
स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्रले स्याङ्जाको वालिङमा बिहीबार संयुक्त रुपमा ३० औं जनयुद्ध दिवस मनाएका छन् ।
स्याङ्जाको वालिङ मोडको सडकमा संयुक्त रुपमा दिप प्रज्वलन गरि कोणसभा गरिएको थियो । कोण सभामा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज पुनर्जीत सी र नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कल्पना अर्यालले बोल्दै प्रतिगामी तत्वहरुले जनयुद्धलाई हिंसा भन्दै गरेको र दिवस मनाउन नहुने भनिरहेका बेला जनयुद्धका सहयात्री माओवादी घटकका यी दुई पार्टीेले जनयुद्ध दिवस संयुक्त रुपमा मनाउनु ऐतिहासिक कदम भएको बताए । जनयुद्ध दिवसका अवसरमा दुवै पार्टीका नेताहरुले जनयुद्धका सहयात्रीहरु दलहरु एकताबद्ध हुनुको विकल्प नभएकोमा जोड दिएका छन् । जनयुद्धको लक्ष्य उद्देश्यहरु अझै पूरा नभएको भन्दै जनयुद्धको लक्ष्य उद्देश्यहरु पूरा गर्न सम्पूर्ण माओवादीहरुको रुपान्तरणसहितको एकता आवश्यक भएको टिप्पणी गरे । वक्ताहरूले नेपालमा जनयुद्धकै कारण गणतन्त्रसम्म देश आएपनि यो नेपाली जनताको गणतन्त्र बन्न नसकेको भन्दै जनताको व्यवस्था वा गणतन्त्रका लागि नेपाली विशेषताको समाजवाद आवश्यक रहेको जिकिर गरे । उनीहरुले जनयुद्धको सपना पूरा नभएको बताउदै माओवादीहरुको एकताले जनयुद्धको सपना पूरा गर्नु पर्नेमा जोड दिए ।
कोण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी दुर्गा सी, केन्द्रीय प्रतिनिधि सदस्य ध्रुव सी, शिव सी, जिल्ला सदस्य बालकृष्ण सी, रविन सी, पुरन सी लगायत माओवादी केन्द्र केन्द्रीय सदस्य किरण न्यौपाने, ध्रुव गुरुङ,भक्त गोतामे लगायतका नेताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन नेकपा केन्द्रीय प्रतिनिधि सदस्य ध्रुव सीले गरेका थिए ।