१६ बैशाख २०८१, आईतवार

मिडियामा परेको संकटबारे घोराहीमा बहस, साझा कार्यक्रम बनाएर अघि बढ्ने उद्घोष

0

घोराही । दाङको घोराहीमा मिडियामा परेको संकटबारे बहस कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा वर्तमान राजनीतिक-आर्थिक संकट र त्यसको सञ्चारमा दुष्प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममार्फत उक्त बहस गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रस्तुत अवधारणापत्रमाथि टिप्पणी गर्ने टिप्पणीकर्ताहरुले राजनीतिक-आर्थिक संकटका कारणले मिडियामा पारेको प्रभावबारे साझा कार्यक्रम बनाएर अघि बढ्ने उद्घोष गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता एवम कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार विभाग इन्चार्ज अनिल सीले अहिलेको आर्थिक संकट र त्यसले मिडियामा परेको दुष्प्रभावका कारण नागरिक अधिकार संकुचित भएको बताएका छन् ।

विद्यमान आर्थिक-राजनीतिक संकटका कारण साना तथा स्वरोजगार मिडियामा गम्भीर नकारात्मक प्रभाव परेकोले यसले नागरिक आवाज र जनअधिकारको संकुचन भएको भन्दै नेता अनिलले यसबारे सरोकारवालाहरुले साझा योजना बनाएर अघि बढ्नुपर्ने बताए । “अहिले आर्थिक संकट छ, यसले मिडियाहरुले विज्ञापन नपाएर टिक्न गाह्राे छ, मिडिया कमजोर हुने भनेको नागरिकको आवाज कमजोर हुने कुरा हो” – नेता अनिलले भने-” नागरिक आवाज कमजोर हुने भनेको राज्य निरङ्कुश र फासीवादी हुने  खतरा हुन्छ, यदि देशमा पश्चगमन र फासीवाद अगाडि आयो भने हामीले ठूलो मुल्य चुकाउनु पर्नेछ ।”

वर्तमान आर्थिक संकट र त्यसले मिडियामा पारेको प्रभाव विषयक अन्तर्कृयालाई सम्बोधन गर्दै नेता अनिलले अहिलेको आर्थिक संकटको कारण नागरिकको जीवनस्तर थप कस्टकर बनेको , यसको दिगो समाधानका लागि व्यापार विविधिकरण गर्ने र उत्तरतिरको नाका खोल्न राज्यले पहल गर्नुपर्ने बताए ।

उदारीकरणका कारण  देशको अर्थतन्त्र धरासायी भएकोतर्फ संकेत गर्दै उनले उदारीकरण र निजिकरणका नाममा देशमा दलाल पुँजी हाबी भयो, केही नेताहरुले चुनाव लड्ने खर्च पाए, विदेशीहरुको सहयोगमा दलहरू सरकारमा टिक्ने स्थिति बाहेक जनतालाई कुनै फाइदा नभएको टिप्पणी गरे ।

पञ्चायतमाकालमा राजनीतिकरणकै कारण सार्वजनिक उद्योगहरु समाप्त भएको भनेर एकथरी मानिसहरुले भनिरहेको भएपनि मुख्य कारण त्यो नभएको तर २०४६ पछि उदारीकरणको नाममा विश्व बैंकको योजना अनुसार नेपालको अर्थतन्त्रको संरचना बनाइएकोले अहिलेको आर्थिक संकट र परनिर्भरताको समस्या आएको बताए ।

कार्यक्रममा प्रस्तुत अवधारणा पत्रमाथि टिप्पणी गर्दै नागरिक समाजका पूर्व अध्यक्ष चन्द्रराज पन्तले मुलुकको आर्थिक अवस्था डामाडोल भएकाले सञ्चार क्षेत्र जटिल मोडमा पुगेकाले यसको निकासका लागि साझा कार्यक्रम बनाएर अघि बढ्ने बताएका थिए ।

यस्तै कार्यक्रममा बोल्दै लेखक तथा साहित्यकार रामप्रसाद जैशीले जनताले गरेका अपेक्षाहरु पूरा हुन नसकेको भन्दै मुलुकमा देखिएको संकट समाधानका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासीले पत्रकारिता मिसन हो कि व्यवसायिकता हो भन्ने कुरा प्रष्ट हुनुपर्ने बताए ।

समाचार बनाउने मात्रै बनाउने होइन विचार बनाउने कुरा हो, उनले भने,‘ अहिलेको समस्या सांस्कृतिक रुपान्तरणको हो । समाजमा विमर्शमुखी पत्रिकाको अभाव छ त्यो पूर्ति यो संगठनले गरोस् भन्ने अपेक्षा छ ।’

यस्तै कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य  लक्ष्मी आचार्यले मुलुकमा देखिएको संकट निवारणमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताएकी थिइन् ।

नेता आचार्यले मुलुकमा देखिएको संकटलाई हल गर्न समाजवादका आधारभुत कार्यक्रम तय गरेर अघि बढ्नुपर्ने धारणा समेत व्यक्त गरेकी थिइन् ।

अन्तरक्रिया कार्यक्रममा अवधारणा पत्रमाथि टिप्पणी गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रीयासनले अब पत्रकारको भुमिका व्यवसायिकता होइन राज्यलाई समाजवादमा रुपान्तरण गर्ने मिसनमा लड्नुपर्ने बताए ।

इतिहासकै सबैभन्दा संकटपुर्ण अवस्थामा सञ्चार क्षेत्र रहेकाले यसको निकासका लागि सबै एकताबद्ध भएर अघि बढ्ने नेता प्रीयासनको प्रतिबद्धता थियो । 

यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जनताका आवाज उठाउने सञ्चारमाध्यमहरु मर्दै जाने हो भने जनताको अधिकार मर्ने बताएका थिए ।

निजि सञ्चार माध्यम टिकाउने सरकारसँग नीति नभएको अध्यक्ष केसीले बताए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले राज्यले विज्ञापनलाई समानुपातिक रुपमा वितरण गर्ने प्रणालीलाई लागु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायण प्रसाद शर्माले संसदीय व्यवस्थामा गठबन्धन फेरबदल हुने सामान्य कुरा भएको बताए । 

संसदीय व्यवस्थामा फेरबदल सामान्य कुरा हो , उनले भने ‘अहिलेपनि हामी जहाँको त्यही किन छौँ ? आर्थिक संकटको मुल कारण हाम्रो परिवेश हो । शक्तिशाली मुलुकहरुको घेराबाट हामी मुक्त हुन सकेनौं । जबसम्म हामी त्यो घेरा तोड्न सक्दैनौं आर्थिक रुपमा सम्पन्न हुदैनौँ ।’

समाजवादी प्रेस संगठन नेपाल दाङका संयोजक सुर्य बिसीले राजनीतिक अस्थिरताका कारणले गर्दा सञ्चार क्षेत्र संकटमा रहेको बताए ।

अन्तर्राष्ट्रिय र राष्ट्रिय दलालहरुले मिडियामा लगानी गरेर राज्यमा हालीमुहाली गरिरहेको बिसीले बताए । मिडियामा अन्तर्राष्ट्रिय गिरोहबाट लगानी हुने र जनताका विरुद्ध षड्यन्त्र हुने गरेको बिसीको जिकिर थियो ।

 

यस्तै कार्यक्रममा बोल्दै जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेर बहादुर विश्वकर्माले सञ्चार माध्यम नचल्नु भनेको नागरिकका आवाज कमजोर हुनु भएको बताए ।

उनले पत्रकारका पेशागत साथै समाजप्रति दायित्व भएकाले पछिल्लो समय पत्रकारिता मर्यादित एवम विश्वससनिय नभएको समेत बताएका थिए ।

कार्यक्रममा प्रतिरोध अभियानका संयोजक प्रमोद धितालले पत्रकारिता वर्गिय पक्षधरतामा हुने भएकाले श्रमिक जनताको प्रतिनिधित्व हुने गरि कलम चलाउनुपर्ने बताए ।

उनले पुजीवादका विरुद्ध लड्न वैकल्पिक जनमाध्यमहरुको निर्माण गर्नुपर्ने समेत बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले सञ्चारमा सम्पादकीय स्वतन्त्रता कमजोर भएकाले मालिकको मुख हेरेर प्रेस चलेको जिकिर गरेका थिए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सीले नेपाली समाजले खोजेको राजनीतिक प्रणाली र नेतृत्वको खोजी नेकपाको नीति र नेतृत्व रहेको स्पष्ट पारेका थिए ।

हामीले उत्पादनसँग जोडिएको राजनीति गरिरहेका छौँ , उनले थपे, ‘नेपाली जनताले माटोतिर फर्किएको , जनतातिर फर्किएको नेता खोहिरहेका छन् । नेपाली जनताको स्वाधीनता , समृद्धि र वास्तविक शान्तिको चाहना पूरा गर्न जनसञ्चारले सहयोग गर्नुपर्छ । हामी मुलुकलाई अहिलेको अस्थिरताबाट निकास दिनको लागि नेपाली विशेषताको समाजवादको बहस ल्याएर आएका छौँ ।’

नेकपाका स्थायी कमिटी सदस्य प्रचारप्रसार विभाग इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष एवम प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष नारायण प्रसाद शर्मा , जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेर बहादुर विश्वकर्मा , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सी , नेकपा केन्द्रीय सदस्य सम्झना सी , नेकपा केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सी , नेकपा केन्द्रीय सदस्य प्रदिप सी , प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम , प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी , प्रेस काउन्सिल नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रीयासन , प्रेस सेन्टर नेपालकि केन्द्रीय सदस्य लक्ष्मी आचार्य , नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसि , प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्मा , समाजवादी प्रेस संगठन नेपाल दाङ जिल्ला अध्यक्ष सुर्य बिसि , नागरिक समाज दाङका पुर्व अध्यक्ष चन्द्रराज पन्त , दाङ जिल्ला उधोग बाणिज्य संघका अध्यक्ष वसन्त जोशी , प्रतिरोध अभियानका संयोजक प्रमोद धिताल , नेपाल प्रेस नेपाल दाङका सचिव अम्मर क्षितिज भण्डारी , लेखक तथा साहित्यकार रामप्रसाद जैशी लगाएतको आतिथ्यता रहेको थियो ।

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश सदस्य जंग रेउलेले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता संगठनका प्रदेश संयोजक हेमन्त प्रकाश वलीको रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।