३० माघ २०८१, बुधबार

सहिदका सन्ततिलाई सम्बोधन गर्दै विप्लवले भने‘क्रान्ति जारी छ, हाम्रो पार्टीले नेतृत्व गर्छ’

0

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले मुलुकमा जनताको सत्ता प्राप्तिको लडाइँ जारी रहेको बताएका छन् ।
बुधबार दाङको सहिद स्मृति आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत सहिदका सन्ततिलाई सम्बोधन गर्दै महासचिव विप्लवले उक्त कुरा बताएका हुन् ।

सहिदका सन्ततिसंग संक्षिप्त कुराकानी गर्दै विप्लवले भने– ‘तपाईंहरुका बुवाआमाको बलिदानले यो देशमा गणतन्त्र आएको छ । गणतन्त्र प्राप्त गर्न सबैभन्दा ठूलो योगदान माओवादी जनयुद्धको हो र त्यसमा सहादत प्राप्त गर्ने महान सहिदहरुको हो । गणतन्त्र त आयो तर यो मुठ्ठीभर दलालहरुको कब्जामा गएको छ । अहिलेपनी सत्ता आम नेपाली श्रमिक जनताको बन्न सकेको छैन् । त्यसकारण जनताको राज्य बनाउने आन्दोलन जारी छ । यो गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्ने आन्दोलन जरुरी छ , यसको नेतृत्व हाम्रो पार्टीले गर्छ ।’

‘आज नेपालमा राजनीति गर्नुहुँदैन भन्ने भाष्य जबर्जस्त खडा गरिएको छ । विद्यार्थीले राजनीति गर्नुहुँदैन भनिन्छ। विद्यार्थीले राजनीति गर्नुपर्दछ तर दलालहरुको सेवा गर्न होइन । तपाइँहरुले राजनीति जनताको सेवा गर्न गर्नुपर्दछ । युवाहरुले यहीँ देशमा भविष्य देख्नुपर्दछ। आज विदेश विदेशको हल्ला चलाइएको छ । यो दुषित हल्ला हो , हावा कुरा हो यो । हामीले आफ्नै पसिना र पौरखले यो मुलुकलाई समृद्ध बनाउने गरि अभियान छेड्नुपर्छ ,’ सहिदका सन्ततिसंग कुराकानी गर्दै विप्लवले भने।

महासचिव विप्लवले विद्यालयका विविध प्रकारका समस्याहरु समाधान गर्नको लागि पार्टीले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसैबिच नेकपाका महासचिव विप्लव सीले अहिलेको दलाल पुजीवादी राज्यसत्ताको विकल्पमा नेकपाले नेपाली विशेषताको समाजवादको प्रस्ताव अघि सारेको बताए ।

उनले ०८४ को निर्वाचनमा नेकपा सहभागी हुने बताए ।
‘आगामी चुनावमा नेकपा पनि लड्छ । हामी यो दलाल पुजीवादको विकल्पमा समाजवादी व्यवस्थाको एजेन्डा सहित निर्वाचनमा जान्छौं । एकपटक संसद , सडक दुबै ठाउँबाट जनताको पक्षमा लड्ने चाहना छ । ०८४ को निर्वाचनलाई समाजवादी अभियानको रुपमा हेरेका छौँ,’ उनले भने।

कार्यक्रममा सहिद स्मृति आवासीय माध्यामिक विद्यालय तुलसीपुर -१७ बनकट्टिका प्रधानाध्यापक नारायण पौडेलले विद्यालयको प्रतिवेदन नेकपाका महासचिव विप्लवलाई हस्तान्तरण समेत गरेका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी, पार्टी केन्द्रीय सदस्य सम्झना सी, पार्टी केन्द्रीय सदस्य प्रदिप सी, तिलक सी, विद्यालयका प्रअ एवम शिक्षक-शिक्षिकाहरुको आतिथ्यता रहेको थियो ।

यसैबिच विप्लवले बुधबार नै सहिद स्मृति विद्यालयको अवलोकन समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।