६ पुष २०८१, शनिबार

ऐतिहासिक महत्वको निर्णय : सी जाति

0

               सन्तोष सी

 

सी जाति नेकपाको युगीन निर्णय
नेपाल कम्युनिस्ट पार्टीले नेपाली समाज र नेपाल कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि रहेको दुविधापूणर् अन्यौलतालाई चिर्दै गएको २०७९ असोजमा सम्पन्न नवौं महाधिवेशबाट सी जातिको प्रस्ताव पारित गरेर कार्यान्वयनमा ल्याएको छ । यसले समग्र राजनीतिक वृत्त र बौद्धिक जगतमा एउटा सकारात्मक बहस सिर्जना गरेको छ । सामान्यदेखि विशिष्ट व्यक्तिसम्मले चासो राख्ने गरेको सी जातिको प्रश्नले विशेषतः तीन क्षेत्रमा बढी प्रभाव पारेको छ । पहिलो राजनीतिक क्षेत्र, दोस्रो सामाजिक-साँस्कृतिक क्षेत्र र तेस्रो प्रशासनिक तथा कानुनी क्षेत्रमा ।
सोचेभन्दा छिट्टै राजनीतिक, सामाजिक, साँस्कृतिक, कानुनी क्षेत्रमा आफ्नो दाबि पेश गरेको सी जातिको निणर्यले समाजमा आफ्नो स्थान, कानुनी रुपले वैधानिकता, राजनीतिक रुपले एउटा मान्यता, आर्थिक रुपले अलग्गै अर्थप्रणाली खोजिरहेको छ । नेकपाले जुन मान्यता र महत्वका साथ यो प्रस्ताव ल्यायो र पारित गर्‍यो, यसले स्वभाविक रुपले एउटा प्रक्रिया (गति) समातेको छ र यसले निकै विशाल क्षेत्रमा आफ्नो दाबि पेश गरेको छ । यसले मानव समुदायका ठूलो पंक्तिलाई प्रभावित पनि पारेको छ । यसले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय चरित्र पनि ग्रहण गरेको छ । समग्रमा दीर्घकालिक हिसावले सिङ्गो मानव जातिका निम्ति र विशेषतः तत्कालिक अर्थमा उत्पीडित जातीय समुदायका लागि ज्यादै महत्वको विषय बनेको छ । यसलाई एउटा सुखद पक्ष मान्नु पर्दछ ।
निश्चित रुपमा केही नयाँ विचार वा आविष्कार हुँदा यसले एउटा हलचल पैदा गर्दछ । अनेक प्रश्नहरू उब्जाउँछ । विभिन्न क्रिया-प्रतिक्रियाहरू जन्माउँदै अघि बढ्छ र विस्तारै आफ्नो औचित्य र वैज्ञानिकता पुष्टि गर्दै यसबारे उत्पन्न अन्यौलताहरू चिर्र्दै अघि बढ्ने गर्दछ । ‘सी’को बहसले समाजको यो नियम पछ्याएको छ । यसले पनि यसको वैज्ञानिकतालाई पुष्टि गर्दछ ।
सुरुमा पृथ्वी गोलो छ भन्ने बेला ग्यालिलियोले ज्यानको बाजी थाप्नु पर्‍यो । माक्र्स, एङ्गेल्सले सबैभन्दा पहिले कम्युनिस्ट घोषणापत्र ल्याउँदा उहाँहरू देश निकाला हुनु पर्‍यो । पोप र पादरीहरूका धर्म प्रचारका रहस्यका पोल खोल्दा कतिले सुली चड्नु पर्‍यो । राजनीतिक रुपमा कसैले नयाँ कुरा अघि सार्दा कैयौं नेताहरूले जेलनेल र अनेक वाद का बिल्लाहरू भिर्नुपरेको छ । कमरेड विप्लव र हामीले अर्थात् नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको नयाँ विचार अघि सार्दा २ वर्ष प्रतिबन्धित हुनुपर्‍यो । यो मानव समाजले बेहोर्दै आएको वर्गीय समाजको एउटा नियम हो । पुरानो विचार र सत्ताका विरुद्ध उभिने जो कोहीले एक पटक यो नियम बेहोर्नु पर्ने बाध्यता छ र एक पटक यो नियम तोड्नु पर्ने अनिवार्य पनि छ । सी जातिको निणर्यले पनि राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र कानुनी हिसाबले यो नियम पार गर्नैपर्छ र गरिरहेको छ । हेर्दा यो सानै छ, तर यसको भविष्य विशाल छ । आज यो राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र कानुनी छेकबारहरूका बिच लुकामारी गर्दै अगाडि बढेको छ तथापि यसको भविष्य उज्वल र आशाप्रद पनि छ ।
राजनीतिक रुपले यसले विचारमा रहेका संकीणर्ता र पुरातन चिन्तनधाराका कैयौं बाधा-अड्चनहरू तोड्दै अगाढि बढेको छ । सामाजिक हिसावले जातिपाति तथा जात प्रथाले ग्रस्त समाजमाथि निर्मम प्रहार गरेको छ । साँस्कृतिक रुपले पुरानो समाजका भद्दा रीतिथिति, मूल्य-मान्यता र पछौटे सँस्कृतिसँग पौंठेजोरी खेल्दै पुरानो सामाजिक व्यवस्थाका विरुद्ध खडा भएको छ । आर्थिक हिसाबले पुँजीवादी तथा दलाल पुँजीवादी अर्थ व्यवस्थाले ल्याएको विकृति र साम्राज्यसँग जुधिरहेको छ । कानुनी हिसाबले वर्तमान सत्ताको प्रतिक्रियावादी कानुनहरूको धज्जी उडाउँदै कानुनी बार-बन्देजहरू तोड्दै अगाडि बढेको छ । वैचारिक हिसाबले जड्सूत्रवाद र अलगाववादसँग जुध्दै अगाडि बढेको छ । त्यसैले प्रारम्भमै यसले चौतर्फी चुनौतिहरूको सामना गर्दै अगाडि मडारिरहेको छ । यसले काला बादलहरूको घेराभित्र चाँदनीको किरण छर्दै अगाडि बढेको छ सी जाति । त्यसैले यसको उद्देश्य महान् छ । लक्ष सुनिश्चित छ ।

के हो सी जाति ?

सी जातिबारे नवौं महाधिवेशनपछि पार्टीले मोटो निणर्य गरेको छ । पार्टी बाहिर र भित्र पनि छलफलहरू जारी छन् तथापि यी अपर्याप्त छन् । यसको लागि अझै फराकिलो बहस आवश्यक छ । यसले सबै क्षेत्रमा वैज्ञानिक पुष्ट्याइँको माग गर्दछ, जो आवश्यक पनि छ । किनकि यो नयाँ अवधारणा मात्र होइन, साम्यवादी समाजको व्यवहारिक प्रयोग पनि हो ।
पुँजीवादी समाजमा साम्यवादी समाजको प्रयोग गर्नु एक ढंगले ‘मुख्र्याइँ’ पनि हो । पुँजीवादी समाजमा कमरेड विप्लवको नेतृत्वमा नेकपाले यो ‘मूख्र्याइँ’ गर्ने आँट गरेको छ । किनकि पुँजीवादले सबै क्षेत्रमा पकड जमाएको आजको समाजको बार-बन्धन तोड्न एक पटक ‘मूर्खता’ नगरी हुनेवाला छैन । पक्कै पनि यो पागलपूणर् मुख्र्याइँ पटक्कै होइन, बरु यो सुझबुझपूणर् र सचेततापूणर् मूख्र्याइँ हो र यो हुनुपर्छ । यसलाई अर्को भाषामा विवेकपूणर् साहस वा आँट भन्नुपर्छ । कमरेड प्रचण्डको नेतृत्वमा हामीले २०५२ साल फागुन १ गते जनयुद्धको थालनी गर्ने ‘मूर्खता’ नगरेको भए नेपालमा अहिलेसम्म राजतन्त्र कायमै रहेको हुन्थ्यो होला र अहिले पनि राजा महाराजाहरूको राज कायमै रहेको हुन्थ्यो होला । नेताहरूले अझै पनि राजाको पाउमा पैसा राखेर ढोग्नुपर्ने स्थिति हुन्थ्योहोला । त्यो मूर्खताले नै देशलाई संघीय गणतन्त्रमा ल्यायो । आज देशमा दलालहरूको हालिमुहाली कायम भएको छ । यसलाई तोड्न अर्को “पटमूर्खता”को आवश्यकता छ । नेपालीमा ‘मूर्ख’ नकारात्मक अर्थ लाग्ने पदावली हो । यस अर्थमा सोचविचारै नगरी जबरजस्त बल प्रयोग गर्ने वा हाम फाल्ने व्यक्ति भनेर बुझिन्छ । तर सकारात्मक अर्थमा त्यो साहसी, निडर र बहादुरी पनि हो । त्यसमा सचेतता र विवेक जोडिदिने हो भने यो महाबहादुर, साहसी र विवेकपूणर् आँटिलो अर्थमा पनि बुझ्न सकिन्छ । वर्तमान अवस्थामा शान्तिपूणर् रुपले राजनीतिक र वैचारिक रुपले सबै क्षेत्रबाट बारिएको बार-बन्धन तोड्ने साहस कमैमा हुन्छ र कमैले गर्छन् ।

माओवादको सारतत्व

बल प्रयोगको अर्थ केवल हतियारबद्ध युद्धमा मात्र देख्नु, हिँसात्मक सङ्घर्षमा मात्र देख्नु जडसूत्रवाद हो । बल प्रयोगको अर्थ बन्धन तोड्नु हो । जो विगतमा जनयुद्ध, धक्का, क्रमभङ्ग, छलाङजस्ता पदावलीहरू प्रयोग गरिएका थिए । ती त्यसबेलाको आवश्यकतामा सही नै थिए । जो चीनमा कमरेड माओले प्रयोग गर्नुभएका पदावलीहरू थिए । कमरेड माओबाट सिकिएका वा उहाँका शब्दहरूलाई केही मौलिकतासहित नेपालमा प्रयोग गरिएको थियो, जसले मुलुकलाई एक चरण, एक धक्का दिन सफल पनि भयो । एक दशक क्रमभङ्ग पनि गर्‍यो । देशले एक छलाङ पनि हान्यो । तर मुलुकको परिवर्तनको माग यो एक धक्का, एक छलाङले मात्र पुग्ने स्थिति थिएन । त्यो धक्का नपुगेको कारणले मुलुकले बिचैमा न नयाँ न पुरानोको संक्रमणकालीन पीडा भोगिरहेको छ । अहिलेको मुलुकको यो असह्य पीडा पुरानो पनि पूरा खतम नहुनु र नयाँ पनि पूरा नबन्नुबिचको पीडा हो जो असाध्य कष्टदायक हुन्छ । यो अवस्थाले अर्को छलाङको माग गरेको छ । यसको अर्थ पूणर् ‘रुपान्तरण’को आवश्यकता हो । रुपान्तरण शब्द पनि कमरेड माओकै भाषा हो । मुलुक अझै पूणर् रुपान्तरण भएको छैन । रुपान्तरणले मात्र देशमा परिवर्तन आउँछ र जनता खुशी र सुखी बन्छन् । आजको नेपाली जनताको पीडा पूणर् रुपान्तरणको अभावमा अड्केको छ ।
नेकपाले सी जाति सम्बन्धी जो निर्णय गरेको छ यो सामाजिक रुपान्तरण प्रक्रियाको व्यवहारिक कदम हो । यसको लक्ष साम्यवाद हो र सी जाति साम्यवादको बेर्ना हो । सी जातिको प्रयोग साम्यवादी नर्सरी हो जहाँ साम्यवादको विरुवा हुर्कन्छ ।
१० वर्षको जनयुद्धले क. माओको जनयुद्धको रुप पक्षलाई बढी समातेको छ । यो कमरेड प्रचण्डको तरिका थियो, जसलाई प्रचण्डपथ भनियो । यसले जनयुद्धको सिद्धान्तको सार पक्षलाई समात्न सकेन, रुप पक्षलाई मात्र समात्यो । यसैको कारण नेपालमा क्रान्तिले पूणर्ता प्राप्त गर्न सकेन । एकीकृत जनक्रान्ति यसको अन्तबाट सुरु भएको नयाँ क्रान्तिको पहलु हो । यसको निष्कर्ष हो नक्कल गरेर क्रान्ति हुँदैन । आवश्यकता यसको रुप पक्षको नक्कल गरेर होइन, यसको मूल सारलाई समात्नु पर्दछ । यो भनेको नै माओवादको विकास हो । माओवादको उचाई र सचाई नै यसको विकास हो । हामीले अर्थात कमरेड विप्लवले पुरानोलाई विकासको नयाँ उचाईमा उठाउने सिद्धान्तलाई पकड्नु भयो र आज एकीकृत जनक्रान्ति, दलाल पुँजीवाद, वैज्ञानिक समाजवाद, नेपाली विशेषताको समाजवाद, रक्षा, विकास र रुपान्तरण, एकीकृत स्वामित्व, उत्पादन, आत्मनिर्भर सङ्गठन, आत्मनिर्भर अर्थप्रणाली, कम्युनिस्ट अर्थनीति, भूमण्डलीकृत पुँजीवाद/साम्राज्यावाद, जनविश्वासी नेता-कार्यकर्ता, जनविश्वास प्राप्त सङ्गठन, जनअनुमोदित सङ्घर्षलगायत कैयौं मान्यताहरूको विकाससँगै सी जाति पनि अर्को एउटा नयाँ संश्लेषण हो । यसले माओवादी सिद्धान्तको सारतत्वमा नेपाली मौलिकता गाँसिएको क्रान्तिको परिकल्पना गरेको छ । यसले वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र कानुनी क्षेत्रमा नयाँ हस्तक्षेप, नयाँ बहस, नयाँ मान्यता र नयाँ प्रयोगसहित क्रान्तिको नयाँ नमूना अगाडि सारेको छ ।

जातीय विलोपिकरणको व्यवहारिक रुप

माथिका मान्यताहरूमध्ये सी जाति आफै एक नयाँ मान्यता र प्रयोग हो । नेपाली कम्युनिस्ट आन्दोलनमा अग्रज नेताहरूले सैद्धान्तिक रुपले वर्ग र जातिबारे समान धारणा राख्दै आए । सबैको सामाजिक प्रवर्गहरूको बारेमा थुप्रै वर्ग विश्लेषण गर्दै आएका छन् । विश्लेषणको क्षेत्रमा निकै सुन्दर विश्लेषणहरू गरेका छन् । सायद विश्लेषणको क्षेत्रमा कम्युनिस्टहरूको प्रायः समान धारणा पाइन्छ । तर संश्लेषणको क्षेत्रमा भने आफ्नै रहँदै आएको छ । नमिलेको संश्लेषणमा रहँदै आएको छ । सी जाति पनि एउटा नयाँ संश्लेषण हो । माक्र्स-एगेल्सले समाजका जातिहरूको जातीय विलोपीकरणको कुरा गर्नुभयो । पछिल्ला नेता, महानेताहरूले पनि यहि कुरा दोहोर्‍याउँदै आए तर बदल्ने कुरामा नयाँ संश्लेषणको अभाव रहँदै आयो । सिद्धान्तको व्याख्याको हदसम्म निकै सुन्दर ढंगले गरिंदै आयो तर प्रयोगको तहमा यसलाई ल्याउन नसक्नुमा कमजोरी रहन गएको छ । यसलाई सीमाको रुपमा बुझ्नु उपयुक्त हुन्छ । दश वर्षको जनयुद्धको हकमा पनि यही कुरा सत्य हो ।

सिद्धान्त र व्यवहारबिचको अन्तर

कुनै कुरा भन्नु र गर्नुमा धेरै ठूलो अन्तर छ । कथनी र करनीको बिचको अन्तर नै सिद्धान्त र व्यवहारबिचको सम्बन्ध विच्छेद हो । यो भनेको बिजुलीको बल्ब र लाइनबिचको सम्बन्ध विच्छेद जस्तै हो । व्यवहारबिना सिद्धान्त बन्दैन, जसरी लाइनबिना बल्ब बल्दैन । सिद्धान्त छ, व्यवहार छैन भनेपछि बल्बबिनाको लाइन जस्तै सिद्धान्तको बखान । यसैलाई भन्नु र गर्नु, कथनी र करनीबिचको अन्तर भनिएको हो । नेपाली कम्युनिस्ट आान्दोलनको मुख्य समस्या यही थियो । त्यसलाई एक हदसम्म तोड्न जनयुद्ध सफल भयो । यस अर्थमा जनयुद्ध करनीको एक धक्का अवश्य हो । तर सामाजिक सत्ता भत्काउन र  नयाँ बनाउन एक धक्काले मात्र पुग्दैन । भत्काउने नयाँ निर्माण गर्दै जाने प्रक्रिया निरन्तर विकास क्रममा अघि बढ्नु पर्छ । यो गति बिचमा रोकियो भने समाज यथास्थितिमा घुम्न थाल्छ र त्यसले प्रतिगमनको दिशा पकड्छ । त्यसैले राजनीतिमा निरन्तर क्रान्ति भनिएको हो । निरन्तर क्रान्तिबिना समाजको गति अघि बढ्दैन र यसले रुढीवादी बाटो पकड्छ र विकासमा अवरुद्धता आउँछ । यसैबेला अग्रगामी पक्ष र प्रतिगामी पक्षबिच अन्तरद्वन्द्व बढ्छ । अन्तरविरोधले तीब्रता लिन्छ र वर्गसङ्घर्ष हुन्छ । यसले अन्ततः क्रान्ति निम्त्याउँछ वा यसको समाधानको निम्ति क्रान्ति अनिवार्य बन्दछ ।

एकीकृत जनक्रान्ति चक्रव्युह तोड्ने विद्या

महाभारत युद्धमा अर्जुन पुत्र अभिमन्यूले चक्रव्यूह तोडेर भित्र पस्न सफल भयो । तर अर्को घेरा तोड्न नसकेर बाहिर निस्न सकेन र दुश्मन (कौरव) पक्षले उनको त्यहीं हत्या गरे । भनिन्छ चक्रव्यूह तोडेर भित्र पस्ने विद्या उनलाई थाहा थियो तर उनलाई बाहिर निस्कने विद्या (कौशलता) थाहा थिएन, त्यसैले उनी त्यहीं मारिए । नदी तर्ने साहसबिना ज्ञान आउँदैन तर नदीको मूलधार काट्ने नियम वा कौशलताको अभावमा त्यहीं बगेर मर्नु सिवाय अरु विकल्प हुँदैन । जनयुद्ध त्यही चक्रव्यूह थियो । प्रचण्डले अभिमन्यू जस्तै चक्रव्यूह तोडेर जनयुद्धमा पस्न त सफल भए तर यसलाई पार गर्न सकेनन् । परिणाम पछि हट्नु वा आत्मसमर्पण गर्नुको विकल्प रहेन । एकीकृत जनक्रान्ति चक्रव्यूहबाट निस्कने विद्या हो । स्वास्थ्य विज्ञान अनुसार ‘रोग पत्ता लागेको छ, उपचार गर्न बाँकी छ, त्यसको उपचार प्रक्रिया सुरुभएको छ ।’ सी जाति त्यो उपचार प्रक्रियाको सुरुवात हो । दार्शनिक भाषामा यो नियमिततामा क्रमभंग हो । अर्थात् रुपान्तरण प्रक्रियाको सुरुवात हो । राजनीतिक रुपले अग्रगामी कदम र परिवर्तनको सुरुवात हो । सिद्धान्तलाई कसी लगाउने व्यवहारिक प्रयोगको प्रारम्भ भएको छ । सिद्धान्त, व्यवहार, सिद्धान्त फेरी व्यवहारको नयाँ प्रयोग हो । यसलाई वस्तु, चेतना फेरी नयाँ वस्तुमा रुपान्तरणको प्रक्रिया पनि भन्न सकिन्छ । सामाजिक र बोलीचालीमा यसलाई आँट, साहस, कौशलता र नयाँ सिर्जना र विकासको नयाँ आयाम पनि भन्न सकिन्छ ।
अन्त्यमा
यसरी सी जातिले सामाजिक विज्ञानको नियम पछ््याएको छ । निश्चित रुपमा यसले लामो समय लिनेछ । नाइल नदी जस्तै घुम्दैघुम्दै जानेछ । यो नागवेली बाटो हुँदै जानेछ । यसले अनेक कष्टहरू र सामाजिक अवरोधहरू पन्छाउँदै जानेछ । यसले माथि भने जस्तै सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक, राजनीतिक, प्रशासनिक र कानुनी झमेला र अवरोधहरू पार गरेर जानु पर्नेछ तर यसले आफ्नो नियम र अनुशासन तोड्ने छैन । सबै असमानताहरूलाई सम्याउँदै साम्यवादी समाज सिर्जना गर्दै विशाल विश्व साम्यवादी समाज र समतामूलक समाज निर्माण गर्न सफल हुनेछ, एक दिन यो अवश्य सफल हुने छ ।
२८ फागुन २०८

स्राेत: जनपत्रिका मासिक १४ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।