
स्याङ्जा/ ३० औँ जनयुद्ध दिवसको अवसरमा गण्डकी प्रदेशका विभिन्न जिल्लाहरू गोरखा, तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, बागलुङ, पर्वत, म्याग्दी, मनाङ, मुस्ताङ र नवलपुरले छुट्टाछुट्टै कार्यक्रमहरु गरी जनयुद्ध दिवस मनाएका छन् । कतिपय जिल्लाहरुमा कोणसभा, दीप प्रज्ज्वलन, अन्तरक्रिया लगायतका कार्यक्रमहरूमार्फत जनयुद्ध दिवसलाई सम्झना गर्दै यसको ऐतिहासिक र सामाजिक महत्वलाई उजागर गरिएको छ ।
गण्डकी प्रदेशका प्रदेशको इन्चार्ज नेकपाका स्थायी समिति सदस्य शिलु सीले तनहुँमा भएको कार्यक्रममा उपस्थित सदस्यहरू र जनसमुदायकामाझ जनयुद्धको गौरवमय इतिहास र भविष्यका यात्राबारे आफ्नो विचार व्यक्त गरिन् । “जनयुद्धले नेपालमा सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरण ल्याएको छ र आज हामीले यस दिवसलाई एउटा ऐतिहासिक स्मरणको रूपमा मात्र नभई, जनयुद्धका सहिद र बलिदानीहरूलाई सम्मान गर्दै, नेपालमा समाजवाद ल्याउने अभिभारा पूरा गर्नुपर्छ ।” उनले भनिन् ।
प्रदेशका प्रत्येक जिल्लामा आयोजना गरिएको कोणसभामा स्थानीय नेताहरू र जनप्रतिनिधिहरूले जनयुद्धको दीप प्रज्ज्वलन समारोहमार्फत जनयुद्धका बलिदानीहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको छ ।
तनहुँ :
नेकपा तनहुँले जनयुद्ध दिवसको अवसरमा राजनैतिक तथा वैचारीक प्रशिक्षणको कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा पार्टीका नेताहरू र कार्यकर्ताहरूलाई जनयुद्धका ऐतिहासिक उपलब्धिहरूको संरक्षण र नेपाली विशेषताको समाजवादका लागि प्रेरणादायक सोच विकसित गर्ने उदेश्यका साथ गहन प्रशिक्षण दिइएको थियो ।
मुख्य अतिथिको रूपमा उपस्थित भएकी नेकपाका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले जनयुद्ध दिवसको शुभकामना दिदै सबैलाई नेपाली विशेषताको समाजवादमा अगाडि बढ्न अपिल गरिन् । एकिकृत जनक्रान्ति नै समाजवादको आधार हो भन्दै महत्वपूर्ण सन्देश दिएकी थिइन् ।
कास्की :
नेकपा कास्कीले बिहीबार शुभकामना आदानप्रदान गरी दिवस मनाएको छ ।
नेकपा कास्कीले बिहीबार शुभकामना आदानप्रदान गरी दिवस मनाएको छ ।
कास्की जिल्ला सेक्रेटरी उमेश सीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य प्रसिद्ध सी र कुमार सी, तमु मुक्ति मोर्चा केन्द्रीय अध्यक्ष किसान सी, विद्यार्थी, संगठन कास्कीका इन्चार्ज पुरन सी, मगर मुक्ति मोर्चा कास्की अध्यक्ष टेक सी, श्रमिक समुदाय मोर्चा कास्की अध्यक्ष अमृत सी, युवा संगठन कास्की अध्यक्ष मिलन सी, मजदुर केन्द्रीय सदस्य गौमती सी, स्वास्थ्यकर्मी नेता मणि सी, बेपत्ता परिवारकी मोतिमाया पौडेल, सोममाया सी लगायतले बोलेका थिए ।
नवलपूर :
नेपाल कम्युनिष्ट पार्टी नवलपुरले कावासोतीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
३० औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज जुझारु सीले जनयुद्धको सुरुवात, उद्देश्य र यसले ल्याएको परिवर्तनहरूको चर्चा गर्दै यो संघर्षले देशमा ल्याएको सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनहरूको हकदार माओवादी रहेको बताए ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य, किशन शर्माले पार्टीभित्रको एकताको महत्त्व र देशको समृद्धिका लागि सबैलाई मिलेर अघि बढ्न आह्वान गरेका थिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) नवलपुर जिल्ला कावासोती नगरका पूर्व अध्यक्ष रामराज पण्डित, नेकपा नवलपुर जिल्ला सल्लाहकार समितिका सदस्यहरू, राजकुमार सी, भरत सी, कोष बहादुर सी, टेक बहादुर सी, रेखा बहादुर सी र सहिद/बेपत्ता परिवारका प्रतिनिधि कमलराज ज्ञवाली अतिथिका रूपमा उपस्थित थिए ।
म्याग्दी :
म्याग्दीमा नेकपा र माओवादी केन्द्रले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाएका छन् । फागुन १ गते बिहिबारको ३० औ जनयुद्ध दिवसलाई संयुक्त रुपमा मनाएका हुन् ।
म्यादीको बेनी बजार माओवादी केन्द्र को जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य राजन सीले जनयुद्धका उपलब्धीहरु रक्षार्थ सबै माओवादीहरु मोर्चाबन्दी हुनुपर्ने बताए । उनले केही व्यक्तिहरुले जनयुद्दधलाई जनयुद्धको रुपमा नमान्दैमा त्यसको महत्व कम नहुने बताउँदै माओवादीसहित विचार मिल्नेहरुलाई एक हुने सन्देश जनयुद्ध दिवसले दिएको पनि बताए ।
यस्तै कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला संयोजक गोविन्द पौडेलले जनयुद्ध देशको राजनीतिक परिवर्तनको सबैभन्दा महत्वपूर्ण कडी भएको भन्दै अब सम्पूर्ण माओवादीहरु एक हुन जरुरी रहेको बताए ।
स्याङ्जा :
नेपाल कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्रले स्याङ्जाको वालिङमा बिहीबार संयुक्त रुपमा ३० औं जनयुद्ध दिवस मनाएका छन् ।
कोण सभामा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज पुनर्जीत सी र नेकपा माओवादी केन्द्रिय सदस्य कल्पना अर्यालले बोल्दै प्रतिगामी तत्वहरुले जनयुद्धलाई हिंसा भन्दै गरेको र दिवस मनाउन नहुने भनिरहेका बेला जनयुद्धका सहयात्री माओवादी घटकका यी दुई पार्टीेले जनयुद्ध दिवस संयुक्त रुपमा मनाउनु ऐतिहासिक कदम हो । जनयुद्ध दिवसका अवसरमा दुवै पार्टीका नेताहरुले जनयुद्धका सहयात्रीहरु दलहरु एकताबद्ध हुनुको विकल्प नभएकोमा जोड दिएका छन् ।
स्याङ्जाको वालिङ मोडको सडकमा सयुक्त रुपमा दिप प्रज्वलन गरि कोण सभा गरिएको थियो । नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी दुर्गा सी, केन्द्रीय प्रतिनिधि सदस्य ध्रुव सी, शिव सी, जिल्ला सदस्य बालकृष्ण सी, रविन सी, पुरन सी लगायत माओवादी केन्द्र केन्द्रीय सदस्य किरण न्यौपाने, ध्रुव गुरुङ, भक्त गोतामे लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नेकपा केन्द्रीय प्रतिनिधि सदस्य ध्रुव सीले गरेका थिए ।
गाेरखा:
जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठन अखिल समाजवादी गोरखाको प्रथम गोरखा नगर सम्मेलन सम्पन्न भएको छ ।
बिहिबार नेकपाका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज कपिल सीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले १५ सदस्यीय गोरखा नगर समिती गठन गरेको अखिल समाजवादी गोरखाले जनाएको छ।
सम्मेलनले अन्जन सीको अध्यक्षतामा १५ सदस्यीय नगर समिति गठन गरेको हो।
सम्मेलनमा गोरखा नगरपालिका भित्रका क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको थियो।
सोही अवसरमा दीप प्रज्वलन पनि गरेको छ । बाग्लुङ्गमा पनि दीप प्रज्ज्वलन गरिएको छ ।
विभिन्न गाउँपालिकाहरू र नगरपालिका कार्यालयहरूमा जनसमुदायसँग प्रत्यक्ष संवाद गरि जनयुद्धका उपलब्धिहरू र अहिलेका चुनौतीहरूलाई उजागर गर्ने प्रयास गरिएको नेकपाले जनाएको छ । यसैबिच नेकपाको प्रदेश कार्यालय पोखरामा पनि अविर लगाएर एकआपसमा शुभकामना साटासाट गरी जनयुद्धको उत्सव मनाइएको थियो ।