१० फाल्गुन २०८१, शनिबार

माओवादी घटकहरुबिचको एकतामा जोड

0

दाङ । दाङमा विभिन्न माओवादी घटकहरुले ३०औं जनयुद्ध दिवस आ-आफ्नो तरिकाले मनाइरहेका छन् ।
बिहीबार दाङस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालय तुलसीपुर-१७ वनकट्टीले जनयुद्ध दिवस मनाएको छ ।

विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले माओवादी घटकहरुको बिचमा एकतामा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेशका सांसद धन बहादुर मास्की (राजेश) ले माओवादीबिचको एकता आवश्यक रहेको बताए ।

उनले भने – ‘जनयुद्धले नेपालको सामन्तवादी सत्तालाई परास्त गरि गणतन्त्रसम्म ल्याएको छ । हाम्रो लक्ष्य आमूल परिवर्तनको थियो तर त्यो सम्भव भएन । अहिलेको गणतन्त्र जनयुद्धको प्रमुख योगदान हो । माओवादीहरु विभिन्न विचारधारामा विभक्त भएर अब हुँदैन । कुनै बेला फुटियो अब यो जुट्ने बेला हो । माओवादी धाराहरु अब नयाँ ढंगले एकताबद्ध भई समाजवादको दिशामा अघि बढ्नुपर्छ ।’

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले पनि माओवादीहरु जुट्नुपर्ने आवश्यकता रहेको बताए ।

नेता प्रदिप सीले नेपाली जनताको आफ्नै सत्ता प्राप्तिको लडाइँ पूरा गर्नेगरी नेपाली विशेषताको समाजवादी व्यवस्थाका स्थापनाका लागि सबै माओवादीहरु एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए ।

यता नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड) ले प्रतिक्रियावादीहरुले नै माओवादीहरुलाई मिल्नेगरि गतिविधि गरिरहेकाले एकता अनिवार्य रहेको बताए ।

उनले जनयुद्धका सहिदहरु, घाइते, बेपत्ता योद्धा परिवारका सपना जुटेर मात्रै पूरा गर्न सकिने भएकाले माओवादीहरु एकताबद्ध हुनुपर्ने बताए ।

यस्तै कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले रुपान्तरित माओवादीहरूको एकता आजको अनिवार्य आवश्यकता भएको जिकिर गरेका हुन् ।

उनले सबै माओवादीहरु रुपान्तरण भएर गहन र मिहिन ढंगले कार्यक्रम र कार्यदिशाबारे छलफल गरि एकता गर्नुपर्ने समेत बताए ।

सहिद स्मृति आवासीय माध्यामिक विद्यालय तुलसीपुर-१७ वनकट्टीका प्रधानाध्यापक नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शशीराम भण्डारी, नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सी, नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य भुवन सी लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक मिनराज वलीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।