्ता हौं । जनयुद्धको त्याग, तपस्या खेरगयो भन्ने तनाबमा निरास थियौं । दिशाविहिन थियौं । नवराज दाहालले एकीकृत जनक्रान्तितिर लागौं भन्नुभयो । लालबन्दी १५मा भएको जनसरकार घोषणा कार्यक्रममा जनक र म पार्टी प्रवेश गरेका हौं ।
कुमार दाइले सागरनाथ वन परियोजनाको ज्यादती विरुद्ध सुकुमबासीको पक्षमा लड्नुपर्छ भन्नुहुन्थ्यो । त्यो विषय विरोधी पक्षलाई मन परेको थिएन । कुमार दाइको हत्यापछि जिल्लामा निराशा छायो । पशु–पक्षिलाई पनि त्यस्तो कठोर आक्रमण गर्दैनन् । उहाँ जनताको लागि लागेको मान्छे हो । म उहाँको शव जुलुसमा सहभागी थिएँ । त्यो दिन सम्झँदा मात्रै पनि कहाली लाग्छ । प्रहरीको घेराबन्दी र घम्की, पार्टीमाथि प्रतिबन्ध लागेको समयमा पनि हजारौं जनता शोक सभामा सहभागी थिए । अहिले लाग्छ मृत्यु त कुमार दाइको जस्तो महान् होस् । कुमारको हत्या राज्यद्वारा गरिएको गैरन्यायिक हत्या हो । त्यसको उचित छानविन होस् र अपराधीहरूमाथि कारवाही होस् भन्ने माग गर्दछु । पीडा छ, तर कुमार दाइको सपना पुरागर्न अन्तिमसम्म लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।
घुस खाएर न्याय दबाइन्छ
राजकुमारी सी
यो दलाल पुँजीपति वर्गको सरकार हो । यसले एउटा पनि राम्रो काम गर्दैन । दलाल सरकारले जनताको पक्षमा काम गर्दैन । हामीले सङ्गठन बनाएर त्यसको बलमा प्रतिरोध गर्नुपर्छ । हामी बलिदान गर्न तयार नभएसम्म यसले केही पनि गर्दैन ।
कुमार पौडेलको हत्या गरेर यो दलाल सत्ता र हत्यारा नेताहरूले के पाए ? यिनीहरू विदेशी बैङ्कमा पैसा लुकाउँछन् । हामी समस्यामा छौंं । दलालहरूले जनताको लागि होइन, आफू र आफ्नै मान्छेका लागि काम गर्छन् । गरीब, दलित, महिला र सुकुमबासीको विषयमा सोच्ने हामी मात्रै हो । देशको लागि सोच्ने हामी मात्रै हो ।
 हामीहरू जनताको बिचमा जानुपर्छ । सिरहा, धनुषा सबैतिर पार्टी विस्तार गर्नुपर्छ । यो सरकारलाई हटाउनुु पर्दछ । यसले जनताका समस्याहरू हेर्दैैन । जनताको पक्षमा कानुन छैन । घुस खाएर न्यायलाई दबाइन्छ । यो व्यवस्था जनताको व्यवस्था होइन । घुस नदिइकन केही काम हुँदैन । यो दलाल सरकारले जनताको पक्षमा काम गर्छ त ? जनताको पक्षमा संविधान लेख्नुपर्छ । त्यसको लागि समाजवादी व्यवस्था ल्याउन दलित, महिला, श्रमिक सबै
जुट्नुपर्छ ।
(नेतृ राजकुमारीले मिथिला भााषामा व्यक्त गर्नुभएको विचारलाई भाषान्तर गरी समावेश गरिएको हो ।)
जनताले कुमारको हत्याको बदला लिनेछन्
नारायण घिमिरे
सर्वप्रथम महान् सहिद कुमार पौडेलप्रति सम्मान भाव व्यक्त गर्दछु । देशको लागि लडिरहेका तपाईहरूप्रति सम्मान छ, प्रलेस र मेरो तर्फबाट अभिवादन छ ।
प्रचण्डले सर्वहारा वर्गको सपनालाई दलाल सत्तासँग साट्नुभयो । कुमार पौडेलसँग मेरो व्यक्तिगत रूपमा उठबस थिएन । ‘राष्ट्रका लागि बलिदान’ कृति अध्ययन गरेर थाहा पाएँ । उहाँ जनताको मान्छे, सुकुमबासीको मान्छे हुनुहुन्थ्यो ।
नेपाली जनताले कुमार पौडेलको हत्याको बदला लिनेछन् । जनताको व्यवस्था स्थापना नभएसम्म सत्ता–आतङ्क रहिरहन्छ् । कुमार पौडेलको सपनाले हामीलाई लड्न प्रेरित गरिरहने छ । आयोगहरू बने पनि काम भएका छैनन् र अपराधीहरू कार्वाहीमा परेका छैनन् । न्याय भएको भए नागरिकले यो मेरो सरकार हो भन्ने थिए । अधिकार प्राप्तिको लडाई जारी राख्नुपर्छ । यो लडाई जारी राख्ने प्रेरणा मिलोस्, शुभकामना !
कुमार एकपटक मेरो घरमा आउनु भएको थियो
केदार कोइराला
कुमार पौडेलसँग मेरो घेरै उठबस थिएन । साथीहरू आउँदा बास दिन्थें । छलफल हुन्थ्यो । सन्देशलाई सहयोग गरेको थिएँ । एकपटक कुमार पौडेल घरमा आउनु भएको थियो । कुमारप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति सहानुभुति प्रकट गर्न चाहन्छु ।
पुस्तकमा सहिदहरूको परिचय छ । सपनाहरू बेवारिस भएपछि नयाँ यात्रामा फेरि लागेका, अन्य पार्टीले नगरेपछि नयाँ यात्रामा लागेका वैदेशिक रोजगारबाट फर्केका र विद्यार्थी राजनीतिबाट आएका साथीहरू सहिद भएका रहेछन् । यसरी विचार र विश्व घटनाहरू समेटेर गरिएको कृति प्रकाशन महत्वपूर्ण छ । यो कृति हाम्रो वर्गको गौरवगाथा हो । यो कृति इतिहासको अभिलेख पनि हो ।
समाजमा पठन संस्कृतिको निर्माण गर्नुपर्छ । इन्द्रिय ज्ञान सीमित छ । सूचना र ज्ञानको स्रोत पुस्तक हो । क्रियाशीलताको प्रेरणा–स्रोत पुस्तक हो । नयाँ–नयाँ क्रान्तिहरू भइरहेको भए पठन संस्कृति मौलाउँथ्यो । राजनीति निराशाजनक भएकोले पठन संस्कृति पनि कमजोर भएको हो ।
म फोहोर आहालमा बसेको पार्टीमा छु । तर लडिरहेको छु । थाकेको छैन । केही गर्ने हो भने पठन संस्कृति निर्माण गर्नुपर्छ । सही विचार र तथ्य–तथ्याङ्कको ज्ञान अध्ययनले नै प्राप्त हुन्छ । तर आज पुस्तकालयहरू बन्द हुँदै गएका छन् ।
हिजो कुमारको गुरु थिएँ; आज चेलो
नारायण खपाङ्गी
जब मेरो लास निस्क्यो
मेरो लास पछाडि
एक टुक्रा सास निस्क्यो
तर जे निस्कुन पथ्र्यो
त्यो भने निस्कँदै निस्केन
सहिदको कुरा गरिएन भने नयाँ पुस्ताले समाजलाई कसरी बुझ्छ ? कसरी सिक्छ ! पहिले म कुमारको गुरु थिएँ । अहिले म चेलो भएको छु । बहिनी प्रमिलाले घटनाक्रमहरू सुनाउनु भयो । २१ वर्ष अघि कुमारसँग भेट भएको हो । एक दिन नअट्किकन स्पष्ट बोल्ने एउटा केटो आयो । सागरनाथ वन परियोजनाको विषयमा आफ्नो योजना सुनायो । त्यो परियोजनाले कर पनि तिरेको थिएन । सागरनाथ वन परियोजनाबाट देश र जनता दुवैले केही नपाउने भएकोले म त्यसको विरुद्ध थिएँ । त्यसको नेतृत्व कुमारले ग¥यो ।
कुमार गिरफ्तार हुँदैछ भन्ने सुनेको थिएँ । ढलेका रुख जनताले लगे । वनले कुमारलाई ७४ करोडको बिगो–दाबिसहित मुद्दा लगायो । मैले तीनवटा विकल्प दिएको थिएँ– एक, सर्लाही जिल्ला छोड्ने । दुई, आत्मसमर्पण गर्ने । तीन, बलियो पार्टीमा प्रवेश गर्ने । म त २०५२ सालसम्म पनि कम्युनिस्ट बन्न नसकेपछि पार्टी छोडेको थिएँ । गौरवसँग कुमारको सम्पर्क गराएँ । सिपी गजुरेलमार्फत् सिन्धुलीमा गएर कुमार वैद्य नेतृत्वको पार्टीमा गए । कुमारको विप्लवसँग पनि सम्पर्क भयो । विप्लवले माया गर्थे । त्यसैले वैद्य–विप्लव विभाजन हुँदा कुमार विप्लवतिर लागे ।
कुमारलाई सहिद भन्न मन पराउँछु । कुमार पौडेलकै कारणले अझसम्म सुकुमबासीहरू बसिरहेका छन् । वन परियोजना र जनताबिच सिन्धुलीमा भएको ५ बुँदे सहमतिमा कुमारले जितेको थियो । तर उसले कम्युनिस्ट भन्नेहरूसँग हा¥यो । सरकारमा भएको, शासक भइरहेको, शक्तिमा भएको कम्युनिस्टले कुमारलाई मा¥यो । सुकुमबासी र वन परियोजनबिचको समस्या समाधान हुन लागेको थियो । त्यसो भएको भए काङ्ग्रेस, एमाले, माओवादी र मधेसी दलहरू समाप्त हुने अवस्था थियो । त्यही त्रासको कारण सबै मिलेर कुमारको हत्या गरे । त्यसैले ५ बुँदे सहमति कार्यान्वयन गर्न तपाईंहरू लड्नु पर्दछ ।
हत्याराहरू सधैं उम्कने छैनन्
टेकबहादुर बलम्पाकी
आज हामी एक मनले दुःखित छौं । मैले यो कृतिको विषयमा आफ्नो धारणा राख्नु छ । कुमारसँगका सहकार्यका पोका फुकाउनु पर्नेछ । एउटा गीत सुनाउन पनि भन्नुभएको छ । म संक्षिप्तमा आफ्नो धारणा राख्नेछु ।
म पुस्तकको सम्पादन गर्नुहुने कमरेड अनिल सीलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । यो एउटा महान् काम हो । यो कार्यक्रम आयोजना गरेर लेखक संघले महान् काम गरेको छ । यसले हामीलाई सधैं लडिरहन प्रेरित गरिरहने छ । त्यसैले यो महान् काम हो । भोलि पनि कुमार र एकीकृत जनक्रान्तिका सहिदलाई यो कृतिले स्थापित गरिरहने छ । प्रस्तुतिमा मेहनत छ । प्रकाण्ड, अनिल र खेमका रचनाहरू उत्कृष्ट छन् । यो कृति सबै कम्युनिस्टहरूले पढ्नु पर्दछ ।
कुमार र म लामो समय सँगै काम ग¥यौं । जङ्गलमा, उकाली–ओरालीमा, दिन–रात हिड्यौं । बन्द आयोजना हुँदा बन्द गराउन हिड्यौं । सिन्धुलीमा हामीले तालिम पनि ग¥यौं । कुमार त ‘मार्शल कला’का खेलाडी पनि थिए ।
हत्यारहरू सधैं उम्कने छैनन् । कुमारको हत्या क्रान्तिकारी आन्दोलनको विरुद्ध थियो । जनताले त्यसलाई स्वीकार गर्दैनन् । भोलिका दिनमा अपराधीहरू न्यायको कठघरामा उभ्याइने छन् । कम्युनिस्ट आन्दोलनमा भङ्गालाहरू छन् । त्यसलाई जोड्नुपर्छ । एकीकृत जनक्रान्तिको विचारले जोड्नु पर्छ । झण्डा उठाउनुहोस्, हामी साथमा छौं ।

स्राेत: जनपत्रिका मासिक १३ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।