
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले ललितपुर जिल्ला कमिटी सदस्य तथा नेवाः मुक्ति मोर्चाका केन्द्रीय सदस्य विकेश सी (विकेश महर्जन) को निधनप्रति दुःख व्यक्त गरेको छ । बिहीबार नेकपा ललितपुरले शोक वक्तव्य जारी गर्दै विकेशको निधनप्रति दुःख व्यक्त गरेको हो ।
पार्टीका इन्चार्ज विपिन सी र सेक्रेटरी विकास सीले संयुक्त रुपमा वक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘हाम्रो जनप्रिय पार्टी, नेपाल कम्यूनिस्ट पार्टी ललितपुर जिल्ला समिति सदस्य तथा नेवाः मुक्ति मोर्चाका केन्द्रीय सदस्य क. विकेश सी (विकेश महर्जन) को पित्त थैलीको क्यान्सर लगायत जटिल स्वास्थ्य समस्याहरुको उपचारको क्रममा आज २०८० माघ ४ गते बिहान ९ः०५ बजे पाटन अस्पतालमा ३९ वर्षको अल्पआयुमा निधन भएको छ ।’, वक्तव्यमा भनिएको छ, ‘यसबाट सिंगो पार्टीपंक्ति मर्माहत भएको छ । दिवंगत क. विकेशप्रति पार्टीका तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।’
साथै, नेकपाले शोकाकुल परिवारजन एवं आफन्तजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । ललितपुर महानगरपालिका वडा नं. १६, कायगुननीः गावहालमा स्थायी रुपमा बसोबास गर्दै आएका विकेश २०६३ सालबाट तत्कालिन नेकपा (माओवादी) मा आवद्ध हुँदै हाल नेपाल कम्यूनिस्ट पार्टीमा जिल्ला सदस्यको क्रियाशील भूमिकामा रहेका थिए ।
दुःखीजनहरुप्रति सहयोगी भावना भएका हक्की, निडर र क्रान्तिकारी स्वभाव भएको विकेशको निधिनप्रति नेकपाले दुःख व्यक्त गरेको हो ।