
राजा चाहने मान्छेहरूले सुन
समय धेरै अगाडि आइसक्यो
अब कसैकाे दास बन्ने इच्छाले
अब कसैकाे मालिक बन्ने रहरले
सार्थक रुप लिन सम्भव नै छैन ।
समाज विकासकाे नियम विपरीत
जनतालाई कालाे अँध्यारोमा राखेर
हिजो राजाले आफ्नो स्वार्थका लागि
शाेषण र दमनकाे चक्र चलाए ।
तर समयसँगै परिस्थिति फेरियो
राजाकाे राक्षसी अपराध विरूद्ध
करोडौं करोड जनता उठे
दशाैं वर्ष संघर्ष गरे
आँसु, रगत, पसिना बगाए
बीसौं हजारले बलिदान दिए
र अँध्यारोकाे मुख्य मतियारका रुपमा
राजालाई रद्दीकाे टाेकरीमा फ्याके ।
आज केही बतासे रहरहरू
आज कुनै फन्टुस बकवासहरू
आज कति सतही वक्तव्यहरू
राजा फर्काउने स्याल हुइयाँ गर्छन् ।
हुन त अहिले एकखाले अँध्यारो छ
भ्रष्टाचारको अँध्यारो, ठगीकाे अँध्यारो
अनेकौं अनेक अपराधकाे अँध्यारो ।
याे अँध्यारोमा स्याल हुइयाँकाे त्रास
सर्वसाधारणमा जरुर पर्दाेरहेछ ।
तर अँध्यारो धेरै कहाँ टिक्न सक्छ ?
राणा, पञ्च र राजाकाे अँध्यारो चिरेर
हिजो जसरी उज्यालो झुल्कियाे
त्यसरी आजको अँध्यारो चिर्दै
न्यायाे उज्यालो घामकाे उदय
ढिलाे-चाँडो हुनेछ एकदिन ।
अनि अँध्यारोका सारा स्याल हुइयाँहरू
कुनै अँध्यारो दुलाभित्र छिरेर
खरानी बन्ने अवस्था आउनेछ ।