३१ भाद्र २०८१, सोमबार

सभ्य र शोषणरहित समाजको अन्तीम विकल्प समाजवाद हो : सन्तोष सी

0

बर्दिया । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले सभ्य र शोषणरहित समाजको अन्तीम विकल्प समाजवाद भएको बताएका छन् ।
नेकपा बर्दिया जिल्ला समितिको दोस्रो पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले सभ्य तथा शोषणरहित समाजको अन्तीम विकल्प समाजवाद नै भएको बताएका हुन् ।
उनले भने ‘वैज्ञानिक समाजवाद भन्दा अर्को विकल्प छैन, यो व्यवस्था नै समाज विकासको उत्कृष्ट व्यवस्था हो, अहिलेको संकटको निकास पनि समाजवादबाट मात्र निकाल्न सकिन्छ ।’
उनले वर्तमान दलाल संसदीय व्यवस्थाको आयु छोटिदै गएको भन्दै समाजवादका ढोकाहरु दृष्टि क्षितिजमा खुल्दै गएको दाबी गरे ।
नेता सन्तोषले वैज्ञानिक समाजवाद वा नेपाली विशेषताको समाजवादको लागि सिंगो पार्टी पंक्तिलाई एक भएर जनतामा जान निर्देशन दिए ।
उनले जनतामाथि शोषण र दमन मच्चाइरहने दलाल तत्वहरुका विरुद्ध संघर्ष अगाडि बढाउन पनि जोड दिए । उनले भने ‘दलालतत्वहरु टाउको उठाइरहेका छन्, मजदुर, किसान र सुकुम्बासीलाई झन् भन्दा– झन् गरिब बनाउँदै उठिबास लगाइएको छ, अर्कोतिर मिटर ब्याजी, लघुवित्त र बैंङ्कको चर्को ब्याजले जनता पीडित छन्, यस विरुद्ध कडा संघर्ष गर्नु होस् ।’
बैठकमा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हिमशिखर सीले जिल्लाको आत्मगत/वस्तुगत अवस्थाकोबारे विश्लेषण गदै पार्टी योजना जनतामा पुर्याउन सहभागीहरुलाई निर्देशन दिए ।
बैठकले पार्टी जनतासम्म पुगेर संगठन निर्माण गर्ने, दलालहरु विरुद्ध संघर्ष गर्ने, समाजवादी व्यवस्था नै अहिलेको निकासको विकल्प हो अरु हुन सक्दैन भनेर जनतासम्म पुर्याउने लगायतका निर्णयहरु गरेको छ ।
बैठकले क्षेत्र नं.१ मा.पहलमान सी र क्षेत्र नं.२ मा बलमान सी र गुलरिया नगरपालिकाको इन्चार्जमा हरि सीलाई जिम्मेवारी दिएको छ । बैठक पार्टी जिल्ला सेक्रेटरी टिकाराम सीको अध्यक्षतामा बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।