७ पुष २०८१, आईतवार

कृत्रिम लोकप्रियताभित्र विदेशी खेल

0

राजनीतिमा सबै घटना र प्रवृत्ति नाङ्गो आँखाले देख्न सकिन्न । त्यसैले माओ त्सेतुङले संशोनवादलाई बुझ्न ‘दूरदर्शक यन्त्र र सूक्ष्म दर्शक यन्त्र चाहिन्छ’ भन्नुभएको थियो । नेपाली राजनीतिमा डलर र पश्चिमी सञ्चारको बलमा लोकप्रिय पात्रहरू तयार गरिएको छ । जसको बुई चढेर अमेरिकी गुप्तचर र क्रिश्चियन धर्म–राजनीतिले नेपाली समाजलाई नियन्त्रण गर्दै आएको अवस्था छ ।
जनयुद्धको समयमा काङ्ग्रेस र एमालेको शहरमा समेत कुनै गतिविधि थिएन । दलाल संसदीय व्यवस्था कर्मचारीले धानिदिएका थिए । जाडो याममा सर्प जमिनभित्र शित–निद्रामा बसेझैं एमाले पार्टी सामुदायिक वन, गैर–सरकारी संस्था, नागरिक समाज, मानव अधिकारवादी संस्था, विद्यालय व्यवस्थापन समिति, टोल सुधार समिति, खानेपानी व्यवस्थापन समितिजस्ता सामाजिक सत्ताभित्र टाउको घुसारेर लुकेको थियो । त्यसबेला बासु शाक्यजस्ता इमान्दार नेताहरू जनयुद्धमा आए । अर्कोतिर माओवादी र एमालेबिच पार्टी एकता गर्न दबाव पर्दै थियो । त्यसको अर्थ एमाले विघटनको संघारमा थियो । प्रचण्डले क्रान्तिको, वर्गीय स्वार्थको बाटो छोडेपछि एमाले मसानघाटबाट बौरिएर आएको छ र जनयुद्धले ल्याएको गणतन्त्रमा योगेश भट्टराईजस्ता अनैतिक जोकरहरू चुरीफुरी गर्दैछन् ।
प्रचण्ड साम्राज्यवादको दबावमा छन् । आन्तरिक रुपमा साम्राज्यवादले घुसपैठ गराएर भित्रबाटै दबाव सृजना गराएको छ । प्रचण्डभन्दा क्रान्तिकारी विचार र राजनीति भएको नेता फरक भन्ने नेतामा माओवादी केन्द्रमा देखिंदैनन् । ती केवल आर्थिक स्वार्थ समूहका हल्ला मात्र हुन् । प्रचण्ड त्यसप्रकारको घेराबन्दीबाट निस्कन सक्छन् त ? जवाफ सकारात्मक छैन वा नकारात्मक छ । प्रचण्ड विप्लवसँग क्रान्तिका कुरा गर्छन् । काङ्ग्रेससँग लोकतन्त्रको गीत गाउँछन् र रेखा थापासँग जस्तै गरेर आरजुसँग नाच्छन् । एमालेसँग कम्युनिस्ट एकताको कुरा गर्छन् । उनले जनयुद्धका प्रारम्भिक दिनमा किरण र बादललाई लडाए । जनयुद्ध बढ्दै जाँदा बादल कारवाहीमा परेपछि बाबुराम र किरणलाई लडाए । २०६९ सालपछि विप्लव र किरणलाई लडाउन खोजे अथवा सुदर्शन–कञ्चन प्रहशन किरणमार्फत गराइयो । आज प्रभाकर र अनन्तलाई लडाइरहेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि भारत र चीनलाई खेलाउन खोजे, त्यो हास्यास्पद भयो । प्रचण्डको त्यो पूरानो खेल अब चल्नेवाला छैन । ‘डेट एक्सपायर’ भएको औषधीले काम गर्न छोडेको छ । प्रचण्ड ठूलो अविश्वासको भूमरीमा फसेका छन् ।
केपी ओली ‘समाजवाद’ भन्नहुन्न भन्ने मनुवा भए । उनको कम्युनिस्ट ‘ट्रेड मार्क’ भन्ने कुरा मनमोहन अधिकारीले २०४७ सालमै खुलासा गरिदिएकै हुन् । सारतत्वमा प्रचण्ड पनि मनमोहनकै स्थानमा छन् । यहाँ के बुझ्नुपर्छ भने हिजोको संशोधनवादले माक्र्सवादका आधारभूत पक्षहरूको नै विरोध गर्दथ्यो । आजको संशोधनवादले विरोध गर्दैन । तर नीतिमा दुवै एकै विन्दुमा उभिन्छन् । माओवादी केन्द्रका इमानदार नेता–कार्यकर्ता ‘सास रहुन्जेल आस’ भनेझैं गरेर भुण्डिरहेका छन् ।
देश भयानक सङ्कटमा छ । अमेरिकाले SPP लागू गरिसकेको छ । त्यसलाई वैधानिकता दिन प्रम ओलीमाथि दबाव परिरहेको देखिन्छ । प्रचण्ड नेतृत्वको सरकार ढल्नासाथ क्एए लागू हुन्छ भन्ने सूचना आउने गर्थे । त्यसले तीव्रता पाएको छ । आरजुलाई परराष्ट्रमन्त्री त्यत्तिकै बनाइएको छैन । यी पात्रहरूमार्फत आफ्नो काम गराउने र यी नाङ्गेझार भएपछि ल्याउन नयाँ पात्रहरू तयार पारिंदैछ ।
सिके राउत, रवि लामिछाने अमेरिकी सरकारका पूर्व कर्मचारी नै भए । बालेनको पछाडि ५–७ जना यूट्युबर र तिनको खर्चको स्रोत के हो ? उनको दैनिक रात्री ड्रग–पार्टी कसरी चल्दैछ ? सन् २०२३ का विश्वका उदीयमान नेतामा नेपालका बालेन साह ‘टप टेन’ मा रहेको सर्वेक्षण अमेरिकी अखबार ‘टाइम म्यागेजिन’ले ‘टाइम १०० नेक्स्ट’ मा प्रकाशित गरेको थियो । बालेन साहले भन्दा दश गुणा राम्रो काम रेणु दाहालले गरेकी छिन्, कैलालीका एक मेयरले गरेका छन् । तर अमेरिकाले दुव्र्यसनी बालेन साह देख्छ । स्वर्णिमले एमसीसीको चाकरी गर्दै ‘नबुझेकाहरूले एमसीसीको विरोध गरेको’ भनेका छन् । ३ वर्षमा ७ वटा किताब केही घोकेर केही चोरेर प्रमाणपत्र लिंदैमा कोही पनि बुद्धिजीवी हुँदैन । अमेरिकामा पढेका, गैससमा काम गरेका, शान्ति सेनामा गएका र अमेरिकामा तालिम–भ्रमण गरेका मार्फत अमेरिकाले घुसुपैठ गरिरहेको छ । महाविर पुनहरू किताब बेचेर देश बनाउने जोकर कुरा गर्दैछन् । यो अमेरिकी कारिन्दाको ‘कभर’ बाहेक अरु केही होइन । यिनीहरूको पाँचतारे होटलको खर्च र करोडका सवारी साधनको स्रोत के हो ? फेसबुकले विप्लवको एकाउण्ट अवरुद्ध गर्छ । छानिएका पात्रको ‘बुस्ट’ गरिदिन्छ । यी सबै डलर, धर्म–राजनीति र अमेरिकी सरकारद्वारा पालिएका देशी–विदेशी सञ्चारको ‘परियोजना’ हो । कनकमणी दीक्षितहरू नागरिक आन्दोलनको नाममा सिआइएका प्रतिनिधि थिए । आज गुण र मात्रा दुवैमा बृद्धि भएको छ ।
चीनको हौवा देखाएर अमेरिकी सेना नेपाल आउने कुरा स्वीकार्य हुँदैन । नेपाली समाजमा सयौं वर्षदेखि उत्तर र दक्षिणका साम्राज्यवादसँग लडेर देशको रक्षा गरेको इतिहास छ । त्यो विरासत किल्ला काँगडामा झैं जाग्नेछ । अमेरिकी सेनासँग लड्नु अगाडि उसका दलालसँग लडाइँ हुनेछ । एमसीसी ल्याउने काङ्ग्रेस BRI विरुद्ध उत्रिएको छ । अमेरिकाले सेना ल्याउँदा चुप लाग्ने काङ्ग्रेस चीनले रेल ल्याउन खोज्दा विरोध गर्दैछ । त्यसो हो भने २०५२ साल नयाँ स्वरुपमा दोहोरिन्छ । कम्युनिस्ट र देशभक्त एकातिर, काङ्ग्रेस अर्कोतिर भएर द्वन्द्व भड्किन सक्छ । केपी ओलीले महिला प्रधानमन्त्री देख्न चाहन्छु भनेको के हो ? जनताबिच बदनाम व्यक्तिहरू अमेरिकाको बलमा आउन खोजिरहेका छन् ।
जनताका अपेक्षाहरू छन् र कम्युनिस्टका सपनाहरू छन् । वर्तमान प्रचण्ड–पथबाट त्यसको सम्बोधन हुन सक्दैन । उता भ्रष्टाचार, महिला उत्पीडन, देशद्रोह गर्दा पनि अमेरिकापरस्त सत्ताले आजसम्म रविको रक्षा गरिरहेको छ । परिस्थितिले पूर्व माओवादीहरूबिच एकता, कम्युनिस्टबिच एकता र देशभक्त शक्तिहरूबिच एकता आजको राष्ट्रिय आवश्यकता हो । राष्ट्रिय आवश्यकताको विरुद्ध जानेहरू खुम्चिँदै जान्छन् । नेताहरूले समयलाई सम्बोधन गरेनन् भने तलबाट एकता प्रक्रिया अगाडि बढ्नेछ । भक्तपुर, रसुवा, चितवन, दाङ, झापा र मधेशका पछिल्ला घटनाले त्यसको सङ्केत गरेका छन् । गौरीशङ्कर खड्का, बासु शाक्य, रितबहादुर खड्का, शोभाकान्त पोखरेल भौतिक रुपमा छैनन् । तर उनीहरूको सन्देश वाम आन्दोलनमा गुञ्जिरहेको छ । जसले लोकप्रियताको कृत्रिम धुवाँभित्र देशलाई पराधीन बनाउने षड्यन्त्र परास्त गर्नेछ ।

स्राेत:  जनपत्रिका मासिक १५ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।