![](https://janapatrika.com/wp-content/uploads/2025/02/Messenger_creation_5E412408-F3A8-4729-8341-8F6292FE1CF0.jpeg)
घोराही । नेपाल कम्युनिस्ट पार्टी घोराही नगर समितिले घोराहीमा जेब्रा क्रसिङ बनाएको छ । पार्टीले जनयुद्ध दिवसको अवसरमा बुधबार घोराहीको तुलसीपुर चोकमा जेब्रा क्रसिङ बनाएको हो ।
घोराहीको मुख्यचोक तुलसीपुर चोकमा बनाइएका जेब्रा क्रसिङ मेटिएसँगै पैदल यात्रुहरूलाई आवातजावत समस्या भएको भन्दै जेब्रा क्रसिङ बनाइएको नेकपाका घोराही नगर इञ्चार्ज पाटन सीले बताए । उनले सडकमा जेब्रा क्रसिङ मेटिदा पैदलयात्रुले जथाभावी बाटो काट्ने गरेको र त्यसले दुर्घटना निम्त्याउन सक्ने भन्दै पार्टीले जनयुद्ध दिवसको अवसरमा जेब्रा क्रसिङ बनाएको कुरामा जोड दिए । सडकमा बनाइएका जेब्रा क्रसिङ बिस्तारै मेटिएर गएपनि सम्बन्धित निकायले ध्यान नदिदा दुर्घटनाको जोखिम बढ्ने भएको हुँदा पार्टीको सामाजिक कार्यअन्तर्गत सडक जेब्रा क्रसिङ बनाएको उनको भनाइ छ ।
पार्टीका इञ्चार्ज पाटन सीले फागुन १ गते ३० औं महान जनयुद्ध दिवस मनाउन लागेको र दिवसकै अवसरमा सामाजिक कार्यअन्तर्गत घोराहीको तुलसीपुर चोकमा जेब्रा क्रसिङ बनाएको बताए । जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन गर्ने र फागुन १ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा जनयुद्ध दिवस मनाउन लागेको समेत जानकारी दिए ।
पार्टीले सडकमा बनाउन लागेको जेब्रा क्रसिङमा ट्राफिक प्रहरीले समेत साथ दिँदै जेब्रा क्रसिङ नहुँदाको समस्या पैदलयात्रुहरुलाई मात्रनभएर आफूहरूले भेगेको बताएका थिए ।
घोराही बजारका मुख्य चोकहरुमा जेब्रा क्रसिङ मेटिदै जाँदा पैदल मार्गबाट हिड्ने पैदलयात्रुहरुले जोखिम मोलेर आवतजावत गर्ने गरेका थिए । जेब्रा क्रसिङ बनेसँगै अबदेखि पैदलयात्रुलाई कहाँबाट बाटो काट्ने भन्ने समस्याको समाधान भएको र यसले सडकमा हुने दुर्घटनालाई न्यूनीकरण गर्नेछ । आज दिउँसो करिब एकबजे पार्टीका नेताकार्यकर्ताहरु जेब्रा क्रसिङ बनाउन सडकमा पुगेका थिए ।