![](https://janapatrika.com/wp-content/uploads/2025/02/Messenger_creation_4B6D7714-9F57-423C-B33C-4F73E8CC32A2.jpg)
तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दंगिशरण गाउँकमिटीले समाजवादका पक्षमा अभियान चलाउने निर्णय गरेको छ ।
मंगलबार पार्टीको चौथो आवधिक योजनाको प्रथम बैठकले दंगिशरण गाउँपालिकाभरी समाजवादको पक्षमा अभियान चलाउने निर्णय गरेको हो ।
बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले नेपाली जनताको समाजवाद प्राप्तिको सपना सन्निकट रहेकाले नेताकार्यकर्ताको काँधमा महत्वपूर्ण जिम्मेवारी आइपुगेको बताए ।
उनले भने – ‘आज मुलुकको दलाल पुजीवादी व्यवस्था दिनानुदिन असफल सिद्ध हुँदै गएको छ । यो व्यवस्थाले आज देश र जनताका विरुद्धमा अपराध गरिरहेको छ । यो देशमा युवाहरुले भविष्य देख्दैनन् । लाखौं युवाहरुले आफ्नो श्रम सस्तोमा खाडीमा बेच्न बाध्य भएका छन् । उत्पीडित जाती, क्षेत्र, लिंग, समुदायका मान्छेहरुले प्राप्त केही उपलब्धीहरु पनि गुम्ने खतरा छ । हाम्रो पार्टी यसको निकास समाजवादी राज्यव्यवस्थाबाट गर्नुपर्दछ भनेको छ । अब नेकपाका नेताकार्यकर्ताहरुले गाउँगाउँमा पुगेर दलाल पुजीवादको भण्डाफोर गर्दै समाजवादको पक्षमा जनलहर सिर्जना गर्नुपर्ने हुन्छ ।’
नेता सविनले पार्टीले ०८४ को निर्वाचनलाई समाजवादी अभियानका रुपमा संघर्षको मोर्चा बनाएर प्रयोग गर्ने निर्णय गरेकाले नेताकार्यकर्ता अब जनतालाई दलाल पुजीवादको भ्रमबाट मुक्त गरि समाजवादी अभियानमा लामबद्ध गर्न लाग्नुपर्ने निर्देशन दिए ।
‘नेपालका संसदवादी दल र तिनका नेताकार्यकर्ता नराम्रो गरि गन्हाएका छन् । भ्रष्टाचार, अनियमितता, लुटपाट, राज्य दोहनको सिमा नाँघेका छन् । यी दलबाट नेपाली जनता आजित भएका छन् । अझ रोचक कुरा नयाँ भनिएका रविहरु पनि उस्तै उहीँ ड्याङका मुला सावित भएका छन् । नेपाली जनतालाई यी दलका नेताहरुले सदियौँदेखि लुटिरहेका छन् । नेपालमा हाम्रो पार्टी र नेतृत्वमा कुनै खोट लगाउने ठाउँ छैन, यो हामीले होइन जनताले भनिरहेका छन् । जनताले अब विप्लवको विकल्प छैन भन्न थालेका छन् । हाम्रो पार्टी आफ्नै श्रम र पौरखमा बाँचेको पार्टी हो । हामीले कृषि उत्पादनमार्फत नेताकार्यकर्तालाई आत्मनिर्भर बनाउँदै अन्ततः देशलाई समृद्धितिर दिशा दिने महान अभियानमा छौँ । जनतासंग छलफल गर्न डराउनु पर्दैन । अहिले दलालहरुलाई उनीहरुका कुकर्मले गर्दा जनताले गाउँगाउँबाट लखेटेका छन् । तर हाम्रो पार्टीलाई जनताले असाध्यै माया गर्ने गर्दछन् । अब केही गर्यो भने यहि पार्टीले गर्छ भन्ने विश्वास छ । त्यसकारण उच्च मनोबलका साथ जनतासामु जानुस्, संगठन बनाउनुस् समाजवादको लक्ष्य नजिक छ,’ नेता सविन सीले भने ।
यस्तै बैठकमा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सेक्रेटरी तिलक सीले पार्टी जनतामाझ स्थापित हुँदै गएकाले नेताकार्यकर्ताले आफ्नो भुमिकालाई नयाँ ठाउँमा उभ्याउनुपर्ने आवश्यकता रहेको बताए ।
नेता तिलकले समग्र जिल्लाको कार्ययोजना पेश गर्दै आगामी ०८४ को निर्वाचनमा नेकपा र समाजवादको नाराले जिल्लालाई गुन्जाएमान बनाउने कार्यनीतिलाई सफल पार्न सबै कम्युनिस्ट, देशभक्त, प्रगतिशिल एवम वामपन्थीसंग मोर्चाबन्दी नीति जोड्दै जनतामाझ पुग्न सुझाव दिएका हुन् ।
नेकपाका केन्द्रीय सदस्य एवम दंगिशरण गाउँकमिटी इन्चार्ज जिवनी सीको अध्यक्षता एवम सहजीकरणमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला सेक्रेटरी तिलक सी, अखिल (समाजवादी)का केन्द्रीय सदस्य नवीन सी लगाएतको आतिथ्यता रहेको थियो ।
बैठकले दंगिशरण गाउँकमिटीको सेक्रेटरीमा बिनकलाल सीलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।