७ फाल्गुन २०८१, बुधबार

दाङमा विविध कार्यक्रम गरी जिल्लाव्यापी मनायो नेकपाले जनयुद्ध दिवस

0

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले ऐतिहासिक जनयुद्ध दिवस जिल्लाव्यापी मनाएको छ ।
बिहीबार पार्टीले जिल्लाको घोराही, तुलसीपुर, लमही, राप्ती, गढवा र बबई गाउँपालिकामा विविध कार्यक्रम गरि दिवस मनाएको हो ।

३०औँ जनयुद्ध दिवसको अवसरमा नेकपाको तुलसीपुर उपमहानगर कमिटीले बिजौरीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । साथै तुलसीपुरमा अ.ने.म.संघ क्रान्तिकारीले घैटोफोड प्रतियोगिता समेत सम्पन्न गरेको जनाएको छ ।

तुलसीपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज प्रदिप सीले जनताको मुक्तिका खातिर लडिएको महान जनयुद्धलाई नेपाली जनताको उत्सव बनाउनुपर्ने बताए ।

उनले भने – ‘ यो नेपाली जनताले लडेको एउटा ऐतिहासिक क्रान्ती हो । अहिले केही फटाहाहरुले जनयुद्धलाई अपराधिकरण गर्न खोजेपनि यसलाई इतिहासले सम्झिने छ । यो सम्मान, सम्झना र प्रतिबद्धताको ऐतिहासिक दिन पनि हो । यो गौरवपूर्ण दिनलाई सारा नेपालीले हर्षका साथ देशव्यापी मनाइरहेका छन् । जनयुद्धका सपनाहरु पूरा भएका छैनन्, केही बाँकी छन् ती पूरा गर्ने अभिभारा नेकपाको काँधमा छ ।’

नेता प्रदिप सीले जनयुद्धले गणतन्त्र प्राप्त भएपनि मुलुकमा नेपाली जनताले वास्तविक गणतन्त्रको महसुस गर्न नपाएको भन्दै समाजवादी सत्ता स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।

 

कार्यक्रमको अध्यक्षता नेकपा तुलसीपुरका सेक्रेटरी रुद्र सीले गरेका थिए भने सहजीकरण पार्टी दाङ जिल्ला सचिवालय सदस्य अरुणा सीले गरेकी हुन् ।

कार्यक्रममा नेकपाका विभिन्न तहका नेताकार्यकर्ताको आतिथ्यता रहेको थियो ।

यस्तै बिहीबार नेकपाको घोराही उपमहानगर समितिले ३०औं जनयुद्ध दिवस भव्यताका साथ मनाएको छ ।

घोराहीस्थित उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरि उपमहानगर समितिले शुभकामना आदानप्रदान कार्यक्रममार्फत दिवस मनाएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेकपाका केन्द्रीय सदस्य सम्झना सीले जनयुद्धले सामन्तवादलाई परास्त गरेपनि संसदीय व्यवस्थालाई परास्त गर्न बाँकी रहेको बताइन् ।

नेता सम्झनाले भनिन् – ‘जनयुद्धले सामन्तवादलाई परास्त गर्यो तर उहीँ पुरानै संसदीय व्यवस्था यथावत छ । देशमा गणतन्त्र त आयो तर केवल मुठ्ठीभर दलालहरुको कब्जामा गयो । मुलुकमा अहिले दलाल पुजीवादी व्यवस्थाको हैकम छ । गणतन्त्रलाई दलाल पुजीवादले हरण गरेको छ । यो गणतन्त्र बहुसंख्यक श्रमिक जनताको हातमा छैन् । त्यसकारण लडाइँ सकिएको छैन । हाम्रो पार्टीले यो दलाल पुजीवादी सत्ता ढाल्न नेपालमा एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर समाजवादी व्यवस्था प्राप्तिको लडाइँको नेतृत्व गरिरहेको छ ।’

‘जनयुद्धका कमान्डरहरु मोजमस्तीमा फसेका छन् तर जनयुद्धमा योगदान गर्ने सहिद परिवार, घाइते योद्धाहरु एवम वेपत्ता परिवारको अवस्था आजपनि कष्टकर अवस्थाको छ । हामीले यो अवस्था बदल्ने गरि नयाँ क्रान्तिको यात्रा सुरु गरेका हौं । नेपालका सबैखाले समस्याको समाधानका लागि नेपाली विशेषताको समाजवाद अपरिहार्य बनेको छ । अबको नेपाली समाज समाजवाद प्राप्तिको दिशामा अग्रसर हुँदैछ,’ उनले भनिन् ।

यस्तै कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज पाटन सीले जनयुद्धको योगदानलाई अवमूल्यन गर्ने तत्वलाई इतिहासको कठघरामा उभ्याइने बताए ।

नेता पाटनले जनयुद्धको जगमा बनेको अहिलेको राज्यसत्तामा बसेर जनयुद्धलाई नै अपराधिकरण गर्न खोज्नेहरुको हिसाबकिताब इतिहासले गर्ने चेतावनी समेत दिएका थिए ।

उनले इतिहास मेटाउन नहुने भन्दै जनयुद्ध नेपालमा चलेका मुक्तिकामी संघर्षहरु मध्य सर्वश्रेष्ठ आन्दोलन भएको जिकिर गरेका हुन् ।

यस्तै कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सेक्रेटरी तिलक सीले जनताको व्यवस्था प्राप्तिको लडाइँ अझै नसकिएको बताए ।

उनले उपलब्धिहरु केवल मुठ्ठीभर मान्छेहरुका लागि नभई आम श्रमिक जनताका लागि आउनुपर्ने उद्घोष गरेका थिए ।
कार्यक्रममा नेकपा निकटका जवस/मोर्चाका नेताकार्यकर्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेकपाकी केन्द्रीय प्रतिनिधि सदस्य अशोका सीको सहजीकरणमा भएको कार्यक्रमको अध्यक्षता नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराही उपमहानगर कमिटीका सेक्रेटरी महान सीले गरेका थिए ।

यस्तै नेकपाको बबई गाउँकमिटीले ३०औं जनयुद्ध दिवसको अवसरमा अविर आवरण सहित एकीकृत जनक्रान्तिका सहिद महानको शालिक निर्माणमा श्रमशिविर चलाएको जानकारी दिएको छ ।

यसैबिच नेकपा लमहीले ३०औँ जनयुद्ध दिवसमा अविर आवरण गरि मनाएको छ भने पार्टीको राप्ती गाउँकमिटीले पालिकाको भालुबाङमा कम्युनिस्ट पार्टीको झण्डा गाडेर, अविर आवरण गरेर दिवस भव्यताका साथ मनाएको छ ।

नेकपा गढवा गाउँकमिटीले जनयुद्ध दिवसमा महायज्ञ स्थल परिषर सरसफाइ एवम गढवा चोकमा जेब्रा क्रसिङ निर्माण गरेर ३०औँ जनयुद्ध दिवसको वार्षिकोत्सव मनाएको जानकारी दिएको छ ।

यता जनयुद्ध दिवसमा बिहीबार बिहानै नेकपाका नेताकार्यकर्ताले तुलसीपुरस्थित सहिद स्मृति आवासीय माध्यामिक विद्यालयमा सहिद सन्ततिलाई फलफुल वितरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।