३० आश्विन २०८१, बुधबार

जनयुद्धमा हेलिदाका पलहरु

0

   
          सर्जक सी

 

पछि खोलाको किनारमा घट्ट देखिए । मकैको भारीसँगै ओरालो झर्दा पसिनाले निर्थुक्क भिजेका थियौँ हामी । खुट्टा कापेका थिए । क्षितिजमा झुल्किएका घामका किरणहरुले खोला, बगरलाई उज्यालो पार्दै थिए । फैलिदै थियो विशाल प्रकाश कन्दरासम्म! बिहानी प्रकाशको आनन्द लिंदै थियौँ । हाम्रो ध्यान प्रकाश तिरै गयो ।

अनायास, ‘नमस्कार, लालसलाम’ आवाजसँगै तीन जना मान्छेहरु हाम्रो अगाडि उभिए र सोधे, “माथि गाउँमा जाने बाटो यहीँ हो नि ?” मैले भने, ‘हो सर! ती मान्छेहरु निकै सुन्दर थिए एक जना केटी र दुई जना केटा तर हामीलाई अलिअलि डर पनि लागिरहेको थियोे । किनभने उनीहरुसंग पेस्तोल र कम्मरमा गोलो आकारको वस्तु थियोे, त्यो चाहिँ ग्रीनेट रहेछ ।

त्यसो त पहिलो पटक  सदरमुकाम जाँदा पुलिसले भिरेको हतियार नदेखेको होइन । यो पटक आफ्नै गाउँमा देखे ।
ती मान्छेहरु सुन्दर अनि तिनको बोलिमा पनि मिठास थियो । तिनीहरु हाम्रो अङ्लको उमेरका मान्छेहरु थिए तर पनि तीनै जनाले हामीलाई  तपाईंहरु भनेर सम्बोधन गरे। मनमा कौतुहलता र खुशी एकसाथ भरियो । ती तीन जना मध्य एक जना काशीकाँध गडिगाउँका अखण्ड राउत पो रहेछन् । काशीकाँधबाट पहिलो माओवादी  तिनी अखण्ड रहेछन् त्यो त म माओवादी पार्टीमा लागेपछि थाहा पाए ।

अचम्मको कुरा त यो हो की हामीलाई पहिलो पटक सुन्दर अनि हतियारले सुसज्जित मान्छेहरुले तपाई भनेर सम्बोधन गरेका थिए । त्यतिबेला समाजमा जातीय उत्पीडन चर्को थियोे । पचास वर्ष उमेर पुगेको दलितले दश, बाह्र बर्षको गैरदलितलाई  ज्यु, हजुर भन्नु पर्दथ्यो । एउटा गैरदलित बच्चाले आफ्नो बाजे सरहको दलितलाई तिमी भनेर सम्बोधन गर्दथ्यो । हामी यस्तो समाजबाट आएका मान्छेहरु पहिलो पटक हामीलाई तपाईं भनेर सम्बोधन गर्दा हामी अचम्म परेका थियौँ ।

त्यतिबेला हाम्रो गाविस दैलेख काशीकाँध थियोे ।  खोलापारी काशीकाँध खोलावारी टाकुरी काशीकाँधमा ठकुरी समुदायको बाहुल्यता थियो र टाकुरीमा मगरहरुको बाहुल्यता थियो । टाकुरी भन्दा काशीकाँधमा चरम छुवाछुत विभेद थियोे । यहाँ सम्मको विभेद थियो कि कतिपय ठाउँमा  दलितहरुलाई डुम शब्दबाट सम्बोधन गर्ने चलन थियोे । हाम्रो घर काशीकाँध र टाकुरी दुबै ठाउँमा थियो । बाल्यकालमा  काशीकाँध र टाकुरीसंग म धेरै परिचित भैसकेको थिए ।

एकदिन म र अन्य मेरो साथीहरूसंगै लुकामारी खेल खेल्दै थियौँ । ठकुरी समुदायमा रहेको स्कुल जहाँ म पनि पढ्थें, त्यहीँ पढाउने एकजना शिक्षकले मीठो आवाजमा मलाई भन्नुभयो र सम्झाउनु भयो, “बाबू तिमी कति ज्ञानी र इमानदार मान्छे छौ, सधैं ज्ञानी र इमानदार बनिराख्नु, बाबु-बाजेले अङ्गालेको पेसालाई कहिल्यै पनि नत्याग्नु, तिमी पनि कतै माओवादीमा जाउला नि?  फेरि, माओवादी भयौ भने त मरिन्छ नि !”  तिनै शिक्षक हुन् जसले स्कुलमा दलित र गैरदलितका छोराछोरीलाई छुट्टाछुट्टै राखेर खाजा दिने गर्दथे ।

त्यो रात १२ बजेको थियोे।  दिनभरिको कामको थकानले  मस्त निन्द्रामा थिए। एक्कासी  जोड्तोड्ले कुकुरहरु भुके ।  त्यस पछि म  ब्युझिए, घरको माथिल्लो तलाको झ्यालबाट बिस्तारै बाहिर तिर नियालेर हेरे !टाउकोमा रातो तिनतारे अंकित कफन बाधेका सैनिक ड्रेस र प्रत्येक मान्छेको हातमा विभिन्न किसिमका हतियारले सुसज्जित मान्छेहरु दुईदेखि तीन मिटरको दूरीमा मधुरो जुनको प्रकाशसंगै आफ्नै गतिमा हिडिरहेका थिए ।

मैले मनमनै गने करिब ५०० जनापछि मैले गन्नै सकिन । पहिलोपटक गाउँमा यति धेरै मानिसहरुको लावालस्कर कमिलाको ताँतीसरह आफ्नै गतिमा अगाडि बढिरहेको थियो । ‘चकमन्न रातमा, सुनसान गाउँमा यति धेरै मानिसहरू किन आएका होलान् ? कहाँ जाने होलान् ?’ मनमा जिज्ञासा र भय पैदा भइरहेको थियो । अर्को दिन २०५८ फागुन ४ गते अछामको सदरमुकाम मंगलसेनमाथि माओवादी आक्रमण भएको खबर सुनेपछि स्पष्ट भयो । कि उनीहरू माओवादी जनमुक्ति सेना रहेछन् । उनीहरूले धेरै जना शाही नेपाली सेनालाई मारेर हातहतियार कब्जा गरेर लगे रे भन्ने खबर रेडियोबाट सुनियो । रेडियोले भने अनुसार ती मान्छेहरु माओवादी आतंककारी थिए । मेरो बाल मस्तिष्कले सहि र गलत के रहेछ  केहि छुट्याउन सकेन । त्यो घटनापछि डर र भयले म धेरै आतंकित भएको थिए ‘मान्छे मार्ने, हतियार लुट्ने, जनतालाई आतंकित पार्ने’ ती मान्छे वास्तवमै खराब रहेछन् भन्ने लाग्यो । फेरि    गाउँसमाजमा केही थोरै  मान्छेले मात्रै  माओवादी भनेको अन्याय, अत्याचार गाउँका जालीफटाको विरुद्ध र गरिबको  पक्षमा लडेका हुन् भन्ने गर्थे भने अर्कोथरी मान्छे माओवादी लुटपाट गर्छन् चोरी गर्छन् मान्छे मार्छन् जबर्जस्ति माओवादी बनाउँछन् भन्ने गर्दथे । धेरै जस्तो मानिसहरू माओवादीप्रति आतंकित भएका थिए ।माओवादीप्रति  नकारात्मक प्रचार गर्ने गर्दथे । त्यसमा विशेषगरी गाउँमा रहेका गाविस अध्यक्ष, केही अगुवा मान्छेहरुले भूमिका खेलिरहेका थिए । उनीहरू गाउँका घरघरमा जाँदै ‘माओवादी खराब हुन्, कसैले पनि खान बस्न दिनु हुँदैन’ भनेर गाउँलेलाई सुटुक्क भन्ने गर्दथे र गाउँलेलाई माओवादीप्रति थप घृणा पैदा गर्ने रोल उनीहरुको रहेकोे थियोे । म चुपचाप सुनेर बस्थे ।

कक्षा ५ को परीक्षा सकेपछि गाउँको तलबाट बग्ने रानिबन खोलामा हामी साथीहरू दिनभर पौडी खेल्यौं । साँझ थकित अवस्थामा घरमा आउँदा मैले २ जना नयाँ मान्छेहरु देखें । मैले आमासँग सोंधे, आमाले भन्नुभयो, “उहाँहरु सहरबाट आउनुभएको तिम्रा फूपू-पुसाइ हुनुहुन्छ,। तिमीलाई उहाँहरुले पढ्नका लागि आफुसंगै लौजाने भनेर आउनुभएको हो ।” पाँच दिदीहरु र चार दाजुहरुपछि घरको कान्छो सन्तान । हुँ म ! कहिल्यै एकरात पनि आमासँग छुट्टिएर बसेको थिएन । आमासँग छुट्टिएर बस्नु मेरा लागि कल्पना बाहिरको कुरा थियोे ।

फूपू-पुसाईले धेरै कुरा गर्नुभयो, “बाबू तिमी यस गाउँमा बस्यौ भने तिमीलाई माओवादीले लैजान्छन्, धेरै दु:ख पाउँछौं, आर्मी पुलिसले मार्छ त्यसैले तिमी सहरमा पढ्न जानुपर्छ । ” यस्तैयस्तै धेरै कुरा गरेपछि म उहाँहरुको कुरामा सहमति जनाउन बाध्य भए । पर्सीपल्ट मन गह्रुङ्गो बनाउँदै हामी सहरका लागि यात्रा तय गर्यौं । ५० वर्ष कटेकी मेरी आमाले आँखाभरी टिलपिल आँसु लिँदै “बाबु राम्रोसँग पढ्नु, आफ्नो ख्याल् गर्नु, फुपुपुसाइले भनेको मान्नु’ भन्दै बिदाइ गर्दा मनभित्र अनेकौं छालहरु उर्लिरहेका थिए । आमाका कुराहरू मनमा गम्दै म चुपचाप अगाडि बढें ।

एकदिनको लगातार पैदल यात्रापछि साँझ दैलेखको चुप्रा बजारमा बास बस्यौं । भोलिपल्ट बिहानै बस चढेर साँझ हामी सुर्खेत पुग्यौं । जीवनमा पहिलोपटक बस चढ्दा अनौठो लागिरहेको थियो । तर मनमा गाउँघरकै याद उर्लिरहेको थियो । सुर्खेत पुगेपछि स्कुल भर्ना हुने तरखरमा लाग्यौं तर भर्नाका लागि सर्टिफिकेट चाँहिने रहेछ । त्यसपछि मेरो भर्ना छुट्यो । सूचना-सञ्चारको अभावले गर्दा गाउँको स्कुलबाट सर्टिफिकेट मगाउन सम्भव भएन ।

म करिब २ महिना त्यत्तिकै फुपुपुसाइको घरमा रहें । साउन ३ गते म घर फर्कें । घरमा पुगेपछि मेरो दाइको छोरी ‘बिर्मा ‘को बारेमा मैले सोंधें । उनी म भन्दा ६ महिना जेठी थिइन् । हामी काका-भतिजी घरमा संगै खेल्ने, पढ्ने नजिकको साथी जस्तै थियौं । हामी अति मिल्थ्यौं, कहिल्यै पनि झगडा गरेनौं । उनी अति मिलनसार थिइन् म सहर गएको बेलामा उनी माओवादी पो भइछिन । यो कुराले मेरो मनमा एकप्रकारको पीडा बेचैनी भइरहेको थियो  संगै माओवादीप्रति उत्सुकता पनि जागिरहेको थियो । उनका बुवा मेरो जेठा दाजु विजय करिब १ वर्ष अगाडि नै माओवादीमा सक्रिय भइ सक्नुभएको थियो ।

भदौ १ गते बिहान सिमसिम पानी परिरहेको थियो । गाउँका कतिपय डाँडा पखेराहरु कुहिरोले ढपक्क ढाकिरहेको थियोे । कतै हरियाली दृष्यहरु देखिन्थ्यो । कुहिरो र हरियालीसंगै हाम्रो घरबाट पारीपट्टी देखिने पल्लो टाकुरीको भित्ताहरुमा  राता झण्डाहरु फरफराइरहेका थिए । ९ बजेतिर पानी बिदो भयो । त्यसपछि  पल्लो टाकुरीको कालिका स्कुलको प्राङ्गणबाट  माइकको ठुलो आवाज आउन थाल्यो । नाचगान कार्यक्रम हेर्न आउनका लागि आव्हान गरिदैं थियो । खाना खाएपछि गाउँका धेरै मानिसहरू कार्यक्रम स्थलतर्फ गइरहेका थिए । संगसंगै मनमा डर र उत्सुकता लिएर म पनि त्यतै लागे ।  कार्यक्रममा धेरै मानिसहरु टाढाटाढाबाट भेला भएका रहेछन् । युवायुवती र बुढाबुढीहरु जम्मा भएर साँस्कृतिक कार्यक्रम निकै उत्सुकताका साथ हेरिरहेका थिए । जनमुक्ति सेनाहरुले कार्यक्रमको कडा सुरक्षा गरिरहेका थिए । कलाकारहरुले खुबै जोशका साथ आफ्नो प्रस्तुति देखाइरहेका थिए । उनीहरुले आफ्नो गीतमार्फत भनिरहेका थिए, ‘पूर्वतिर उदायो रातो घाम .., प्रमुख दुश्मन सामन्त घेर्न जाम ..।’

कार्यक्रम हेर्दै थियौँ । मनमनै थुप्रै कौतुहलता र जिज्ञासाले कलाकारको नृत्य प्रस्तुतिलाई एकोहोरो नियालिरहेको थिए । पछाडीबाट एकजना मान्छेले ‘अंकल’ भन्दै एक्कासी बोलायो । म पछाडि पर्कें । टाउकोमा तीन तारे रातो पट्टी र सेनाको ड्रेस लगाएको, कम्मरमा ग्रीनेट झुण्ड्याएको उनी गाउँको नाता पर्ने दाइको छोरा सक्त बहादुर विक रहेछन् । म छक्क परें । ‘ओहो ! तिमी पनि माओवादी भइसकेको रहेछौ त ?’ म झनै उत्साहित भएं । मैले ” बिर्मा खै त ऊनी यहाँ आएकी छैनन् भनी सोधे ?”, उनले बिर्मा  कार्यक्रमकै लागि दैलेखको पश्चिमी क्षेत्रमा गएको बताए । करिब १ महिनापछि बिर्मा त्यहाँबाट फर्किने कुरा सुनाए । उनले म लगायत गाउँका अरु युवाहरुलाई  स्कुलको एउटा कोठामा लगेर एरिया सेक्रेटरी भूगोलसङ्ग भेट गराए। त्यसपछि एरिया सेक्रेटरी भूगोलले भन्नु भयो । समाजमा रहेको जातीय भेदभाव,  महिला माथिको हिंसा, धनी मान्छेहरुले गरिबहरु माथि गर्ने अन्याय, अत्याचार विरुद्ध लड्नुपर्ने र सामन्तवादी सत्ता फालेर जनताको व्यवस्था ल्याउन नयाँ जनवादी क्रान्ति गर्नु पर्ने कुरा सेक्रेटरी भूगोलले गर्नु भयो त्यसपछि मात्रै माओवादी आन्दोलन, युद्धको बारेमा थाहा पाएको थिए ।मेरो मनमा माओवादी प्रति एक प्रकाशको डरत्रास  थियो ।सेक्रेटरी भूगोलले कुरा गरेपछि म लगाएत अरु दुई जना साथीहरू  माओवादी बन्न तयार भयौं  ।

कार्यक्रम स्थल नजिकै  टाढाटाढाबाट आएका मानिसहरूको लागी खाना बस्नको व्यवस्था थियो उनिहरुसंगै हामीहरुले पनि त्यही मेसमा नै पकाएको खाना खाएर मेरो गाउँकै फुपुको छोरा लालबहादुर नेपाली, भुवन थापा मगर  र म  संगसंगै माओवादी बन्ने सल्लाह गर्यौँ । २० ५९ साल भदौ १ गते राती दोस्रो पटक  पचास कटेका मेरा बाबाआमालाई  छोडेर माओवादी आन्दोलनमा कि मुक्ति कि मृत्यु भनेर कसम खादै रातो खफन बाँधेर भूमिगत जीवनको सुरुवात गरेको थिएँ ।  त्यस क्षेत्रका सेक्रेटरी भूगोलले हामी ३ जनालाई त्यही रात हिँडाएर सेक्रेटरीकै गाउँमा लैजान सक्त बहादुरलाई निर्देशन दिए । रात छिप्पिदै थियो । झिमझिम पानी परिरहेको थियो । घडीले १० बजाइसकेको थियो । त्यहाँबाट हामी निर्देशन अनुसारको गाउँमा जान हिड्यौँ । करिब एक घण्टाको बाटो हिंडेका थियौँ । पानी धेरै ठूलो पर्यो । खोला तर्नुपर्ने थियो । जुका पनि उत्तिकै लाग्दथ्यो । खोला तर्न सक्ने अवस्था नभएपछि बिहान ५ बजे उठेर हिड्ने सल्लाह गरेर हामी एउटा गोठमा सुत्यौँ ।

बिहान झिसमिसे उज्यालोसंगै उठेर गन्तव्यतर्फ हिड्यौँ । टाकुरीको खोला झरेर काशीकाँधको उकालो हुँदै गोर्तीको बाँसखर्क पुगेका थियौं । त्यहाँ पुग्ने बेलासम्म बिहानको १० बजिसकेको थियो । भोक लागिरहेको थियो । हामीसंग खानेकुरा केही थिएन । हामीले सक्त बहादुरलाई खानेकुराको मेसो मिलाउन भन्यौँ । उनले गाउँमै पोलेको मकै खाने व्यवस्था मिलाए । मकै खाएपछि हामीले यात्रालाई निरन्तरता दियौं । गोर्तीको ओरालो हुँदै खोला तर्यौँ र फेरि उकालो चढ्यौं । करिब ३ बजे भुगोलको घरमा पुग्यौं । थकान र भोक असाध्यै लागिरहेको थियो । भुगोलको आमाले हामीलाई रोटी खान दिनुभयो । हामी त्यहीँ बस्यौं ।

पर्सीपल्ट भुगोल आउनुभयो । हामीलाई एरिया मिलिसियामा समावेश गर्ने जानकारी दिनुभयो । हामी सोही गाउँमा तालिममा १५ दिनजति व्यस्त भयौं । करिब १५ वर्षको उमेरमा हामी सामन्तवादी सत्ताका विरुद्ध पहिलोपटक हतियार समात्यौं । अभियानमा सहभागी भयौं । चामुण्डा हुँदै घुम्ने खालीको कुर्माकोटमा पुग्दा पश्चिम कमान्डको अभियान टिम पनि आयो । त्यो टिममा रहेकी छोरी बिर्मासंग मेरो भेट भयो । म निकै खुसी भएँ । एकदिनको बसाइपछि बिर्मा घर भेटघाट गर्न गइन् । मैले उनीसंग ‘मेरो चिन्ता नलिनु’ भन्ने खबर घरमा पठाएं । म अभियान टोलीसँग पश्चिमतिर लागें । बिर्मा  पूर्वतर्फ लागिन् ।

२०५९ मंसिर २८ गते जनमुक्ति सेनाले जुम्ला सदरमुकाम आक्रमण गर्यो । विजय उत्सवका साथ जनमुक्ति सेनाको एउटा टिम दैलेख आयो । हामी व्यवस्थापनमा खटिएका थियौं । जुम्ला आक्रमणमा बिर्माको बुवा मेरो जेठा दाजु विजय पनि सहभागी भएर दैलेख आउनु भएको थियो । त्यही मौकामा हामीले घर भेटघाटको चटारो मिलायौँ । लामो समयपछि दाजु विजयसङ्गको भेटले म निक्कै उत्साहित थिए । दैलेखको मध्य भेगबाट हाम्रो यात्रा सुरु भयो टाकुरीको लागि। पहाडी भेगका स-साना जङ्गल र जङ्गारहरु छिचोल्दै अविरल बढिरहेका थियौं । यात्राको क्रममै छोरी बिर्माको सहादतको खबरले हाम्रो पाइलाहरु रोकिए । मन अमिलो भयो । धमिनीहरुमा रगत उम्लियो । हामी स्तब्ध भयौं । त्यो अप्रत्याशित घटनाबारे स्थानीय कमरेड सुनाउँदै हुनुहुन्थ्यो । मंसिर २४ गते दैलेख बजारबाट गस्तीमा आएको शाही नेपाली सेनाको जत्थाले भैंसेखोरमा छोरी बिर्मालाई  नियन्त्रणमा लिएको केहिबेरमा बिभत्स हत्या गरेछ । पिडाविहिल मन बोकेर हामी दाजु साँझ घर पुग्यौँ । परिवारजनहरु शोकमग्न थिए । घर परिवारलाई सम्झायौँ । युद्ध र क्रान्तिमा हुने बलिदानले आखिर परिवार र बाचेकाहरुलाई शोकमग्न पार्छ नै, परन्तु हरेक कठिनाईहरुमा उर्जा पनि भरिरहेको हुन्छ । हामीले पनि परिवारमा उर्जा भर्यौ । क्रान्ति, क्रान्ति र फेरि पनि क्रान्तिको मार्गमा अविचलित बढिरहने सङ्कल्प गर्यौँ । केही दिनको परिवारको सामिप्यता र घर बसाईपछि क्रान्ति पूरा गर्ने र दुश्मनसंग बदला लिने प्रतिज्ञा गर्दै विजय दाजु र म क्रान्तिको सुदुर यात्रामा निस्केयौँ ।
सायद ………? 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।