६ पुष २०८१, शनिबार

संस्कृति र संस्कार

0

                     अनिल सी

 

 

मानवजाति आफैँ प्रकृतिको उत्पादन हो । उसले उत्पादन गर्ने संस्कृति पनि प्रकृतिकै एउटा अङ्ग हो । संस्कृति भन्नासाथ नाचगान, चाडपर्व, धर्म–कर्मलाई बुझ्ने गरिन्छ । तर, संस्कृतिको व्यापक अर्थ र क्षेत्र छ । विद्वानहरूले संस्कृतिलाई सयौँ कोणबाट परिभाषित गरेका छन् । सौन्दर्यचिन्तक मेक्सिम गोर्कीले “मानवद्वारा निर्मित दोस्रो प्रकृति नै संस्कृति हो” भनेका छन् । मान्छे आफैँ प्रकृतिको उत्पादन हो र मान्छेले उत्पादन गरेको कला, साहित्य, भाषा, लिपि, राजनीतिआदि संस्कृति हो । इतिहास निर्माणमा आधार (आर्थिक पक्ष) निर्णायक हुन्छ तर एक मात्र निर्णायक पक्ष हुँदैन । संस्कृतिको महत्वपूर्ण भूमिका हुन्छ र यदाकदा हस्तक्षेपकारी भूमिका हुन्छ । कतिपयले त्यसलाई अस्वीकार गर्छन् । त्यसका सम्बन्धमा फ्रेडरिक एङ्गेल्सको भनाइ छ, “इतिहासको भौतिकवादी धारणाअनुसार वास्तविक जीवनको उत्पादन र पुनरुत्पादन नै अन्ततोगत्वा इतिहास प्रक्रियाको निर्णायक तत्व मानिन्छ, यसभन्दा फरक कुरा कहिल्यै न माक्र्सले दावी गर्नुभयो, न त मैले नै गरेँ । तसर्थ यदि कसैले उक्त कुरालाई बङ्ग्याएर आर्थिक तत्व नै एक मात्र इतिहास निर्माणमा निर्णायक हुन्छ भन्छ भने उक्त प्रस्तावनालाई एउटा अर्थहीन, अमूर्त तथा खोक्रो वाक्यांशमा परिणत गरिरहेको हुन्छ ।”२
भौतिक र आत्मिक गरी संस्कृति दुईथरीका हुन्छन् । अस्तित्व हुने तर इन्द्रियद्वारा सहजै बोध गर्न कठीन हुने संस्कृतिलाई आत्मिक संस्कृति भनिन्छ । त्यसैगरी, भौतिक अस्तित्वसहित प्रकट हुने संस्कृतिलाई भौतिक संस्कृति भनिन्छ । नेपालमा पुरातनवादी सामन्ती संस्कृतिको आधिपत्य रहेको छ । संस्कृति भनेको राजनीति र आर्थिक सम्बन्धको विचारधारात्मक प्रतिबिम्बन हो । सामन्तहरू आफ्नो सत्तालाई कायम राख्न परम्परागत विचार, दर्शन, संस्कृतिको उपयोग र विस्तार गर्छन् । संस्कार संस्कृतिकै विस्तारित र व्यावहारिक पक्ष हो । आदत, बानी व्यहोरा, चालचलनआदिलाई संस्कार भनिन्छ । त्यसैले ‘संस्कार’ पनि संस्कृतिकै अभिन्न अङ्ग हो । समाज विकासको ऐतिहासिक प्रक्रियामा निर्मित भौतिक र आत्मिक मूल्यहरूको समुच्चय नै संस्कृति हो । यो श्रम प्रक्रियाका बिचमा जन्मन्छ र उत्पादक शक्तिसँगै विकसित हुन्छ । विचार, आचरण, मूल्यबोध, चलन, रीतिरिवाज, परम्परा, कला सबै संस्कृति हुन् ।
संस्कारको उदय
ईसाको ७ औं दसकको पूर्वाद्र्धसम्ममा परिवारको विकाससम्बन्धी इतिहास विज्ञान सधैँ पितृसत्तात्मक रहेको ठानिन्थ्यो । यौन स्वच्छन्दता, मातृसत्ता थियो । भारत, नेपाल, तिब्बतलगायत कैयौँ देशहरूमा अझसम्म बहुपतिप्रथा कायम छ भने बाँकी दुनियाँलाई थाहा थिएन तर परिवारको विकास निश्चित ऐतिहासिक चरण हुँदै गुजेको छ । परिवार इतिहासको व्यवस्थित अध्ययन सन् १८६१ बाट सर्वप्रथम बाखो फेनोको पुस्तक ‘मातृ अधिकार’बाट सुरु भएको हो । परिवार इतिहासको विकाससँगै संस्कृति र संस्कारहरू बदलिँदै आएका छन् । त्यसैले संस्कारको गहन अध्ययनका लागि परिवार इतिहासको अध्ययन आवश्यक हुन्छ । कतिपयले धर्म र संस्कारलाई सभ्यताको अभिन्न अङ्ग ठान्दछन् तर धर्मको उदयपूर्व नै मानव सभ्यता थियो । “मान्छेको भौतिक अवस्था, प्रकतिसँगको सङ्घर्ष र एकता, आत्मिक उत्थानको स्तर नै सभ्यता हो । सभ्यतासँग धर्मको नाता छैन । धर्मको उदयपूर्व नै सभ्यता थियो । बेबिलोन, सुमेर, अजटेक मोहनजोडादो, हरप्पा, माया, वैदिक, मेसोपोटामियाका सभ्यताहरूमा सुसङ्गठित धर्मको अस्तित्व देखिन्न । वैदिक धर्मअघि नै वैदिक सभ्यताको अस्तित्व थियो । आदिमानव ग्रन्थ मानिने ऋग्वेदमा धर्मको कुनै अस्तित्व छैन” चिन्तक कमलेश्वर भन्छन् । अब हामी भन्न सक्छौँ कि धर्म र संस्कारसँग मानव सभ्यताको कुनै नाता छैन । यद्यपि कतिपय संस्कारले सभ्यतालाई टेवा दिइरहेका हुन सक्छन् भने कतिपय पक्षले अवरोध पु¥याइरहेका पनि हुन सक्छन् ।
हरेक धर्म, जाति, क्षेत्र र समुदायका अलग–अलग संस्कार छन् । एउटै जाति, क्षेत्र र धर्ममा पनि फरक–फरक संस्कार छन् । त्यस्तो विविधतापूर्ण संस्कारको थालनी अथवा प्रादुर्भाव कसरी र कहिले सुरु भयोहोला त ? यो आम जिज्ञासाको विषय छ । त्यस विषयमा चिन्तकहरूका फरक–फरक धारणा रहेका छन् । जङ्गली अवस्थामा मान्छे कन्दमूल र शिकारमा जीविकोपार्जन गथ्र्यो । उनीहरू जसले जसरी खानेकुरा प्राप्त गरे पनि बाँडेर खान्थे र आपसमा सुरक्षा गर्थे । झुण्ड–झुण्डमा बस्ने सदस्यमध्ये जब कुनै सदस्य रोग वा बुढ्यौलीका कारण मर्थे । मरेको सदस्य बोल्दैनथ्यो । मृत्युबारे अज्ञात मान्छेलाई अनौठो लाग्न गयो । मरेको सदस्यलाई आफूसँग लग्न खोजे होलान् । केही नलागेपछि छाडेर गए तर धेरै दिनसम्म खासगरी सपनामा सम्झनाहरू भइरहे । सपनामा देखिए । त्यसपछि मरेको मान्छे रिसाएर आफूसँग आफ्नो समूहमा नआएको होला भन्ने कल्पना गरे । त्यसपछि खानेकुरा, हतियारआदि उसका लागि छुट्याउन थाले । त्यसरी मृतकका लागि खानेकुरा, काठे तथा ढुङ्गे हतियार चढाउने चलन चल्यो । कालान्तरमा त्यो चलन संस्कार बन्न गयो । हाम्रा पुर्खा आदिमानवको उद्भव आजभन्दा झन्डै २० लाख वर्षअघि भएको मानिन्छ, धार्मिक प्रकारको चिन्तनको उत्पत्तिचाहिँ उत्तर–ढुङ्गेयुग (१८ देखि ४० हजार वर्षअघि) मा भएको थियो । मृत्यु संस्कारले २० देखि ३० हजार वर्षअघिदेखि धार्मिक स्वरूप ग्रहण गरेको मानिन्छ । ४ हजार वर्षअघिदेखि मृत्यु–संस्कारमा आत्मा, परमात्मा, स्वर्ग–नर्क, पूर्वजन्म, पुनर्जन्म र ईश्वरजस्ता काल्पनिक भ्रमहरू थपिएका छन् ।
त्यसरी जीवन र जगतका प्रश्नहरूको वैज्ञानिक जवाफ दिन नसक्दा अलौकिक संस्कारको जन्म भएको मान्न सकिन्छ । कालान्तरमा संस्कारले धार्मिक स्वरूप प्राप्त गर्न गएको देखिन्छ । २२
अङ्गुल लामो सिङ भएको राँगोलाई छिनाउन सक्नेलाई मध्यकालीन नेपालको किराँत समुदायमा जोदाहा ‘योद्धा’ मानिन्थ्यो । अहिले पनि कतिपय कुलीन किराँतका घरमा लामा–लामा सिङ भएका भैंसीका टाउकाहरू (अखटोपहार) मूलढोकाको सिरानमा भित्तामा राखेको देखिन्छ । संस्कार धेरै आवश्यक, अनावश्यक, वैज्ञानिक, अवैज्ञानिक कारणबाट बन्दै चलनमा आएका हुन्छन् ।
संस्कार के हो ?
दर्शन, विचार, अर्थ–व्यवस्था, जीवनशैली, पद्धति, वातावरण परम्पराआदि संस्कृतिमा अभिव्यक्त हुन्छन् । त्यसैले संस्कार मानवीय स्वरूप नै हो । धर्म, आस्था, भावना, मूल्य– मान्यता, चाडपर्व, चलन सबै मानव निर्मित अस्तित्व हुन् । पृथ्वीमा जीवको उत्पत्ति ‘एक कोषीय जीवदेखि मानव जातिको उत्पत्तिसम्म’ ४ अर्ब वर्षदेखि ३० करोड वर्ष अघिसम्म ईश्वर, धर्म, स्वर्ग, भाग्य, पुनर्जन्मको कुनै अस्तित्व भेटिन्न । आर्य जातिको एक शाखा हिन्दु धार्मिक प्राचीन ग्रन्थ वेद सिर्जनाकाल (श्रुति परम्परा र स्मृति परम्परा) सम्म पनि ईश्वरको अस्तित्व देखिन्न । हिन्दु धार्मिक चेतनाको उदय ५ हजार वर्षअघिसम्म धर्म कतै देखिन्न । वैदिक धर्मले कर्म–काण्डीय संस्कार मानेको देखिन्न । दैवीशक्तिको उदय सामन्ती समाजका उपजहरू हुन् । भाग्यवाद पौराणिक युग (पुराण लेखनयता) को उपज हो । अवतारवाद सबैभन्दा पछिल्लो धार्मिक कचरा र संस्कार हो । यसको अस्तित्व कायमै छ । १८ पुराणमध्ये गरुड पुराण पछिल्लो हो । जुन दानदातव्य असुल गर्ने कलुषित मनोकाङ्क्षाले रचना गरिएको छ, जसको रचना आजभन्दा १२–१४ सय वर्षपूर्वभन्दा टाढा छैन । यसमा व्याख्या गरिएका प्रसङ्ग, मनोविज्ञान, मनोकाङ्क्षा तथा शब्दचित्र वर्तमान समाजसँग सामयिक देखिन्छन् । यसमा पुरोहित र महाराजाहरूको स्वार्थको पूर्ति गर्नका लागि निर्धालाई तर्साएर  मानसिक रूपले त्रस्त बनाएर अप्रत्यक्ष रूपमा भयानक लुटपाट गरिएको छ । सबै जाति, धर्म र भूगोलमा त्यसप्रकारका भ्रमात्मक संस्कार रहेका छन् । आदत, आनीबानीका रूपमा असचेत रूपमा मान्छेले अवलम्बन गर्दै आएको हर्कत संस्कार हो ।
विश्वदृष्टिकोणले संस्कारमा प्रभाव पार्दछ । भौतिकवादी चिन्तनले भौतिकवादी संस्कार र अध्यात्मवादी चिन्तनले त्यही प्रकारका संस्कारको माग गर्दछ तर व्यवहारमा त्यसो भएको देखिन्न । पुँजीवादी धाराका वैज्ञानिकहरू आफैँ संस्कारगत रूपमा अध्यात्मवादी संस्कारले ग्रसित देखिन्छन् । भौतिकवादी अझ माक्र्सवादी खेमाका व्यक्तिहरू आफैँ संस्कारगत रूपमा अध्यात्मवादी देखिन्छन् । त्यसप्रकारको विरोधाभासका सन्दर्भमा सौन्दर्यचिन्तक निनु चापागाईं भन्छन्, “कुरा भौतिकवादको गर्ने, तर अध्यात्मवादी आचार–व्यवहार नछाड्ने, मुखले अदृश्य शक्तिको विरोध गर्ने, तर घरभित्र ईश्वरको पूजा गर्ने कार्यलाई निरन्तरता दिने, कुराकानीमा शोषणको विरोध गरे जस्तो गर्ने तर व्यवहारमा भने शोषणलाई भरथेग गर्न बनाइएका संस्कार र चालचलन, परम्परा, रीतिस्थितिलाई शोषकवर्गले जस्तै मानिरहने यो वास्तवमा पाखण्डबाहेक अर्थोक केही होइन ।१ धर्म सामन्ती शोषण र उत्पीडन कायम राख्ने साधन थियो । संस्कारले त्यसलाई मलजल र रसिलो बनाउँथ्यो । अर्को शब्दमा संस्कार धर्मको दाँती र पेचकिला हुन् । संस्कार सामन्ती शासकका आत्मिक, मानसिक, गोलीगट्ठासरह थिए । हिन्दु धर्ममा आधारित भएर १६ संस्कार बनेका छन्; जसमा गर्भाधान संस्कार, पुंसवन संस्कार, सिमान्तोनयन संस्कार, जातकर्म संस्कार, नामकरण संस्कार, निष्क्रमण संस्कार, अन्नप्राशन संस्कार, कर्णविधान संस्कार, विद्यारम्भ संस्कार, चूडाकर्म संस्कार, उपनयन, वेदारम्भ संस्कार, केशान्त संस्कार, समावर्तन संस्कार, विवाह संस्कार, अन्त्येष्टि संस्कार पर्दछन् । ती सोह्र संस्कारमध्ये ६ वटा संस्कार (गर्भाधान, पुंसवन, सीमन्तोनयन, वेदारम्भ, केशान्त र समावर्तन) कट्टर संस्कारपन्थीहरूले पनि छोडिसकेका छन् । त्यस्तै, अरू पाँच संस्कार (जातकर्म, कर्णविधान, विद्यारम्भ, वेदारम्भ र चूडाकर्म) पनि लोप हुँदै गएका छन् । यी पाँच संस्कारको बिँडो थाम्दै गरेकाहरूले पनि विधि विधानअनुसार वा पुराणअनुसार गरिरहेका छैनन्, न त विश्वास नै भएको पाइन्छ । वास्तविक प्रयोगमा अहिले सोह्र संस्कारमध्ये पाँच संस्कार जस्तै (नामकर्म, अन्नप्राशन, उपनयन, विवाह र अन्त्येष्टि) मात्र कायम छन् ।
एउटा जाति र धर्ममा पनि अनेक संस्कार हुन्छन् । हिन्दु र बौद्ध धर्ममा विभाजित नेवार समुदायमा ‘चौध संस्कार’ देखिन्छन् । जसमध्ये म्हः पूजा र बेल विवाह बढी चर्चामा छन् । त्यसैगरी किराँत लिम्बु समुदायमा ‘पाँच संस्कार’ कायम छन् । जसमा ‘साम्पोक चोमेन’ संस्कार जन्मपूर्व गर्भवती महिलालाई खान हुने र नहुने, गर्न हुने र नहुनेजस्ता कुराहरू सिकाइन्छ । त्यस संस्कारलाई स्वास्थ्य विज्ञानको तालिम भन्दा पनि हुन्छ । त्यसैगरी, याङदाङ फोः ङ्मा (न्वारान), च्याङ्वा न् लेक्मा (वस्त्र फेर्नु) विवाह र मृत्यु संस्कार पनि अरू समुदायका भन्दा फरक छन् । चाड्वाः न् लेक्मा संस्कारमा नाता पर्ने केटा वा केटीसँग जिस्कन र फूलले हान्न नपाइने नियमहरू छन् । जसले नजिकको साइनोमा प्रेम सम्बन्ध नहोस् भन्ने अपेक्षा देखिन्छ । धिमाल जातिमा शिशुको नाइटो झरेको दिनमा मात्र नामकरण गरिन्छ; जुन समुदायमा छोराछोरी जन्मँदा हर्षबढाइँ हुन्छ ।
भाषा, धर्म, सस्कृति, संस्कार आर्थिक प्रभुत्वअनुसार डोलायमान हुन्छन् । लिम्बु जातिमा १८९६ सम्म सौतेनी आमा र सानीमा विवाह गर्ने चलन थियो, जुनमाथि कानुनी बन्देज गरियो । भाउजू स्याहार्ने चलन लिम्बुमा मात्र होइन, थारु समुदायमा अझै कायम छ । मुसलमानहरूमा एउटै कोखका बाहेक सबै दाजुभाइ, दिदीबहिनीका बिचमा विवाह गर्ने संस्कार छ । धिमाल र बोडो जातिमा बर्खामा मृत्यु भएमा गाड्ने र हिउँदमा मृत्यु भएमा जलाउने चलन छ । थारु जातिको एक समुदाय (पश्चिम) मा महिलाको लास उत्तानो पार्ने र पुरुषको लास घोप्टो पारेर गाड्ने चलन छ ।
सोह संस्कार जसरी नै हिन्दु धर्ममा चाडपर्व व्रतपूजाआदिमा अनेकौँ संस्कारहरू छन् । समय अनुकूल तिनमा जनपक्षीय धारालाई प्रवल गराउनु आजको आवश्यकता हो । सौन्र्दयचिन्तक चैतन्य भन्छन्, “साँस्कृतिक रूपान्तरणको मूल लक्ष्य पुरानो विचारधारा र संस्कृतिलाई विस्थापित गर्दै नयाँ विचारधारा र संस्कृतिलाई स्थापित तुल्याउनु हो ।२
संस्कारको सिर्जना र निरन्तरता
इतिहासका खासखास चरणमा समाजलाई अगाडि बढाउनका निम्ति निश्चित संस्कृतिको आवश्यकता पर्दछ । त्यही संस्कृतिलाई थप सुदृढ र बलियो बनाउनका निम्ति संस्कारहरूको रचना गरिन्छ । कतिपय संस्कारहरू आचरण र व्यवहारका क्रममा निर्मित हुँदै पुस्तैनी रूपमा हस्तान्तरण हुँदै गएका हुन्छन् । समाज वर्गमा विभाजित भएपछि वर्ग स्वार्थअनुसार संस्कारहरू रचना गरिएका छन् । सत्तारुढ वर्गको विचार नै समकालीन समाजको सत्तारुढ विचार हुने गर्दछ । त्यसअर्थमा सत्ताको निरन्तरता र सवलीकरण गर्ने उद्देश्यले शासक वर्गका बौद्धिक जमातले संस्कारहरूको सिर्जना गरेका छन् । सत्तारुढवर्गको संस्कार नै समाजको सत्तारुढ संस्कार बन्दै आएको छ ।
हरेक धर्मको उदय सामन्ती युगमा भएको थियो । राजा–महाराजाहरूको स्तुति गर्नु, उनीहरूको उत्पीडनलाई दैविक तथा पूर्वजन्मको फल भन्नु, दानदातव्य गर्न प्रेरित गरेर राजा महाराजाहरूको रक्षक पुरोहित वर्गको स्वार्थसिद्धि गर्नु, राजतन्त्रका विरुद्धको विद्रोह  रोक्नका लागि राजालाई ईश्वरका प्रतीक भनाउनु, राजाद्वारा आशीर्वाद ग्रहण गर्नु आदि संस्कारको सिर्जना गरियो । बौद्ध धर्ममा ‘लामा’को मलमूत्र प्रसादका रूपमा खुवाउने संस्कार अझै कायमै छ, पादरीहरूलाई विवाहको पहिलो रात वधु उपलब्ध गराउने चलन युरोपमा हटेको धेरै वर्ष भएको छैन । युरोपमा कुनै समय पोपको ‘पापमोचन पत्र’ बिक्री हुन्थ्यो । मार्टिन लुथरले त्यसका विरुद्ध सामाजिक रूपान्तरण अभियान चलाए । त्यसपछि युरोपमा पुनर्जागरणकाल सुरुभयो । एसिया महादेश कृषियुगमा प्रवेश गर्दा युरोप जङ्गली युगमै थियो । पूर्वीय समाजको साँस्कृतिक जडताले सभ्यता पछाडि पर्न गयो । महाराजा, राजा, पुरोहितपछि सामन्ती समाजको अर्को उत्पीडक पितृसत्ता हो । पितृसत्ता बलियो बनाउनका लागि अनेक संस्कृतिको सिर्जना गरिएको छ । वधुशिक्षा, छाउपडी प्रथा, तीज व्रत, जितिया पर्व, मनुस्मृतिआदि त्यसका उदाहरण हुन् । मुस्लिम समाजमा युवतीको यौनिक क्षेदन जाँच गर्नु आदि पितृ सत्तात्मक संस्कार हुन् । युरोप र अमेरिकामा अहिले पनि रङ्गभेद जर्जर अवस्थामा कायम छ । यी सबै सामन्ती संस्कार हुन् । अर्थ–राजनीतिमा जसरी सामन्तवाद र पुँजीवादका बिचमा गठबन्धन भएको छ; त्यसरी नै यी दुईका बिचमा साँस्कृतिक क्षेत्रमा गठबन्धन भएको देखिन्छ । सामन्तवादमा दया, धर्म, परलोकजस्ता एकस्तरका नैतिक मूल्य देखिन्थे । पुँजीवादका लागि नाफाका अगाडि सबथोक त्याज्य छन् । ‘जे उपभोग्य छ, त्यही सत्य हो । जे गर्दा नाफा हुन्छ, त्यही नैतिक हुन्छ’ पुँजीवादको नैतिक मापदण्ड बन्न जान्छ । त्यसैले सामन्तवादबाट उत्तरदानका रूपमा प्राप्त संस्कारलाई पुँजीवादले नयाँ जलपले सिँगार–पटार गरेर प्रस्तुत गर्दै बजारका सामान बिक्री गर्ने अवसरका रूपमा अवलम्बन गरिरहेको छ । आज बढ्दो भड्किला चाडपर्व, विवाह कर्म, मृत्यु संस्कारआदिमा बजारको स्वार्थ जोडिएको छ । सञ्चार गृहहरू निगम पुँजीवादका कारिन्दा भएका कारण तिनीहरूले बजारको स्वार्थलाई राष्ट्रियता, चिनारी, मौलिकताजस्ता जलप लगाएर अथवा प्रचारित गरेर बढीभन्दा बढी उपभोग गर्न उक्साउँछन् । संस्कारमा रहेको जनविरोधी चरित्र उनीहरूका लागि सरोकारको विषय बन्दैन । त्यसैगरी पुँजीवादले नयाँ नयाँ संस्कारहरू थपेर तिनको भूमण्डलीकरण गरेर लुटको राज्य विस्तार गरिरहेको छ ।
संस्कृति समाजको अधिरचना हो । आधारमा परिवर्तन नल्याइकन अधिरचनामा ठूलो परिवर्तन आउन सम्भव छैन । जनयुद्धको समयमा ग्रामीण भेकमा महिला उत्पीडनकारी संस्कार, अन्तर्जातीय विवाह, पुनर्विवाह, जातीय भेदभावजन्य संस्कारहरू निकै हदसम्म घटेका थिए । शान्ति प्रक्रियापछि भौतिक सत्तामा प्रतिक्रान्तिसँगै आत्मिक सत्तामा पनि प्रतिक्रान्ति तीव्र बनेर गयो । दासत्वबोध बढेर गएको छ । खैरो कपाल, हिन्दी लवजको नक्कल दासत्वबोधका अभिव्यक्ति हुन् । विदेशीहरूको चाकरी, दासत्व, आत्मसर्मपणकारी संस्कारले दैनिक जीवन व्यवहार प्रभावित छ । त्यसले हाम्रो आर्थिक जीवनमा नकारात्मक प्रभाव पारिरहेको छ ।
संस्कार र धर्मका विषयमा पौराणिककालमै प्रश्न उठेका थिए । यज्ञ वल्लक्य ऋषिले जगत्को सृष्टि ईश्वरले गरेका हुन् भनेपछि विदुषी गार्गीले ईश्वरको रचनाचाहिँ कसले ग¥यो त ? प्रश्न गरेकी थिइन् । धर्म र संस्कारप्रति प्रश्न उठ्नासाथ ऋषिले “सीमा ननाघ गार्गी, तिम्रो शिरोच्छेदन होला” भनेका थिए । त्यसरी एक विद्वान् महिलाको वैज्ञानिक प्रश्नलाई दबाइयो, धार्मिक संस्कारलाई निरन्तरता दिइयो तर प्रश्न उठ्न छोडेन ।
संस्कार र परिवर्तन
जगत् परिवर्तनशील छ तर त्यो जथाभावी नभएर निश्चित नियमपूर्वक निरन्तर, अविछिन्न रूपमा भइरहेको छ । जगत् निश्चित प्राकृतिक नियम र विधिमा चलिरहेको छ तर त्यो समय–समयमा भङ्ग हुने गर्दथ्यो । निरन्तरतामा क्रमभङ्ग हुन्छ, विघटन हुन्छ र ध्वंसमा बदलिन्छ । प्रलयद्वारा निरन्तरतामा परिवर्तन हुन्छ, कराडौँ वर्षपूर्व पृथ्वी आगोको डल्लो थियो । एकदिन पृथ्वी अझै चिसो हुनेछ । जगत् परिवर्तनसम्बन्धी नियमजस्तै जीवन पनि परिवर्तनशील छ । जगत् र प्रकृति नै परिवर्तनशील छ भने जीवन (मान्छे) ले काल्पनिक तवरले तयार गरेका भ्रमपूर्ण संस्कार, चाडपर्व, व्रत, जीवनशैली, व्यवहार, आचरण अपरिवर्तनीय हुन सक्दैनन् । जीवन परिवर्तन र मरणशील भएपछि उसले बनाएको निरीह ईश्वरीय शक्ति र संस्कार शाश्वत् हुने प्रश्नै रहेन । संस्कृति निश्चित समय र समाजको आवश्यकताका उपज (यद्यपि आवश्यकताको सिर्जना वर्गसापेक्ष र अवैज्ञानिक ढङ्गले गरिएको किन नहोस्) थिए । समाज र समय परिवर्तन भएपछि संस्कारमा समेत परिवर्तन अनिवार्य छ । यदि त्यसो हुँदैन भने त्यसप्रकारको संस्कृतिले सभ्यतालाई स्थिर र पछौटे बनाउँछ । समाजको विकासलाई अवरूद्ध गर्दछ । समाजको विकासका लागि संस्कृति र संस्कारको समयानुकूल परिवर्तन अनिवार्य छ । मान्छेले जीवनको त्यो नियमलाई गति दिन वा धिमा गरिदिन सक्छ तर पूरै रोक्न सक्दैन ।
पुराना संस्कार भन्नासाथ सबै जनविरोधी, समाज विरोधी र त्याज्य हुँदैनन् । छुवाछुत प्रथा, छाउपडी प्रथा, छुई प्रथा, तिलक, दाइजो, बुर्का प्रथाजस्ता संस्कार तुरुन्तै छोड्नुपर्छ । त्यसप्रकारका संस्कारमाथि राजकीय प्रतिबन्ध लगाउन आवश्यक छ । त्यसैगरी, आफन्तजनको मृत्युमा शोक मनाउनु, उनीहरूले समाज र परिवारप्रति खेलेको भूमिका स्मरण गर्नु र सम्मान गर्नु आवश्यक नै छ । मृत्यु संस्कार सुरुमा १३ वर्ष मनाइन्थ्यो । त्यो घटेर १३ महिना हुँदै १३ दिनमा झरेको छ । व्यवहारमा १३ दिन गर्ने पनि नगन्य छन् । विवाहमा जन्ती विवाहका साछी र सुरक्षाकर्ता थिए । आज साछीको काम अदालतले गर्न थालेको छ र सुरक्षाको समस्या नै छैन । गरुड पुराणमा नै ऋषि, राष्ट्रसेवक, सन्यासी, राजकर्मचारी, राजा, प्रहरीले बार्न पर्दैन भनिएको छ । हजारौँ वर्ष पहिलेको समाजमा सिर्जित मृत्यु संस्कार आजको विकसित र जटिल समाजमा आवश्यक र सम्भव दुवै देखिन्न । गरुड पुराणको आतङ्क र लुटेरा मनोकाङ्क्षा त अविलम्ब छोड्नैपर्छ । त्यसैले मृत्यु संस्कारमा समयअनुसार सुधार गर्न आवश्यक छ । अग्रजहरूलाई सम्झने, सम्मान गर्ने तरिका र संस्कारमा विविधता हुनसक्छ ।
आजभोलि पश्चिमी संस्कृतिको भेल आएको छ । प्रभु यशुका भ्रमहरू बढ्दो छ । उनीहरू प्रभु यशुले सबै समस्या समाधान गरिदिने ठान्छन् । २०७२ साल वैशाख १२ गतेको शक्तिशाली भूकम्पमा सचेतनता अपनाउन छोडेर प्रभुको नाम जपेर भवनभित्र बस्दा कपन, सीतापाइलालगायत स्थानमा सयौँको सामूहिक चिहान बन्न गएको थियो । पशुपालक युगमा गाई, भैंसी, घोडा सबैको मासु खाने गरिन्थ्यो । जब कृषि युग आयो तब इन्द्रलाई नभएर गाईलाई पूजा गर्न थालियो ।
सायद कृष्ण (गोठाला) ले गाई पुज्ने चलन चलाए । थारु जातिमा गोदभराई (गोदन) नगरेमा पानी नचल्ने चलन हटिसकेको छ । यसरी सामाजिक आवश्यकताले अनेक संस्कार बन्ने र भत्कने भइरहेका छन् ।
मान्छेले सुरुमा प्राकृतिक शक्ति र पछि सामाजिक शक्तिका विरूद्ध लडेर आफूलाई समृद्ध गर्दै आएको छ । समाजको श्रम र कृषि निर्भर जीवनमा श्रमको बजारीकरणसँगै देवताका स्वरूप र पूजन विधि पनि बदलिँदै आएका छन् । सूर्यको चामत्कारिक भूमिका नबुझेको प्रकृति पूजक मान्छेले त्रास र गुन तिर्ने दुवै कोणबाट सूर्य पूजा गर्न थालेको हुनसक्छ । आज सूर्यको पूजा होइन, सूर्य स्नान (घाम ताप्नु) आवश्यक छ ।
हिन्दु धर्ममा वैष्णव, शैव, शाक्त तीनवटा सम्प्रदाय छन् । यी तीनवटैका संस्कार एउटै घरमा देख्न सकिन्छ । हिन्दु धर्ममा कोही शाकाहारी छन् भने कसैको भान्छा मासु, माछा नभई अपूरो हुन्छ । लुङ्गी मुस्लिमहरूको पहिरन हो तर हिन्दुहरूले अभिन्न अङ्ग बनाइसकेका छन् । बिहारीहरू लौका र फर्सीको साग खान्नन् र बङ्गालीहरू निकै मन पराउँछन् । दूध मोलाई मुस्लिम सम्राटको खाना हिन्दुको भान्छामा पसिसकेको छ । यसरी संस्कारहरू बदलिने, फेरिने क्रम जारी छ तर सामूहिक उत्पादन सम्बन्धले सामूहिक संस्कार निर्माणको वस्तुगत आधार तयार गर्नेछ । उत्पादनका साधनहरूको स्वामित्वमा जनपक्षीय परिवर्तन नभई साँस्कृतिक रूपान्तरणले गति लिन सक्दैन । साँस्कृतिक रूपान्तरण भनेको परम्परागत रुढी चिन्तन र व्यवहारलाई छोड्नु हो । जीवन मूल्यहरूमा परिवर्तन नगरी क्रान्ति हुँदैन ।
अक्सर हाम्रो आचरण र व्यवहार संस्कारगत हुने गर्दछ । संस्कार वस्तुगत आवश्यकताभन्दा चेतनागत हुने गर्दछ । सामान्यतया चेतनाको विकास वस्तुको विकासको तुलनामा पछौटे हुने गर्दछ । संस्कार चेतन पक्ष भएको हुँदा आवश्यकतासँग बाझिएको हुन्छ । त्यसैले प्रश्न उठ्छ– हाम्रो आचरण संस्कारगत हुने कि बुद्धिसङ्गत ? प्राचीन ग्रन्थहरूको आधारमा भन्न सकिन्छ– महाभारतका कृष्ण र विद्वान् चाणक्य बुद्धिसंगत आचरण गर्थे, संस्कारवादी थिएनन् । आवश्यकतानुसार संस्कार छोड्न र ग्रहण गर्न तयार नहुँदा त्यो प्रगतिको वाधक बन्दछ ।
कतिपय संस्कारहरू बदलिँदै गएका छन् । गरुड पुराण श्रवण घट्दै गएको छ । तेह्र दिनलाई घटाएर गर्ने चलन बढ्दै गएको छ । सूतक बार्ने र छोइप्रथा हट्दै गएको छ । सन्तानको न्वारन पुरोहितले गरिदिने संस्कार अधिकारका दृष्टिले पनि गलत छ । सन्तानको न्वारन आमा–बाबुले गर्न पाउनु न्यायपूर्ण हुन्छ । वयस्क भएपछि व्यक्ति स्वयम्ले आफ्नो न्वारन (नाम छान्ने हक) आफैँ गर्न पाउने कानुनी व्यवस्था हुनुपर्छ । बच्चालाई ६ महिनामा अन्नप्रशान गराउने चलन छ । स्वास्थ्य विज्ञानको विकास र आमाको खानपान तथा व्यस्तताका कारण सन्तानलाई ६ महिनाअगाडि नै अन्नप्रशान गर्ने चलन बढ्दो छ । संस्कार समाजको आर्थिक–सामाजिक आवश्यकताले पैदा भएका कारण त्यसको आवश्यकताले नयाँ सिर्जना हुने र पुरानो लोप हुनेक्रम जारी छ ।
विवाह संस्कारमा एकातिर सामन्ती समाजका अन्धविश्वास कायम छन् । अर्कोतिर तामझाम, आडम्बरजस्ता पुँजीवादी विकृति छन् । विवाह संस्कार उत्सव पनि हो । आडम्बर छोड्ने नाममा विवाह कर्मलाई मलामी यात्राजस्तो निराश बनाउनु हुँदैन । त्यसप्रकारको अति सामान्यीकरणले नयाँ संस्कारको सिर्जना गर्न सकिन्न । सामन्ती संस्कार छोड्ने क्रममा कतिपय वामपन्थी पथगामीहरूले एउटा संस्कार छोड्न ठूलो सङ्घर्ष गर्ने तर त्यस्तै अर्को संस्कृति वा संस्कार सहजै अपनाइरहेको देखिन्छ । पुरानो मृत्यु संस्कार छोडेका कतिपयले अग्रजका खुसीका लागि (मन राखिदिन भन्दै) दसैँ, तिहारआदि चाडपर्वहरूका संस्कार सहजै स्वीकार गरेको देखिन्छ । आजभोलि एकथरी वामपन्थी र प्रगतिशील सङ्गठनहरूले पुरानो संस्कृतिको जनवादीकरण गर्ने नारा दिइरहेका छन् । सुधार गर्नुपर्ने, गर्न सकिने संस्कारको जनवादीकरण गर्न सम्भव होला तर सबै संस्कृतिको जनवादीकरण गर्न सम्भव छैन । त्यसो हुँदो हो त राजा महाराजाको जन्म दिवसको जनवादीकरण गर्न सकिन्थ्यो ।
आजको समयमा कतिपय संस्कृति र संस्कार रचना भइरहेका छन् । नयाँ वर्ष (वैशाख १) नेपाली समाजको नयाँ पर्वको रूपमा स्थापित भएको छ । सहिद दिवस, बलिदान दिवसजस्ता नयाँ संस्कार सिर्जित हुँदै गएका छन् । आज पछौटे र जनविरोधी भनिएका संस्कारको उदय हुँदा ती संस्कारहरू आधुनिकताको भेषमै चलनचल्तीमा आएका थिए । आजभन्दा ४०० वर्षअगाडि पुरोहितवादको जन्म हुँदा रजश्वला, पास्नीआदि संस्कारहरू आधुनिकताको नाममा हिन्दुहरूले ग्रहण गरेका थिए । जसरी आज युरोपीय चाडपर्वहरू सहरिया अभिजातवर्गले आधुनिकताको नाममा भिœयाइरहेका छन् । आजको सभ्य मानिने संस्कार भोलि असभ्यताको प्रतीक मान्न सकिन्छ । त्यसैले संस्कार परिवर्तनशील हुनुपर्छ ।
संस्कार र बल प्रयोगको प्रश्न
संस्कृति मान्छेको भावना, संस्कार, चिन्तनसँग जोडिएको विषय हो । मान्छे जीवित रहुञ्जेल मानसपटलबाट त्यसलाई हटाउन सकिन्न । त्यसैले साँस्कृतिक प्रश्नमा बल प्रयोग गर्न हुन्न भनिएको छ तर यो निरपेक्ष विषय नभएर परिस्थितिसापेक्ष विषय हो । शासकवर्ग र जनविरोधी कतिपय संस्कृतिमाथि बल प्रयोग हुनसक्छ । नरबलीप्रथा, दासप्रथा, सतिप्रथामाथि समकालीन शासकवर्गले नै बलपूर्वक निषेध गरेका थिए । जातिभेद, रङ्गभेद, तिलकप्रथा, कुमारीप्रथाआदिमा बल प्रयोगको विकल्प छैन । धर्म, सम्बन्धमा ‘कम्युनिस्टको हकमा भौतिकवाद, राज्यको हकमा धर्म निरपेक्षता र जनताको हकमा धार्मिक स्वतन्त्रता’ को नीति लिनुपर्छ, सबै गलत र जनविरोधी संस्कारहरू आफैँ त्यसै फेरिन्छ भन्ने सोचाइ गलत छ । त्यसका लागि सचेतन पक्षको भूमिका निर्णायक रहन्छ ।
नेपालमा हिन्दु धर्म र संस्कार बलशाली छ । धार्मिक र पौराणिक कथाका आधारमा हिन्दुहरूले सधैँ हिंसाको पूजा गर्दै आएका छन् । जसरी बुद्धले ‘वेद र ईश्वरलाई अस्वीकार गर’ भनेका थिए । शान्ति र अहिंसाको मार्ग देखाए । भारतमा अङ्ग्रेजको आवागमनपछि भारतीय संस्कृतिमा अतिक्रमण गरियो । जब उनीहरूको अन्त्य हुँदै थियो, अन्तिम भायसरायले भारतीय संस्कारको पुनर्वहालीको निर्णय गरे; जसअनुसार भारतीय होटलहरूमा पाहुनाहरूका लागि खासगरी शाकाहारी भोजन पाक्न थाले । काँटा चम्चाको सट्टा हातले खाने परम्परा बसालियो र भोजनको अन्त्यमा आवाज निकालेर कुल्ला गर्ने छुट पनि भारतीयहरूलाई दिइयो । पश्चिमी सत्ताले बलपूर्वक लादेको संस्कार सत्तासँगै ढल्दै भारतीयकरण हुँदै गएको थियो । त्यसैले संस्कारको पतन र उदयको प्रश्नलाई सत्ताको प्रश्नसँग जोडेर मात्र बुझ्न सम्भव छ ।
रक्त–मिश्रण र संस्कार
आर्यहरू घुमन्ते जाति मानिन्छन् । ककेसस पर्वत शृङ्खलाबाट विचरण गर्दै मेसोपोटामिया सम्यता (हालको टर्की आसपास) आइपुगेपछि एउटा समूह पश्चिम यूरोपतिर लाग्यो र अर्को सिन्धुघाँटीमा पुग्यो । आर्यहरू सिन्धुघाँटीमा पुग्दा उनीहरूको साथमा नारीहरू थिएनन् । त्यहाँ असुर नारीहरू (आदिवासीहरू) मात्र थिए । आर्यहरूले असुर नारीहरूसँगको समागमबाट सन्तान उत्पादन गरे । ई. पू. १८ औँ शताब्दीमा अङ्गिरा ऋषिले ‘हाम्रो संस्कृति, रगत, जाति, नश्ल सबै नष्ट भएर गएको छ । हाम्रा पुरुषहरू असुरसँग समागम गर्न थालेका छन् । यस्तै हो भने हाम्रो संस्कृति विनास हुनेछ’ भनेका थिए । आफ्ना राजासमेत असुरसँग मिल्न गएकोमा ऋषि अङ्गिराले असन्तुष्टि जाहेर गरेका थिए । संस्कृति विनासको चिन्ता आजको होइन ।
एक अध्ययनका अनुसार रावण जाति श्रीलङ्काबाट सिमरौनगढ हुँदै रामेछाप पुगेको अनुमान छ । रावण राज्यको पतनपछि उनीहरूले धर्म रक्षाका लागि भौँतारिएको अनुमान छ । तिनीहरू रामेछापमा हालसम्म ‘हायू’ जातिका रूपमा चिनिन्छन् । बर, पीपल, तुलसी ग्रेटो जातिको गणचिन्ह हो तर आजभोलि हिन्दु धार्मिक संस्कारको अङ्ग बनेको छ । नेग्रेटो अफ्रिका महादेशबाट एसियातिर आएका हुन् । उनीहरू धनुकाण चलाउँथे र वृक्षपूजा गर्थे । अस्ट्रिकहरू पश्चिम एसियाबाट दक्षिण एसिया पुगे । कोदालो, कपास, केरा, तोरी, नरिवल, मास, सुपारी, सिन्दुर, बेसार, पूर्वजन्मआदि आत्मिक तथा भौतिक संस्कृति अस्ट्रिक जातिका योगदान हुन् । द्रबिडहरू भूमध्य सागरीय क्षेत्रबाट दक्षिण एसिया पुगे । मङ्गोल जाति उत्तरपूर्व बस्थे । आर्य जातिभन्दा पूर्व नै उनीहरू त्यहाँ सभ्यता निर्माण गर्न सफल रहे । प्रकृति पूजा, नारी हैकम उनीहरूका विशेषता हुन् । आर्यजाति पश्चिम एसियाबाट संसारभरि फैलियो । उसले वर्णाश्रम व्यवस्था यज्ञ, होम, कला र दर्शनमा विशेष योगदान ग¥यो । वैद्धिक (आर्य देवता) इन्द्र, सोम, अग्नि, आदित्य, ओझेलमा पर्दै आर्यइतर देवता (ब्रह्मा, विष्णु, महेश्वर) स्थापित भएका छन् । बर, पीपल, तुलसी, बेल अनार्य जातिका गण चिन्हहरू आर्यहरू पुज्छन् । खसहरू आफ्नो गण चिन्ह बोको खान्छन्, राईहरूले छुदैनन् भने किराँतहरूले आफ्नो गणचिन्ह किट (सुँगुर) खान्छन् । यसबाट बुझ्न सकिन्छ धर्म, संस्कार र रक्त–मिश्रण हुँदै मानव सभ्यता यहाँसम्म आइपुगेको छ ।
प्रगतिवाद र पछौटे संस्कार
किशोरावस्थामा पुग्दा नपुग्दै मान्छेले परम्परागत संस्कार र नैतिक मापदण्ड ग्रहण गरिसकेको हुन्छ । अक्सर युवा अवस्थामा पुग्दा उसँग माक्र्सवादको जम्काभेट हुन्छ, त्यसपछि आदर्श वा अध्यात्मवाद र द्वन्द्वात्मक भौतिकवादबिचमा स्वयम् व्यक्तिभित्र सङ्घर्ष सुरु हुनजान्छ । त्यो आन्तरिक लडाइँमा कसले जित्ने भन्ने चुनौती हुन्छ । मानव–समाज कुनै समय वर्गविहीन, शोषणविहीन थियो । समाजलाई पुरानै सारतत्वमा नयाँ वैज्ञानिक रूपसहित पु¥याउने यात्रामा माक्र्सवादीहरू यात्रारत छन् । सामन्ती र पुँजीवादी संस्कृतिले यो यात्रामा अवरोध गरिरहेको छ । त्यसका विरूद्ध महाप्रलय, विष्फोट र विद्रोह आवश्यक छ । ‘पुर्खाहरूले जुन नर्कको यात्रा गरे, त्यसरी नै मर्छु’ भन्ने सोचले नयाँ समाजको सुडेनी बन्न सम्भव छैन ।
धर्म र संस्कार अन्तर्सम्बन्धित विषय हुन्; जसले सभ्य र न्यायपूर्ण संस्कार निर्माणमा सधैँ बाधा पु¥याइरहेका छन् । गोरख पाण्डे भन्छन्, “उनीहरूले यो संस्कारमा कुनै सुख हँुदैन भनेर सिकाएपछि कतै सुख छ भने त्यो स्वर्गमा छ । जहाँ मरेपछि मात्र जान सकिन्छ । जीवनभरि दासताको जुवामा काममा लागिपर, दुःख–कष्ट व्यहोर, धर्म र व्यवस्थाको पालना गर, अनि मर; जसले गर्दा स्वर्गमा सुख पाउन सक्छौ । यो उपदेश तिनीहरू दिइरहेका छन्– जो भोग विलासको वनमा विहार गरिरहेका छन् । जो शासन कायम राख्नका लागि निहत्था मानिसहरू, महिलाहरू र साना नानीहरूसम्मलाई आत्महत्या गर्नु धर्म भनिरहेका छन् र जसले स्वर्ग जानका निम्ति आफूले चाहिँ कुनै कष्ट गरेनन् । जसले गर्दा धर्तीको भार हलुङ्गो होस् ।”४ धनीहरूको सुख गरिबका आँसु, रगत र पसिनाबाट खरिद गरिएको हुन्छ । लुटिएको स्वर्ग फिर्ता गर्न श्रमिकहरू नउठुन् भनेर शासकवर्गले स्वर्ग र नर्कको परिकल्पना गरेको हो । भौतिकवादी विचारबाट पराधीन जनताहरूलाई बलपूर्वक पृथक गरिँदै आयो । गोरख पाण्डे भन्छन्, “भौतिकवादी विचारकहरूलाई शुद्र (पराधीन जनता) बाट अलग गर्न दमनको आड लिन्थे किनभने भौतिकवादी विचार शुद्रहरूलाई स्वाधीनता र सुखको लडाइँ लड्न वैचारिक हातहतियार प्रदान गथ्र्यो ।”५ शासकहरूले भौतिक विचार रोक्न प्रारम्भदेखि हिंसा प्रयोग गर्दै आएका छन् । पृथ्वी गोलो छ भन्दा वैज्ञानिकहरू मारिनु प¥यो । भगवानलाई कसले बनायो भन्दा विदुषी गार्गीलाई समकालीन ऋषिहरूले शिरोच्छेदनको धम्की दिए तर प्रगतिशील समाजमा पछौटे चिन्तन र संस्कार निरन्तर पराजित हुँदै आएको छ ।
जनवादी संस्कृति
जनवादी संस्कृति कस्तो हुने भन्ने कुरा समाज विकासको चरणले निर्धारण गर्ने विषय हो । नेपाली समाज नयाँ जनवादी क्रान्तिको चरणबाट गुज्रिरहेको छ । त्यसैले नेपाल नयाँ जनवादी संस्कृति निर्माणको चरणमा छ । यो समाजवादी संस्कृति होइन तर समाजवादी संस्कृतिको अभिन्न अङ्ग हो; जुन सर्वहारा विश्वदृष्टिकोण र सर्वहारा संस्कृतिबाट निर्देशित छ । समाजवादी अर्थव्यवस्था (आधार) र राजनीति (अधिरचना) कायम नभएको भए पनि नयाँ जनवादी संस्कृतिमा समाजवादी संस्कृतिका लक्षणहरू देख्न सकिन्छ । जीवनप्रति आशावाद, श्रमप्रति निष्ठा, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको अवलम्बन, पार्टी प्रतिबद्धता, जनसेवाको भावना, समाजवादी मानवतावादको अनुशरण, पुँजीवादी चेतना र व्यवहारका विरूद्ध दृढ सङ्घर्ष, देशभक्तिको भावना, अन्तर्राष्ट्रिय भाइचारा, जीवनमुखी चिन्तनआदि नयाँ जनवादी संस्कृतिका पक्षहरू हुन् । यसले अन्धविश्वास, रुढीवाद, पुरोहितवाद सबैको विरोध गर्दछ । भौतिक चिन्तन र विचार यसको दृष्टिकोण निर्माणको आधार हुने गर्छ । भौतिकवादी विश्वदृष्टिकोणले जीवन र जगत्का नियमहरूको अध्ययन गर्छ । विदेशी हस्तक्षेप, उत्पीडन र शोषणको विरोध गर्छ । देशका सबै जाति, लिङ्ग, क्षेत्र र सम्प्रदायका बिचमा आपसी भातृत्वको पक्षपोषण गर्ने भएका कारण नयाँ जनवादी संस्कृतिको स्वरूप राष्ट्रिय हुन्छ । राजनीतिक आन्दोलन जति–जति बलियो बन्दै जान्छ, त्यति–त्यति साँस्कृतिक आन्दोलन पनि बलियो बन्दै जान्छ । जनवादी संस्कृतिले प्रगति र न्यायिक पक्षलाई प्रोत्साहित गर्दछ । त्यसैले जनवादी संस्कृतिलाई समाजवादी संस्कृतिको सुढेनी भन्न सकिन्छ ।
साझा र सामूहिक उत्पादन सम्बन्धले सामूहिक चेतना निर्माणको भौतिक आधार तयार गर्दछ । नयाँ जनवादी व्यवस्थामा एकातिर मान्छेद्वारा मान्छेको शोषणको विरोध गरिन्छ । अर्कोतिर निजी स्वामित्वलाई कानुनी तथा राजकीय मान्यता प्रदान गरिन्छ; जसका कारण समाजवादी चेतनासँग नयाँ जनवादी चेतनाले अन्तर्विरोध राख्दछ तर नयाँ जनवादी संस्कृति समाजवादी दिशामा अगाडि बढिरहेको हुन्छ । यसले समाजवादी संस्कृति निर्माणको आधार तयार गर्दछ । यसले सामन्तवाद र साम्राज्यवादसँग कुनै पक्षमा पनि सम्झौता गर्दैन । वर्गीय पक्षधरतामा जोड दिन्छ । वर्ग–समन्वयवादका विरूद्ध लड्दछ । नेपालमा बहुदलीय जनवादी संस्कृतिका नाममा अभिव्यक्त प्रवृत्तिको सारतत्व पुँजीवादी संस्कृति नै हो । यो प्रवृत्तिले भौतिकवाद र अध्यात्मवादका बिचमा गठबन्धन गर्दछ । धर्म र संस्कार आर्थिक जगमा उभिएको हुनाले आर्थिक पराधीनता र शोषण हट्नासाथ धर्मको भौतिक आधार पनि खलबलिनेछ ।
सन्दर्भ सामग्री
१. चापागाईं, निनु, सन्दर्भ संस्कृति र साँस्कृतिक रूपान्तरण, पृ. १५९, विवेक सिर्जनशील प्रकाशन प्रा. लि., काठमाडौँ, २०५९ ।
२. चैतन्य, माक्र्सवाद र संस्कृति, पृ. १३ ।
३. प्रस्थान त्रैमासिक, वर्ष १, अङ्क १, २०७१ वैशाख, पृ. १२३ ।
४. उही, पृ. १३३ ।
५. उही, पृ. १३६ ।
६. पोखरेल, डी. आर., संस्कृतिको सेरोफेरो, हाम्रो सिर्जना त्रैमासिक, २०६४,
७. लैरी काबिन्स, दामिनिक लैपियर, मध्यरातको स्वतन्त्रता, पृ. ६७ ।
८. हिन्दुस्तान दैनिक ८ अगस्त २००५ ।
स्रोत : समकालीन साहित्य र संस्कृति

  जनपत्रिका मासिक १५ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।