
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सीले चौथो महाधिवेशनका केन्द्रीय सदस्य ऋषिराज देवकोटा (आजाद) लाई मद्येशले सम्झिरहने बताएका छन् । सोमबार महान् सहिद आजादको ४४ औं स्मृति दिवसको उपलक्ष्यमा नेकपा, मधेश प्रदेशको कार्यालयको बैठकमा श्रद्धाञ्जली व्यक्त गर्दै उनले मधेशले आजादको योगदानलाई भुल्न नहुने बताए ।
मधेशमा कम्युनिस्ट पार्टीको आधार बनाउनमा आजादको महत्वपूर्ण योगदान रहेको भन्दै अनिलले मधेशले सधैँ सम्झिनुपर्ने बताएका हुन् । एमवी सिंह र निर्मल लामा नेतृत्वको सुधारवादविरुद्ध सहिद आजादहरुले विद्रोह गरेका थिए । सहिद आजादले दीर्घकालीन जनयुद्धको माध्यमबाट नयाँ जनवादी हुँदै समाजवादी क्रान्ति गर्नुपर्ने र त्यसबेलाका पुराना नेताहरू तयार नभएको आरोप लगाएका थिए ।
आजाद नक्सलवादी विद्रोहको अन्धानुकरण गर्ने पक्षमा पनि थिएनन् । आजाद एकजना गीतकार हुन् । उनीद्वारा गठित कम्युनिस्ट एकता केन्द्रको दस्तावेजमा मार्क्सवाद–लेनिनवाद–माओ विचारप्रति प्रश्न उठाउनेहरू, जनयुद्धको विरोध गर्नेहरु कम्युनिस्ट हुन नसक्ने बताएका थिए ।
आजादलाई २०३७ फागुन १२ गते राति भीमान नजिकको बङ्गलमा लगेर पञ्चायती शासकले हत्या गरेका थिए ।