१७ बैशाख २०८१, सोमबार

माल्दिभ्सबाट लखेटियो दिल्ली

0

दक्षिण एशियाको सबैभन्दा सानो देश हो माल्दिभ्स । यो स–साना टापुहरू मिलेर बनेको देशको क्षेत्रफल ३५० वर्गमिल मात्र छ । यसको जनसंख्या ५ लाख रहेको छ । नेपालको चितवन जिल्लामा ७ लाखभन्दा बढी जनसंख्या छ । त्योभन्दा थोरै जनसंख्या भएको यो देशको रणनीतिक महत्व भने ठूलो छ ।
दक्षिण–पूर्व एशिया, चीन–मध्यपूर्व, भारत–मध्यपूर्व र चीन–युरोप जलमार्गमा यो देश पर्दछ । हिन्द महासागरको महत्व बढ्दै गएकोले माल्दिभ्सले त्यसबाट फाइदा लिने चाहना ग¥यो । अर्कोतिर भारतमा मोदी सरकारले मुस्लिम समुदायमाथि ज्यादती गरेको माल्दिभ्सको ठम्याई छ । त्यसकारण माले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा विविधिकरण गर्ने तथा भारतसँगको अतिनिर्भरता घटाउने नीति लियो । जसबाट दिल्ली चिढियो ।
पर्यटन आधारित अर्थतन्त्र भएको माल्दिभ्सको प्रतिव्यक्ति आय भारतको भन्दा ५ गुणा बढि छ । जहाँ भारतीय पर्यटकको योगदान ११ प्रतिशत छ । ५ लाख जनसंख्या रहेको माल्दिभ्समा गतवर्ष १७ लाख ५० हजार विदेशी पर्यटक भित्रिएका थिए । माल्दिभ्समा ३३ हजार भारतीय श्रमिकले वार्षिक ५५ मिलियन अमेरिकी डलर विप्रेषण लैजान्छन् । यो भारतीय पर्यटकको योगदान बराबर रहेको छ ।
माल्दिभ्सको परनिर्भरता घटाउने चाहनालाई मोदी आफैले नरम शैलीमा प्रतिवाद गर्न खोज्दा समस्या चर्केर गएको छ । मोदीले केही समय अगाडि लक्षद्वीप समूहमा भ्रमण गर्दै विभिन्न प्रकारका तस्विर प्रशारण गर्दै भारतीय पर्यटकलाई भारतकै सामुद्रिक तटमा भ्रमण गर्न सामाजिक सञ्जालमा आव्हान गरे । पर्यटन पूर्वाधार– एउटा पनि पाँचतारे होटल नभएको क्षेत्रमा भ्रमणको लागि प्रेरित गर्नु भनेको भारतीय पर्यटकलाई माल्दिभ्स नजाऊ भन्ने आशय थियो । उक्त मोदी रणनीतिको विरुद्ध माल्दिभ्सका मन्त्रीहरू मरियम शिउना, मल्शा शरीफ र अब्दुल्ला महजूमले कटाक्ष गरे । जसको कारण भारतको दबावमा ती मन्त्रीहरू निलम्बनमा परे । यसपछि त भारत र माल्दिभ्सबिचको तनाव जनस्तरमा चुलिंदै गएको छ । अहिले माल्दिभ्समा ‘इण्डिया आउट’ नारा व्यापक बनेको छ । गत निर्वाचनमा त्यही नारा केन्द्रमा राखेर वर्तमान राष्ट्रपति मोहम्मद मुइज्जू र उनको पार्टीले चुनाव जितेको थियो ।
माल्दिभ्सका सरकार प्रमुखले पहिलो विदेश भ्रमण भारत नै गर्ने परम्परा रहिआएको थियो । तर वर्तमान राष्ट्रपति मुइज्जूले पहिलो विदेश भ्रमण टर्की गरे । त्यसपछि संयुक्त अरब इमिरेट्स गए । उनको तेस्रो विदेश भ्रमण चीन भयो ।
चीन भ्रमणबाट फर्किनासाथ राष्ट्रपति मुइज्जूले भारतको नाम नलिइकन “सैद्धान्तिक दृष्टिले कुनै पनि देशले कुनै पनि क्षण आफूलाई सम्प्रभुसत्ता सम्पन्न देश हौं भन्न सक्छ । र, हामीलाई कसैले धम्क्याउन सक्दैन । यस विषयलाई सामान्य रुपले हेर्नुपर्छ । किनकि साना देशहरूलाई सधैं त्रास रहने गर्दछ कि ठूला शक्तिहरू हामीमाथि दबाव दिन सक्छन्” भनेका थिए । त्यसलगत्तै उनले भारतीय सेनालाई मार्च १५भित्र माल्दिभ्स छोडेर फर्किन समय–सीमा नै तोकिदिए । यसले हिन्द महासागरको बर्चस्वमा भारतलाई ठूलो धक्का लागेको छ र चीनको प्रभाव विस्तार भएको छ । यो स्थिति अमेरिकी ध्रुवको लागि पनि चिन्ताको विषय हुनेछ । अमेरिका र युरोप युक्रेन र मध्यपूर्वमा फसेको बेला हिन्द महासागरमा चीनको प्रभाव वृद्धि भएको छ ।
माल्दिभ्स ९५ प्रतिशत मुस्लिम आवादी भएको देश हो । मुस्लिम समुदायमाथिको उत्पीडन र इजरेल–प्यालेस्टिन द्वन्द्वमा इजरेलको पक्षधरता भारतको लागि महङ्गो सावित हुँदै गएको छ । माल्दिभ्सले विरामीको उपचारस्थल अब भारतको विकल्पमा युएई, मलेसियाबाट गर्नेछ । भारतीय पर्यटकको स्थान चिनियाँ पर्यटकले लिनेछन् । चीनले मालेमा सिधा हवाई उडान गर्ने आश्वासन दिइसकेको छ । यो टापुहरूको देशले ३८० मिलेनियम अमेरिकी डलर अर्थात् ११.०५ प्रतिशत भारतीय पर्यटक गुमाउन सक्ने जोखिम मोलेर देशको स्वाधीनताको पक्षमा कदम चालेको छ । यसबाट मध्यपूर्वमा निगरानी गर्ने अवसर भारतले गुमाउने भएको छ ।
चीनको ५ दिने भ्रमण सकेर स्वदेश फर्किनासाथ राष्ट्रपति मुइज्जूले दिल्लीको नाम नलिइकनै “हामी सानै देश भए पनि हामीलाई धम्की दिने अधिकार कसैलाई छैन” भनेका थिए । संसारमा माल्दिभ्सभन्दा साना देशहरू धेरै छन् । विश्वको सबैभन्दा सानो देश युरोपको भ्याटिकन सीटी हो । जसको जनसंख्या १६ हजारमात्र रहेको छ ।

माल्दिभ्समा निर्वाचन आयोगमा दर्ता भएका पार्टीहरूमध्ये प्रगतिशील माल्दिभ्स पार्टी (PPM) जसको नेतृत्व राष्ट्रपति मोहम्मद मुइज्जूले गरेका छन् । र, राष्ट्रिय जनता काङग्रेस (PNC)लाई राष्ट्रवादी धारका पार्टीहरू मानिन्छ । समाचार एजेन्सी पिटिआईको प्रतिवेदन अनुसार माल्दिभ्समा ८८ जना भारतीय सेना छन् । यद्यपि प्रचारमा ७५ जना रहेको चर्चा छ । पुस २९ गते राष्ट्रपति मुइज्जूले भारतीय सेनालाई फर्किन समय–सीमा तोकेका छन् ।
विश्व बैंकको प्रतिवेदन अनुसार सम्पूर्ण विदेशी ऋणमध्ये माल्दिभ्समा चीनको लगानी २० प्रतिशत रहेको छ । यो भारत र बाँकी दाताहरूको भन्दा धेरै हो । भारत र माल्दिभ्सबिचको तनाव कहाँ पुगेर टुङ्गिन्छ भन्न सकिन्न । तर, यो तनावले दक्षिण एशिया र हिन्द महासागरमा भारतको असफलता भने निर्विवाद छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।