३१ भाद्र २०८१, सोमबार

एकीकृत स्कुलका अनुभूतिहरु

0

            हेमन्त प्रकाश वली

 

एकीकृत स्कुल भनेको एकीकृत जनक्रान्तिको नयाँ कम्युनिस्ट स्कुललाई बुझ्नुपर्दछ ।

नेकपा लुम्बिनी प्रदेश राप्ती क्षेत्रको आयोजनामा दाङमा सञ्चालित ५ दिने माध्यामिक तहको स्कुलिङमा सहभागी हुँदाका अनुभूतिहरु यहाँ साट्न खोजिएको छ ।

स्कुलिङमा प्रदेश अन्तर्गत राप्ती क्षेत्रका सिसिएमहरु , सिआरसी, जवस/मोर्चाका सिसिएम एवम जिल्ला इन्चार्ज र जिल्ला पार्टीका उपल्लो तहका नेताकार्यकर्ता सहभागी हुने नीतिगत निर्णय थियो ।

सोही अनुरुप राप्ती क्षेत्रका दाङ, रोल्पा, रुकुम प्युठानबाट गरि करिब ५० बढी प्रशिक्षार्थीको सहभागिता थियो ।

भदौ ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने स्कुलिङ दाङ जिल्ला दंगिशरण गाउँपालिकाको ऐतिहासिक थारु संग्रहालय चखौरामा हुने भयो ।

दाङमा स्कुलिङ हुने निश्चित भएपछि दाङ पार्टीका जिल्ला इन्चार्ज, सेक्रेटरी एवम अन्य सिसिएमहरु व्यवस्थापकीय जिम्मेवारीमा एकदुई दिन अघिदेखि नै खट्नु भएको थियो ।

भदौ ८ गते साँझ सबै प्रशिक्षार्थीलाई सम्पर्कमा पुग्न निर्देशन थियो । तथापी सम्पर्क स्थल नजिकैका केही कमरेडहरु विहान समयमै सम्पर्कमा पुग्नुभयो । कार्यक्रम प्राविधिक कारणले समयमा सुरु हुन सकेन, केहिबेर ढिला हुन पुग्यो ।

यत्तिकैमा संयोगवस हाम्रो कार्यक्रम हुने ठाउँमा पुगेका लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पार्टीका नेताहरुसंग अनौपचारिक कुराकानी गर्नुभयो । उहाँले आफुपनि पहिले कम्युनिस्ट नै भएको बताउनुभएको थियो । उतिबेला बम्बइमा आफुले मोहनविक्रम सिंहसँग प्रशिक्षण लिने गरेको चौधरीले बताए ।

त्यसपछि कांग्रेस नेता एवम लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले थारुहरुको इतिहास बोकेको संग्राहलयमा कार्यक्रम आयोजना गरेकोमा पार्टीलाई धन्यवाद समेत व्यक्त गरेका थिए । उनले करिव १ घण्टा आफुसंगै संग्रहालयको अवलोकन गर्न अपिल गरे । त्यसपछि नेकपाका स्थायी समिति सदस्य भरत सी, पार्टीका सिसिएमहरु लगाएत प्रशिक्षणमा सहभागी केही कमरेडहरुले संग्रहालयको अवलोकन समेत गरेका हुन् ।

भदौ ९ गते भेषराजव ८/९ बजेतिर माध्यामिक तहको स्कुलिङको उद्घाटन सत्र सुरु भयो । पार्टीका स्थायी समिति सदस्य भरत सीको प्रमुख आतिथ्यता एवम पार्टीका पिबिएम एवम स्कुल विभाग प्रमुख सी, पार्टीका पिबिएम असल सी, पार्टीका सिसिएम तिर्थ सी, पार्टीका सिसिएम प्रयास सी पार्टीका सिसिएम एवम केन्द्रीय सल्लाहकार सुशील सीको आतिथ्यतामा कार्यक्रम सुरु भयो ।

कार्यक्रमको सुरुमा सहिदहरुप्रति मौनधारण, प्रमुख अतिथिबाट मैनबत्ती बालेर उद्घाटन भयो ।

कार्यक्रममा स्वागत मन्तव्य सिसिएम असिना सीले व्यक्त गर्नुभयो भने स्कुलिङ सफलताको शुभकामना केन्द्रीय सल्लाहकार सुशील सीले दिनुभयो ।

उद्घाटन मन्तव्य पार्टीका स्थायी समिति सदस्य भरत सीले व्यक्त गर्नुभयो । त्यसअवसरमा उहाँले समाजवादलाई साम्यवादसम्म कसरी पुर्याउन सकिन्छ भन्ने प्रश्नको उत्तर दिन सक्नुपर्ने समेत बताउनुभयो ।

उहाँले माओ निशानासहितको तीर हान भन्ने भनाईलाई उद्दृत गर्दै सहि निशानामा तीर हान्न स्कुलिङ महत्वपूर्ण रहने विश्वास समेत व्यक्त गर्नुभयो ।

त्यसलगत्तै उद्घाटन सत्रका सञ्चालक पार्टी सिसिएम सविन सीले स्कुलिङको समयतालिका एवम आचारसंहिता प्रस्तुत गर्न स्कुल विभाग प्रमुख भेषराज सीलाई अनुरोध गर्नुभयो ।

कमरेड भेषराज सीले स्कुलिङ अवधिभरको समयतालिका र आचारसंहिता सबै प्रशिक्षार्थीलाई टिपाउनुभयो । साथै उहाँले स्कुलिङ अवधिभर कक्षा क्याप्टेनको भुमिका निर्वाह गर्न पार्टीका जिल्ला इन्चार्ज सविन सीलाई तोकिएको घोषणा गर्नुभयो ।

समयतालिका अनुसार दिनमा ११ घण्टाको अवधी छुट्याई ११ वटा १/१ घण्टाका कक्षाहरु सञ्चालन हुने तालिका थियो । तर त्यसबिचमा खाना, चिया, आराम समय अलग थियो ।

आचारसंहितामा पनि कक्षाकोठामा अनुशासित भएर बस्नुपर्ने, सरसफाइमा विशेष ध्यान दिनुपर्ने, केही सुझाव भए कक्षा क्याप्टेनलाई भन्नुपर्ने बाहिर भन्न नपाइने, साँझ १० बजेभित्र सुतिसक्नुपर्ने, विहान समयमै उठ्ने, व्यायाम गर्नुपर्ने नियमहरु समावेश थिए ।

त्यसपछि उद्घाटन सत्रका सञ्चालक कमरेड सविन सीले प्रशिक्षक र उहाँका विषयवस्तुका बारेमा स्पष्ट पार्नुभयो ।

दर्शनशास्त्रमा पार्टी स्थायी समिति सदस्य भरत सी, राजनीतिक अर्थशास्त्र सम्बन्धी स्कुल विभाग प्रमुख भेषराज सी, समाज विज्ञान पार्टी पिबिएम असल सी, वैज्ञानिक समाजवाद समबन्धी पार्टीका सिसिएम तिर्थ सी र भौतिक विज्ञान सम्बन्धी पार्टीका सिसिएम प्रयास सीले प्रशिक्षित गर्ने हुनुभयो । साथै सविन सीले प्रशिक्षार्थी सबैलाई आ-आफ्नो परिचय र हैसियत भन्न लगाउनुभयो । त्यसलगत्तै उद्घाटन सत्र औपचारिक रुपमा समापन भयो ।

उद्घाटन सत्रको कार्यक्रम समापन लगत्तै सबै प्रशिक्षार्थी र प्रशिक्षक कमरेडहरु विहानको खाना खानको लागि मेसतर्फ हिड्नुभयो ।

समयतालिका अनुसार खाना खाएर सबैले आराम गरिसकेपछि दिउँसोको १:३० बजेदेखि स्कुलिङका औपचारिक कक्षाहरु सुरु भए ।

स्कुकिङ अवधीभर सबै प्रशिक्षक कमरेडहरुले सरल र सविस्तार ढंगले अध्यापन गराउनुभयो ।

विशेषगरी पार्टीका स्थायी समिति सदस्य भरत सीले दर्शनशास्त्रको विषयमा प्रशिक्षित गर्नुभयो । उहाँले कार्यव्यस्तता कारण  स्कुलको ५ दिनसम्म समय दिन नसकेपनि ३ दिनमा आफ्ना विषयहरु टुंग्याउने काम गर्नुभयो । उहाँले दर्शनमा नेकपाको विकास, मार्क्सवादी दर्शनको रक्षा र विकास, मार्क्सवादी दर्शको उदय, मार्क्सवादी दर्शको मौलिक विकास, द्वन्द्ववादका नियमहरु, दार्शनिक अवधारणाहरु, दार्शनिक प्रवर्गहरु, द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्त, वैज्ञानिक ज्ञान प्राप्तिका विधिहरु, दर्शनमा लेनिन र माओका योगदानहरु, मालेमावादमा नेकपाको विकास, एकीकृत जनक्रान्तिको विचार, एकीकृत जनक्रान्तिको विचारका आयामहरु, एकीकृत जनक्रान्तिको नयाँ स्कुल लगाएतका अन्य थुप्रै बिषयवस्तुमा प्रशिक्षित गर्नुभयो ।

उहाँले प्रशिक्षणको क्रममा दर्शनको ज्ञानविना क्रान्ति गर्न नसकिने कुरामा जोड दिनुभयो । साथै जिवनलाई दार्शनिकरण र दर्शनलाई जीवन प्रदान गरिरहनुपर्ने कुरामा जोड दिनुभयो ।

यसैगरी भेषराज सरले राजनीतिक अर्थशास्त्रका बारेमा अध्यापन गराउनुभयो । उहाँले अर्थशास्त्रका निकै गहन विषयवस्तुलाई अत्यन्त मेहनतका साथ प्रशिक्षित गर्नुभयो । उहाँको अध्यापन शैली अत्यन्त सरल र सुन्दर एवम मिठासपुर्ण स्वरमा प्रशिक्षार्थीको ध्यान खिच्न सक्षम हुनुहुन्थ्यो ।
उहाँले स्कुलिङ अवधीभर मार्क्सवादका संघटक अंगहरु , मार्क्सवादी राजनीतिक अर्थशास्त्रको विकासक्रम , ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद , समाजवादी अर्थशास्त्रमा मार्क्स/एंगेल्सका योगदानहरु , वैज्ञानिक समाजवादी अर्थशास्त्रमा लेनिनका योगदानहरु , माओका योगदानहरु , राजनीतिक अर्थशास्त्र अध्यनको महत्व , राज्यसत्ताको आधार र उपरीसंरचना , राजनीतिक अर्थशास्त्र अध्यनको क्षेत्र , उत्पादन र माल उत्पादन , मूल्य , मुल्य निर्धारण र अतिरिक्त मूल्य , एकीकृत स्वामित्वको अर्थप्रणाली लगाएतका थुप्रै विषयवस्तुमा ५ दिनसम्म प्रशिक्षार्थीलाई प्रशिक्षित गर्नुभयो ।

यस्तै पार्टीका पिबिएम असल सीले समाज विज्ञानका थुप्रै बिषयवस्तुमा निकै मिहिन र गहन ढंगले प्रशिक्षित गर्नुभयो । उहाँले पार्टीको कार्यनीति र रणनीतिका बिषयमा सहभागी प्रशिक्षार्थीलाई स्पष्ट पार्नुभयो । उहाँले वर्गसंघर्ष नै समाज रुपान्तरणको वैज्ञानिक तरिका भएको कुरामा जोड दिनुभयो ।

यस्तै पूर्वका प्रशिक्षक एवम पार्टीका सिसिएम तिर्थ सीले वैज्ञानिक समाजवादको विषयमा प्रशिक्षण दिनुभयो । कमरेड तिर्थको अध्यापन शैली अत्यन्त प्रभावकारी रह्यो ।

उहाँले अन्तरक्रियात्मक शैलीबाट पढाउदा थुप्रै बिषयवस्तुहरु छिट्टै दिमागले पकड्न सक्ने अनुभूति भयो ।

उहाँले मानव समाजको विकासक्रम: आदिम साम्यवाद, दास युग, सामन्तवाद, पुजीवाद, वैज्ञानिक समाजवादका बारेमा, उत्पादक शक्ति र उत्पादनका साधनहरुका बारेमा एकदमै सरल र सहज ढंगले प्रशिक्षित गर्नुभयो ।

यस्तै भौतिक विज्ञानको बिषयमा पार्टीका सिसिएम प्रयास सीले अध्यापन गराउनुभएको हो । उहाँले बिशेषगरी भौतिक विज्ञानका थुप्रै नियमहरु तथा सिद्धान्त, Black Hole,  क्वान्टम सिद्धान्त, अनिश्चयको सिद्धान्तका बारेमा अत्यन्त प्रभावकारी ढंगले प्रशिक्षित गर्नुभएको हो । उहाँको अध्यापनको कमाण्डिङ विधि सह्रानीय थियो ।

उहाँको म्याक्स प्ल्याङको अनिश्चयको सिद्धान्तमा गणितीय सम्भावनाको सिद्धान्त जोडेर अनिश्चय, सम्भावना, रक्षा र रुपान्तरणको नियम विकास गरेको बताउनुभयो र यस बारेमा गहिराईमा प्रशिक्षित समेत गर्नुभयो ।

अनिश्चयको सिद्धान्तमा विकास नगरी त्यसै छोड्दा निराशा बढ्ने, क्रान्ति सम्पन्न गर्ने स्पिरिट पैदा नहुने यसलाई पार्टीले गणितीय सम्भावनाको सिद्धान्त सहित विकास गरेर समाज विज्ञानमा नयाँ सिद्धान्त प्रतिपादन गरेको बताउनुभयो ।

अहिले हामी बाँचिरहेको विज्ञानको चौथो लहर भएको र छैठौं लहरसम्म परिकल्पना गर्न सकिने भन्दै परिकल्पनाका मुलभूत पक्षहरु प्रशिक्षार्थीलाई अध्यापन गराउनुभयो । उहाँले अब हामीले विज्ञान होइन जनविज्ञान भन्नुपर्ने भन्दै यसका बारेमा प्रष्ट समेत पार्नुभएको हो ।

यसरी माध्यामिक तहको स्कुलिङ उत्साहपुर्ण ढंगले सम्पन्न भएको हो । स्कुलिङमा दुईवटा पुस्ताको मिश्रण थियो । एउटा जनयुद्धबाट लड्दै आएको पुस्ता र अर्को एकीकृत जनक्रान्तिको नयाँ पुस्ता । यसका आफ्नै बिशेषता, स्वभावहरु हुने नै भए । मुख्य कुरा महासचिव क.विप्लव सीले भनेझैं ‘नयाँ प्रतिको त्रास भनेको पुरानोको ज्ञान नहुनु हो’ भन्ने कुरा बोध गरेका छौँ । तर पुरानो कम्युनिस्ट स्कुलले लक्ष्य भेदन गर्न नसकेको परिणामलाई नयाँ स्कुलले सम्बोधन गर्ने विश्वासको जागरण पैदा भएको छ ।

स्कुलिङमा मौलिक प्रकारका नाँचगान, रमाइलोका क्षणहरु अविस्मरणीय हुनेछन् । एकीकृत स्कुलले पुरानो र नयाँ कम्युनिस्ट स्कुलको अन्तरविरोध हल गर्ने प्रयास गरेको अनुभूति भएको छ ।

दलाल पुजीवादको अजिंग पहाड भत्काउन एकीकृत स्कुललाई धारिलो नपारी सम्भव छैन भन्ने अनुभूति भएको सबैसंग साट्न चाहन्छु ।

भदौ ९ गतेदेखि सुरु भएको स्कुलिङ १३ गते दिउँसो १ बजे सम्पन्न भयो । औपचारिक समापन एवम फेरि भेटौला कार्यक्रम मार्फत सम्पन्न भएको हो ।

पार्टीका पिबिएम एवम स्कुलिङ विभाग प्रमुख भेषराज सीको प्रमुख आतिथ्यता एवम पार्टीका पिबिएम आदर्श सीको अध्यक्षतामा स्कुलिङको समापन गरिएको हो ।

समापन कार्यक्रममा सबै प्रशिक्षक कमरेडहरु , पार्टीका सिसिएमहरु, पार्टीका केन्द्रीय सल्लाहकारका कमरेडहरुको समेत आतिथ्यता थियो ।

समापन कार्यक्रम प्रतिनिधिमुलक ढंगले ५ जना कमरेडहरुले सुझाव एवम अनुभूति राख्नुभयो । ५ दिने स्कुलिङको आय/व्यय दाङ पार्टीका सचिव तिलक सीले पेश गर्नुभएको हो ।

समापन कार्यक्रममा स्कुलिङ अवधिभर मेसमा खट्ने कमरेडहरुलाई अतिथिको मन्चमा उभ्याई सबै प्रशिक्षार्थी एवम अतिथिहरुले  ‘लाल सलाम’सहित धन्यवाद व्यक्त गरिएको थियो ।

समापनमा सबै प्रशिक्षक कमरेडहरुलाई ऐतिहासिक थारु संग्रहालयको माया चिनो (कफि कप) प्रदान गरिएको थियो ।समापन लगत्तै खाना खाएर सबै कमरेडहरु आ-आफ्नो गन्तव्यतिर प्रस्थान गर्नुभयो । सबैले सबैलाई भन्यौं  ‘फेरि भेटौला’!


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।