
धरान: नेपाल कम्युनिस्ट पार्टी संयुक्त जिल्ला समितिले सुनसरीमा “वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद” विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।
धरान उपमहानगरपालिकास्थित ड्रीमल्याण्ड होटेलको सेमिनार हलमा भएको कार्यक्रममा बोल्दै प्रमुख वक्ता चिरन सीले पुराना दलका नेता इमानदार नभएकै कारण नेपाली जनताले दु:ख पाएको र अब हरेक राष्ट्रवादी, परिवर्तनगामी जनताले सोच्नु पर्ने बेला आएको बताए ।
उनलेे एकले अर्कालाई गाली गरेर मात्र समय व्यतित गर्ने नभई आलोचनालाई छोडेर नेपाली विशेषताको समाजवादमा गोलबन्द हुनुको विकल्प नभएको बताएका छन् ।
कार्यक्रममा आधारपत्र पेश गर्दै जिल्ला इन्चार्ज डिबि सीले हरेक उत्पीडित जाती, लिङ्ग, वर्ग, समुदाय क्षेत्रलाई यो दलाल पुजीवादी संसदीय व्यवस्थाले अधिकार दिन नसक्ने भएकाले नेपाली विशेषताको समाजवादका निम्ति जुट्न अपिल गरेका छन् ।
नेकपा दक्षिण सुनसरी सेक्रेटरी जीवन सीको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी लिम्बु मोर्चाका केन्द्रीय अध्यक्ष गजेन्द्र सी, नेकपा (एमाले) बाट पारस काङ्बाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मोहन प्रसाद तिगेला,नेकपा क्रान्तिकारी माओवादीका पेमा लामा, वामपन्थी नेता भुमी चाम्लिङ र माक्र्सवादी लेखक राजेन्द्र किरातीले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संचालन उत्तर सुनसरी सेक्रेटरी सुरेश सीले गरेका थिए ।