२९ बैशाख २०८१, शनिबार

अहिलेकाे व्यवस्थाले राष्ट्रिय संकटको समाधान दिन सकेन यसको विकल्प खोज्नु पर्छ

0

काठमाडौं। एक अन्तरक्रियाका वक्ताहरूले वर्तमान राज्य व्यवस्थाले राष्ट्रिय संकटको समाधान दिन नसकेको भन्दै यसको विकल्प आवश्यक भएको बताएका छन् । बिहीबार नेकपा नागार्जुन नगर समितिद्वारा आयोजित “वर्तमान राष्ट्रिय संकट र यसको समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्ताे बताएका हुन् ।

राष्ट्रिय प्रजतन्त्र पार्टीका बागमती प्रदेश समिति अध्यक्ष तथा पूर्व भूमि व्यवस्था राज्य मन्त्री विक्रम बहादुर थापाले नेपालको आवश्यकता अनुसारको व्यवस्था नभएकोले मुलुकले संकट भोग्नु परेको बताएका छन् । उनले भने,” नेपालको आवश्यकता अनुसारको व्यवस्था भएको भए देश धेरै अगाडि बढि सक्ने थियोे । यो व्यवस्थामा विदेशीको दबाब प्रभाव बढ्यो, राष्ट्र र जनताको हितमा काम हुन सकेन” भन्दै सबै दलहरुलाई साथमा लिएर गोलमेल सम्मेलन गरी देशकाे माटो सुहाउँदो व्यवस्था लागु गर्नु पर्ने बताएका छन् ।

अर्का वक्ता नेपाली कांग्रेस नागार्जुन नगर समिति सभापति दुर्गा प्रसाद गौतमले यो व्यवस्थाका पार्टीहरुमा ८० प्रतिशत व्यक्ति दलाल चरित्रको भएको हुँदा नयाँ युवाहरुलाई काम गर्न सहज भएको भनाई राखेका छन् । उनले समाजवादसँगै नयाँ पुस्तालाई विशेष अवसर दिनु पर्ने कुरामा जोड दिएका छन् ।

अर्का वक्ता नेकपा (माओवादी केन्द्र)की बागमती प्रदेश समिति सचिवालय सदस्य देवकी पौडेलले १० वर्षे जनयुद्व लडेर ल्याएको व्यवस्था र नेतृत्वलाई केही गैरराजनीतिक चेत भएका व्यक्तिहरूले कुप्रचार गरेको भन्दै आपत्ति जनाइन् । उनले सबै माओवादी र कम्युनिस्ट एक भएर देशमा जनताको व्यवस्था समाजवाद स्थापना गर्नु पर्ने भनाई राखेकी छन् ।

नेकपा (एकिकृत समाजबादी) का बागमती प्रदेश समिति सदस्य कृष्ण हरि खत्रीले प्रदेश स्थानीय तहहरूले संघीयताको मर्म अनुसार काम गर्न नसकेकोले यसलाई व्यवस्थित गर्नु पर्ने भनाई राखेका छन् । समानुपातिक समावेशी प्रणाली आफ्ना नजिकका आफन्तलाई नियुक्ति गर्ने थलो हुँदा सीमान्त वर्गले अवसर पाउन सकेनन् भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य बागमती प्रदेश सभासद उदय थापाले देशमा संकटहरु एकपछि अर्काे थपिँदै गएको भन्दै यो सत्ता र व्यवस्थाले थेग्न नसक्ने अवस्था आएको बताएका छन् । “देशले स्थायित्व, समृद्धि र विकास मागेको छ यो व्यवस्थाले दिन सक्दैन त्यसको लागि जनताले विकल्प खोजेको छ।”

कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा काठमाडौं ३ का इन्चार्ज डि आर सीले अध्यक्षता गर्दै अन्तरक्रियाको विषयवस्तु प्रस्ट पारेका थिए भने कार्यक्रमको सञ्चालन दिव्य सीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।