२५ बैशाख २०८१, मंगलवार

अनन्त र प्रभाकरकाे छट्पटी कति सान्दर्भिक ?

0

एमालेसँग पार्टी एकता हुँदा खुसीले उफ्रिने माओवादी केन्द्रका वर्षमान पुन अनन्त र जनार्दन शर्मा -प्रभाकरहरू यतिबेला नेकपासहितका पार्टीसँगकाे माेर्चाबन्दी मात्रैले पनि छट्पटीमा छन् । यहाँनेर स्मरणीय कुरा, एमाले सदाबहार माओवादी विराेधी पार्टी हाे, ऊ माओवादी आन्दोलन र एजेन्डाप्रति कहिल्यै सकारात्मक भएन । तर नेपाल कम्युनिष्ट पार्टी आफैँमा माओवादी आन्दोलनकाे महत्त्वपूर्ण हिस्सा हाे ।

यति हुँदा पनि अनन्त र प्रभाकरहरू माके र नेकपा नजिकिएकाे देखेर बेचैन हुनु विचलनकाे पराकाष्ठा हाे । उनीहरू माओवादी एकजुट हुनु राम्रो हाे त भन्छन् तर नेकपाका आदरणीय महासचिव क. विप्लव सीले आत्मालोचित हुनुपर्ने, माफी माग्नुपर्ने कुतर्क पनि गर्छन् । त्यसरी एकता हुन्छ कि आत्मसमर्पण ? कम्युनिष्ट एकता रुपान्तरणसहितको एकता हाे, त्यस्ताे एकता कसैसँग कसैकाे आत्मसमर्पणमा हुँदैन भन्ने तथ्यलाई उनीहरू पचाउन खाेज्छन् ।

माओवादी आफ्नो स्थापनाकालदेखि नै देश र जनताकाे महान अभिभारा पूरा गर्ने जिम्मेवारीबाेधले ठूलाे संघर्ष र बलिदानबाट संचालित पार्टी हाे । अहिले पनि माओवादी घटकहरू जाे जहाँ भएपनि देश र जनताकाे लागि अरुभन्दा जिम्मेवार भएर नै साेच्छन् र चल्छन् । अहिले

टिकटकर र युट्युबरहरूले लाेकरिज्याइँ मार्फत देशमा समस्या सिर्जना गर्न खाेजिरहेकाे बेला पछिल्लो समाजवादी माेर्चा त्यही जिम्मेवारीबोधकाे परिणाम हाे । तर अनन्त र प्रभाकरले याे संकटको घडीमा बहस र छलफललाई निकासकाे खाेजीका लागि नभई अमूक पदका लागि विप्लवकाे आत्मालोचना र माफीमा जसरी केन्द्रित गरेका छन् । याे कति सान्दर्भिक हाे त ?

माओवादी केन्द्र एमालेसँग पार्टी एकता गरेर असफल भइसकेकाे पार्टी हाे । यहाँनेर प्रश्नहरू छन्, जनयुद्धको सपना छाडेर, दसौं हजार सहिदको बलिदान कुल्चेर कांग्रेसभन्दा कालाे एमालेमा पतन हुँदै गर्दा के अनन्त, प्रभाकरहरू आत्मालोचित भएका थिए ? थपक्क एमाले हुन छाडी बेकारमा जनयुद्ध लडियाे भनेर के उनीहरूले एमालेसँग माफी मागेका थिए ? वा विगतमा माओवादीलाई आतंककारी ठान्नु कमजोरी थियाे भन्दै एमाले आत्मालोचित भयाे ? त्यसाे त भएन । र पनि माके र एमाले एक भएर डबल नेकपा बनाए । त्यसमा अनन्त, प्रभाकरहरू खुसी नै थिए । तर नेकपासँगकाे एकताकाे हल्लाले नै विप्लवकाे आत्मालोचनाकाे कुरा किन हालियाे ? अँ, यसलाई मान्ने हाे भने पनि अनन्त र प्रभाकरले आत्मालाेचित हुनुपर्छ कि पर्दैन ?

समानतामा आधारित जनताकाे सत्ता स्थापना गर्न संचालित जनयुद्धको बलिदानलाई श्रीमती र भाइबहिनी व्यवस्थापनमा दुरुपयोग गर्ने, पृथ्वी शाहकाे अवैधानिक साठी कराेड पैसाका लागि नेपाल राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने, अमूक व्यापारीलाई फाइदा हुनेगरी रातारात करका दर हेरफेर गर्ने, नवराज विक लगायतकाे हत्यालाई स्वभाविक देखाउने प्रयत्न गर्ने, हिजाे जुन व्यवस्थाविरुद्ध जीवनमरणको युद्ध लडियाे, त्यसैमा बिलिन भएर पदमा पुग्ने अनि व्यक्तिगत सुखभाेग गर्ने त अनन्त र प्रभाकर हुन् । आत्मालोचित हुनुपर्ने त तिनले हाेला नि ।  विप्लवले आत्मालाेचित हुनुपर्ने किन ?

के दस वर्ष संसदीय व्यवस्थाविरुद्ध लडेर पछि सुटुक्क संसदवादी नहुनु विप्लवकाे कमजोरी हाे ?

जनयुद्ध यताकाे संघर्ष र बलिदानलाई निहित स्वार्थका लागि चरम दुरुपयोग गरेर अनन्त र प्रभाकरजस्ताे भ्रष्ट नहुनु, तस्कर नहुनु, दलाल नहुनु के विप्लवकाे गल्ती हाे ? त्यसाे त पक्कै हाेइन हाेला ? अनि विप्लवले आत्मालोचित हुनुपर्ने, माफी माग्नुपर्ने र अनन्त, प्रभाकरहरूलाई महान ठान्नुपर्ने नाजायज विषय कसरी आउँछ ?

नेकपाले गर्ने जुनसुकै माेर्चाबन्दी वा एकता देश र जनताको हितका लागि हुनेछ । यसका लागि सदाबहार अग्रगमनका लागि तयार विप्लवले आत्मालोचित हुनुपर्दैन । बरु शान्ति प्रक्रिया यता भ्रष्ट हुँदै गइरहेका अनन्त, प्रभाकरहरू नै आत्मालोचित हुनुपर्छ, सच्चिनुपर्छ । यदि त्यसाे हुन सकेन भने समाज विकासको नियमले अनन्त र प्रभाकरलाई छाडेर माओवादी आन्दोलन अगाडि बड्छ । इतिहासले कसैलाई कुरेर बस्ने छैन ।

एकतिरबाट अनन्त, प्रभाकर र विप्लवबिचआवश्यक मुद्दाकाे साटाे पदकाे लागि झगडा हाल्न पक्कै खाेजिएकाे छ । सबैजना त्यसविरुद्ध लाग्नुकाे साटाे अनन्त र प्रभाकरहरू त्यसमै बरालिएकाे देख्दा उदेक लाग्छ ।

माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकता भइहाले त्याे माकेकाे भाग खान, पद हडप्न वा नातागोता व्यवस्थापन गर्नकाे लागि हुनेछैन । बरु त्याे नयाँ शिराबाट माओवादी आन्दोलनकाे पुनर्गठनद्वारा जनयुद्धमा देश, जनता र सहिदले देखेका सपना साकार पार्न हुनेछ ।

अनन्त र प्रभाकरलाई याे विषयमा कुनै शंका भए, उहाँहरू पनि माओवादी आन्दोलनकाे नेता हाे, चीजलाई सही दिशा दिन उहाँहरूले पनि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । अन्यथा अझै पनि बाँकी माओवादी आन्दोलनकाे रापतापलाई घटिया स्वार्थपूर्तिकाे लागि दुरुपयोग गर्ने बाटाे अवरुद्ध हुने डरले माओवादी एक हुने प्रयत्नविरुद्ध लागे त्याे जनतालाई सैह्य हुनेछैन । माओवादी आन्दोलनकाे बलिदान सच्चाइँका लागि हाे, कसैकाे अनुचित स्वार्थपूर्तिका लागि हाेइन भन्ने कुरा अनन्त र प्रभाकरलाई झन् बढी थाहा छ । स्वार्थकाे पर्दाले ढाकिँदै गएकाे उक्त तथ्य पुनर्ताजगीका लागि स्मरण हाेस् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।