१६ बैशाख २०८१, आईतवार

गाउँमा कथा संग्रहले अवसरवादलाई गतिलो झापड हानेकाे छ

0

कपिल सिजापतिकाे कथा संग्रह गाउँमा मैले धेरै अगाडि धेरैपटक पढिसकेकाे छु । याे पुस्तक पढ्दा आनन्द आउने भएकाेले समय मिलेसम्म म अहिले पनि पढिरहन्छु । यद्यपि, समीक्षा लेख्ने साइत बल्ल जुरेकाे छ ।

गाउँमा कथा संग्रह लेखनका हिसाबले सबैले सजिलोसँग बुझ्न सक्ने सरल भाषामा छ । भाषा सरल भएपनि हरेक वाक्यहरू मीठा छन् । अनि विषयवस्तुका हिसाबले जनयुद्धको सन्दर्भमा यति यथार्थपरक र तथ्यसंगत पुस्तक कमै हाेलान् । अहिले जनयुद्धलाई अपराधीकरण गर्ने हाेडबाजी छ । यसबीच गाउँमा कथा संग्रह जनयुद्धको पक्षमा मजबुत हतियार सावित हुन्छ ।

अछामको विद्यामन्दिर माध्यमिक विद्यालयमा शाहीसेनाले गरेकाे हवाई हमलाकाे म पनि भुक्तभोगी हुँ । त्याे हाम्रो गाउँको कहिल्यै नमेटिने घाउ हाे । कथामा उक्त सन्दर्भलाई निकै यथार्थपरक ढङ्गले चित्रण गरिएको छ । जसले मलाई साे घटना अहिले पनि आँखैअगाडि देखेजस्ताे अनुभूति भयाे ।

अनि जनयुद्धको बलिदान बेचेर खान तम्सेको तप्का पनि यहाँ सशक्त नै छ । त्याे आन्दोलनभित्र देखिएको अवसरवादका लागि पनि गाउँमा पुस्तकले गतिलो झापड हानेकाे छ ।

त्यस्तै ग्रामीण क्षेत्र अझ अछामी जनजीवनकाे निराशाजनक नियति र त्यसबीचमा समस्याका वास्तविक कारणहरू बुझेर त्यसकाे वैज्ञानिक समाधान निकाल्न निस्केका आशालाग्दा साहसहरूलाई पनि गाउँमा पुस्तकले समेटेको छ ।

क्रान्तिकारी युवाकाे प्रेम, क्रान्तिप्रतिकाे समर्पण, त्यसकै कारण प्रेममा वियाेग अनि युट्युब लगायत सामाजिक सञ्जालले निम्त्याएको समस्या र केही दर्शन, विज्ञान, संस्कृति, साहित्य, प्रकृति, चिन्तन सबैसबै क्षेत्रमा गाउँमा कथाले उचित, सुन्दर र सानदार विषयवस्तु पस्केकाे छ ।

याे पुस्तक नयाँ र पुरानाे सबै पुस्ताकाे लागि उत्तिकै आवश्यक पुस्तक हाे । आफ्नाे पहिलो प्रयासमै यति महत्त्वपूर्ण कृति नेपाली साहित्यका लागि दिने कपिल सीलाई सलाम छ । 

कपिल सिजापतिका प्रशंसा गर्न लायक थुप्रै खुबी थिए । फेरि साहित्यकाे क्षेत्रमा पनि उहाँ प्रशंसा याेग्य बन्नुभएकाे छ । बधाई छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।